कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाभरियन बायर्न

बुन्डेसलिगामा बायर्न म्युनिख र स्टुटगार्टको प्रतिस्पर्धा खासै रोमाञ्चक थिएन । तर, आलियन्ज एरिनाको माहोल भने लोभलाग्दो रह्यो ।
राजु घिसिङ

काठमाडौँ — मारियनप्लाजको ट्रेन स्टेसनमै निक्कै घुइँचो भइसकेको थियो । सुरक्षाकर्मीको बाक्लो उपस्थिति देख्दा ठूलै दुर्घटना भएको हो कि भन्ने लाग्थ्यो ।

बाभरियन बायर्न

तर, उनीहरूको सतर्कता एउटा ९० मिनेटको खेललाई रहेछ । मेलाजस्तै भीडभाड थियो ट्रेनमा । टिकट जाँच गर्ने कोही थिएनन् । खेलको बेला कसैले टिकट नखोज्ने स्थानीयले बताइरहेका थिए । तर, म्युनिखमा नर्सिङ अध्ययनरत टोखाकी बिबिना श्रेष्ठ भने टिकट नलिई ट्रेन चढ्न मानिनन् । उनको सतर्कता चर्को जरिबानाबाट बच्नका लागि हुन सक्छ ।


तीस मिनेट ट्रेन हुइँकिएपछि मानिसहरू ग्वारगर्ती ओर्लिएर लम्किए आलियन्ज एरिनातिर । अत्याधुनिक यस रंगशालामा बायर्न म्युनिख र भीएफबी स्टुटगार्टबीचको प्रतिस्पर्धा हुन लागेको थियो । यही खेललाई प्रत्यक्ष नियाल्ने होडमा म्युनिखमा आइतबार घुइँचो बढेको थियो । प्रतिस्पर्धा थियो जर्मनीको सबभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता बुन्डेसलिगाको ।


आलियन्ज एरिनाभित्र बजाइएको संगीतको तालमा बाजागाजासहित उपस्थित दर्शक रमाइरहेका थिए भने खेलाडीहरू वार्मअपमा व्यस्त थिए । उद्घोषकले खेलाडीको सूची पढ्दा हरेकपल्ट दर्शकले साथ दिए । उद्घोषकले म्यानुएल भन्ने दर्शकले नोय । उद्घोषकले थोमस भन्ने दर्शकले मुलर । यो परम्परा नै भइसकेको स्थानीय जुन्के मिर्कोले बताए । खेलाडी मैदानमा उत्रिए । प्रतिस्पर्धा सुरु भयो । घण्टौंअघि नै आइसकेका दर्शकले एफसी बायर्न म्युनिखका अध्यक्ष उली होएनेबको तस्बिर प्रिन्ट गरिएको ब्यानर प्रदर्शन गरे । बाभरियन झन्डा पनि फहराए । क्लबको नारा ‘मिया सान मिया (हामी हौं हामी)’ बुलन्द बनाइरहेका थिए ।


रातो–सेतो धर्के गलबन्दी, बायर्नको ब्रान्डेड ज्याकेट र अरू ब्रान्डका ज्याकेट लगाएको भए त्यसैमाथि बायर्नको जर्सी लगाएर बाभरियन क्लबलाई समर्थन गर्न दर्शक आलियन्ज एरिना आइपुगेका थिए । उभिएर हेर्नुपर्ने युरो १५ को टिकट पनि पहिल्यै बिक्री भइसकेको थियो । पाहुना टिमका ५–७ हजार समर्थक पनि म्युनिख आएका थिए । त्यसैले म्युनिख समर्थक र स्टुटगार्ट समर्थकको हल्का दोहोरी नै चलेको थियो । एक समूहले अर्कोलाई भनिरहेका थिए, यु आर ओभर दियर, यु आर ओभर दियर ।


थियागो अल्कान्टाराले सुरुमै गोल गरेर बायर्नलाई अग्रता दिलाएका थिए । त्यसबेलासम्म स्टुटगार्ट समर्थकको आवाज चर्किएको थिएन । तर, स्टुटगार्टका टासोस डोनिसको उत्कृष्ट गोलसँगै पाहुना दर्शकले अवाज बुलन्द बनाए । दोस्रो हाफमा पाहुना टिमका क्रिस्टियन गेन्टनरले आत्मघाती गोल गरेपछि भने खेलको कथा फेरियो । रोबर्ट लेवन्डोव्स्की पेनाल्टीमा चुके पनि लियोन गोरेज्काले बायर्नको अग्रता बढाए । अन्त्यतिर लेवन्डोव्स्कीले पनि गोल थपे । त्यसैले खेल जित्न बायर्नलाई गाह्रो भएन । तर, प्रतिस्पर्धा रोमाञ्चक भने भएन । कारण शून्य डिग्रीको मौसममा खेलाडी नजोसिएको हुन सक्छ अथवा दुई टिमको स्तरमा रहेको ठूलो अन्तर । दर्शक भने रंगशालाको पूर्ण क्षमताअनुसार ७५ हजार नै थिए ।

नेपाली झन्डा
‘खेल त जित्यो तर स्तरीय प्रतिस्पर्धा हेर्न पाएनौं,’ आलियन्ज एरिनाबाट निस्किँदै बद्री (दामोदर) भट्टराईले बताए । उनी चार जनाको समूहमा बुन्डेसलिगाको प्रतिस्पर्धा हेर्न युरोप यात्रामा निस्किएका थिए । उनीहरूले बायर्नले डुसेडोर्फमा बोरुसिया मोन्चेनग्लाबाचलाई टाइब्रेकरमा हराएर टेलेकम कप कब्जा गरेको खेल पनि हेरे । ‘बच्चादेखि बूढासम्मै आफ्नो टिमलाई समर्थन गर्न रंगशाला पुग्ने जर्मन परम्परा नै रहेछ । वास्तवमै रंगशालाभित्रको यस्तो माहोल गज्जब देखियो, जुन हामी कल्पनामात्र गर्न सक्छौं,’ काठमाडौं जिल्ला खेलकुद विकास समितिका उपाध्यक्षसमेत रहेका भट्टराईले भने ।


खेल जर्मन फुटबलको आन्तरिक प्रतियोगिता भए पनि उनको समूहले रंगशालामा नेपाली झन्डा फहराउँदै प्रतिस्पर्धा हेरेका थिए । राजुविक्रम थापाले भने, ‘हाम्रो लागि विश्वकपमा टीभीका स्क्रिनमा देखेका स्टार खेलाडीको आफ्नै आँखाअगाडि प्रत्यक्ष हेर्न पाउनु पनि ठूलै कुरा हो । यसै माहोलमा भए पनि कसैले याद गरोस् भनेर हाम्रो राष्ट्रिय झन्डा रंगशालामा फहराइएको हो । झन्डा देखेर थुप्रैले नेपालबारे सोधे र त्यो नै हाम्रो लागि महत्त्वपूर्ण कुरा हो ।’


फुटबलका प्रतिस्पर्धा त नेपालमा पनि हुन्छ । तर, आलियन्ज एरिनामा खेलसँगै बुनिएको माहोल भने बेग्लै किसिमको थियो । मन लोभ्याउने माहोल । कुनै कन्सर्टजस्तै गीत घन्काइएको थियो रंगशालामा । यस्तो वातावरण त जुन–जुलाईमा रुसमा भएको विश्वकपताका पनि देखिएको थियो । जर्मनीमा आफूले समर्थन गरेका खेलाडी र विपक्षीलाई गर्ने सम्मान वास्तवमै सराहनीय थियो । खेल सकिएपछि खेलाडीले दर्शकनजिक गएर आभार व्यक्त गर्ने तरिका पनि उस्तै आकर्षक थियो । नेपालमा पनि फुटबल सर्वाधिक लोकप्रिय खेल हो तर त्यस्तै सहृदयी व्यवहार न दर्शकले गरेको पाइन्छ न त खेलाडीले नै ।


बुन्डेसलिगामा जर्मनीको दक्षिणी राज्य बाभरियाका अरू क्लब पनि छन् । तर, सबभन्दा लोकप्रिय र सफल क्लब बायर्न म्युनिख नै हो । दक्षिण–पश्चिमी राज्य बादेन–वार्तेम्बर्गको राजधानी स्टुटगार्टको क्लबविरुद्ध बायर्नले सधैं हैकम जमाइरहेको इतिहास छ । बायर्नले लगातार छैटौंपल्ट घरेलु लिगको उपाधि गत सिजन कब्जा गरेको थियो । तर, अन्तिम खेलमा स्टुटगार्टले ४–१ ले हराएर बायर्नको च्याम्पियन यात्रालाई अलि अमिलो बनाइदिएको थियो । त्यो पनि बायर्नको घर आलियन्ज एरिनामै । बायर्नले दुई वर्षपछि घरेलु मैदानमा हार बेहोर्नुपरेको थियो ।

जर्मन महारथी
पाँचपल्ट युरोपेली च्याम्पियन भइसकेको बायर्नले बुन्डेस लिगाको उपाधि २८ पल्ट जितेको छ । जर्मन क्लब फुटबलको सफलताका सबै कीर्तिमान लगभग बायर्नकै नाममा छन् । बायर्नभन्दा १७ वर्ष जेठो क्लब स्टुटगार्टले बुन्डेस लिगा पाँचपल्ट जितेको छ । पछिल्ला प्रदर्शन र नतिजा हेर्दा भने यी दुई क्लबमा आकाश–जमिनकै भिन्नता देखिन्छ । तर, बायर्नले यो सिजन (सन् २०१८–१९) उस्तै प्रभाव देखाउन सकेको छैन । बुन्डेस लिगामा सुरुका १२ खेलमध्ये तीन खेल हार्‍यो । जबकि उसले गत सिजन चार र त्यसअघि दुई–दुई खेल मात्र हारेको थियो । स्टुटगार्ट भने रेलिगेसन क्षेत्रको टिम हो र उसलाई यसपालि माथिल्लो डिभिजनमा टिक्नु नै सबभन्दा ठूलो चुनौती हो ।


त्यसैले गत वर्षको अप्रत्याशित नतिजाको बाबजुद पनि आइतबारको खेलमा बायर्नले सजिलै जित्ने अनुमान गरिएको थियो । भलै चार गोल गरे पनि बायर्नले तीन अंक जोड्न निकै संघर्ष गर्नुपर्‍यो । पोलिस फरवार्ड रोबर्ट लेवन्डोव्स्कीको गोल गर्ने कौशलतामा केही कमी भएजस्तो देखियो ।
विश्वकप २०१४ च्याम्पियन जर्मन टिमका म्यानुएल नोय, थोमस मुलर, म्याट ह्युमेल्स मैदानमा पहिलाजस्तै चतुर देखिएनन् । तैपनि लगातार सातौं जित हात पारेर बायर्नले शीर्षस्थानमा रहेको बोरुसिया डर्टमुन्डसँगको दूरी ६ अंकमा छोट्यायो ।


बायर्न म्युनिख बाभरियन कम्पनीहरू एडिडास, पुमा, बीएमडब्लुजस्तै हो । एघार फुटबल खेलाडीद्वारा स्थापित यस क्लब जर्मन फुटबलमा सर्वाधिक धनी र सफल हो । चारपल्टको विश्वकप विजेता जर्मन टिममा बायर्नको योगदान गतिलै छ । पछिल्लोपल्ट सन् २०१४ मा जर्मनी विश्वकप विजेता हुँदा टिममा बायर्नका सात खेलाडी थिए भने १९९० को फ्रान्ज बेकेनबाउरको टिममा ६ सदस्य । बेकेनबाउर र गर्ड मुलरसहित बायर्नका सात खेलाडीको बलबुतोमै पश्चिम जर्मनी १९७४ मा च्याम्पियन भएको थियो । जर्मनीले पहिलोपल्ट १९५४ मा विश्वकप जित्दा भने बायर्नका बान्स बायर मात्र टिममा थिए र उनी बेन्चमै सीमित थिए । यसैपालि रुसमा असफल भएको जोचिम लोको टिममा पनि बायर्नका सात खेलाडी थिए ।


एडोल्फ हिटलरको देशमा बायर्नलाई विश्वयुद्ध र नाजी–यहुदीको द्वन्द्वले पनि प्रभावित पारेको थियो । आर्थिक रूपमा धराशायी क्लबहरूलाई उकास्ने र मानवीय समस्यामा परेको स्थानमा परोपकारी हात फैलाउने गरेको यस क्लबले साढे तीन दशक ओलम्पिक रंगशाला उपयोग गरेको थियो । सन् २००६ को विश्वकप फुटबलका लागि जर्मनीले तयार पारेको आलियन्ज एरिनामालाई बायर्नले २००५—०६ को सिजनदेखि घरेलु मैदान बनाएको हो । जर्मन प्रशिक्षक यर्गेन क्लोपले सम्हालेको इंग्ल्यान्डको क्लब लिभरपुलविरुद्ध च्याम्पियन्स लिगमा बायर्नले यही आलियन्ज एरिनामै मार्चमा प्रतिस्पर्धा गर्दै छ ।


स्पेनी रियल म्याड्रिड, बार्सिलोना, इटालियन युभेन्टस्, मिलान, इंग्ल्यान्डमा हालका म्यानचेस्टर सिटी र चेल्सीजस्तै स्टार खेलाडीहरूलाई राख्ने गरेको बायर्नको टिम तीन सिजन स्पेनी प्रशिक्षक पेप ग्वार्डिओलाले पनि हाँकेका थिए । म्युनिखबाट उनी म्यानचेस्टर सरेका हुन् । अहिले बायर्नको हटसिटमा क्रोएसियाली निको कोभाच छन् । उनको टिमले स्टुटगार्टविरुद्ध स्तरीय खेल देखाउन सकेन । तर, आलियन्ज एरिनामा जर्मन फुटबलको माहोल भने लोभलाग्दो देखियो । खेल सकिएर बाहिर निस्कदा देखिइने रंगीन रंगशालाले आकर्षण थपेको थियो ।
Twitter: @rghising

प्रकाशित : माघ १९, २०७५ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?