कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सोमबजारको पाश्र्वगीत

सरोकार
जुन देशको सरकार जनताका दुु:खसँग जिस्केर आनन्द लिन्छ, त्यस देशका नागरिकताको उपयोगिता सम्भवत: उदासीको प्रमाणपत्र मात्र भइदिन्छ । खासगरी नियति भनेर पन्छाउनै नसकिने विषयलाई कसरी चुपचाप डस्टविनमा फालेको कागजजस्तो बेवारिस छाडिबस्छ सरकार !
गीता त्रिपाठी

काठमाडौँ — दास मेरो जीवन कथा कसैलाई भनिनँ
यो जन्मभरि सहेको व्यथा त्यो पनि भनिनँ...
मानिसका उदासीका अनेक कारण हुन सक्छन् ।

सोमबजारको पाश्र्वगीत

धेरैजसो कारणहरू तत्क्षणका परिस्थिति र परिस्थितिजन्य अनुभूतिमा सिर्जित उदासी हुन्छन्, जसको असर परिस्थिति सुल्झँदा खुसीमा परिणत भइसक्छ । यस पटक म जुन उदासीको कथासँग पग्लँदै छु, त्यसको पाश्र्वमा भारतको राजीव गान्धी क्यान्सर अस्पताल र त्यस वरपरको मार्मिक परिवेश विम्बित छ । रोहिणी सेक्टर ५, सोमबजार रोड क्यान्सरपीडित नेपाली र तिनका परिवारका लागि एउटा यस्तो प्रवास हो, जहाँ सयौं नेपालीका उदास अनुहारहरूको हाट लाग्छ । सोमबजारमा लाग्ने सोमबारे हाटमा दैनिक आवश्यक र त्यसमाथिका आकर्षण दुवैथरीका सामानहरूको खरिद–बिक्री हुन्छ तर प्रत्येक दिन र रात जीवनका निराशा झेलिरहेका आँखाहरू देशसँग बिरान भएर बाँच्नुको पीडा खेपिरहेका हुन्छन् । जब मेरा आँखाहरू उदास जीवन कथाभित्रका यस्ता अगणित पात्रहरूमा पर्छ, मलाई त्यस उदासीले नमीठो गरी चिथोर्न थाल्छ ।


जुन देशको सरकार जनताका दुु:खसँग जिस्केर आनन्द लिन्छ, त्यस देशका नागरिकताको उपयोगिता सम्भवत: उदासीको प्रमाणपत्र मात्र भइदिन्छ । खासगरी नियति भनेर पन्छाउनै नसकिने विषयलाई कसरी चुपचाप डस्टविनमा फालेको कागजजस्तो बेवारिस छाडिबस्छ सरकार † मलाई सरकार नहुनुको बोध त्यसबेला हुन्छ, जब क्यान्सर उपचार गर्दागर्दै उठिबास हुने बेलासम्म पनि देशभित्रका अस्पतालमा रोग नै पत्ता नलागेर वा रोगको सही उपचार नभएर भारत पसेका बिरामी र उनका परिवारले बेहोरिरहेको लाचारीप्रति ऊ गुमनाम बस्छ । सरकारको रवैयाले यस्तो अवस्थामा बेवारिस नेपाली हुनुको पीडाबोध गराउँछ ।


जीवन कथाभित्र पात्रहरू नि:सन्देह चल्मलाउन सक्दैनन् हिजोआज । परिवेश र बाध्यताका अलगअलग सिकार भएका उदास नेपालीका अनेक कथामध्ये मैले भेटेका केही यस्ता पात्र र तिनका अनिश्चित भविष्य र वर्तमान जीवनभित्रको अथाह पीडाले केही समय यता म निकै आहत भएकी छु । कथाको प्रारम्भमा सोमबजार रोडको आत्मीय गन्ध छ मसँग । त्यस रोडसँग गाँसिएका साँगुरा गल्लीभित्र दुवैतिर उठेका घरभित्रका ससाना फ्ल्याटहरू, राम्ररी हावा खेल्न नपाउने साँगुरा कोठाहरू, लगभग डेढ किलोमिटरको दूरीमा रहेको राजीवगान्धी अस्पताल, यही अस्पताल धाउने बिरामीका कारण नियमित बनेको रिक्सावाल र किराना पसलहरूको आयस्रोत † अनौठो मात्र होइन, आत्मीय पनि लाग्छ मलाई सोमबजार रोडको दैनिकी । जैन, पन्जाबी र मुसलमान मूलत: यिनैका फ्ल्याट छन् सोमबजारमा । जिनेश जैन बारम्बार डाक्टर चित्र वाग्लेलाई सम्झिरहन्छन् । उनी निकै भलाद्मी मानिस हुन् । उनलाई नेपालीका दु:खले रुँदै गरेको देखेकी छु मैले । उनका भतिजा विशाल जैन कलाकार हुन्, गायक तर उनी अहिले अधिकांश समय आफ्ना मातहतमा रहेका फ्ल्याटहरू सञ्चालन र व्यवस्थापन गर्नमै बिताइरहेका हुन्छन् । रातविरात आइपुग्ने अपरिचित बिरामी र तिनका परिवारलाई बस्ने प्रबन्ध मिलाउन उनी लागिपर्छन् । उनका काका कमलेश जैन पनि यतै जोडिएका छन् आजभोलि । एउटा बेग्लै आत्मीयता रहन्छ जैन परिवारसँग आगन्तुकको ।


असावधानी र अविश्वासका घटनाक्रमले नेपालका अस्पतालसँग एकप्रकारको विमोह बढ्नु र आफ्ना प्रियजनको जीवनको भिक्षा माग्दै अहोरात्र प्रवासिनु † स्वदेशमा सही उपचार नपाएका कारण जीवनको आशा मारिसकेपछि अन्तिम भरोसा लिएर राजीवगान्धी अस्पताल पुग्ने धेरै हुन्छन् । त्यहाँ कमसेकम बास पाउन गाह्रो पर्दैन । महँगो बसाइ र उपचार दुवै अत्यासलाग्दो भए पनि जीवन भन्दा ठूलो केही हुँदैन । बाँच्न बचाउन जस्तोसुकै मूल्य चुकाउन पनि तयार हुने नेपालीहरू अधिकांश उपचार गर्दागर्दै घरबास बिक्री गर्न बाध्य भइसकेका हुन्छन् ।


एक जना महिला राजीव गान्धी अस्पतालको तेस्रो तलामा हातमा एउटा प्रेस्क्रिप्सन बोकेर यताउता गर्दै गरेकी थिइन् । उनले फोनमा नेपाली भाषामा कुरा गरिरहेको सुनेपछि मलाई पनि उनीप्रति उत्सुकता जाग्यो । उनले सुनाइन्, ‘मेरो २४ वर्षको छोरालाई अहिले चौधौं केमो चढाइँदै छ । ऊ फरेस्ट्रीमा स्नातक, उसले आफ्नो पढाइमा मेरो एक पैसा पनि खर्च गराएन । भन्थ्यो— अब अमेरिका गएर यस विषयमा थप विशेषज्ञता लिएर फर्कन्छु आमा, तयारीका लागि एक लाख रुपैयाँ जुटाइदिनुहोस्, बाँकी म आफैं गर्छु भनेर काठमाडौं हिँडेको छोरा । तर, ३ महिनापछि त्यहाँका अस्पताल र डाक्टरबाट निराश भइसकेपछि मात्र हामीलाई खबर गर्‍यो । यहाँ आइपुग्दा नेपालमा एक पाउको भेटिएको पेटको ट्युमर चार किलोको भइसकेको रहेछ । डाक्टरहरूले जाँच सकेपछि केमो सुरु गरे । छोरो अप्रेसन गर भनेर जोड दिन्थ्यो । यहाँका डाक्टरहरू टिम वर्क गर्दा रहेछन् । चारवटा केमो दिएपछि ट्युमर बोर्डको मिटिङ बसेर ट्युमरको साइज घटेकाले अप्रेसनको सम्भावना रहेको तर दस प्रतिशत मात्र आशा रहेको बताउँदा बेडबाट जुरुक्क उठेर उसले मलाई एक प्रतिशत भए पनि पुग्थ्यो, यहाँ त दश प्रतिशत चान्स रहेछ, खोइ म गर्छु मेरो पेपरमा सही, तपाईंहरू मेरो अप्रेसन गर्नुहोस् भन्यो । डाक्टरहरूले उसको आत्मबलको सम्मान गरे ।


नेपालमा उसलाई आफ्नोबारेमा निर्णय गर्ने मौकै कसैले दिएनन् सायद यो त्यहाँको संस्कारको, उपचार पद्धतिको, उपकरणको कमजोरी होला । उसको अप्रेसन गर्दा म आफैं होसमा थिइनँ । तर, उसले आईसीयूमा डाक्टरको निर्देशनअनुसार खुट्टा हल्लायो । डाक्टरहरूले यसलाई मिराकल भने । जम्मा सत्रवटा केमो दिनुपर्ने बताएका छन् यहाँ । अब केही घण्टा हो उसले आराम गर्ने । त्यसपछि ऊ नेपाली टोपी लगाएर पूरै वार्डमा घुम्छ । निराश भएका सबै बिरामीलाई किमोसँग नडराउन सल्लाह दिन्छ । ऊ वास्तवमा नेपालको छोरा हो । त्यो साबित गर्ने मौका देशले दिएन तर मैले ७० केजीबाट घटेर ३३ केजीमा आएको छोरालाई फेरि बहत्तर केजीको देख्न पाएँ । उसका बाबुले नेपालमा शिक्षण पेसाबाट कमाएको पैसाले यहाँ कसरी धान्नु †’ उनका आँखामा खुसी र दु:खका लहर दौडिरहेको थियो । उनले अझै थपिन्, ‘नेपालमा त चार लाख रुपैयाँ झ्वाम भयो । एक वर्षसम्म काठमाडौं, बुटवल र चितवन सबैतिर डुलाएर थाकँे । तिनले अब सम्भव छैन भनेपछि कसैबाट राजीव गान्धी अस्पतालको नाम सुनेँ र बडो दु:खले पाँच दिन लगाएर यहाँ ल्याइपुर्‍याएँ । एक वर्षदेखि यतै छु, अब घर बेचेको पैसा सकिँदै छ । यहाँ अस्पतालले केही रकम मिनाहा गरिदिन्छ कि भनेर कोसिस गरेकी थिएँ । बल्ल छाप लगाइदिएँ’ भन्दै त्यो कागज देखाइन् । त्यसमा दुई लाख रुपैयाँ मिनाहा गरिदिन सिफारिस गरिएको रहेछ ।


कतिले उपचार क्रममै सोध्छन्— तिम्रो नेपालमा अस्पताल छैन ? जवाफ के दिने भन्ने भेउ नै पाइन्न । अस्पतालका गतिला भवनहरू आँखाअघि यसरी परेड खेल्न आइपुग्छन् मानौं, त्यहाँ नेपालीको सान र अभिमान सबैको चूर्ण लिपिएको छ । विश्वभर फैलिएका नेपाली डाक्टरको स्वाभिमान बचाउन सरकारी, निजी तथा गैरसरकारी, अधिकार प्राप्त संस्थाले कसरी देशको शिक्षा र स्वास्थ्यको क्षेत्रमा सही व्यवस्थापन गरी विशेषज्ञको सही परिचालन गर्ने भन्ने नसोचेरै आज परभूमिमा नेपालको पैसा र परिचय दुवै सखाप भइरहेको छ । जिनेश जैनले निर्णय गरेका रहेछन्, नेपालीहरूलाई आफ्नो फ्ल्याट पहिलो प्राथमिकतामा राखेर दिने, अनि मात्र अरूलाई । उनी भन्छन्, ‘नेपाली बाबुआमा कति भाग्यमानी † तिनका सन्तानले आफ्नो बाबुआमाको खुब स्याहार गरेको देखिन्छ ।’
हुन पनि विदेशमा बसेर पैसा कमाउँदै बाबुआमाको उपचारलाई सहज बनाउँदै पालैपालो छुट्टी मिलाएर आउने सन्तानका उदासीले सोमबजारको कथामा एउटा परिच्छेद थपेको छ ।


सबैभन्दा मार्मिक हुन्छ, बच्चाहरूको क्यान्सर कथा । केमोले शिथिल बनेका ती अबोध शिशु र बालबालिकाहरू घरीघरी आफ्नै घरको, खेल्ने आँगनको र सबै साथीभाइ–आफन्तको प्यास भरिएका उदास आँखाले निरुपाय आफैंसँग चिढिएका हुन्छन् । विराटनगरका राज खड्काको राजीव गान्धी यात्रा उनकी आमाको क्यान्सर उपचारबाट आरम्भ भयो । उनले आमालाई निको बनाए । त्यसपछि उनका आफन्तहरू एकपछि अर्को क्यान्सर कथामा गाँसिने क्रम जारी छ । कतिलाई उनले बचाए, कतिलाई गुमाए । उनले आफ्नो जीवनको उद्देश्य नै बिर्सिसकेका छन् । उनी कसरी नेपालीहरूका पीडामा मलम लगाउन सकिन्छ, त्यसैमा चिन्तनशील रहन्छन् । अस्पताल प्रशासन, डाक्टर र नर्स हुँदै औषधि विक्रेतासँग उच्च मानवीय सम्बन्ध बनाएर दु:खी नेपालीको उपचार पद्धतिलाई सहज बनाउनु नै उनको दैनिकी भइरहेको छ ।

चितवनका एक नेपाली छन् ऋषि । वैदेशिक रोजगारमा जाँदा बिरामी परेर आफैं कमजोर छन् । तिनका पाँच वर्षका छोरा अहिले ‘ल्युकोमिया’ बाट पीडित छन् । त्यस बच्चाको फोटो मोबाइलमा राखेका छन् राजले । तस्बिर देखाउँदै भन्छन्, ‘यो फुच्चुको आँखामा आँखा मिलाउनै गाह्रो पर्छ मलाई, सोच्छु ऊ मेरो छोरो भइदिएको भए म के गर्थें †’ उनका आँखा त्यतिन्जेलमै जलमग्न हुन्छन् । एउटा बिस्कुट छ— नेपालबाट हामीले उनलाई उपहार लगिदिने, युरोपियन बेकरीको हार्टसेपको बिस्कुट । उनी अरू केही लिन मान्दैनन् तर त्यो बिस्कुटको चाहिँ आस गर्छन् । यसको रहस्य रहेछ ऋषिजीको छोरो । त्यो बच्चाले पानी खानै नमान्ने । केमोको असर कम गर्न उसलाई जतिसक्दो धेरै पानी पियाउनुपर्ने । राजले उनका बाबु मार्फत एक पटकमा दुई पिसका दरले त्यो बिस्कुट बच्चालाई पठाउने गरेका रहेछन् । पानी खाएपछि मात्र राज ठूलो बुबाले बिस्कुट पठाउनुहुन्छ भनेपछि बच्चाले बाबुले भनेजति पानी समय–समयमा पिउँदोरहेछ । राजकै पहलमा राजीव गान्धी अस्पतालकी पेड्रियाटिक हेमाटो अङ्कोलोजिस्ट तथा हेड अफ द डिपार्टमेन्ट डाक्टर गौरी कपूरले खोलेको नि:शुल्क आश्रममा ऋषिको परिवारले आश्रय पाएको छ । त्यहाँको नियम बिरामीका निम्ति अनुकूल छ । बाहिरका मानिस जथाभावी भेट्न जान सक्दैनन् । राजजी बच्चाका निम्ति औषधि खर्च जुटाइदिन मोबाइलमा सुरक्षित त्यही निर्दोष सुन्दर तस्बिर देखाउँछन् । यस्ता कैयन विडम्बनासँग बेखबर नेपाल सरकार भरतपुरजस्तो स्थापित भइसकेको क्यान्सर अस्पतालको दुर्गतिमा राजनीतिको दुर्गन्ध हटाउन पहल गर्न सक्दैन । देश कहाँनिर छ भनेर खोज्न सोमबजारको मिनी नेपाल काफी छ अहिले ।
आर्थिक भारले थिचिएर उदास बनेका बिरामीहरूका आफन्तहरू अहिले एनबी टुुर्स एन्ड ट्राभलको अफिसबाहिर जम्मा भएर आ–आफ्ना उदासीका कथा सुनाइबसेका हुन्छन् । दैलेखका विष्णु ठकुरी सबैका निम्ति पुल बनिदिन्छन् । यो उनको व्यवसाय पनि हो र, सहयोग पनि । गत दसैंअघि यस अफिसको बाहिर नेपालीहरूको ठूलो घुइँचो थियो ।

खासगरी लामो समयदेखि उपचारका सिलसिलामा रहेका बिरामी र तिनका आफन्त दसैंका केही दिन नेपाल आउन चाहनु मनोवैज्ञानिक हिसाबले पनि स्वास्थ्यकर विषय हो । केमो थेरापी र रेडियसन थेरापीसँगै शल्यक्रियाको रुटिन मिलाएर डाक्टरको स्वीकृति लिएर मात्र आउन सकिने स्थितिमा सस्तो टिकट सकिनु र महँगो टिकट भाउले रन्थनिनु, आफ्ना इच्छा र आवश्यकतालाई दबाउन बाध्य बन्नु उदासीसँगै जोडिएको अर्को विवशता हो । यस्तै पीडा झेलेका एक युवाको मायालाग्दो अनुहारले मलाई दसैंप्रति निकै उदास बनाएको छ । काठमाडौं कमलादीस्थित युनिग्लोब कलेजका होनहार विद्यार्थी अभियान कँडेलले कक्षा बाह्रको परीक्षा दिएर साथीसँगै सिक्किमसम्मको भ्रमणको योजना बनाए । एक महिनादेखि ज्वरोले सताइएर उपचार क्रममा रहेका उनका बाबुले मन नलागीनलागी पनि आफ्नो एक मात्र सन्तानको खुसीका लागि एक हप्ताको यात्रामा जाने अनुमति दिए । भोलिपल्ट चितवनमा घुम्दै गरेका बेला अभियानलाई बाबुको फोन आयो— उनले यात्रा अघि बढाउन सकेनन्, काठमाडौं फर्किए । त्यसको केही दिनपछि बाबुका उपचारका निम्ति उनी दिल्ली पुगे । राजीव गान्धी क्यान्सर रिसर्च सेन्टरमा उपचार गराइरहेका उनका बाबु जनयुद्धका सहिदका दाजु हुन् । आफू स्वयं पनि माओवादी जनयुद्धका सक्रिय सदस्य । तर, आठ महिनादेखि घर बिक्री गरेको पैसाले उपचार गर्दै आएका उनलाई राज्य र पार्टी दुवैले दसैंको टिकट खर्चसम्म जुटाउन सहयोग गरेको छैन । उनको उदास जीवन कथाका सन्दर्भमा जेहेनदार छोराको भविष्यको चिन्ता अझ धेरै छ । साथीहरू विभिन्न शैक्षिक योजना बुनेर शैक्षिक गन्तव्यको नयाँ पथ रोजिरहेका बेला अठार वर्षे अभियान आफ्नी आमासँगै बाबुको सेवामा दिनरात लागिपरेका छन् । उनलाई कसैसँग केही गुनासो छैन, बुबालाई निको होस् मात्रै, जीवन पहिल्याउने बाटाहरू अनेक देखेका छन् उनले । तर, धादिङ जीवनपुरका समाजसेवी युवा कृष्णराज कँडेल ४३ वर्षे उमेरमै आफू ब्लड क्यान्सरको भयावह उपचार चक्रमा पर्नुले उदासीका पानाहरू पल्टाइरहन्छन् । ८ महिने सेक्टर पाँचको बसाइमा पाँच करोड भए होलान् उनका पीडाका चस्काइहरू † त्यो कथाभित्र कुन पार्टी र कुन सरकारको कुन राहत योजनाले कति ठाउँ पाएको होला ?

क्यान्सर †
‘यो शब्द म झेल्नै सक्दिनँ बहिनी,
हेल्पलेस † बस् हेल्पलेस †’ बोल्दाबोल्दै इन्दिरा दली दिदी सुँक्सुकाउन थाल्नुभयो †
कत्ति छिटो पग्लिएको मन † कत्ति छिटो छल्किएको आँसु । अवरुद्ध गलाले केही भन्दै हुनुहुँदा म उहाँको अघि आफूलाई निकै कमजोर महसुस गर्न थालिसकेकी थिएँ तर मेरो तत्कालको जिम्मेवारीले म जसरी पनि समालिनु थियो । पुस्तकालयसम्बन्धी एउटा अन्तरक्रियामा सहभागी हुन आएका बेला अकस्मात् उहाँसँग भेट हुँदाको सन्दर्भ थियो यो । तर, यो विषयको केन्द्रमा धेरै प्रसङ्ग र सप्रसङ्गहरू जोडिएका छन् । जीवन सरल बाँच्ने चाहनामा जेलिनु र झन्झन् जेलिँदै जानुका अनेक स्वरूपका विवशता देख्न र भोग्न थालेपछि मानिसले सोचेको जीवनको छवि आफैंबाट गायब भइदिँदो रहेछ ।
सम्भवत: मैले जोडिरहेको वर्तमानको यस प्रसङ्गमा बाल्यकालको एउटा स्मृति पनि साक्षी छ । स्कुलको गृहकार्य हतारहतारमा गरी भ्याएर हरेक आइबार राति रेडियो नेपालबाट बज्ने गीतिकथा सुन्न तयार भइरहँदाको उत्साहपूर्ण जीवनको अंश † गीतसँगको मेरो एकोहोरो आकर्षण त्यही समयदेखिको हो ।
ती दिनहरूमा कहिलेकाहीँ भयावह शोकगीत सुन्नुपथ्र्यो † एकाएक वियोगान्त गीतले बाँधेको प्रेमकथाको पृष्ठभूमिबाट आरम्भ भएको क्यान्सर कथा र त्यो कथाका निम्ति झरेको आँसुको विम्ब आज पनि सजीव छन् । तर, तिनमा उठेको संशयमा आफ्नै जीवनको गीत प्रतिध्वनित होला भन्नेचाहिँ कसले सोचको हुँदो हो †


२०७४ सालको वैशाखमा टोखा रोड, काठमाडौंमा अवस्थित ग्रान्डी अस्पतालबाट सुरु भएको क्यान्सर कथाको साक्षी म भएकी छु । जीवनसाथी यादवजी र मेरो त्यो वर्षको नियमित चेकजाँचपछि रेडियोलोजिस्ट डा. योञ्जनले यादवजीको फोक्सोमा सानो दाग रहेको खुलासा गरे । डा. विकास श्रेष्ठ हुँदै फिजिसियन डा. प्रशान्त त्रिपाठीले नन अल्कोहलिक र नन–स्मोकर भएकाले दाग हो कि जस्तो मात्र भए पनि यसको थप परीक्षणका निम्ति सिफारिस गरे । तुरुन्तै डा. सञ्जीव तिवारीको सहयोगमा त्रिवि शिक्षण अस्पतालमा चेस्ट सिटी भयो र यसले थप पुष्टि गरेपछि हाम्रो जीवनको कथाले अर्कै मोड लिन पुग्यो । साहित्यकार दिदी इल्या भट्टराईसँगको सम्पर्कले उहाँकै उदास जीवनकथासँग गाँसिएर हामीले २०७४ वैशाख १५ मा पहिलो पटक दिल्ली यात्रा तय गरेका थियौं र यो यात्रा जारी छ... ।


प्रा.डा. दीपकप्रसाद भट्टराई क्यान्सर जीवनको वास्तविक हिरो लाग्छ मलाई । यादवजी उहाँकै अर्को पुस्ता । दुवै जीवनसँग कुनै गुनासो नभएका व्यक्तित्वहरू † यादवजीको अप्रेसनको दिन दिपक भिनाजु राजीव गान्धीमा सँगै बसेर हौसला दिइरहनुभएको म सम्झन्छु । उहाँले नेपाली मात्र होइन, धेरै क्यान्सरपीडित र तिनका आफन्तहरूलाई बग्दाबग्दैको आँसु परेलीमै रोकिदिनुभएको छ । भारतीय भन्दा नेपालीहरू सहनशील भएको पनि मेरो अनुभव छ । बिरामी र अभिभावकको गुनासो, चर्को आवाज, आवेगी मनोवृत्तिका विपरीत नेपालीहरू जस्तोसुकै पीडामा पनि धीर अनुभव गरेकी छु । सायद यो सहनशीलताको फाइदा नेता र सरकारमा बस्नेहरूलाई धेरै भइरहेको छ । राजीव गान्धी अस्पतालमा डा. योञ्जनको रिपोर्ट हेराइको ठूलो प्रशंसा गरेका थिए, त्यहाँका लङ अङ्कोलोजी डिपार्टमेन्ट हेड डा. उल्लास बत्रा, ब्रोङ्कोस्कोपीका विशेषज्ञ डा. राजीव गोयल र सर्जन डा. एल.एम. डार्लोङले ।

वास्तवमा देशमा अहिले गर्व गर्नलायक डाक्टरहरूको पनि उदास पेसागत दैनिकी छ । तिनलाई मेडिकल एथिक मात्र सिकाएर पुग्दैन, आवश्यक उपकरण र काम गर्ने वातावरण पनि दिनु जरुरी छ । डा. बत्रालाई भेट्दा उनी वास्तविक डा. हुन् कि फिल्मका आकर्षक भूमिकामा देखिने डा. हुन् छ्ट्याउनै गाह्रो हुन्छ । बिरामीसँग कसरी उसको मनोविज्ञान बुझेर बोल्नु र व्यवहार गर्नुपर्छ, त्यो सबै कला उनीसँग छ । एउटा किसानसँग र एउटा प्रोफेसरसँग गर्ने व्यवहार समान छ तर उनको भाषाको जादु व्यक्तित्वअनुसार चल्छ । नेपालमा बिरामीसँग आँखा मिलाएर कुरा गर्न कति डाक्टरले भ्याउँछन् ? आवश्यक परीक्षण र त्यसपछिको उपचार आरम्भमा कति समय लाग्छ ? अस्पताल परिवेशमा छिरेका बिरामीको उपचार गर्नुपर्छ, उमाथि शासन होइन भन्ने कति कर्मचारीले बुझेका छन् ? यस्ता धेरै विषयहरू छन्, मनन गर्नुपर्ने र सुधार गर्नुपर्ने । पार्टी र नेता शब्दमै खराबी हुँदैन, खराबी हुन्छ आचरणमा । आजको पार्टी र नेतृत्व क्यान्सर युगमा प्रवेश गरिसकेको नेपालीको उदास जीवन कथाप्रति कुन हदसम्म जिम्मेवार हुन सक्छन् ?
[email protected]


प्रकाशित : फाल्गुन ४, २०७५ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?