शिल्पी हातहरू...
काठमाडौँ — २०७२ सालको भूकम्पले ध्वस्त पारेको पाटन दरबार क्षेत्रका मन्दिर सम्पदाको धमाधम पुनर्निर्माण भइरहेको छ ।
कृष्ण मन्दिर र अन्य ससाना मन्दिर पुनर्निर्माण भइसकेका छन् भने अरू पुनर्निर्माण क्रममा छन् । यतिखेर हरिशंकर, चार नारायण, विश्वनाथ, भीमसेन मन्दिर धमाधम पुनर्निर्माण क्रममा छन् ।
यिनै मन्दिरमा काष्ठकलाको काम गर्न भक्तपुरबाट आएका छन्— २० जनाभन्दा बढी काष्ठशिल्पी । सम्भव भएसम्म नयाँको साटो पुरानै काष्ठकलाको मर्मतसम्भार गरिरहेको प्रमुख काष्ठशिल्पी तीर्थ शिल्पकार बताउँछन् ।
हुन पनि, यो काम सामान्य झ्याल–ढोका बनाएजस्तो होइन । पुरातात्त्विक भएकाले यसको सम्पदाजन्य महत्त्वको कुनै लेखाजोखा हुनै सक्दैन । त्यसैले यसमा ध्यान, ध्याउन्न र शिल्पी पोख्न समय लाग्छ नै । प्रत्येक स–साना कुराहरू ध्यान दिएर हातैले बनाउनुपर्छ । आजको भोलि नै चाहियो भनेर हुनेवाला छैन ।
यसरी यी सम्पदाप्रेमी शिल्पी हातहरू दिनरात व्यस्त भेटिन्छन्— पाटनको दरबार क्षेत्रमा । सम्पदा निर्माणमा खटिएका यी स्रष्टा देख्दा मात्रै पनि यीमाथि श्रद्धा उब्जन्छ, सम्मान बढेर आउँछ ।