कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समस्यामूलक महाकाव्य

कान्तिपुर संवाददाता

काठमाडौँ — कवि भाग्यशाली अधिकारीले लेखेको ‘सपनाको मुलुक’ मूलत सामाजिक विषयलाई प्रस्तुत गर्ने एक समस्यामूलक महाकाव्य हो । यो महाकाव्यको शीर्षक कौतूहलमय छ ।

समस्यामूलक महाकाव्य

शीर्षक पढ्नासाथ कस्तो सपना होला ? कसको सपना होला र कुन मुलुकसित सम्बन्धित सपना होला भन्ने जिज्ञासा उत्पन्न हुन्छ । पढ्दै जाँदा नेपाल र सर्वसाधारण नेपालीको जीवनका सपनालाई यसले सङ्केत गरेको थाहा हुन्छ । महाकाव्यको कथावस्तुले नेपालका गाउँघर, नेपाली जनताका पीडा र बेरोजगार नेपालीहरू रोजगारीको खोजी गर्दै विदेश जान विवश भएको सामाजिक आख्यान प्रस्तुत गर्छ । पूरै महाकाव्य पढेपछि नेपाललाई सुन्दर, विकसित र सभ्य मुलुकका रूपमा देख्न चाहने कविको सपना मुखरित हुन्छ ।


नेपाली साहित्यका सन्दर्भमा ‘सपनाको मुलुक’ को विषयवस्तु नौलो होइन तर यसले उद्घाटन गरेको समाज र जीवन आजको यथार्थसँग नजिक छ । महाकाव्यसम्बन्धी पूर्वीय मान्यतालाई स्विकार्दै मङ्गलाचरणबाट सुरु गरिएको ‘सपनाको मुलुक’ को आख्यान कविकल्पनाप्रसूत र काल्पनिक स्वरूपको छ । नेपाली सामाजिक यथार्थको भावभूमिमा नायकको जीवनयात्रा हुन्छ । यसै पात्रको केन्द्रीय चरित्रमा समग्र आख्यान उनिएको छ । पिताको इच्छाअनुसार नायक सद्गुणी, परिश्रमी र ज्ञानी चरित्रका रूपमा विकसित हुँदै गएको छ । तर, नेपालको राजनीति, माओवादी जनयुद्धको समयमा भएका द्वन्द्व, त्यही आडमा भएका मजदुर आन्दोलन र सामान्य उद्योग चलाउने व्यक्तिले पूरा गर्न नसक्ने किसिमका मजदुरका माग आदिको मारमा परी उसको उद्योगधन्दा चौपट हुन्छ । यस क्रममा सर्वसाधारण नेपालीको जीवनमा देखा पर्ने उतारचढाव र त्यसबाट उत्पन्न जीवनपीडालाई मुखरित गर्ने प्रयत्न पनि महाकाव्यकारले गरेको छ । सामान्य पाठकले कथावस्तुको मूर्तरूप सहजै फेला पार्न सक्दैन, ध्यान दिएर पढेमा मात्र ऊ कथावस्तुसँग हिँड्न सक्छ ।


वैचारिकताका दृष्टिले हेर्दा प्रस्तुत महाकाव्य आदर्शवादी र मानवतावादी देखिन्छ । यसले पाठकलाई मानवीय मूल्यरक्षा गर्न आह्वान गर्छ । मानवअस्तित्वको रक्षा गर्ने सन्देश प्रवाह गर्छ । संसारले सम्झनयोग्य काम गर्नुपर्नेमा जोड दिन्छ । सेवा नै धर्म हो भन्ने विचारको पक्षपोषण गर्छ । सङ्कल्प र सङ्घर्ष जीवनका मुख्य आधार हुन् भन्ने विचार व्यक्त गर्छ । प्रस्तुत महाकाव्यको भाषा सरल र सहज छ । तद्भव पदपदावलीको आधिक्य छ । तत्सम शब्दहरूको प्रयोग भएका ठाउँमा पनि प्रचलित शब्द नै रहेका छन् । भाषिक सरलता र सहजताका कारण शब्दले दिने अर्थ सजिलै बुझ्न सकिन्छ । कथ्यको प्रभावकारिताका लागि समाज, इतिहास, पुराण र प्रकृतिबाट सादृश्य र विम्बहरू लिइएका छन् । उखान र टुक्काको प्रयोग पनि गरिएको छ भने ठाउँठाउँमा सूक्तिमय अभिव्यक्ति भएका छन् । उपमा, रूपक, उत्प्रेक्षाजस्ता अर्थालङ्कार र अनुप्रासादि शब्दालङ्कारको उपयोग पनि गरिएको देखिन्छ । अभिव्यक्तिलाई कलात्मक बनाउनका लागि गरिएको यसप्रकारको प्रयत्नले ठाउा ठाउामा महाकाव्यलाई आलङ्कारिक शैलीको बनाएको भए पनि यस महाकाव्यको शैली मूलत: वर्णनात्मक र अभिधात्मक नै देखिन्छ । छन्द मिलाउनकै लागि भाषालाई बिगार्ने काम नगरिएको भए यो महाकाव्य अझ उच्चस्तरको बन्ने थियो ।
—रामप्रसाद ज्ञवाली

प्रकाशित : फाल्गुन ४, २०७५ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?