कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हावामा कावा...

२० मिनेटको त्यो प्याराग्लाडिङ २ मिनेटजस्तो पनि लागेन । ल्यान्ड गर्ने बेला भइसकेछ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — आठ वर्षअघि एउटा तालिममा पोखरा पुगेको थिएँ । पहिलो पटक पोखराको आकाशमा कावा खाँदै उडिरहेका प्याराग्लाइडर देख्दा मलाई पनि त्यसरी नै उड्ने हुटहुटी जागेको थियो ।

हावामा कावा...

समय र खर्च अभावले त्यो पूरा हुन सकेन । संयोग नै भन्नुपर्छ, प्याराग्लाइडिङ गर्ने वर्षौंदेखिको मेरो चाहना हालै पूरा भयो । एकै छिन भए नि चराझंै उडेर धर्ती नियाल्ने मौका काठमाडौं प्याराग्लाइडिङमा पाएँ, झन्डै २० मिनेटभर ।


प्याराग्लाइडिङको रहर भएका तर पोखरा पुग्न समय नभएकाका लागि काठमाडौंको गोदावरीमा यो सुविधा उपलब्ध रहेछ । विशेषगरी युवायुवतीमाझ लोकप्रिय गोदावरी उसै पनि काठमाडांैको मुख्य गन्तव्य नै हो । त्यसमाथि आकाशमा चराझैं उड्दै त्यही भूमिबाट सिङ्गो उपत्यका अवलोकन गर्न पाउने यो सुविधाले गोदावरीको आकर्षण झनै बढाएजस्तो लाग्यो ।


प्याराग्लाडिङको टेक अफ हुने स्थान चापाखर्कमा छ । यो समुद्र सतहदेखि २ हजार १ सय मिटरको उचाइमा पर्छ । यहाँसम्म पुग्न गोदावरीबाट करिब चार किलोमिटर घुमाउरो कच्ची बाटो भएर उकालो चढ्नुपर्छ । हिँडेर झन्डै दुई घण्टा लाग्ने बाटो जिपबाट पौने घण्टा लाग्छ । मोडैमोडको कच्ची बाटो केही सकसपूर्ण लागे पनि चापाखर्क पुगेपछि चाहिँ सारा थकान मेटिन्छ । मौसम खुलेका बेला माथितिर खुला आकाश नीलो अनि कञ्चन देखिन्छ । डाँडावरपर घना जंगल । हेरिरहूँजस्तो लाग्ने हरियाली । त्यसैमाथि राताम्मे फुलेका लालीगुराँसले गोदावरी गहनाले सिंगारिएकी बेहुलीजस्तो देखिन्छ । मुनितिर छर्लंग देखिने काठमाडांै खाल्डो । चारैतिर सेताम्मे हिमशृंखला । माघ र फागुनका बेला फुल्ने गुराँसे सौन्दर्य ।


प्रकृतिको यो अनुपम उपहारलाई एकैचोटि नियाल्न पाउँदा कसको मन लोभिँदैन र π प्याराग्लाडिङ पाइलट विजय चौलागाईले टेक अफ, फ्लाई र ल्यान्डको निर्देशन दिए । सेफ्टी लाइदिए । पाइलटले प्याराग्लाडिङ ९९ प्रतिशत सुरक्षित छ भनेका पनि हुन् । ‘केही गरी उड्दाउड्दै समस्या आए वैकल्पिक प्यारासुट छँदैछ । केही गरी दुर्घटना भइहाले तलतिरको घना जंगलका रूखले सुरक्षा दिन्छ, ढुक्क हुनुहोला,’ पाइलट विजयले ढाडस दिए । मनले कहाँ मान्थ्यो र ? जब टेकअफ हुने बेला भयो, हुर्रिएजस्तो हुत्तिएजस्तो भयो । निकै असहज । पाइलट विजय र म उड्दै जब माथिमाथि पुग्यौं । डर त रमाइलोमा बदलिंदै थियो ।
समुद्र सतहको २५ सय मिटर उचाइसम्म पुगेर प्रकृतिलाई नियाल्दा रमाइलो र रोमाञ्चक अनुभूति भयो । हातमा भएको गोप्रो दुवै हातमा साटफेर गर्दै भिडियो र फोटो लिएँ । पाइलटले पनि भिडियो र फोटो लिन सघाए । विजयले एउटा हातले गाप्रो समाउँदा वेगवान हावाले हामीलाई फनक्क घुमाउँथ्यो । म झसंग हुँदै कुममाथि भएको डोरी दह्रो गरी समाउँदा विजय हाँस्दै नडराउन भन्थे । अनि गोप्रो बन्द गरेर पूरै ध्यान दृश्यावलोकनतर्फ मोडे ।


एकाध महिनामा धनगढी–काठमाडौं जहाजयात्रा गरेकै हुन्छु । मौसम सफा भएका बेला जहाजको झ्यालबाट पारि देखिने हिमशृंखला, डाँडाकाँडा, पहाडले खुब फुरुंग हुन्थें । तर, प्याराग्लाइडिङ गर्दा देखिने दृश्यहरू त्योभन्दा भिन्न हुँदा रहेछन् । आफ्नो सुविधाअनुसार गति घटाउँदै, चिसो हावासँग ठोक्किँदै आकाशबाट हिमाल हेर्नुको मजै बेग्लै । २० मिनेटको त्यो प्याराग्लाडिङ २ मिनेटजस्तो पनि लागेन । ल्यान्ड गर्ने बेला भइसकेछ । पाइलटले बिस्तारै टप ल्यान्ड गरे । पछिल्लो समय प्याराग्लाइडिङले बजार लिरहेको छ । तर, काठमाडौंमै भने यही एक मात्र छ– काठमाडौं प्याराग्लाइडिङ कम्पनी । पहिलोपल्ट २००७ मा सुरु भएको प्याराग्लाडिङ २०१५ को भूकम्पपछि बन्द भएको रहेछ । हाल सालै पुन: सञ्चालनमा आएदेखि उपत्यकावासी र बाहिरबाट आएकालाई समेत सजिलो
भएको छ ।


उसो त नेपालका प्राय:जसो ठाउँमा साहसिक खेल र पर्यटनको सम्भावना छ । डाँडैडाँडा भएको हाम्रो भूगोललाई हामीले विकटतासँग जोडेर मात्र हेर्ने गरेका छौं । यो उडानको अनुभव गरिसकेपछि लाग्यो— हाम्रा प्रत्येक डाँडाहरू प्याराग्लाइडिङ स्पटको रूपमा विकास गर्न सकिने सम्भावना रहेछ ।

शब्द : वसन्तप्रताप सिंह
तस्बिर : बिजु महर्जन


प्रकाशित : फाल्गुन ४, २०७५ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?