कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सारीलाई गाह्रो

यहाँ कुरा भइरहेको सारीलाई लिएर हो । चेल्सी अहिले तत्काल प्रिमियर लिगको छैटौं स्थानमा छ । लिग सुरु हुँदा भनिएको थियो, सारी आएपछि चेल्सी फेरि एकपल्ट लिग उपाधिको होडमा सामेल भएको छ ।
हिमेश

काठमाडौँ — यति बेलासम्म जे जस्तो पनि भइसकेको हुन सक्छ  । भनौं, चेल्सीले आफ्ना व्यवस्थापक मउरिस्यो सारीलाई बर्खास्त गरिसकेको हुन सक्छ  ।

सारीलाई गाह्रो

अथवा, उनी अझै लन्डनको त्यस इंग्लिस प्रिमियर लिग क्लबमै होलान् । तर, एउटा तथ्य निश्चित छ, उनी संकटमा छन् । क्लबले राम्रो गर्न सकेन भने सबैभन्दा गाह्रो हुने व्यवस्थापकलाई नै हो । त्यसमाथि चेल्सी, जुन क्लबलाई खालि सफलता मात्रै चाहिन्छ र यसका लागि जति खर्चिन पनि तयार हुन्छ ।


सारीले उन्मुक्ति पाउने भएन नै । इंग्ल्यान्डका मिडियाको विश्वास गर्ने हो भने चेल्सीका माथिल्ला पदाधिकारीले सारीको भविष्यलाई लिएर बैठक गरिसकेका छन् । सबै चिन्तित छन्, क्लबको लयलाई लिएर । भर्खरै चेल्सी एफएकपमा म्यानचेस्टर युनाइटेडको हातबाट पराजित भयो, घरमै । म्यानचेस्टर त्यही टिम हो, जुन यसअघि खराब लयमा थियो । उसले आफ्ना त्यति बेलाका व्यवस्थापक जोसे मोउरिन्होलाई बर्खास्त गर्‍यो र ल्यायो, ओले गन सोल्सजारलाई । उनी क्लबका पुराना खेलाडी हुन् । सोल्सजार के आए, म्यानचेस्टरले फेरि गज्जब खेल्न थालेको छ । संयोग भनौं अथवा के, मोउरिन्हो यसअघि चेल्सीमा दुई अवसरमा व्यवस्थापक भइसकेका छन् । दुवै अवसरमा बर्खास्तीमा परे । अहिले म्यानचेस्टरले पनि उनलाई बर्खास्ती नै गरेको हो । तिनै मोउरिन्होले म्यानचेस्टर युनाइटेडको चेल्सीमाथि निकालेको प्रभावशाली जितलाई लिएर के सोच्दो हो ? इंग्लिस मिडियाले अहिले थरीथरीका अनुमान गरिरहेका छन् ।


तर, यहाँ कुरा भइरहेको सारीलाई लिएर हो । चेल्सी अहिले तत्काल प्रिमियर लिगको छैटौं स्थानमा छ । लिग सुरु हुँदा भनिएको थियो, सारी आएपछि चेल्सी फेरि एकपल्ट लिग उपाधिको होडमा सामेल भएको छ । सुरुमै चेल्सीले त्यसको कुनै छाँट देखाएन । पछि भनियो, कम्तीमा चेल्सी लिगको शीर्ष चारभित्र पर्छ । सुरुआती चार स्थानमा पर्नु भनेको युरोपेली च्याम्पियन्स लिगका लागि छनोट हुनु हो, त्यसैले त्यसको खास अर्थ छ ।

चेल्सीले त्यति पनि गर्ने छाँट देखाएको छैन । विश्वास नै गर्न गाह्रो हुने गरेर म्यानचेस्टर चौथो स्थानमा उक्लिसकेको छ । पाँचौंमा आर्सनल छ । त्यसो त चौथोदेखि छैटौं टिमबीच खासै अन्तर छैन, खालि एक अंकको अन्तर मात्र हो, त्यसमाथि गोलअन्तरको समीकरणले भूमिका खेलिरहेको छ । तर, चेल्सी यस्तै लयमा रहने हो भने उसले तुरुन्तै केही गर्ला भनेर सोच्न पनि सकिन्न । अहिले तत्काल उपाधिको होडमा म्यानचेस्टर सिटी, लिभरपुल र टोटनहम छन् भनौं । तिनै तीन टिममध्ये सिटीसँग चेल्सी हालै आधा दर्जन गोलले पराजित रह्यो । चेल्सीजस्तो टिम सिटीसँग यति धेरै अन्तरले पराजित हुनुलाई धेरैले विश्वास नै गर्न सकेनन् । चेल्सी समर्थकले त यसलाई कसरी पचाउन सक्नु । हालै अर्को म्यानचेस्टरसँग पराजित भएपछि स्टायनफोर्ड ब्रिजमा उपस्थित दुवै क्लबका समर्थकले एउटै नारा लगाए, ‘सारी, अब तिमी बर्खास्त हुँदै छौं ।’ म्यानचेस्टरका समर्थकलाई त यसरी नारा लगाउँदा मज्जा नै आइरहेको होला ।


चेल्सीका समर्थकले त पक्कै यस्तै अनुभव गरेका थिएनन । खासमा तिनीहरूको मनमा आक्रोश थियो । तिनीहरूलाई आफ्नै व्यवस्थापकमाथि विश्वास हटिसकेको थियो । जति बेला क्लबका समर्थकले यसरी अविश्वास पोख्छन् नि, त्यसपछि अब केही हुने छैन भन्दा हुन्छ, व्यवस्थापकलाई लिएर । सारी ठ्याक्क यस्तै दयनीय स्थितिमा छन् । त्यसो त उनले पछिल्ला हारपछि एउटै कुरा दोहोर्‍याएका छन्, ‘म नतिजालाई लिएर चिन्तित छु, समर्थकले के भन्छ, त्यसमा चिन्ता छैन ।’ तर यस्तो हुँदैन, उनले बोल्नका लागि बोलेका मात्र हुन् । चेल्सीका रुसी मालिक रोमन अब्रामोभिच पनि खुसी देखिएका छैनन् । कुन बेला उनलाई सनक चल्ने हो, उनले सारीलाई बाहिरको ढोका देखाउने छन् र भन्ने छन्, ‘सारी, तिमी बर्खास्त भयौ ।’ सारीलाई पनि राम्रोसँग थाहा छ, न चेल्सी ठीक स्थितिमा छ, न त उनी आफैं । फेरि उनमा चेल्सीलाई ठीक स्थितिमा ल्याउन सक्ने ल्याकत पनि अब बाँकी रहेन । स्वाभाविक रूपमा प्रश्न उठ्छ, चेल्सी र सारी कहाँनिर गएर चुके त ?


सबैभन्दा सारीबारे उनको केही पृष्ठभूमि । उनी पुराना पाराका इटालीवासी हुन्, जसको मुखमा अधिकांश समय चुरोट हुन्छ । उनी चुरोटका हदसम्मकै अम्मली हुन् । चुरोट भएन भने केही पनि चाहिन्न भन्ने खालको । उनलाई छुट दिने हो भने उनी खेलकै क्रम चुरोट खान रुचाउने मान्छे हुन् । उनको यो अम्मललाई लिएर पनि धेरै किस्सा पाइन्छ । उनकै लागि भनेर रंगशालामा स्मोकिङ जोन बनाइएको हल्ला सुन्न पाइन्छ । खैर, यो त उनको व्यक्तिगत बानी भयो । उनले आफ्नो पूरा जीवनमा कहिल्यै व्यावसायिक फुटबल पनि खेलेनन् । खालि केही समय एमेच्योर फुटबल खेले । यसमा नयाँ के नै छ र ? इटालीका जो सुकैले कुनै न कुनै समय यति फुटबल त खेलेकै हुन्छन् । अरूजस्तो उनी फुटबलमा व्यवस्थापक बन्छु भने अगाडि सरेका पनि व्यक्ति पनि होइनन् । खासमा उनी केही हदसम्म सफल बैंकर हुन् । फुटबलमा काम पाउने छाँट नदेखेपछि बैंकतिर जागिरे भए । एउटा के निश्चित थियो भने उनी फुटबलका कीरा भने थिए ।


बैंकमा जागिर भए पनि मन भने सधैं फुटबलमा हुन्थ्यो । फुटबलका रणनीतिबारे उनी तरिका–तरिकाले सोच्थे । यसैबीच उनले सन् २००५ मा सिरी बी क्लब पेसकाराको प्रशिक्षक हुने मौका पाए । त्यसका लागि उनले बैंकको जागिर छाडे । तर, माथिल्लो स्तरको फुटबलमा अझै काम पाउन सकेका थिएनन् । सन् २०१४ मा इम्पोलीलाई सिरी एमा पुर्‍याएपछि उनी पहिलोपल्ट धेरैको आँखामा परे । उनी सबैको आँखामा परेको भने पोहोरको सिजनदेखि मात्र हो । उनको नेतृत्वमा नेपोलीले गज्जब नै खेल्यो । निकै आक्रामक फुटबलमा विश्वास गर्ने सारीको नेतृत्वमा नेपोलीले उपाधिको होडमा युभेन्ट्सलाई सिरी एमा राम्रै टक्कर थियो । भाग्यले साथ दिएको भए, केही नाजुक मोडमा नचुकेको भए, लिग जित्ने पालो नेपोलीकै थियो ।


सेट पिसमा उनको बढी जोड हुन्छ । ट्याक्क–ट्याक्क छोटो पास खेल्नुपर्छ भन्ने मान्यताका हुन्, उनी । यति भएर पनि डिफेन्समा चार जना तगडा खेलाडी उनलाई जसरी पनि चाहिन्छ । अफ साइड ट्र्यापको जालो बुन्न पनि उनलाई रुचि छ । उनको खेलाउने रणनीतिलाई ‘सारी बल’ भनिन्छ र यो बार्सिलोनाले खेल्ने टिकीटाकाको ‘इटालियन भर्सन’ हो । चेल्सीको आँखा यस्तै–यस्तै प्रशिक्षकमा हुन्छ । सारीले यसै सिजनको सुरुमा चेल्सीसँग अनुबन्ध गरिहाले ।

भनियो, उनी आएपछि चेल्सीले अब केही गर्छ, फेरि एकपल्ट । तर, त्यस्तो भएन नै । अब प्रश्न किन यस्तो हुन सकेन त ? सारी आएयता चेल्सी सुरुआती १२ खेलमा अपराजित रह्यो । त्यसपछि स्थिति बिग्रिन थाल्यो । इंग्लिस फुटबल पण्डितहरूको के मत छ भने चेल्सीका खेलाडीले ‘सारी बल’ लाई राम्रोसँग बुझ्न सकेनन् अथवा त्यसअनुसार खेल्न सकेनन् । अझ भनौं, सारी आफैंले चेल्सीका खेलाडीलाई बुझाउन सकेनन्, आफ्नो फुटबल ‘फिलोसफी’ के हो भनेर ।


सारीले जुन प्रकारको रणनीति बुन्ने गर्छन्, त्यसलाई खेलाडीले आत्मसात् नै गर्न सकेनन् । धेरै अवसरमा चेल्सीका खेलाडी बुझ्दै नबुझेका खेलाडीजस्तै देखिए, भलै उनीहरू सरदर साताको एक लाख पाउन्डमा तलब थाप्छन् । इटालीको फुटबल जे जति राम्रो हुन्छ, त्यो इंल्यान्डमा पनि राम्रो हुनुपर्छ भन्ने हुन्न । चेल्सीमा अहिले जति खेलाडी छन्, तिनीहरू ‘सारी बल’ का लागि ठीक छैनन् भन्ने पनि विश्लेषण आएको छ । खासमा यो फुटबल एक प्रकारको ‘फिलोसफिकल’ द्वन्द्व हो, जसको अन्त्य जरुरी छ । त्यो भनेको सारीले चेल्सी छोड्नुपर्छ ।
twitter : @himeshratna

प्रकाशित : फाल्गुन ११, २०७५ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?