भेष भुलेका कम्निस्ट

कुनै बेला कमरेडको सादा जीवन उच्च विचार नारा नै थियो । संसार बदल्न हिंडेको भन्थे उनीहरू । संसार बदल्न उनीहरूले त्याग र तपस्या, जेल र नेल भोग्न तयार भए । ससार बदल्न हिंडेकाहरू संसार नबदलिंदै आफैं बदलिए ।
गंगा बीसी

काठमाडौँ — जनगायक जीवन शर्माले हालै गाएका छन्– छैन मेरो शरीरमा अत्तरको बासना, होला बरु जीउभरि पसिनाको गन्ध  । चाहिंदैन मलाई सिसाको महल, चाहिंदैन मलाई चमेलीको बास, यसै राम्रो छ यो मेरो जीवन, चाहिंदैन मलाई सम्पत्तिको रास  ।

नेकपाको दुई तिहाइ सरकार भएकै बेला शर्माले यो गीत गाए । यो गीतलाई आत्मसाथ गर्ने कम्युनिस्टका लागि यो शपथजस्तै हो । पूर्वमाओवादी र एमाले नेताहरूका लागि भने यो गीत ब्यंग्य गीतजस्तो देखिएको छ । यतिबेला अत्तरको बासन नआउने, महलमा नबस्ने र सम्पत्ति मोह नभएका, नातावादलाई त्यागेका नेता भेटाउन पाएमा भाग्य हुन्थ्यो ।


जीउभरि पसिना बगाउने खासमा कम्युनिस्टका आधार हुन् । तर, पसिना बगाउने नजिक आउँदा कमरेड नेताहरूलाई गन्ध आउँछ । जीउमा महँगा अत्तरको बासनाले उनीहरूलाई तान्छ । उनीहरू नै कमरेडको वरिपरि घुम्छन् । जबकि पसिनाको गन्ध आउनेहरूकमरेडबाट टाढिंदै गएका छन् । यसलाई भन्छन्, नयाँ बोतलमा पुरानो रक्सी । नाम कम्युनिस्ट ब्यवहार पुरानै ।‘देशअनुसार भेष, कपालअनुसार केश’ को प्रसंगलाई धेरै अर्थमा प्रयोग गर्न सकिन्छ । खासगरी हाम्रो परिवेशमा अझ लोकप्रिय छ ।परिवेश र परिस्थितिअनुसार यो उखान बढी प्रयोगमा आउँछ । यहाँ प्रसंग भने फरक छ । यो कम्युनिस्ट, कमरेड, क्रान्ति, सर्वहारा, सत्ता, मोह, कार्यशैलीका कुरासँग गाँसिन्छ ।कार्ल मार्क्स, लेनिन, माओ जीवित भएको भए नेपालका कम्युनिस्टबारे के भन्थे होलान् ? उत्तर सहज छैन । तर, नेपालका कम्युनिस्टहरू आफैं भन्छन्, हामी सर्वहाराका मुक्तिदाता हौं । साँच्चै हो त ? दुई तिहाइ सरकार हाँकिरहेका कम्युनिस्टहरूको यात्रा यतिबेला कतातिर हुँदैछ ।


कम्युनिस्ट सिद्धान्तले भन्छ, जनताको जीवनशैली नेता कमरेडले अँगाल्नुपर्छ । नेता, कार्यकर्ता र जनताबीच कार्यशैलीमा खास फरक हुनु हुँदैन ।नेता र जनताको सम्बन्ध नङ र मासुजस्तो हुनुपर्छ ।नेताको कार्यशैलीले जनतालाई जोड्नुपर्छ । कम्युनिस्ट सिद्धान्तले कार्यशैलीको खाडल बढ्दै गएमा जतिसुकै राम्रो सिद्धान्त भए पनि काम नलाग्ने भन्छ । त्यसैले लेनिनले भनेका होलान्, ‘कुनै पनि सिद्धान्त व्यवहारमा लागू हुँदैन भने त्यसको कुनै अर्थ हुँदैन ।’ सिद्धान्त उपदेश दिन होइन, व्यवहारमा उतार्नका लागि हुन्छ, खासगरी कम्युनिस्टका लागि । सिद्धान्त एउटा व्यवहार अर्कै भयो भने त्यो ‘रूप र सार’ मा मेल खाँदैन ।
सिद्धान्त एकातरि व्यवहार अर्कोतिर । काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर गएजस्तो हो । सिद्धान्त जतिसुकै राम्रो भए पनि व्यवहारमा लागू भएन भने त्यो कागजको फूलजस्तो हुन्छ । अर्थात् व्यवहारमा लागू नहुने सिद्धान्त देख्न मात्र हुन्छ, सुगन्ध लिन होइन । झन्डा रातो भएर केही अर्थ छैन । सबै राता झन्डाहरू क्रान्तिकारी हुन्छन् भन्ने छैन । सबै राता फूल गुराँस हुँदैनन् । सबै राता झन्डा क्रान्तिकारी हुँदैनन् ।

कुनै बेला कम्युनिस्ट नेताले कोक खायो भने स्पष्टीकरण खाने अवस्था थियो । टाई–सुट लगाउने कुरा दुर्लभ हुन्थ्यो । अहिले कम्युनिस्ट नेताहरूका लागि टाई–सुट फेसनजस्तो भइसक्यो । नहर उद्घाटन गर्न होस् या पार्टीको आमसभा नेताहरू चिटिक्क टाईसुटमा देखिन्छन् । विगतमा पूरा हुन नसकेको रहर कामरेडहरूले पूरा गरेजस्तो देखिन्छ । कतिसम्म भने गाउँको भ्रमण गएको बेलासमेत उनीहरूको टाई–सुट मोह रहन्छ ।आवश्यक ठाउँमा टाई–सुट लगाउनुलाई अन्यथा मानिदैन । हालै पूर्वमाओवादी वरिष्ठ नेता, हाल नयाँ शक्ति नेपालका नेता बाबुराम भट्टराईले कर्णाली प्रदेश पुग्दा दौरा–सुरुवाल लगाए । उनले काठमाडौंको असनबाट किनेर लगेर रुकुम पश्चिमको चौरजहारी पुगेर दौरा–सुरुवाल लगाए । जीउमा त्यति नसुहाए पनि उनले त्यो सुदूरपश्चिमको बैतडीमा पनि त्यही लगाए ।


उनीहरूले नै बनाएका सर्वहारा कार्यकर्ताहरू उनीहरूको टाई–सुटले तर्सिन्छन् । आहो परिवर्तन । त्यो पनि महँगा टाई–सुट । जसले एकजोर टाई–सुटले एक गरिब परिवारको एक वर्षको घर खर्च चल्छ । कमरेडको कार्यशैलीले अग्रगामी छलाङमारेको छ । नेताको खुट्टामा ब्रान्डेड जुत्ता, जनताको खुट्टामा हात्ती छाप चप्पल । यो तीतो यथार्थ हो, अझ खाली खुट्टा हिंड्नेहरू पनि छन् ।सर्वहारा नेताको जीउमा भएको ब्रान्डेड परिहनले सर्वहारको हुर्मत लिएको छ ।
कुनै बेला कमरेडको सादा जीवन उच्च विचार नारा नै थियो । संसार बदल्न हिंडेको भन्थे उनीहरू । संसार बदल्न उनीहरूले त्याग र तपस्या, जेल र नेल भोग्न तयार भए । ससार बदल्न हिंडेकाहरू संसार नबदलिंदै आफैं बदलिए । कुरा भेषको होइन, देशको हो । तर, कम्युनिस्ट नेताहरूको पुरानो जुन भेष थियो, त्यो अब रहेन । भेष परिहन मात्र होइन, कार्यशैली हो । कम्युनिस्ट कार्यशैलीबारे धेरै पुस्तक लेखिएका छन् । मार्क्स, लेनिन, माओ र मदन भण्डारी, पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत कम्युनिस्ट कार्यशैलीबारे भनेका छन् ।‘सादा जीवन उच्च विचार’ सार यही हो । यसकै आधारमा कम्युनिस्टप्रति जनता प्रभावित भए । गत वर्षको निर्वाचनमा अत्यधिक बहुमत दिए ।

पूर्व माओवादीतिर फर्कौं । २०४८ सालतिर नेता तथा कार्यकर्ता आफूले खाएको थाल आफैं माझ्थे । जनताको घरमा गएर ‘जनसेवा’ गर्थे । खेतीपाती लगाउनमा सहयोग गर्थे । त्यो २०५२ मा युद्ध सुरु हुनुअघिको कुरा हो । माओवादी युद्ध सुरु भएपछि अलि भेष फेरियो । हातमा बन्दुक भएपछि अलि स्वर ठूलो भयो । युद्धअघि नरम बोली बिस्तारै कडा हुन थाल्यो । बोलीले नसुने गोली चल्न थाल्यो । युद्धका सुरुका दिनमा खुकुरी बढी चले । बन्दुक जम्मा हुँदै गएपछि खुकुरी कम प्रयोग हुन थाले । बन्दुकको नालबाट राज्यसत्ता जन्माउने युद्धमा जनतासँग नरमभन्दा बढी गरम हुने नीति माओवादीले लियो ।
बन्दुकको अगाडि खाली हातको के चल्थ्यो ? जे भन्यो त्यही मान्ने अवस्था आयो सर्वसाधारणको । परिवर्तन हुने आशामा भात दिए, साथ दिए जनताले । नमान्ने सफाया भए, केही घाइते–अपांग भए । माओवादीको बोली २०६४ मा शान्ति प्रक्रियामा आउनुअघि पनि उस्तै कडा थियो । त्यसबेलासम्म भेष भने बदलिएको थिएन । हार्डकोर कम्युनिस्ट विचार लिएर हिंडेका थिए । व्यवहारमा कडा भए पनि कार्यशैली कम्युनिस्ट शैलीको हुनेनै भयो । त्यही भएर जनताले माओवादीलाई २०६४ को निर्वाचनमा सबभन्दा ठूलो पार्टी बनाए । सबभन्दा ठूलो पार्टी भएपछि शक्तिशाली बने नेता तथा बाठा कार्यकर्ता । युद्धबाट प्राप्त शक्तिले निर्वाचनमा वैधानिकता पायो । त्यसपछि सरकारमा पुगे कमरेडहरू । संसार बदल्ने कुरा गरिरहे, भेष बदलिरहे । कार्यशैली बदलिइरह्यो । सरकारमा पुगेपछि कमरेडसँग बन्दुक र सक्ताको शत्तिको उन्मादले भरङ्ग भए । संसार जितेको खुसियालीमा उनीहरू मैमत्त हुँदै गए । विगतमा उनीहरू हिंडेका गोरेटा बिर्से । बास बसेका झुपडी, भात खुवाएका जनता ओझेलमा पर्दै गए । सार अरू भए पनि रूप भने कम्युनिस्ट थियो, अझmै क्रान्तिकारी ।


त्रान्तिकारी भेषमा बिस्तारै खिया लाग्न थालेको स्वयं थाहा पाउन छाडे । थाहा पाएर पनि उनीहरू वास्ता गरेनन् कि ? दर्जनौं केन्द्रीय समिति बैठकमा भड्किलो कार्यशैली सुधारका विधि बने । कार्यशैली बने । माओवादीको हेटौंडा महाधिवेशनले माओवादी बिग्रनुमा नेता तथा कार्यकर्ताको कार्यशैली पनि एक कारक भएको निष्कर्ष निकाल्यो । विधि बन्यो, त्यो केवल कागजमा सीमित भयो । माओवादीहरू आफैं भन्थे, व्यवहारमा लागू नभएको सिद्धान्त कागजको खोस्टो हो । आखिर कार्यशैली सुधार गर्ने विधि कागजको खोस्टो भयो । त्यसपछि विराटनगर राष्ट्रिय सम्मेलन भयो, त्यहाँ पनि बिग्रिएको भेष सुधार गर्ने विधि बन्यो, त्यो पनि लागू भएन । त्यतिबेलानै थाहा भइसकेको थियो, जब सुध्रिने पटक–पटक वाचा गरिन्छ, सुधार हुँदैन, त्यतिबेला धेरै बिग्रिइसकेको हुन्छ । माओवादीको कार्यशैली सुधार पनि ठीक त्यस्तै भयो ।


नेता तथा कार्यकर्ताको जीवनस्तर फेरियो, उनीहरूको जीवनमा साम्यवाद आयो । जनताको जीवन सधैं सर्वहारानै । नेताहरूको रहनसहन, बसउठ, खानपान देखेर जनता आत्तिए । भने, ‘आम्मै देश बदल्न हिंड्नेहरू आफैं बदलिएछन् ।’पार्टीमा वैद्य बाका नामले चिनिने मोहन वैद्य यो देखेर अलग भए । उनी अहिले पनि सर्वहारा नेताझैं लाग्छन् । नेताहरू छाड्दै गएपनि उनले सर्वहाराको मुक्तिको कुरा छाडेका छैनन् । पूर्वमाओवादीमाथि द्रव्य मोहको बात लाग्यो । बात मात्र होइन, देखिंदै गयो । रक्सी पुरानो बोतल नयाँ भनेजस्तै भयो उनीहरूको कार्यशैली । बाहिर सर्वहारका नेता देखिए पनि अरू संसदीय पार्टीका नेताभन्दा फरक देखिएन् । केहीको अझ त्योभन्दा भड्किलो देखियो । जसले झुपडीमा भात र साथ दिएका थिए, उनीहरूले ती ‘सर्वहारा’ का नेतालाई भेट्नु दुर्लभ बन्दै गयो । नेताका वरिपरि बिचौलिया, भेष बदलेर माओवादी भएका उनै अवसरवादीकोभीड लाग्न थालेपछि जनता भन्न थाले— हरे, त्यो पुरानो कार्यशैली कहाँ गयो, त्यो खाँटी भेष कहाँ हरायो? त्यो सत्तामा हरायो, महलमा हरायो । पसिना बगाउनेहरूको सपनामा असिना बर्सिंदै गयो ।

के नेकपाका नेता तथा कार्यकर्ताहरू हाल आफूले खाएका भाँडा आफैं माझ्छन् ? के उनीहरू कुटो–कोदालो बाकेर जनसेवामा सहभागी हुन्छन् ?यो कुरा गरिरहँदा नेकपाका अधिकांश नेता तथा कार्यकर्ता, जो सत्ताको वरिपरि छन्, माला थाप्न व्यस्त होलान् । या, उनीहरूसहरका कफी सपमा कफीको चुस्की लिंदै होलान् । बेलुका महँगा रेस्टुरेन्टमा ‘समाजवाद’ का गफ गर्दै होलान् । यो उनीहरूको रहर हो या बाध्यता ? त्यो आफैं जानून् । युद्धकालमा जसले सेल्टर दिए, खाना दिए, माना दिए, नेता तथा कार्यकर्ताले गर्धन लच्काउने गरी लगाएको माला, कफी सपमा तस्बिर र महँगा रेस्टुरेन्टका समाजवादका गफले व्यंग्य गरेजस्तो लाग्छ । जनताको सेवामा जुट्नुपर्नेको यो विचलित चालचलन ।


समाजवाद उन्मुख संविधानमा टेकेर नेकपाको दुई तिहाइको सरकार बनेको छ । त्यो समाजवादको बाटो कतातिरबाट अघि बढ्छ ? समाजवाद गोरिल्ला ट्रेक हुँदै अघि बढेको छ कि महेन्द्र राजमार्ग हुँदै ? या बीपी राजमार्ग हुँदै कि मदनभण्डारी राजमार्ग हुँदै ? जो सर्वहाराको रेखामाथि उक्लन सकेका छैनन्, उनीहरूलाई समाजवादको अर्थ के हो ? खुट्टामा राम्ररी हात्तीछाप चप्पल होस्, जीउमा भेस्ट होस्, साँझ–बिहान हात–मुख जोड्न गाह्रो नहोस्, शिक्षा, स्वास्थ्य निःशुल्क होस् । यसरी बुझाउन सक्ने हैसियत भेष बदलेका कम्युनिस्टमा छैन ।रोल्पा, रुकुममा युद्धमा मृतकका नाममा सालिक, शिलालेख र गेट छन् । हरेक वर्ष फागुन १ गते युद्ध सुरु भएको दिन अबिर, माला लाग्छ त्यसमा । त्यो माला ओइलाएर जान्छ, अबिर उडेर जान्छ । त्यसरीनै ती युद्धमा मारिएका सहिदका सपनाहरू उडे । कमरेडहरू केन्द्रदेखि स्थानीय तहसम्म सत्तामा छन् । सत्ता र सपनाको के सम्बन्ध छ ? सपनाले सत्ता निर्माण गर्छ तर सत्ताले सपना निल्छ । त्यसैले होला, हरेक वर्ष सहिद दिवसका दिन सहिदका सपना याद गरिन्छ । एक मिनेट मौन धारणा गरेर याद गरेका सपना सत्ताको कुर्सीमा बस्नेबित्तिकै दबेर जान्छन् । सपना बिर्सनका लागि होइनन् पक्कै पनि । हालसम्म विगतको इतिहासको भर्‍याङ चढेर कमरेड उक्लिएका छन् । इतिहास व्यवहारले जोगाउने हो । विगतको आफ्नै इतिहासलाई कुल्चेर समाजवादको यात्रा पूरा हुन गर्न कमरेडहरू कस्सिएका छन् । वर्ग विभाजन उस्तै छ, धनी र गरिबबीच खाडल उस्तै छ । कमरेडहरू सामना परिवारले गाएजस्तै गाइरहेछन्:
साम्यवाद चुम्ने लक्ष्य छ हाम्रो वर्ग मेटाउने सपना छ हाम्रो...।

प्रकाशित : फाल्गुन १८, २०७५ १२:५९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फागुन एकको सम्झना, बिर्सन...

माओवादी ‘जनयुद्ध’
गंगा बीसी

काठमाडौँ — फागुन १ पूर्व माओवादीका लागि महान् दिन हुन सक्छ । कांग्रेस  र पूर्व एमालेका लागि पनि सम्झनालायक दिन होइन । अझ मोहन वैद्यले नेतृत्व गरेको माओवादी र नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीका लागि गौरवशाली दिन हुन सक्छ । पूर्व राजाका लागि बिर्सनलायक दिन । माओवादीले राजतन्त्रमाथि धावा बोलेको दिन भएकाले । 

फागुन १ गते सुरु भएको सशस्त्र युद्ध १० वर्ष चल्यो, यसले धेरै हुरी ल्यायो। करिब १३ हजार मान्छे मारिए, हजारौँ घाइते भए। युद्धले धेरै डोबहरू बनायो। धेरै घाउ बनायो। ती डोबहरू, घाउहरू अझै पनि पुरिएका छैनन्।
रोल्पा, रुकुमलगायतका जिल्लाहरूमा युद्धमा मारिएका व्यक्तिका ‘सहिद’ गेट, शिलालेख र सालिकहरू जस्ताका त्यस्तै छन्। सहिद गेट र सालिक स्थिर छन्। ती सजीव व्यक्तिका निर्जीव वस्तु हुन्। उनीहरू बोल्दैनन्, चाल पनि छैन। उनीहरूको सन्देश भने अवश्य छ, खास गरी पूर्व माओवादीका नेताहरूलाई।

ती सालिकमा हरेक वर्ष फागुन १ गते गेट र सालिकमा माला र टीका लगाइन्छ। उनीहरूको सपना पक्कै पनि दुनियाँ बदल्ने थियो। सपनाले उनीहरूलाई सहिद बनायो, मृत्युको मुखमा पुर्‍यायो। माओवादी र त्यसका नेताहरूले ती सपना बाँडेका थिए। सपनालाई बिपनामा बदल्ने ठुलो रहर थियो उनीहरूको। ‘सहिद’ का सालिक र गेट केही समयपछि पुराना हुँदै जानेछन्। सहिदका सपनाहरू सालिक र गेटसँग बिलाउँदै जाने स्पष्ट सङ्केत देखिएका छन्। सशस्त्र युद्धको नेतृत्व गरेको माओवादी अब पूर्व माओवादी भइसक्यो। माओवादी इतिहासमा छुटिसकेका छ। अधिकांश नेताहरू फेरिएका छन्। मुलुक नेपाल खास बदलिएको छैन। ‘मुलुक बदल्छौँ भन्थे आफै बदलिए’ पूर्व माओवादीका नेताहरू लक्षित भनाइ रोल्पा, रुकुमतिर सुन्न पाइन्छ।

नेता बदलिए। व्यवहार बदलियो। सर्वहारापन हराउँदै गयो। सर्वहाराहरू सधैँ सर्वहारा नै रहे। नेताहरू सर्वहारा रहेनन्। सर्वहाराका नेताहरू पुँजीवादी नेतामा रूपान्तरण भए। भन्न त उनीहरू अझै समाजवादमा जाने भन्दैछन्। समाजवादको बाटो रोल्पा, रुकुमको सडकजस्तै अप्ठ्यारो छ। गधा धोएर गाई बनाउने सिद्धान्त अँगालेको आरोप लाग्दैछ। दूधको दूध पानीको पानी छुट्ट्याउने क्षमता जनतासँग छ। जनताले यो निर्वाचनमा दुई तिहाइ दिएको पनि आड र भरोसाले हो।
सर्वहारा भइरहन अब नेपाली जनतालाई मन छैन। सायद सर्वहाराको नाममा रानजीति जनतालाई मन पर्दैन। किनकि सर्वहारा आफैमा दु:खीपन हो। तर दु:खुलाई पार लगाउने पूर्व माओवादी र एमालेको मिलनपछि जन्मिएको नेपाल कम्युनिस्ट पार्टीले कुरा गरेको छ। यो सरकारमा २०५२ फागुन १ बाट सुरु भई १० वर्ष चलेको सशस्त्र युद्धको रगत र पसिना मिसिएको छ।

‘सर्वहारा’ नेताहरू सरकारमा पुगे। विगतका कार्यशैली सरकारको कार्यशैली। जनताका दु:ख बदलिएका छैनन्। तर, नेताको जीवनशैली बदलिएको छ। जनताको जीवन खासै नबलिनु तर नेताको जीवनशैली बदलिँदै जाने हो भने समाजवादको मार्ग कोरिन्छ कि नाइ? यो प्रश्नको उत्तर रोल्पा, रुकुमलगायत जिल्लामा रहेका सहिदका गेट र सालिकले दिन सक्दैनन्।

युद्धमा मारिएका परिवारको अवस्था खासै सुधार भएको छैन। स्वाभाविक विकासका कामहरू गाउँमा भएका छन्। युद्धमा बन्दुक बोकेका केही व्यक्ति गाउँ फर्किएका छन्। धेरै काम खोज्दै विदेश पुगेका छन्। रगत र पसिनाको मूल्य के हो? बन्दुक बाकेर हाल गाउँ फर्केका पूर्व लडाकु र माओवादी कार्यकर्तालाई सोधे हुन्छ। रगत र पसिना बग्यो, खोला र नदीजस्तै। युद्धमा बगेको रगत र पसिनाको मूल्यले पूर्व लडाकु र कार्यकर्ताको जीवनस्तर फेरिनु पर्ने हो। नेताको जीवनस्तर फेरियो।

युद्ध इतिहासमै सीमित भएको बेश हो। माओवादी युद्ध पनि सम्झना र बिर्सनको दोसाँधमा छ। यद्यपि युद्धका डोबहरू रहिरने छन्। युद्ध शान्तिमा रूपान्तरण भएकोले चिन्ता गर्नुपर्ने अवस्था छैन। चिन्ता त छ केवल सर्वहारा जीवनको। केवल प्रश्न छ, ‘के अझै सर्वहारा भइरहने हो? के सर्वहाराको नाममा राजनीति भइरहने हो?

प्रकाशित : फाल्गुन १, २०७५ १८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT