'तन्नेरी' हुन नपाएकाहरू

कम उमेरमै बिहे गर्नुले लाखौँ छोरीहरू ॅयुवा जनसंख्या’ को तथ्यांकमा मात्र सीमित हुन पुगेका छन् । उनीहरू वास्तवमा युवा अथवा तन्नेरी हुन पाएकै छैनन् ।
अञ्जिता पराजुली

काठमाडौँ — छोरीहरू बिग्रिने डर भएकाले १६ वर्षभित्रै बिहे गर्नु उपयुक्त हुनेछ, २० वर्ष पुगेपछि मात्रै छोरीको विवाह गर्नुपर्ने कानुन ल्याएर गल्ती भएको छ...’ ‘छोरीहरूले भागी विवाह गरेकाले आमाबाबुको इज्जत गएको छ... । ’ माथिका भनाइहरू पूर्वराज्यमन्त्री, हाल प्रदेश २ की सांसद करिमा बेगमले हालै प्रदेशसभा बैठकमा दिनुभएको अभिव्यक्तिको भाव हो  ।

नयाँ मुलुकी अपराध ऐनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ । २० वर्ष पूरा नभई बिहे गरेमा अथवा गराएमा, सो बिहे बदर हुने र कसुरवालाले २ वर्षको कैद सजायसहित ३० हजार जरिवाना तिर्नुपर्नेछ । १८ वर्ष पूरा भएपछि नावालिगबाट वालिग हुने अहिलेको राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनी प्रावधानलाई आधार मानेर हेर्दा, १८ वर्ष पूरा भएका कुनै दुई ‘वालिग’ व्यक्तिले एकअर्काको इच्छा र मञ्जुरीमा विवाह गर्ने अधिकार किन नपाउने भन्ने प्रश्न अवश्य उठ्छ, विशेषगरी, वैवाहिक सम्बन्धभिक्र मात्र यौनले सामाजिक स्वीकारोत्ति पाउने हाम्रोजस्तो समाजमा । २० वर्ष पूरा नहुँदै बच्चा जन्माउनु आमा र बच्चा दुवैका लागि अत्यन्तै जोखिमपूर्ण हुन्छ भन्ने प्रमाणित तथ्य हो । तर, के यसको समाधान १८, १९ वर्षको वालिग उमेरमा गरिने विवाहलाई सोझै गैरकानुनी करार गरेर हुन्छ ? अथवा कम उमेरमा गरिने विवाह र प्रजननका जोखिम र सुरक्षित यौनबारे व्यापक सचेतना दिने अनि युवाका लागि शिक्षा र रोजगारीका प्रशस्त अवसर आदिको सिर्जना गरी कम उमेरमा विवाह गर्ने र गराउने कारक तत्त्वको न्यूनीकरण गरेर यसको समाधान खोज्नु उपयुक्त हुन्छ ? यी पक्षका बारेमा पनि छलफल हुनु जरुरी देखिन्छ ।


तर, बिहेको कानुनी उमेरप्रति सांसद बेगमको आपत्ति अलि भिन्न कारणमा आधारित छ, १६ वर्षपछि छोरी बिग्रिने डर भएकाले र छोरीहरूले भागी विवाह गरे बाबुआमाको इज्जत जाने हुनाले छोरीको बिहे १६ वर्षमै गरिदिन पाउनुपर्छ भन्ने उनको आशय छ । कम्तीमा पनि सामाजिक सञ्जालमा भए पनि सांसद बेगमको यस अभिव्यक्तिको व्यापक विरोध भएको छ किनकि एकातिर ‘स्मार्ट’ युगका ‘सुपरस्मार्ट’ छोरीहरूको जमानामा यस्ता विचार स्वीकार्य हुने कुरै भएन भने अर्कातिर, यही स्मार्ट सहरको सानो वृत्तभन्दा बाहिर यस्ता ठाउँ छन् जहाँ हजारौं छोरीहरू प्रजनन अंग पूर्ण विकसित नहुँदै बच्चा जन्माउँदा अहिले पनि मृत्युको मुखमा पुगिरहेका छन् । नेपालमा अहिले पनि १ लाख बच्चा जन्मिने क्रममा २ सय ३९ जना आमाको मृत्यु हुन्छ, जसमध्ये २० वर्षभन्दा कम उमेर समूहका अत्यधिक जोखिममा हुन्छन् । अझ, सांसद बेगमको आफ्नै प्रदेश नं. २ मा, विशेषगरी मुस्लिम र दलित समुदायमा मातृमृत्यु दर सबैभन्दा बढी छ । हाम्रा आमा, हजुरआमाका पालामा जस्तो दस एघार वर्षमै विवाह गर्ने प्रचलन अहिले लगभग हराएको भए पनि केही सीमान्तकृत समुदायमा र दुर्गम जिल्लाहरूमा यो प्रचलन अझ रहिरहेको छ । दैलेखका एक अभियन्ताका अनुसार १३, १४ वर्षमै छोरीको विवाह गरिदिने बाबुआमा त्यहाँ अझै भेटिन्छन् ।


तथ्यांकले भन्छ, नेपालमा बालविवाह घट्दो क्रममा छ भने विवाह गर्ने उमेर बढ्दो क्रममा छ । तर, यी सकारात्मक सूचकांकका बाबजुद कम उमेरमा विवाह गर्ने किशोरकिशोरीहरूको संख्या नेपालमा अहिले पनि व्यापक छ । नेपाल दक्षिण एसियामा बढी बालविवाह हुने तेस्रो देश हो । २०११ को जनगणनाअनुसार १५ देखि १९ वर्षका किशोरीको संख्या ४३ लाख थियो, जसमध्ये २७ लाख विवाहित थिए । यस्तो भयावह परिस्थितिमा, हजारौं मानिसलाई गलत प्रभाव पार्न सक्ने सांसद बेगमको भनाइ अत्यन्तै आपत्तिजनक छ र यसका लागि उनले सार्वजनिक रूपमै आफ्नो भनाइ सच्याउनु जरुरी देखिन्छ । अझ ठूलो विडम्बना त के हो भने, ‘छोरीको असली परीक्षा उसको जवानीमा हुन्छ’ भन्ने मानसिकता हाम्रो समाजको चरित्र हो र सांसद बेगम यही समाजको एक प्रतिनिधि पात्र मात्र हुनुहुन्छ ।

छोरी बिग्रिने भय
समाज विकासको क्रममा सबैभन्दा बढी नियन्त्रण गर्न प्रयास गरिएको कार्य सायद यौन नै हो । निजी सम्पत्तिको सुरुआतसँगै पुरुषहरूले आफ्नो सन्तानलाई सम्पत्ति हस्तान्तरण गर्नका लागि पहिला त सन्तान आफ्नो हो भनेर निर्क्योल गर्नु आवश्यक थियो । यसका लागि महिलालाई कुनै पुरुषसँग लामो समयसम्म बाँध्नुपर्ने भयो र सोही उद्देश्यले विवाहको प्रचलन आएको देखिन्छ । समयक्रममा विभिन्न धर्म संस्कृतिले विवाहलाई व्यवस्थित गर्ने जमर्को गरे । वैदिक परम्पराले विवाहलाई विभिन्न श्रेणीमा वर्गीकृत गर्‍यो । केटीका बाबुआमाले कन्यादान दिएर गरिने सवर्ण विवाहलाई उत्कृष्ट श्रेणीमा राखियो भने केटा र केटीले एकअर्कालाई मन पराएर स्वतन्त्र रूपले आफैं गर्ने ‘गन्धर्व’ विवाहलाई तल्लो श्रेणीमा । यस्ता धार्मिक नियमका बाबजुद समाजले पुरुषको यौन व्यवहार खुकुलो बनायो तर महिलामाथिको नियन्त्रण भने झन् कडा बनायो । महिलाको यौनिकतालाई नै उनीहरूको प्रतिष्ठा र आत्मसम्मानको मानक बनाइदिएर समाजले उनीहरूलाई निरन्तरको त्रासमा राखिरह्यो र छोरीका आमाबाबु त्यही जिम्मेवारीको भारी बोकेर बाँचिरहे र अहिलेको समयमा पनि यो मान्यतामा खासै परिवर्तन आएको देखिँदैन । याद गरौँ त, अहिले पनि, छोराका गर्लफ्रेन्ड र प्रेम सम्बन्धबारे गर्वका साथ सार्वजनिक गर्ने र ख्यालठट्टा गर्ने बाबुआमा, जवान छोरीको प्रेम प्रसंगका विषयमा भने मौन बस्छौं । छोराका लागि केटी हेर्ने आमाबाबुको त कुरा छाडौं, धेरै जनासँग प्रेम गरिसकेको केटा स्वयम् कसैसँग ‘लभ’ नगरेकी केटीको खोजीमा हुन्छ बिहेका लागि ।

समस्या: समाधान
हाम्रो समाजमा छोरी ‘बिग्रिने’ मापदण्ड असाध्यै सजिलो छ । यसका लागि उनीहरूले लागूपदार्थको दुर्व्यसनी, ठगी, चोरीडकैती, झैझगडा र मारकाटजस्ता भयंकर गैरकानुनी कार्य गरेको हुनुपर्दैन, साथीभाइसँग हिंडडुल गर्ने, रमाइलो गर्ने र प्रेमपत्र साटासाट गरे मात्र पनि उनीहरू ‘बिग्रिन्छन्’ । छोरी बिग्रने चिन्ताले ग्रस्त यही समाज फेरि १६ वर्षमै छोरीको बिहे भएमा र उसले बच्चा जन्माएमा, उसको स्वास्थ्य र शिक्षा बिग्रने र दीर्घकालीन रूपमै उसको आर्थिक–सामाजिक वृत्ति विकासमा नकारात्मक प्रभाव पर्ने तथ्य भने पहिचान गर्दैन । विपरीत लिंगप्रति आकर्षण हुने किशोरावस्थामा, केटाहरूसँगको संगतलाई बिल्कुलै बर्जित गरिने परिवारमा हुर्केका छोरीहरू सानै उमेरमा बिहे गर्न तयार हुनु पनि कुनै अनौठो कुरा होइन, किनकि माया–प्रीतिका सामान्य चाहना पूरा गर्नका लागि पनि बिहेबाहेक अरू कुनै माध्यम उनीहरूका लागि उपलब्ध हुँदैन । तर, यस्ता समस्याको हल विवाहको कानुनी उमेर घटाउने, छोरीहरूको बिहे १६ वर्षमै गरिदिनेजस्ता अपरिपक्व उपायहरूबाट हुन सक्दैन । कहिलेकाहीँ समस्याको हल त्यसको विषयमा होइन, विषयलाई हेर्ने दृष्टिकोणमा हुन्छ । छोरीको जीवन के गर्दा साँच्चै बिग्रिन्छ त ? कलेजमा मन परेको केटालाई रातो गुलाफको फूल दिँदा वा कम उमेरमै लोग्नेको घरमा कुचो, पोछा र डाडुपन्युको जिम्मेवारी लिँदा ? जबसम्म छोरी ‘बिग्रिने’ विषयलाई हेर्ने हाम्रो दृष्टिकोणमा परिवर्तन आउँदैन, यो समस्याको हल पनि हुँदैन ।


नेपाली समाज बहुसांस्कृतिक समाज हो । प्रायःजसो नेपालका जनजाति र दलित समुदायमा यौनलाई कलंक र वर्जित विषय मानिंदैन । किशोरकिशोरीलाई विवाहपूर्व एकअर्कासँग घुलमिल हुने अवसर उनीहरूको संस्कृतिमै रहेको हुन्छ । विवाहित वा सन्तानसहितका महिलालाई पुनर्विवाह गर्न कुनै कठिनाइ हुँदैन । कुनै समुदायमा त बच्चा जन्मेपछि बिहे गर्ने चलनसमेत छ । बालविवाह पनि परम्परादेखि नै चलिआएको थियो । विवाहहरू गर्भावस्थामै पक्का गरिन्थे । अहिले यस्तो किसिमको विवाह लगभग हराए पनि, कम उमेरमा विवाह गरेर पढाइ नै छाडने किशोरीहरूको संख्या अत्यधिक छ । थारू समुदायमा गरिएको एक सानो सर्वेक्षणमा २०१ जना कम उमेरमा विवाह गरेका किशोरीमध्ये सबैभन्दा धेरै (७६५) ले प्रेमको कारणले विवाह गरेको बताए । यद्यपि, उनीहरूका कथा सुन्दा यसको प्रमुख कारणचाहिँ चरम गरिबी, अभाव र परिवारबाट गरिने दुर्व्यवहारबाट मुक्ति पाउने आशा थियो भन्ने बुझिन्छ ।


यसले के देखाउँछ भने बालविवाह गर्ने र गराउने कारक तत्त्व समाजअनुसार फरक–फरक छन् र यसलाई हल गर्ने उपाय पनि सोहीअनुसार खोजिनुपर्छ । २०१२ को एक रिपोर्टले बाहुन, क्षत्री र अन्य जातिमा बालविवाहको दर घटेको तर जनजाति र दलित समुदायमा भने बढेको आँकडा देखाएको छ । खाद्य सुरक्षा भएको परिवारमा बालविवाह कम हुन्छ र छोरीहरू जति पढ्छन्, बालविवाह पनि सोहीअनुसार घट्दछ भन्ने कुरा अध्ययनहरूले देखाएका छन् । यसकारण, चरम गरिबी भएका समुदायमा खाद्य सुरक्षाले केही हदसम्म यस समस्याको समाधान ल्याउन सक्ला । प्रजननका लागि उचित उमेर–न्यूनतम २० वर्ष हो र १८ वर्षभन्दा कम उमेरमा यौन सम्पर्क राख्नु गैरकानुनी हो भन्ने जानकारी दिनु किशोरकिशोरीका लागि ‘गर्न हुने र गर्न नहुने’ कुरा छुट्याउनका लागि मार्गदर्शक साबित हुन सक्छ । छोरीहरूको शिक्षामा प्राथमिकता, बालविवाहका जोखिमका बारेमा व्यापक सचेतना, प्रजनन शिक्षा र सुरक्षित यौन सम्बन्धबारे स्पष्ट र खुला छलफलले बालविवाह र यसले निम्त्याउने जोखिमलाई घटाउँछ ।

'तन्नेरी' बन्न नपाएकाहरू
कम उमेरमा छोरीको बिहे गर्नुको मतलब हो आर्थिक, सामाजिक र शारीरिक सबै किसिमले कमजोर र परनिर्भर महिलाहरूको उत्पादन र पुरुत्पादन हुनु । बाबुआमाको करकापमा गरेको मागी विवाह होस् वा मायाप्रेममा परेर गरेको भागी विवाह, कम उमेरमा गरेको जुनसुकै विवाहमा पनि छोरीहरू जोखिममा नै हुन्छन् । सानो उमेरमा उनीहरूको मानसिक तथा शारीरिक हिंसा पहिचान गर्ने अनि प्रतिरोध गर्ने क्षमता न्यून हुन्छ । भागी बिहे गरेका छोरीहरूलाई प्रायः परिवारको सपोर्ट सिस्टम उपलब्ध हुँदैन । तर, मागी बिहे गरेकाहरू पनि घरेलु हिंसामा परेर मरेका घटनासम्म समाजमा भेटिन्छन् जहाँ सबै कुरा थाहा पाएर पनि ‘माइती’ चुप बस्छन्, किनकि कन्यादान गरेर पठाएको छोरीको जिम्मेवारी अब उनीहरूको कर्तव्य र अधिकारभित्र पर्दैन ।


मेरी दिदी र केही छिमेकी साथीहरूको बिहे १६–१७ वर्षकै उमेरमा भएको थियो । त्यसको तुलनामा मेरो बिहे २० वर्षमा हुँदा, खासै असामान्य लागेको थिएन म आफैंलाई । आईए सिध्दिनेबित्तिकै बिहे भयो, रिजल्ट आउँदा ‘नेपाल टप’ गरेको रहेछु । बीए पढ्दा छोरी पाएँ, अनि मास्टर्स गर्दा छोरो भइसकेको थियो । मेरो पढाइतिरको उपलब्धिचाहिँ क्रमशः नेपाल टपबाट (कास्की) जिल्ला टप अनि जिल्ला टपबाट ‘बल्लबल्ल पास’ मा झरेको थियो । खैर, यो लगभग एउटा पुस्ताअगाडिको कुरा भयो । त्यस समयमा आमाबाबाले हाम्रो शिक्षामा मन फुकाएर लगानी गर्नुभएकाले हामी आत्मनिर्भर हुन सक्यौँ तर सबै छोरीहरूलाई यो अवसर प्राप्त हुँदैन । अहिले हाम्रा छोरी पुस्ताको पालामा पनि ११, १२ कक्षा पढ्दापढ्दै छोरीहरूको बिहे गरिदिने आमाबाबु प्रशस्तै छन् । कञ्चनपुरकी एक साथी माधवी बन्जाडे आफ्नै घर छिमेकमा यस्तो प्रचलन बढ्दै गएको देखेर चिन्तित हुँदै भन्नुहुन्छ, ‘आज पनि एसईईलाई त बाबुआमाले छोरीको बिहेको गर्ने समय आएको सूचकझैँ मान्छन् । केटीहरू १५, १६ वर्षमै एसईई दिन्छन्, अनि उनीहरूको बिहेको कुरो चल्न थालिहाल्छ ।’


यसरी कम उमेरमै बिहे गर्नुले लाखौँ छोरीहरू ‘युवा जनसंख्या’ को तथ्यांकमा मात्र सीमित हुन पुगेका छन् । उनीहरू वास्तवमा युवा अथवा तन्नेरी हुन पाएकै छैनन् । युवाहरू चलायमान हुन्छन्, देश निर्माणको प्रक्रियामा सामेल हुन्छन्, राजनीति गर्छन्, उद्यम गर्छन्, नयाँनयाँ आविस्कार गर्छन्, पेसागत दक्षता हासिल गर्छन् । उनीहरू आफ्नो खुट्टामा आफैं उभिन्छन् अनि परिवार, समाज र राष्ट्रकै बलियो आधार हुन पुग्छन् । नेपाल युवाको जनसंख्या अत्यधिक भएको ‘तन्नेरी’ देश हो । तर, यही देशका आधाभन्दा पनि बढी किशोरीहरूको यहाँ ‘मेटामर्फोसिस’ हुन्छ, उनीहरू तन्नेरी नै हुन नपाईकन घरका बुहारी र आमा बन्न पुग्छन् । अनेक युवा नीति र युवा लक्षित कार्यक्रमहरूअन्तर्गत राज्यले गरेको लगानी उनीहरूले उपभोग गर्न पाउँदैनन् ।


तर, नयाँ पुस्ता कस्तो बनाउने भन्ने अवसर अब हाम्रो हातमा आएको छ । अबका छोरी पुस्तालाई हामी साँचो अर्थमै ‘तन्नेरी’ हुन दिऔँ । उनीहरूमा लगानी गरौं, उनीहरूलाई मार्गदर्शन गरौँ र आफ्ना क्षमता सावित गर्नका लागि स्वतन्त्र छाडिदिऔँ । इच्छा भएपछि उनीहरू मन पराएको व्यक्तिसँग बिहे गर्लान्, कसैले अलि चाँडो गर्लान्, कसैले ढिलो वा कसैले बिहे गर्ने आवश्यकता नै महसुस नगर्लान् । कसैले आफ्नो जीवनसाथी आफैं खोज्लान्, कसैले आमाबाबु र साथीभाइले सुझाएको व्यक्ति नै रोज्लान् । कसैको प्रेम र प्रेम विवाह असफल होला, बाबुआमाले गरिदिएका विवाह पनि सबै सफल भएका कहाँ छन् र ? गहिरो प्रेममा भएका जोडीलाई विवाहको सामाजिक बन्धनको आवश्यकता नै महसुस नहोला, कसैलाई भने विवाहले प्रदान गर्न सक्ने स्थिरता र पारस्परिक सम्बन्धले आकर्षित गर्ला । विवाहका पनि आफ्नै आकर्षण र फाइदा छन् आखिर । यसका लागि, सर्वप्रथम, बाबुआमा र छोराछोरी बीच खुला र दोहोरो संवादको वातावरण सृजना गरेर छोरीको बिहेलाई लिएर समाजमा खडा गरिएको कृत्रिम र अनावश्यक ‘चिन्ता’ लाई सहज बनाउन अत्यन्तै जरुरी देखिएको छ ।

प्रकाशित : फाल्गुन २५, २०७५ १२:१०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

केपीको कविमन

केपी कथनलाई 'उखान' भनेर उडाउन खोज्छन् कतिपय उनका आलोचकहरू ।
ऋषिराम शर्मा

काठमाडौँ —  दुईवर्षे उमेरमा आमाको माया गुमाएर टुहुरो बनेको एउटा ‘ध्रुवे’ पौराणिक पात्र ध्रुवको जस्तो अठोट, त्याग, विश्वास र धैर्य लिएर लोकतन्त्रका लागि निरन्तर अघि बढ्छ  । १४ वर्ष जेलनेल भोग्छ र मुलुकको कार्यकारी प्रधानमन्त्रीका रूपमा सत्ताको वागडोर सम्हाल्छ  ।

दुई तिहाइ स्थिर सरकारको नेतृत्व गरेपछि २०७५ साउन १० गते आयोजित प्रज्ञा प्रतिष्ठानको स्रष्टा भेलामा उहिलेका ध्रुव उर्फ अहिलेका केपी ओलीले भिन्न अनुराग जनाउँदै भने, ‘कवि नभएपनि कविमन भएको सरकार छ ।’


प्रधानमन्त्री ओलीको प्रत्युत्फन्न मति र वाककला (अर्थात् व्यञ्जनाशक्ति वा वत्रता वैचित्र्य) पनि त्यत्तिकै बेजोड छ । जुन १७, २०१८ का दिन देशको शिक्षाबारेमा शैक्षिक सर्टिफिकेटधारी बेरोजगारका व्यथा र त्यसका उत्पादकप्रति उनले व्यञ्जनात्मक शैलीमा भने, ‘सर्टिफिकेट नै पीडाको विषय हुने शिक्षा अब काम लाग्दैन ।’ आफू बालकै छँदा देखेको मुलुकको समृद्धि दृष्टिलाई एउटा टेलिभिजन अन्तर्वार्तामा गत साल उनी भन्दै थिए, ‘नेपालजस्तो देश गरिब हुनै सक्दैन झन्ने मलाई लाग्थ्यो ।’ ९ वैशाख, २०७५ को कुनै एक कार्यक्रममा एक टुत्रो रोटी र एक धरो लुगा नहुनेका हातमा महँगा हातहतियार हुने गरेको सन्दर्भमा ओलीले भनेका थिए, ‘मैले पहिले पनि भन्ने गर्‍या छ, धेरैधेरै देशमा... फाटेको गन्जी किन लाउँछन् भनेर गन्जी डोनेसन दिने मान्छे छैन, बरु उसलाई बन्दुक डोनेसन दिने मान्छे छन् ।’ टीका भण्डारीको क्यासेट विमोचन समारोहमा नेपालको समृद्ध लोकगीतको वैशिष्ट्यलाई व्यक्त गर्न एउटै वाक्यमा उनको ‘उक्तिवैचित्र्य’ यसरी प्रस्तुत भयो, ‘एक मुठो घाँस काट्दा तिनोटा गीत रचना गरेर, संगीत भरेर र गाएर भ्याइदिन्छन् ।’


विद्वान्का सिर्जना दुरूह हुनुहुँदैन भन्दै समारोहमा उनले आफ्नो कथन कलाको जादु यसरी पस्के, ‘विद्वान् बिग्य्रो भने यस्तो (सिर्जना) हुन्छ— स्वस्तिश्रीगिरिराज– चक्रचूडामणिविविधविरुदावलीविराजमानमानोन्नत...ओंरामपट्ट...।’ विद्वान् सप्य्रो भने यस्तो (सिर्जना) हुन्छ, ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ...’ केपी कथनलाई ‘उखान’ भनेर उडाउन खोज्छन् कतिपय उनका आलोचकहरू । केपी प्रयोग भइसकेका, घिसिएका, खिइएका, शक्तिहीन र सेकेन्डहेन्ड उखान होइन— अर्गानिक उक्ति प्रयोग गर्छन् ।दोस्रो संविधानसभाको निर्वाचनपछि कांग्रेस नेतृत्वको संयुक्त सरकारमा उनका बारेमा उपप्रधानमन्त्री बन्ने हल्ला चलाइएपछि उनको भनाई थियो, ‘केपी ओलीले कुनै पनि कक्षा दोहोर्‍याएर पढ्न जान्दैन र पढ्दैन पनि ।’केपीको स्वभाव प्रायः पछाडि नफर्कने खालको छ भनिन्छ तर, लक्ष्यभेदन गर्नै परे लेनिनको दुई कदम अगाडि एक कदम पछाडि नीति अवलम्बन गर्न पनि पछि हट्दैनन् रे । पहिलो संविधानसभा चुनावमा आफू पुरानो निर्णयबाट पछि हट्ने सन्दर्भ उठेपछि उनले वक्रतापूर्ण रूपमा भने, ‘केपी ओलीको गाडीमा ब्याक गियर छैन ।’


एकातिर मुलुकमा नयाँ संविधानको उज्यालो जगमगाएको र अर्कातिर मुलुकमा नाकाबन्दीको अन्धकार पोखिएको विरोधाभासपूर्ण तत्कालीन अवस्थाको कलात्मक चित्रण गर्न एक समारोहमा उनले भूपी शेरचनको ‘मैनबत्तीको शिखा’ लाई सम्झिए, ‘एकातिर धप्पधप्प बलिरहेछ अनुहार/अर्कातिर तप्पतप्त ढलिरहेछ अश्रुधार ।’ केपीले भाषणमा कथ्यको सघनताका लागि प्रयोग गर्ने वक्रतामय, ध्वन्यात्मक, व्यञ्जनात्मक एवम् रेटोरिक कथन वा उक्तिको वैचित्र्यताभित्र अनौठो जादु छ । जनमनमा सहज सम्प्रेषित हुने उनको भाषणले दिमाग होइन, दिल छुन्छ । मस्तिष्क होइन, मुटु छुन्छ ।


आफ्नो एकवर्षे कार्यकालबारे २०७५ माघ ३ गते उनले एक घण्टा लामो भाषण गरे । त्यहा केपी भाषिक चमत्कारसहित प्रतिवादी बनिरहेका थिए, ‘...भाँडो खाली थियो, मैले आधा भरियो भनेँ, विरोधीहरू आधा खाली छ भनिरहेकै छन् ।’लोकविम्ब, ग्राम्यविम्ब मिथकलाई नयाँ सन्दर्भसँग जोडेर विनिर्माण गर्ने केपीले प्रयोग गरेका यस्ता विम्बमध्येकै सबैभन्दा रोचक कथनपद्धति पनि जोड्नु उपयुक्त हुनेछ । बिगतमा माओवादी नेतृत्वको सरकार कटुवाल–काण्डमा राजीनामा दिन बाध्य भएपछि तत्कालीन माओवादीका कटु आलोचक केपीले भनेका थिए, ‘हावा भरिएको बेलुनजस्तो आकार मात्र ठूलो भएर हुँदैन, तौल पनि चाहिन्छ । रुक्मांगद नामको छेस्कोले के घोचेको थियो, फ्यास्स हावा खुस्कियो ।’


अधिनायकवादी आरोपको अस्त्र र निरंकुशताको आरोपका शस्त्रसँग भिडिरहेका ओली बेलाबेला दुई तिहाइका बीच एक्लो ‘फिल’ गर्छन् । एउटा विशाल सन्दर्भ समेट्ने गरी कुनै पनि डिस्कोर्सलाई एउटै वाक्यमा व्यक्त गर्ने उनको अद्भुत, चामत्कारिक, ऊक्ति वैचित्र्ययुत्त एवम् अप्रतिम कथनकला उच्च शिक्षामा साहित्यिक अध्ययनको शोध विषय बन्न सक्ने सम्भावना पनि त्यत्तिकै छ ।

प्रकाशित : फाल्गुन २५, २०७५ १२:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT