कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपालको समाजशास्त्र

सम्पदा रिजाल

काठमाडौँ — हाम्रो सामाजिक संरचनाभित्र आफ्नै सौन्दर्यशास्त्र छ  । जसले महिलालाई ‘सौन्दर्यको प्रतिमूर्ति’ बनाएर उभ्याएको छ  ।

कपालको समाजशास्त्र

यो सौन्दर्यशास्त्रमा एउटा ‘चेकलिस्ट’ छ, जसका हरेक बुँदाहरूमा महिलाहरू नापिँदै आएका छन् । पैतालादेखि निधारसम्म यसका आधारभूत बुँदाहरू छन् । कपाल, लम्बाइ, चौडाइ, हात, खुट्टा, आँखा, दाँत महिला सौन्दर्यका मानक हुन् । यी मानकहरू हरेक मान्छेको मस्तिष्कमा रेकर्ड भएर बसेका छन् ।


समाजले माथिका बुँदाअनुसार महिलाको नापजाँच गर्छ, केटी डाल परेकी छ या छैन । लच्छिन कि छ या अलच्छिनी छे । समाजको यो सौन्दर्यशास्त्र हरेक मान्छेले जानेर र नजानेर बोकेर हिँडिरहेका छन् । माथिका बुँदाअनुसार जाँचिने हरेक महिलाले प्राकृतिक कारणले कुनै बुँदाअनुसारको नभए हेपिनु वा तिरस्कृत हुनुपर्छ । कसैले त्यसलाई कुनै अर्को चेतनाले विस्थापित गरे एक प्रकारको सामाजिक अपराधजस्तो ठहर्छ । चरित्रहीनको ट्याग भिराइदिन्छ । यही सौन्दर्यको एउटा मानक कपाल मैले फालिदिएँ । सुन्दा यो कुरा सामान्य लाग्छ । म चिकित्सा विज्ञानको विद्यार्थी । मैले कपाल मरेको तन्तु हो भनेर पढेकी छु । मेरो मस्तिष्कले कपाललाई मृत तन्तुबाहेक केही देख्दैन । यो मरेको तन्तु पालिराख्नुपर्ने कारण पनि देख्दिनँ । मेरा लागि कपाल एउटा तन्तु र पुँजीवादको एउटा एजेन्डासिबाय केही हुँदै होइन ।


फागुन १८–२० मा सम्पन्न रिडर्स झापाको कला साहित्य उत्सवका लागि झापा आएँ । कार्यक्रम सकिएको भोलिपल्ट ताप्लेजुङ फर्कदै थिए । घर झापामा, जागिर ताप्लेजुङमा छ । त्यही भएर चाँडो फर्किने हतारो थियो । यही मेसोमा कपाल काट्न निस्किएँ । जब निस्किएँ, बाटोमा आफैं अलमलिएँ । कपाल काटौं कि नकाटौं ? अलि छोटो मात्र पारौं कि ? मनमा निकै बेर कुरा खेले । कपाल काटिसक्दा घरमा के–के बित्ने हो ? यस्तै सोचेर सैलुन पसें ।


एकजना महिला थिइन् । उनले कपालको डिजाइन देखाइन् । मैले मेरो मोबाइलको डिजाइन देखाएँ । उनी छक्क परिन्, मोबाइल लगेर साथीहरूलाई देखाइन् । एक छिनमा एक पुरुष आए र कपालको स्टाइल कन्फर्म गरे । जब कपालमा कैंची चल्न थाल्यो, मलाई चिसो पस्यो । कपाल सौन्दर्य हो भन्ने चेतनाको अवशेष मेरो मस्तिष्कको कुनामा जीवित रैछ भन्ने लाग्यो । त्यही चेतना जुर्मुरायो र मस्तिष्कमा कपालको सौन्दर्यका पक्ष र विपक्षका विचारले ढिकिच्याउ खेलिरहे । ढिकिच्याउको धक्काले म बेलाबेला तर्सिरहें ।


कपाल काटिसकें । ऐनामा आफैंलाई नियालें । अनौठो लाग्यो । मुटुको कुनै कुनामा थोरै डर पनि लुकेर बसेजस्तो लाग्यो । घर पुगें । बहिनीहरू थोरै उत्साहित, अलि बढी चिन्तित थिए । ममी निराश हुनुहुन्थ्यो, भाइ आक्रोशित थियो । बुबाले थाहा पाए ठूलै गाली सहनुपर्थ्यो । म चुपचाप बसें । भोलिपल्ट झिसमिसेमै ताप्लेजुङ उक्लिएँ । बाटोमा जतिले देखे टोलाएर हेरे । मानौं म अर्कै ग्रहबाट आएकी एलियन हुँ । ताप्लेजुङ पुगेपछि डेराको आँगन नटेकी प्रश्न आयो, ‘किन कपाल काट्नुभएको ?’ मैले सजिलो उत्तर दिएँ, ‘मन लागेर ।’


बाटोमा स्कुले नानीहरूको हूल थियो । उनीहरू पहराको सानो बाटोमा टोलाउँदै हिँडिरहेका थिए । मलाई हेर्दै टोलाइरहेका थिए । भोलिपल्ट ती नानीहरू जहाँ–जहाँ पुगे त्यहाँ–त्यहाँबाट प्रतिक्रिया आयो— किन कपाल त्यसरी काट्नुभएको छोरीमान्छे भएर ? किन त्यस्तो पुरै ठुटो पारेको ? देख्ने हरेकले प्रश्न गरे । जोत्दाजोत्दैको गोरु बिसाएर हेरे । हिँड्दाहिँड्दै रोकिएर हेरे ।

जुनसुकै चेतनाका मान्छेको चेतन र अवचेतनमा सौन्दर्यको मानक एउटै छ । एकजना कहिल्यै नबोलेका र नचिनेका फेसबुके कवि साथीले फोन गरेर कराए– ‘घरबाहिर बसेको छु भनेर मनपरी गर्दिने ? के पारेको त्यस्तो कपाल ?’ म तिनलाई चिन्दिनँ । प्रत्यक्ष भेट कुराकानी भएकै छैन । उनको कपाल, जिउडाल कस्तो छ मलाई थाहै छैन । तर, उनलाई मेरो कपालको चिन्ता छ । मेरो मुडुलो भएको टाउकाको चिन्ता छ । कुनै अपरिचित महिलाले कपाल काट्दा कस–कसलाई केको त्रास पर्छ । परम्पराको अंगरक्षकजस्तो किन केको प्रतिरक्षामा उत्रिन्छन् ? थाहा छैन ।


कपाल काटेपछिको अर्को किस्सा छ । मेरो वर्किङ स्टेसनको एक स्कुलमा पढाउने एकजना सर थिए । बेला–बेला बुहारी बन्नुपर्छ भन्दै जिस्क्याउँथे मलाई । कपाल काटेपछि बाटोमा अचानक भेट भयो । बडो अनौठोसँग हेरे र भने, ‘ए... कपाल पो काट्नुभएछ त’ । मसँगै रहेकी साथीले ठट्टा गरिन्, ‘सर अब बुहारी बनाउने कि नबनाउने ?’ उनी केही नबोली चुपचाप बाटो लागे ।


महिलाको सौन्दर्यका मानकले विवाहमा खुब अर्थ राख्छन् । केटी छान्ने प्रक्रिया शारीरिक अंग मानकअनुसार छन् छैनन्बाट सुरु हुन्छ । महिलाको सौन्दर्य विवाहको आधारभूत कुरा हो, त्यसमा कपाल अनिवार्य सर्त हो । मैले छोटो कपाल भएको फोटो फेसबुकमा राखिदिएँ, फेसबुकेहरूको प्रतिक्रिया बुझ्न । फोटो हेर्नेले मेरो ममी, बहिनीहरूलाई त्यो फोटो देखाउँदै भनेछन्, ‘के गरेको यस्तो ? बिहे गर्ने बेलाकी छोरीले कपाल मुडुलो पारेर ?’ बहिनी रुँदै घर फर्की, ममी तनावग्रस्त हुनुभयो । दुई–चारजनाले भनेपछि ममीलाई संवेगात्मक आघातजस्तो भयो सायद । तनावले भात पनि खानुभएन रे ।


कपाल मैले काटेकी थिएँ । मेरो रुचिले काटेकी थिएँ । त्यसको प्रश्न र आलोचना ममी र बहिनी सहिरहेका थिए । यसबेला दोहोरो ‘इमोसनल ट्रमा’जस्तो भयो । ममी मैले कपाल काटेर तनावग्रस्त हुनुभयो । म मैले कपाल काटेर अरूले बेहोर्नुपरेका प्रश्न र आलोचनाले तनावग्रस्त बनें । यतिसम्म कि महिनामा कति कपाल बढ्छ गुगल गरेर हेरें । गुगलले भनेअनुसार मेरो कपाल लामो हुन कति महिना लाग्छ हिसाब गरें । अन्त्यमा ममीले अत्यन्त दुःखी भएर भन्नुभयो, ‘अब काटिहालिस्, त्यो फोटो चैं हटा । तँलाई सबैले राम्रो भन्थे । तर, अब एक स्टेप तल झरिस् । सबैको नजरमा तेरो आफ्नै कारणले ।’


कसका लागि कपाल पाल्नुपर्ने हो ? मेरो लामो कपालले कसको आँखालाई सौन्दर्य सेक्छ त्यो पनि थाहा छैन । प्रश्न गर्नेहरुलाई पनि थाहा छैन । बस परम्पराले यति रटाएको छ– कपाल सौन्दर्य हो । लच्छिन हो । चरित्र नाप्ने विभिन्न तराजुमध्येको कपाल मैले फालिदिएँ । म चरित्रको मापनमा तल झरें । चरित्रहीन भएँ । हाम्रो परम्परा पुरुषले कपाल नपाल्ने र महिलाले पाल्ने नै हो । तर, कुनै पुरुषले परम्पराको फर्म्याट बाहिर गएर कपाल पाले किन पालिस भन्दैन् त समाजले ? कुनै महिलाले आफ्नो सहजता र असहजताले काटे कि चरित्रहीन करार गरिदिन्छ । कि कपाल काट्ने महिलाको लिस्ट बनाएर आन्दोलनकारी घोषणा गरिदिन्छ । यसरी हेर्दा सौन्दर्यको विषयमा चेतनाको हरेक तहबाट महिला डसिएका छन् । कुनै प्रगतिशील चेतनाको पुरुषले पनि कपाललाई नितान्त व्यक्तिगत कुरा हो भन्ने स्वीकार गर्न सक्दैन । प्रश्न गर्छ, ‘के तिमेर्को कपाल काट्ने आन्दोलन हो ?’ ४०–४५ वर्षकी महिलाले कपाल काट्दा जुन सहजताले स्विकार्छ, अविवाहित जवान केटीलाई त्यो सहज छैन ।


हाम्रो सामाजिक संरचनामा सौन्दर्यको तन्तु कहाँ–कहाँ कसरी अल्झिएको छ ? यो बुझ्न मलाई कपाल काट्नु नै पर्याप्त भयो । पछिल्लो समय महिलाहरूको आर्थिक आत्मनिर्भरता तथा सामाजिक चेतना परिवर्तन भएको छ । तर, सौन्दर्यको मानक ज्यूँका त्यूँ छ । हाम्रो सौन्दर्यको आदिम चेतना कुनै नयाँ चेतनाले विस्थापित गरेको छैन । बरु पुँजीवादले यसको ‘भर्सन’ मात्र फेरेको छ । पुरुषको बहादुर सौन्दर्यलाई बडेबडे पाखुरा, सिक्स प्याक भएको पहलमानको मोडलले पुनःस्थापित गरेको छ ।


त्यस्तै रूपकी रानीको प्रतीक महिलाको बारुले कम्मरको सौन्दर्यलाई ३६, २४, ३६ इन्चको मानकले पुनःस्थापित गरेको छ । सौन्दर्यको समाजशास्त्रले निर्माण गरेको सुन्दर नारीको मानक र त्यसैलाई एजेन्डा बनाएर व्यापार गरिरहेको पुँजीवादबाट सौन्दर्यको उल्झन पार लाग्ने अवस्थामा छैन । महिलाको कपाल, आँखा, ओठ, लम्बाइ, चौडाइमा अल्झिएको सौन्दर्यशास्क्रको ‘चेकलिस्ट’ अब च्यात्ने कि नच्यात्ने ?


[email protected]

प्रकाशित : चैत्र २, २०७५ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?