एक हाप रौसी सरिता तिवारी

सरिता तिवारी

काठमाडौँ — ल, अब दुई दिन अब यतैहुँदी डुल्नुपर्छ  । फेरि एकपल्ट सबैका घरघरै पुग्नपर्छ  ।

लक्ष्मीपुर, एक्लेफाँट, डाँडाफेदी यतै यतै ।’ अघिल्लो साँझ बसेर तय गरिएको हो हिँड्ने रुट, पुग्ने टोल र घरसंख्या । चुनावको माहोल छ । यही चुनावका लागि गाउँ आएको हो । जागीर, कामधाम सप्पै छोडेर । उम्मेदवारलाई चुनाव जितिन्छ भनेर हौसला दिनजस्तो सजिलो थिएन, साँच्चिकै चुनाव जिताउन । चुनाव हो, साम, दाम, दण्ड, भेद जेजस्तो परे पनि गरौंला भन्ने पक्षमा उभिन तयार थिइनँ । मेरा आफ्ना केही खास मूल्यपद्धति थिए जुन मलाई जिन्दगीजत्तिकै प्यारा थिए । तिनका अगाडि चुनाव जाबो त के हो र ! तर चाहन्थें, मैले समर्थन गरेको उम्मेदवारले चुनाव नहारोस् ।


यो मेरो केवल एक सत्प्रयास थियो । किनभने योभन्दा बढी म केही गर्न सक्दिनथें । अथवा यसो भनौं सके पनि गर्दिनथें । विवेकको बलले, बोलीको विश्वास र इमानले जित्नु पो जित्नु । गुण्डागर्दी र जोरजुलुमले जित्नुको कम्तीमा मेरो लागि कुनै अर्थ थिएन ! नजिते के होला? दुई–चार दिन नरमाइलो लाग्ला । त्यसपछि पनि त जिन्दगी चल्छ ! सम्भावनाको अर्को ढोका खुल्छ । ‘पैसाको कोई फिक्री नगर्नू !’ उम्मेदवारलाई ढाढस दिन यसो भन्थें तर मसित कुनै ज्याकपट थिएन । कुनै लुटको खजाना पनि थिएन । केवल भावना थियो । मलाई लाग्दैनथ्यो मेरो उम्मेदवारलाई मेरो ढाढसले कुनै खास प्रभाव पनि पारिरहेको छ । सिधा कुरो के भने पैसाले मतदाता किन्ने कुरोले मेरो पारो तात्थ्यो । त्यो उसलाई थाहा थियो । ऊ मबाट मतदाता किन्ने ठूलो रकम त सायदै अपेक्षा गर्दो हो । मसित बडो जतनले साँचेको चोखो कमाइ थियो, केही नगद । मेरो खुनपसिनाको आर्जन । त्यति नगदका लागि मैले आफ्ना केही ब्यक्तिगत योजना स्थगित गरेको थिएँ । छोराछोरीका केही थान रहरलाई अर्धविराम लगाएको थिएँ । म ऐन मौकामा उसको लागि काम लाग्न चाहन्थें र सट्टामा चाहन्थें एउटा आत्मिक सन्तोष, बस् ।


ऊ व्यवस्थाविरुद्धको लडाइँमा होमियो । केही वर्ष जेल पर्‍यो । प्रजातन्त्रकालमा पनि प्रतिपक्षी आन्दोलन र जनसंघर्षमा उसको उल्लेख्य हिस्सेदारी रह्यो । जुलुसको नेतृत्व गर्‍यो । टाउको फुट्ने गरी पुलिसले हानेका कठबाँसका लौराको धुलाइ खायो । एक–दुई पटक होइन धेरै पटक । शाही संकटकालको कहर खप्यो । जंगलजंगल भौंतारिँदै, दलित र आदिबासीका झुप्राझुप्रामा टाउको लुकाउँदै सेनासँग लुकामारी खेल्यो । किनभने शाही संकटकालमा आफन्तभन्दा भरोसायोग्य तिनै मानिसहरू थिए । आफन्तभन्दा प्रिय पनि तिनै थिए । त्यसका कथा भिन्दै छ ।


व्यवस्था फेर्ने आन्दोलनमा उसले जेजस्ता कहर काट्यो, त्यसलाई नजरअन्दाज गर्ने कृतघ्नता थिएन मसित । ऊ किसानको नेता, विद्यार्थीको साथी, बौद्धिकको सहकर्मी, मजदुरको प्रवक्ता सबै थियो । कताकता स्पार्टाकसको हंश बोकेको वीरजस्तो । अमूक स्वर्गको आगो चोर्न हिँडेको जिद्दी प्रमिथसजस्तो । यस्तो मलाई लाग्थ्यो । हुन त ऊ त्यस्तो नहुन पनि सक्थ्यो तर म ठान्थें, ऊ त्यस्तै हो । म निमुखा मानिसहरूको पक्षमा उसको जिद्दी र हठले जितोस् भनेर गएको । चालीसौं वर्षदेखिको उसको कठोर संघर्षले सिर्जनात्मक अवतरण पाउनुपर्छ भनेर गएको ।

उसले सोधेको पनि थियो मसित । वा भनौं, सल्लाह मागेको थियो, ‘पार्टीले टिकट दिने भनेर मेरो अन्तिम निधो मागेको छ, के गरौं ?’
मलाई थाहा थियो, ऊ यस पटकको चुनावका लागि पटक्कै तयार थिएन । पछिल्लो समय गाउँटोलमा पार्टी संगठन नगण्य थियो । जेजति स्थानीय नेता, कार्यकर्ता थिए ती बजारको चियापसलका मात्रै स्वघोषित मसिहा बनेका थिए । संविधानसभाको पहिलो चुनावमा जनपक्षीय नेताले जितेको भए पनि दोस्रोपल्टको चुनाव पूर्वराजा समर्थक उम्मेदवारले जितेपछि जनस्तरमा पार्टीको लोकप्रियताको ग्राफ शून्यको वरिपरि थियो । खसोखास कुरो त यो पराजयका लागि पार्टीकै कमरेडहरू जिम्मेवार छन् भन्ने गाइँगुइँ पनि सुनिन्थ्यो । कतिपयलाई त विपक्षी दलसित मिलेर आफ्नै नेता हराइदिएको आरोप नै थियो तर यो कुराको साबुत दसी केही थिएन ।


गाउँमा आफ्नो पार्टीको कुनस्तरमा कन्तबिजोक भैसकेको छ त्यो उसैलाई पनि ज्ञात थिएन । कारण ऊ आफैं पनि पछिल्लो समय आफूलाई गाउँको भन्दा बढ्ता जिल्लाको र अझ केन्द्रको नेता ठान्थ्यो । त्यसैले पनि गाउँको चुनावमा उठ्ने त्यस्तो विशेष जाँगर उसमा थिएन ।
‘हार र जितको सम्भावना आधा–आधा हो भने धेरै नसोच्नोस्, किञ्चित ढिलो नगरी पार्टीलाई हुन्छ भन्दिनोस्,’ मैले भनेको थिएँ । आखिर चुनाव जुवाको खालजस्तै न हो । सान्साना प्रभाव र उत्प्रेरणाले ठूलो लहरको रूप लिँदा हार्नेले पनि जित्छ । जित्छ भन्नेले पनि हार्छ । उसले जित्ला कि हार्ला ? ‘अब्जर्वेसन’ को तागत मसित थिएन । कारण, मैले गाउँ छोडेको दशकौं भएको थियो । त्यहाँका आधारभूत स्थिति मात्रै म जान्दथें । चुनाव स्थानीय स्तरको भएकाले उसका बैयक्तिक लोकप्रियताले केही त फरक पार्लान्, यस्तो म ठान्थें । लोकतन्त्र, गणतन्त्रको संघर्षमा उसको अविचल र सक्रिय सहभागिता देखेका मानिसहरूले कसरी उसलाई उपेक्षा गरिहाल्लान् र ? यसरी पनि सोच्थें ।


राजनीतिक विषयमा पछिल्लो समय प्रायः हाम्रा मत बाझिन्थे । पार्टी न्यूनतम पनि विचारनिष्ठ र नैतिक हुन नसकेको मेरो भनाइमा ऊ सहमत थिएन । व्यावहारिक राजनीतिका दुःख र अप्ठ्यारा कहेर जहिल्यै मलाई ‘कन्भिन्स’ गर्न कोसिस गर्थ्यो । ऊ स्वयम्सित पहिलेको जस्तो इस्पाती अमर्ख थिएन । उसको बोलीमा हिजोको जस्तो आकर्षण र भरोसा पनि थिएन । नेतृत्वका स्खलन र पार्टीपद्धतिबारे बहस गर्दा प्रायः जिब्रो चबाइदिन्थ्यो । मलाई उसका तर्कहरू पहिलेझैं सुरुचिपूर्ण लाग्न छोडिसकेका थिए तर पनि म उसलाई सुन्थें ।


माया त्यस्तो जिनिस हो जसका अगाडि तर्कहरू एकाएक कमजोर हुन्छन् । धऊ मेरो कमजोरी थियो । पछिल्ला दिनमा मलाई लाग्न थालेको थियो, उसको बुढ्यौलीतिर ढल्कँदो ज्यान र दिमाग अब कुनै एक ठाउँमा स्थिर हुनुपर्छ । खोला टोला, गाउँ र जिल्ला, कहिलेको सदरमुकाम कहिलेको राजधानी, कहिलेको आन्दोलन कहिलेको बैठक । सधैंको कुदाकुद । उसको यो धपेडी देखेर एक दिन भनेको पनि थिएँ,
‘छोड्दिनुस् राजनीति साजनीति !’ तर ऊ राजनीतिमै रत थियो, मानेन । चुनाव यी धेरै कुराको लागि सापेक्षिक सुअवसर भएर आएको थियो । उसले त्यसको उपयोग गर्नैपर्छ भन्ने मेरो जोडदार सुझाव थियो ।


म ऊसँग कुम मिलाएर चुनावको प्रचारमा दगुर्न हतारिएको थिएँ । अफिसका कामहरू असरल्लै छाडेर, दैनिक व्यस्त जीवनका सबै रुटिन भुलेर । म उसितै हुन चाहन्थें । हरक्षण, हरबखत । सिङ्गो इलाकाको कुनै गाउँ, कुनै टोल नछोडी ऊसितै कुदें म । भरे थाकेर चूर्ण हुन्थ्यो जीउ । तर भोलिपल्टको योजनामा म उत्तिकै उत्साहित हुन्थें । यसमा मेरो भावुक समर्पण थियो तर्कभन्दा माथि । प्रेम थियो ऊसितका कतिपय सैद्धान्तिक झगडा र बहसभन्दा माथि । तर ऊ यो कुरो कति गहिरोसँग बुझ्थ्यो या बुझ्थेन, म जान्दिनँ ।नोटको गड्डी बुझाउने बेला भनेको थिएँ, ‘यी केवल नोट होइनन्, यिनमा मेरा आजसम्मका मूल्य, मान्यता र आदर्श भिजेका छन् । यिनको मान राख्नुहोला !’ उसले के सोच्यो या कसरी सोच्यो, केही नबोली लियो ।कार्यकर्ता परिचालनका लागि इन्धन, झन्डा, टिसर्ट, भोटको अपिल गर्न दैनिक गाउँगाउँ हिंड्ने सहभागीको खाना, खाजा, सम्पर्क कार्यालयको भाडा र मसलन्द । यी प्रायः पारदर्शी खर्च थिए । यी बाहेक खर्च हुने शीर्षक मलाई ज्ञात थिएनन् तथापि सतर्क थिएँ । ऊ आफैं पनि हरेक कोणसभामा भन्थ्यो, ‘हामी नोटले भोट किन्दैनौं । हामी जनताका मान्छे, जनताको भरोसा र विश्वासले मात्रै जित्न चाहन्छौं ।’ यसोभन्दा उसको मुहारमा जुन आत्मविश्वास प्रकट हुन्थ्यो, त्यो विश्वास गर्नलायक हुन्थ्यो ।
‘केही त अरूभन्दा फरक छ यो मान्छेसँग !’ म सोच्थें ।

सम्म परेको फाँट । फाँटमा प्रायः झुरुप्प परेर बसेका थारू टोलबाहेक प्रायः छरिएर बनेका बस्तीमा पहाडबाट झर्ने बाहुन, क्षत्री, नेवार, गुरुङ, मगर आदिका छ्यासमिस घर छन् । सान्सानो खोलो तरेर पन्ध्र मिनेट जति हिँडेपछि पुगिने क्षत्री गाम छ । त्यसमाथि उँभो लगभग सबैजसो घर दलितहरूका हुन् । एकादुई बाहुनका घर पनि छन् त्यहीं । घर सबै कच्ची, छाना खरका । मधेस भने पनि कताकता पहाडकै झल्को दिने भिरालो जमिन छ । कुलो नलाग्ने सान्साना फोगटा बारी छन् । बारीका छेउछाउ टुक्रुक्क बसेका छन् बीस पच्चीस घर ।
नमुना मतपत्र र स्वस्तिक छाप छन् हातमा । घरघरै पस्नु छ । ‘कल्लाई भोट हालेर के हुनी हो र ? बिनास्वादै !’ एउटी बूढी आमाले त आँगनमा टेक्नै दिइनन् ।
‘यिनीहरू टन्न रक्सी मासु जल्ले ख्वाउँछ उसैलाई भोट हाल्नेखालका हुन्, छोड्दिऊँ !’ कसैले पछाडिबाट भन्यो । तर ती आमाको आक्रोश नाजायज त थिएन । साँच्चै, सामान्य मानिसको जीवनमा कुनचाहिँ फरक आयो त लोकतन्त्रमा पनि ? जति फरक आयो, राजनीतिक स्तरमा मात्रै आयो । अधिकारको सचेतना बढ्यो । ओठमा बोली फुट्यो । तर बाँकी धेरै कुरा त सत्ता र पहुँचमा पुग्ने वा तिनका वरिपरि रिँग्नेलाई मात्रै त आयो ।


‘यो त स्थानीय चुनाव हो नि आमा ! यतिखेर जित्ने मान्छे त कहीँ जाँदैनन् । यहीँ बस्छन् । तपाईं हाम्रै बीचमा बसेर काम गर्छन् । तिनले काम नगरेर धोका दिए भने बाटोघाटो जहाँ भेट्यो, त्यहीँ कठालो समात्न पाइन्छ ।’ मैले निकै बेर लगाएर बुझाएँ ।
‘अहिलेसम्मन् हाम्ले अन्त भोट हाल्या हम् र ! दिम्ला के एउडो भोट !’ यसो भन्दै तिनले बिदा गरिन् ।
चुरेको यो भित्तामा बस्ने अधिकांशको दैनिकी बनिहारी हो । खेतीको ज्यालादारी काम । तर यो पनि मौसमी मात्रै । बेमौसममा यी प्रायः दाउरा बेचेर निर्वाह गर्छन् । वैदेशिक रोजगारीको लहर नचलेको त कहाँ हो र ! तर घरमा बस्नेहरूले पुरानो दिनचर्या छोडेका छैनन् । त्यसपछि पुगिने माथ्लो घर सुनसान छ । गोठ खाली, खोर बुच्चै छ । नजिकै पुग्दा देखिन्छ एउटा अधबैंसे पुरुष ढोकै अघिल्तिर गुन्द्री ओछ्याएर मस्तले निदाइरहेको ।
‘ए नइने दाइ ,उठ त !’ च्याँठ्ठिएको धोद्रो आवाजले झस्किएर जर्फराउँदै उठ्यो त्यो मान्छे ! आफ्ना पिँढीमा यतिका हुल देखेर मानौं एकाएक तर्सिएजस्तो मुद्रामा !
‘हामी भोट माउन आ’का’
‘हउर, भोट त दिनी हो नि ! क्यार्न नदिँदाम् ?’ उसले बत्तिसी देखिने गरी हाँस्दै भन्यो ।


‘चुनाव चिन्न त थाहै छ केरे ! लौ हेर, यस्तो हुन्च भोट हाल्नी कागत । ईः यसरी ठ्याक्क ठ्याक्क सीधासीधा तेर्छो लाइनका सप्पै चिन्नलमा छाप लाउन पर्च । फेरि दायाँबायाँ लाउला नि ! ईः यसरी पट्या’र बाकसाँ खसाल्न पर्च !’
‘मैले जान्यो’चु हउर ! बोरु मेरो एउडो कुरो छ । जल्ले भोट हाल्नी दिनाँ एक हाप रौसी ख्वाउँच, त्यसैलाई भोट दिनी भन्यो चु मैले ता ! ही ही...’
‘केका एक हाप मत्रै ! दुई–तीन–चार हापै ख्वाइदिम्ला तिम्लाई ! भोट चाईं हाम्लाई नै हाल्नपरो ! हीहीही...’ यसो भन्ने मान्छेले मतिर यसरी देखाइरहेको थियो मानौं दारुपानी ख्वाएर भोट किन्न आएको गाहकी मै हुँ । त्यो बस्तीका हरेकजसो घरका मान्छेलाई व्यक्तिगत रूपमा चिनेको हुनाले यो हिँडाइको नेता उही थियो । उसले जताजता लैजान्छ हाम्रो समूह त्यतै लागेको थियो । उसले बोलेको कुरोमा सही नथाप्दिऊ, अप्ठ्यारो ! थाप्दिऊ, नैतिक संकट !
‘किन त्यो मान्छेलाई रक्सी ख्वाउँला भनेको ? यसरी रक्सी ख्वाउँला भनेर भोट देऊ भनेको मन परेन है !’ फर्कनेबेला सोधें ।
‘एक्लै छ बरा ! बूढी परारसाल मरी । छोरीहरू छन् । ती पनि सपै आआफ्ना घर । रक्सी भनेपछि भुतुक्कै हुन्छ । दाउरा चिर्दिने, घाँस काट्दिने जेपनि गर्दिन्छ रक्सी भेटाएपछि । हा हा...’

भोट हाल्ने दिन । सबेरैदेखि मतदानस्थलको खटाइ थियो । स्थानीय विद्यालयको गेटबाहिर बसेर चनाखा आँखाले आउनेजानेलाई हेर्नु । चिने नचिनेका सबैलाई स्वागत गर्दै लौ है ! भन्दै हौस्याउनु । समूहमा बसेर गफिनु र भोटको आकलन गर्नु । यस्तै बेला कसैले पछाडिबाट कोट्यायो । रहेछ उही नैनबहादुर !
‘भोट हालें हउर ! अब रौसी खान पैसो पाए हुन्थ्यो !’
उसको कुरो सुनेपछि मेरो छेउमा उभिएका सबैका विस्फारित नजर मतिर केन्द्रित भए । सार्वजनिक रूपले भोट खरिदकर्तामा दरिने भयले मलाई
कता निस्कौं, कता भागौं भयो । अक्कबक्क परेर उभिरहेको थिएँ ।
‘हैत् दाइ, मैले कहाँ भनें रक्सी ख्वाउँला भने र ?
‘अस्ति रौसी ख्वाम्ला, हाम्लाई भोड् देऊ
भन्या हैन ?’
वास्तबमा नैनबहादुरसँग म डराइरहेको थिएँ । त्यो सरल मानिसले सीधासीधै कुरो गरेको थियो, सबैका अगाडि हाकाहाकी । उसको आवाज झन् चर्को भएको थियो । ऊ भनिरहेको थियो, ‘अस्ती भोट माउनी बेलाँ रौसी ख्वाम्ला भन्नी अहिले....?’
मानिसहरूका आँखा मैतिर तेर्सिएर विस्फारित थिए । कस्तो संकट, हैत् ! बिघ्नै सरम लाग्यो । भोट किन्न रक्सीमासुको छेलोखोलो बगाउने भनेर चिनिएकाहरू छाती फुलाएर यताउता गरिरहेका थिए । म मूल्यपद्धतिको डोरो समातेर हिँड्ने मनुवा एकाएक तमासा बनेको थिएँ ।
‘ल, ल, मेरो नाम लिएर खानुस् । म तिर्दिऊँला । चुपो लाग्नुस्,’ नजिकै तानेर भनें ।
त्यसपछि ऊ हिँड्यो । त्यसैबेला कसैले मेरो कानैनेर फुसफुसाउँदै भन्यो, ‘माड्साब, फोस्रो आदर्श काखी च्यापेर कहाँनेर उभिनुभएको छ थाहा छ ? केको अपराधबोध गर्नुहुन्छ ? आदर्श भजाएर कसैले चुनाव जित्ने जुग हो र यो ? बेबकुफ मान्छे ! एक हाप रक्सी माग्ने एउटा गरिबसँग डराउनुभो ? तपाईंले गरेको सहयोगले कति थान बाहुबली किनिएको छ थाहा छ ? क्यान यु गेस ? तपाईंको पैसाले यस्ता कति जना नैनबहादुर किनियो होला ?’
के मेरो उम्मेदवारले पनि नोटसित भोट साट्यो... ? यस्तो हुन सक्छ ? अहँ सक्दैन ।
मेरो चेतना तीन सय साठी डिग्रीले फनक्क रिँगेर घुयेंत्रो फ्याँकिएजसरी हुइँकियो र कुनै पहाडको चट्टानमा बजारियो । प्रतिध्वनिमा मभित्रको कमजोर हृदयले सोध्यो दिमागसित, उसोभए मेरो पसिनाले रुझेका नोटले साँच्चिै कति थान बाहुबली, कति नैनबहादुर किन्न पुग्यो होला ? कति जना...? एकाएक मेरो बेबकुफ टाउकोभित्र गिदीका रेशाहरू चिलाउन थाले।

प्रकाशित : चैत्र ९, २०७५ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्

धुलिखेलमै जिपलाइन

विद्या राई

काठमाडौँ —  धुलिखेल ‘जिपलाइन’ जाने निम्ता म्यासेन्जरमा आयो  । जीवनमै पहिलोपल्ट नाम थाहा पाउँदै छु  ।

के रहेछ ? हतार–हतार गुगल सर्च गरें । साहसिक खेल अर्थात् फलामको डोरीमा घिर्नीको सहायताले विशेष प्रकारको फितामा झुन्डिएर अघि बढ्नु वा उड्नु । कता–कता ढुकीढुकी बढेको भान भयो । डोरीले थाम्ला त ? आफैंलाई सोधें । ‘नथाम्ने भए मर्नलाई निम्ता आउँछ त ?’ आफैंलाई उत्तर नि दिए । निम्ता स्विकारेको रिप्लाई पठाएँ ।


अरनिको राजमार्ग हुँदै धुलिखेलको थाक्लेडाँडा पुगेपछि टिमको नेतृत्व गरिरहनुभएका विष्णुकान्त घिमिरे दाइले भन्नुभो, ‘यो टेक अफ स्टेसन । यहिबाटै हो जिपलाइन सुरु हुने ।’ तलतिर पाँचखालको खावास्थितको डाँडा देखाउँदै थप्नुभो, ‘त्यहाँ ल्यान्डिङ स्टेसन ।’ जिपलाइन मास्टरहरू आवश्यक सुरक्षा तयारीसहित दुवै स्टेसनमा तैनाथ थिए । फलामको डोरी तारजस्तै देखिन्थ्यो आधा भागजति । त्यसपछिको भाग हेर्दाहेर्दै बिलाइहाल्थ्यो । ‘मेरै पालामा पो डोरी चुँडिने हो कि ?’ भित्रभित्रै डर भए पनि बाहिर ठट्टा गर्दै टिममा भने । ‘कसरी चुटिनु ? डोरी कत्रो छ भन्ने त नजिक पुगेर हेर्दा पो थाहा हुन्छ ।’ टिमबाट जवाफ आउँथ्यो । टेकअफ हुने स्टेसन चढ्यौ । साँच्चिकै डोरी त मोटै देखियो । अलि हिम्मत आयो ।


मेरो पालो आयो । हार्नेस बाँधियो । म बीचमै अड्किएँ भने के गर्ने होला ! मुटु ढक्क फुल्यो । मास्टरले मेरो तौल सोधे । ५८ केजी भने । उनले मलाई उत्साहित बनाउन तौल उपयुक्त हुने बताए । मनमा जतिसुकै डर भए पनि अनुहारको चमक सकभर हराउन नदिने सोचमा थिएँ । देव्रे हातमा पञ्जा । दाहिनेमा गोप्रो क्यामरा । मास्टरले अग्लो टेबलमाथि घोप्टो परेको मलाई अगाडिपट्टि बढाउँदै जब एक, दुई, तीन भने । अगाडिपट्टि जोडले हुर्रिसेकेको थिएँ । त्यतिबेला झन्डै तीन सेकेन्डजति सास रोकियो । म आत्तिएँ ।


अघि टेकअफ हुनुअघि ल्यान्डिङमा पुग्न एक मिनेट २० सेकेन्ड लाग्ने भनिएको थियो । कति चाँडै कटिहाल्छ भन्ने सोचेको थिएँ । यसबेला भने आत्तिएकाले होला कतिबेला ल्यान्डिङ गर्ला भयो । लगत्तै मनस्थिति फेरें । डोरीमा स्वतन्त्र रूपले अघि बढिरहेको मैले गोप्रोमा अनुकूलका भिडियो लिएँ । मुनितिर जंगल र गाउँ, पारिपट्टि डाँडाकाडाँ । थाक्लेडाँडा र खावाबीचको दूरी कति चाँडै पार भएछ ।


डर, भय, रमाइलो र आनन्द एकैसाथ । यसैले त हो नि साहसिक खेल भनिएको । यसअघि अन्य साहसिक खेलको अनुभव छ मलाई । तैपनि कता–कता डर लागिरहन्छ । साहसिक खेलपछि आफूमा आत्मविश्वास बढ्दै गएको अनुभव गर्छु । नेपालमा जिपलाइनका लागि पोखरापछिको गन्तव्य हो धुलिखेल । समुद्र सतहको १३ सय मिटर उचाइमा टेक अफ भएर १२ सय मिटर उचाइमा ल्यान्डिङ हुन्छ । यसबीचको दूरी पार गर्न एक मिनेट २० सेकेन्ड लाग्ने भनिए पनि मानिसको तौल र हावाको वेगमा पनि निर्भर ह्न्छु । २ सय ४० फिटको झुकावमा अघि बढ्छ ।
वर्ल्ड वाइड एड्भेन्चरले हाल निर्माण गरेको जिपलाइन यही फागुनदेखि सञ्चालनमा आएको हो । सिन्धुपाल्चोकका केदार थापा र काठमाडौंका भुपेश श्रेष्ठको यसमा संयुक्त लगानी छ । युरोपियन र अमेरिकी राष्ट्रिय सुरक्षा मापदण्डमा आधारित भारतीय प्रविधिमा निर्माण गरिएको र शतप्रतिशत सुरक्षा ग्यारेन्टीसहित सञ्चालनमा रहेको कम्पनीको अध्यक्षसमेत रहेका केदारले बताए । नेपाल सरकारको नियमअनुसार दुर्घटना बिमा पनि छ ।

प्रकाशित : चैत्र ९, २०७५ १२:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्