कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामकथाको विवेचना

कृष्ण खनाल

 
प्राध्यापक भूचन्द्र वैद्यको नयाँ कृति ‘सियाराम कथा’ हालै मात्र रामनवमीको संयोग पारेर एडुकेसनल पब्लिसिङ हाउसले बजारमा ल्याएको छ  ।

रामकथाको विवेचना

वैद्य तीन दशकभन्दा लामो समय त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रको प्राध्यापन गर्नुका साथै आर्थिक योजना, विकास, शिक्षा नीतिलगायतका विषयमा अन्तर्राष्ट्रिय विज्ञका रूपमा पनि परिचित व्यक्ति हुन् । व्यावसायिक व्यस्तता र भौतिक सुविधा–सम्पन्नताको एउटा उचाइपूर्ण जीवन थियो उनको । तर एक दशकयता उनले एउटा छुट्टै पहिचान बनाएका छन्— अध्यात्म सोध, साधना र सादगी जीवनको । प्राचीन सभ्यता र अध्यात्म ज्ञानको भण्डारलाई आफनो साधनापूर्ण अध्ययन, चिन्तन–मननयुक्त लेखनबाट हाम्रो समक्ष पस्किरहेका छन् । २०६७ सालमा ‘श्रीभगवद्गीता’ विश्लेषणात्मक पुस्तक प्रकाशनसँगै आध्यात्मिक परिचय बनाएका भूचन्द्रले लेखनमा मात्र होइन, सोअनुसार आफ्नो जीवनचर्या नै बदलेका छन् । अध्यात्म क्षेत्रमा यो उनको पाँचौं कृति हो ।


निष्ठा, झक्ति, खोज र विश्लेषणयुत्त उनका पुस्तक धेरै पाठकले रुचाएका छन् । यी रचना परम्परागत पुराण शैलीका भगवान् कथाभन्दा भिन्न छन् । श्रद्धा र भक्तिसँगसँगै यिनमा निहितार्थ दर्शन र चिन्तनको पक्षलाई लेखकले महक्त्वका साथ विश्लेषण गरेका छन् । अध्यात्म चिन्तन र विश्लेषणयुत्त प्रकाशन नेपाली भाषामा निकै कम छन् । भूचन्द्रका पुस्तकहरूले यो कमीलाई केही हदसम्म पूरा गरेका छन् । त्यसैले होला, आधुनिक शिक्षा र व्यवसायको विविध पक्षमा विशिष्टता हासिल गरेका प्राज्ञिक (अकाडेमिक) समुदायमाझ उनका पुस्तक रुचिसाथ पढेको पाइन्छ ।


रामायण र महाभारत हिन्दु समाज र सभ्यताका उत्कृष्ट पौराणिक रचना हुन्, साथै त्यसको प्राचीनता बुझ्ने महत्त्वपूर्ण आधार पनि । रामायण महाभारतभन्दा पुरानो रचना हो । रामायणका रचनाकार महर्षी वाल्मीकि रामकै समकालीन हुन् र त्यसमा वर्णित कतिपय घटनाका साक्षी पनि । अर्को अर्थमा रामायण एउटा जीवन्त नाटक (‘लाइभ ड्रामा’) हो जसको पहिलो मञ्चन यसका प्रमुख पात्र राम, सीताकै उपस्थितिमा भएको थियो । भारत, नेपाललगायतका देशहरूमा रामकथामा आधारित नाटक प्रदर्शनको निरन्तरता अहिले पनि कायम छ । विवाह पञ्चमीमा अयोध्याबाट जनकपुर जन्ती आउने चलनले सियाराम कथा हाम्रो जीवन र संस्कृतिमा कति गहिरोसँग बसेको छ भन्ने कुराको पुष्टि गर्छ ।


रामायण एउटा उत्कृष्ट साहित्यिक रचना मानिन्छ, पहिलो महाकाव्य पनि । ज्ञान, नीति, कर्तव्य, प्रेम, आक्रोश, पीडा सबै प्रकारका भावनाले भरिएको छ । यसको लेखन र वाचन दुवैमा कलात्मक अझिव्यक्ति छ जसले रामायणलाई जीवन्त बनाएको छ । कथा सुन्नु र विवेचनायुत्त पुस्तक पढ्नु फरक हुँदोरहेछ । भूचन्द्र वैद्यको यो पुस्तक पढ्दा यस्तै अनुभव हुन्छ । त्रेतायुगको अन्त्यतिर रावणको अत्याचार समाप्त गर्ने मुख्य प्रयोजनसहित भगवान् विष्णुले कोशल नरेश दशरथपुत्र रामका रूपमा अयोध्यामा जन्म लिन्छन् । भरत, लक्ष्मण र शत्रुघ्नसहित चार राजकुमारको जन्मले अयोध्याको राजदरबार खुसियालीले धपक्कै भए पनि कृष्णावतारमा जस्तो रामको बाल्यकाल चमत्कारपूर्ण र लीलामय छैन ।


रामायण केवल अहिले हिन्दु समुदायको बस्ती मानिएको भारत, नेपाल, श्रीलंका वा दक्षिण एसियाको यो भूखण्डमा मात्र सीमित छैन । यसले व्यापक भूगोल र समाजलाई समेटेको छ । दक्षिणपूर्वी एसियाका म्यानमार (बर्मा), थाइल्यान्ड, कम्बोडिया, भियतनाम, लाओस्, मलेसिया, इन्डोनेसियालगायतका मुलुकमा यसले लोकप्रियता पाएको छ । ती देशहरूमा रामायणको आआफ्नै वर्णन (भर्सन) पाइन्छ । नेपाली साहित्यमा पनि रामायणको गहिरो छाप छ । भानुभक्तको रामायण नेपाली साहित्यको प्रमुख लोकप्रिय रचना हो ।


रामायण काव्यकौशल, दर्शन, नीति, आदर्श, कर्तव्य र मर्यादाले भरिएको छ । राम र सीता मात्र होइन, रामायणका लक्ष्मण, भरत, हनुमान, रावण, विभीषणलगायत सबै प्रमुख पात्रहरूको शिक्षाप्रद जीवन दर्शन एवं चरित्रका रूपमा हाम्रो समाजमा अहिले पनि बारम्बार उल्लेख हुने गर्छ । रावण राक्षसराज भए पनि विद्वता, शास्त्रज्ञान, वीरता, सबैमा सम्पन्न थिए । अहंकार र दम्भले मत्त थिए, विवेकशून्य । रामको वाणबाट मृत्युशय्यामा पुगेका रावणको ज्ञानको सम्मान गर्दै राम आफैं भेट्न पुग्छन् । लक्ष्मणको प्रश्नको जवाफमा उनी भन्छन्, ‘इच्छाको स्वभाव नै अधुरो रहनु हो । एउटा इच्छा के पूरा हुन्छ, अर्को आइहाल्छ ।’


राम कहिल्यै आफूलाई ईश्वर दाबी गर्दैनन्, ईश्वरीय लीला पनि देखाउँदैनन् । तर रामायण पढ्दा पलपलमा ईश्वरको अनुभूति हुन्छ । महर्षिहरू भने आफ्नो दिव्यज्ञानले उनमा साक्षात् विष्णु देख्छन् । कृष्ण कथामा माधुर्य छ । पढ्दा मन रोमाञ्चित हुन्छ, आनन्दले विभोर हुन्छ । रामकथामा मानिसलाई कोमलता र करुणाले द्रवित बनाउँछ, वियोग र शोकले रुवाउँछ । वाल्मीकि आफैंले भनेका छन्, ‘शोकबाट श्लोक बग्छ ।’ वाल्मीकि रामायण लेखनको सूत्रपात पनि वियोगको श्लोकबाट हुन्छ । प्रणय लीलामा आनन्दित आफ्नो भाले जोडी व्याधाको वाणले आहत भएपछि पोथी चरा (कर्‍याङकुरुङ) को हालत देखेर वाल्मीकिको मुखबाट अनायास केही छन्दोबद्ध श्लोक प्रस्फुटित हुन्छ, जसलाई रामायण महाकाव्य रचनाको प्रारम्भ भनिंदै आएको छ ।


महाभारत सत्ता दाउपेचको कुटिल राजनीतिक पक्ष बढी छ भने रामायणमा सुशासन र लोकमर्यादाको आदर्श हो । सुशासनको नमुनाका रूपमा अहिले पनि ‘रामराज्य’ लाई लिने गरिन्छ । तथापि मर्यादाको आवरणले रामायणका कतिपय पेचिला सन्दर्भहरू छायामा परेका छन् । दशरथको दरबारलाई सबै किसिमबाट प्रेममय एवं षड्यन्त्ररहित देखाउन खोजे पनि यथार्थमा त्यस्तो थिएन । त्यहाँ पनि कुटिलता र षड्यन्त्रका थुप्रै ठाउँ पाइन्छन् । उदाहरणका लागि राजसभामा गरिएको निर्णय रानी कैकेयीको खोपीमा भएको खेलले मात्र उल्टिनु पर्याप्त थिएन । कैकेयीले केवल मन्थराको मन्त्रणाबाट उत्तेजित भएर रामलाई वनबास र भरतलाई राजगद्दीको चाल चलेको थिइनन् । त्यसमा दशरथका कमजोरी र पूर्वआश्वासन पनि कारक थियो ।


रामकथामा साधन र साध्य दुवैको पवित्रतामा जोड दिइएको छ । प्रतिकूल अवस्थाको पनि कसरी सहज एवं सम्मानजनक रूपमा सामना गर्न सकिन्छ भन्ने कुरा रामको पाइला–पाइलाले देखाउँछ । भारतमा महात्मा गान्धीले गरेको सत्याग्रह यसबाट धेरै प्रभावित थियो । गान्धीको मुखमा हरपल ‘रामनाम’ उच्चारित हुन्थ्यो । राम मर्यादा र आस्तिकताका धरोहर हुन् । प्रतिकूल अवस्था झेलिरहेको बेला उनी लक्ष्मणलगायत आफ्ना मानिसहरूलाई सम्झाउँछन्, ‘मानिसको जीवनमा सुख–दुःख, लाभ–हानि, संयोग–वियोगका क्षणहरू आइरहन्छन् । त्यसको कारण थाहा हुन नसकेको अवस्थामा त्यही दैवको इच्छा हो भनेर बुझ्नु ठीक हुन्छ ।’ अर्थात् घटना माध्यम हो, पात्र निमित्त मात्र ।


रामायण बृहद् ग्रन्थ हो । यसको पाठ मात्रका लागि पनि हप्तौं लाग्छ । यसको विस्तृत चर्चा गर्न पुस्तकका दर्जनौं भोलुमले पनि पुग्दैन । तथापि भूचन्द्रको यो पुस्तकले तीन सय चालीस पृष्ठमा मुख्य–मुख्य कुरा सबै समेटेको छ । कुनै कुरा छुटेजस्तो लाग्दैन । आठवटा मुख्य परिच्छेदमा संयोजन गरिएको यो पुस्तकको लेखन अत्यन्तै सरल छ । सामान्य पाठकले पनि सजिलै बुझ्न सक्छन् । सँगसँगै यसमा गरिएका व्याख्या, विश्लेषणले गम्भीर पाठकहरूको ध्यान खिच्छ । हरेक घटनाक्रम र पात्रका बारेमा लेखकले तत्कालीन वातावरणको प्रभावसहित विवेचना गरेका छन् । दशरथ, कैकेयी, रावणजस्ता प्रमुख पात्रहरूको मनोविश्लेषण भएको छ । घटनालाई अनावश्यक ईश्वरीय चमत्कारको आवरण दिनुभन्दा मानवीय स्वभाव र व्यवहारका पक्षलाई प्राथमिकता दिइएको छ । श्रापग्रस्त अहल्याको उद्धारलाई लेखकले दैवी चमत्कारभन्दा रामको प्रेमपूर्ण स्पर्श र ‘माता’ भनी गरेको सम्बोधनले उनी डिप्रेसनबाट मुक्त भई प्राण सञ्चार भएको कुरामा जोड दिइएको छ । पुस्तकको अन्तिम परिच्छेद ‘अन्त अनन्त’ मा लेखकले आफ्ना मनका कुरालाई खुलस्त राखेका छन् । आस्था अविचलित छ, तर मानवीय संवेदनासँग जोडिने सीता परित्यागजस्ता घटनाको वस्तुगत विश्लेषण गर्न पनि लेखक चुकेका छैनन् ।


राजाले लोकधर्म पालन गर्दा आफू र परिवारका कुरा बिर्सनुपर्छ भन्ने रामराज्यको सन्देश हो । निर्दोष सीताको परीक्षा र परित्यागको दुःखद पक्ष आफ्नो ठाउँमा छ । तर यसले दिने सन्देश सुशासनका लागि परिवार र नाता–कुटुम्बको मोहत्याग महत्त्वपूर्ण र मननीय छ । राजाको आफ्नै आँखा, कान र मन मात्र पर्याप्त हुँदैन अरूकोबाट पनि देख्न, सुन्न र बुझ्न सक्नुपर्छ भन्ने सिद्धान्त यहाँ अन्तर्निहित छ । अर्को उत्तिकै गम्भीर प्रश्न पनि आउँछ, व्यक्तिगत लाञ्छना र लोकमत एउटै कुरा होइन । यसको विवेकपूर्ण निरुपण हुनु आवश्यक छ । सीता परित्याग गर्दा लाञ्छना र लोकमर्यादाको विवेकपूर्ण विभेद हुन सकेको छैन । रामको चरित्र केन्द्रविन्दुमा भए पनि पढ्दै जाँदा सीताको जीवन धेरै आदर्शमय एवं मर्मस्पर्शी लाग्छ । पृथ्वीको गर्भबाट निस्किएकी सीताको जन्म र अवसान पनि पृथ्वीकै काखमा अधीनस्थ हुनु एउटा संयोग थिएन, एउटा अलग्गै जीवन दर्शनको प्रतिनिधित्व गर्छ ।


हिजोआज उपभोक्तावादी संस्कार छाएको छ । विज्ञान र प्रविधिको नाममा अध्यात्म दर्शन र चिन्तनलाई अवैज्ञानिक, अभौतिक, कर्मकाण्डी एवं अन्धविश्वास भनेर पन्छाउने प्रवृत्ति छ । परिणामस्वरूप हजारौं पुस्तादेखि सञ्चित हुँदै आएको ज्ञान र चिन्तनबाट हामी विमुख भैराखेका छौं । राजनीति, शासन/प्रशासनजस्तो सार्वजनिक हितको क्षेत्रमा पनि निजी सुखसुविधाको चाहना र भोग नै त्यसमा संलग्न मानिसको अभीष्ट सिद्धि बनेको छ । भोग र सिद्धिको सीमा छुटयाउन नसक्दा मानिस कर्तव्यच्यूत हुन्छ र उसको जीवन एउटा ढोङमा परिणत हुन्छ ।


हामीले आफ्नो पुरानो सभ्यता र संस्कृतितर्फ फर्केर हेर्ने हो भने धेरै सत्य आफैं खुल्छन् । कर्तव्य र निजी स्वार्थ वा सुखसुविधाको द्वन्द्वबीच विवेकपूर्ण सीमारेखा खिच्न सहयोग पुग्छ । रामायणकालीन समाजमा पक्कै पनि आजको जस्तो भौतिक विकास थिएन, न प्रविधिको सुविधा नै । तर त्यसको परिकल्पना प्रचुर मात्रामा थियो भन्ने धेरै प्रमाण पाइन्छन् । पुष्पक विमान, लङ्कापुरीको समृद्धि, अहिलेका आणविक, रासायनिक एवं जैविक हातहतियारसँग तुलना गर्न मिल्ने शस्त्रअस्त्र आदि केही त्यसका उदाहरण हुन् । सुर–असुर, देव–दैत्यका चरित्र कर्तव्य र भोगविलासको विवेकपूर्ण सीमारेखा छुट्याउने रोल मोडेल हुन् । विश्वामित्र, वशिष्ठ, अगस्त्य, भारद्वाजजस्ता ऋषिमुनिको वौद्धिक चिन्तनले समाजलाई के गर्न हुने, के नहुने भनेर निरन्तर मार्गदर्शन गर्थ्यो ।


सबै मानिसमा अध्यात्म चेतना हुनु आवश्यक छ । अध्यात्म चिन्तन भनेको धार्मिक अन्धविश्वास होइन । यो समय खेर फाल्ने काम पनि होइन, सबै समय यसैमा दिनुपर्छ भन्ने पनि होइन । यसका लागि चिन्तनयुक्त सामग्री अध्ययन गर्नु आवश्यक हुन्छ । यो पुस्तकलाई मैले एउटा उपयोगी सामग्री मानेको छु ।

प्रकाशित : वैशाख १४, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?