कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चौधरी चमक

ध्रुव तुलाधर

स्प्रिन्ट दौड र जम्पिङ विधामा थारू समुदायका खेलाडीले नेपाली एथलेटिक्समा रहेको आफ्नो प्रभुत्वलाई आठौं राष्ट्रिय खेलकुदमा पनि आफ्नो पकडबाट बाहिर जान दिएनन्  । छोटो दूरी दौड र फिल्डको जम्पिङमा पूरै छाए  ।

चौधरी चमक

अरूलाई कुनै अवसर नै दिएनन् । दाङ तुलसीपुरस्थित बेलझुन्डीमा बनेको नयाँ सिन्थेटिक ट्र्याकमा पदक जित्ने चौधरी खेलाडीको बाक्लो उपस्थिति रह्यो । नेपाली खेलकुदमा अन्य खेल विधामा पनि चौधरी खेलाडीको सफलता चुलिँदो छ । यहाँ चर्चा खोजिएको एथलेटिक्सको हो ।


छोटो दूरीमा पुरुष दौडको इतिहास पल्टाउने हो भने चौधरी खेलाडीको भूमिका अमूल्य छ । लामो समयदेखि तिनकै कीर्तिमान अडिग छ । १०० र २०० मिटर दौडमा रामकृष्ण चौधरीले कीर्तिमान बनाएको दुई दशकभन्दा बढी भइसक्यो । ४०० मिटरमा आशाराम चौधरीले सन् १९९० मा बेइजिङमा राखेको ४८.३२ सेकेन्डको कीर्तिमान पनि उस्तै छ । धनीराम चौधरीको नाममा ८०० मिटर दौड कीर्तिमान छ । जुन उनले मद्रास साफमा १ मिनेट ५०.६० सेकेन्डको बनाएका थिए । ४०० मिटर हर्डल्समा आशारामले १९९३ को ढाका सागमा राखेको ५३.२३ सेकेन्ड कसैले उछिन्न सकेका छैनन् । ट्रिपलजम्पमा सीताराम चौधरीको १५.२० मिटरको कीर्तिमानछेउ कोही पुगिसकेका छैनन् ।


पहिला चौधरी समुदायका महिला खेलकुदतर्फ त्यति सक्रिय हुँदैनथे । त्यसैले रनिङमा उनीहरूको कीर्तिमान छैनन् । तर पछिल्लो समय महिलाहरूको सहभागिता बढ्दो छ । पछिल्लो दशकमा फिल्डतर्फ केशरी चौधरीले सनसनी मच्चाइन् । एकपछि अर्को कीर्तिमान राखिन् । हाइजम्प, लङजम्प, ट्रिपलजम्प सबै कीर्तिमान उनको नाममा छ । हेप्टाथलनमा पद्मा चौधरीको नाममा १९९० मा बनेको कीर्तिमान यथावत् छ । यो दृष्टान्त किनभने थारू समुदायका खेलाडी सक्रिय छन् त, उनीहरूले सफलता पनि त्यत्तिकै पाएका छन् । पछिल्लो समय आयोजित राष्ट्रिय प्रतियोगिताहरूमा उनीहरूको बाक्लो उपस्थितिले यो देखाउँछ ।


आठौं राष्ट्रिय खेलकुदमा महिला १०० र २०० मिटरको टक्कर हेर्ने हो भने दुवै इभेन्टमा चौधरी चेली छाए । दुवैमा सरस्वतीले स्वर्ण, जयरानीले रजत र कृष्णाले कांस्य पदक जिते । सरस्वती र कृष्णा आर्मीका हुन् भने जयरानीले प्रदेश ५ को प्रतिनिधित्व गरेकी थिइन् । पुरुषको १०० र २०० मिटरमा लगभग महिलाको जस्तै भयो । दुवै स्वर्ण एपीएफका आशिष चौधरीले जिते । आर्मीका अभिषेकले २०० मिटरमा रजत जित्दा १०० मिटरमा चौथोमा थिए । १०० मिटरमा आनन्ददेव चौधरी तेस्रो भए । यामसाजन सुनार दोस्रोमा थिए ।


महिला लङजम्पमा चौधरीत्रयकै भिडन्त चल्यो । आर्मीकी कृष्णाले स्वर्ण, एपीएफकी शिलाले रजत र जयरानीले कांस्य बाँडेका थिए । ज्याभलिन थ्रोमा कीर्तिमानी चन्द्रकला लामगादेमाथि थारू जोडी आर्मीकी लक्ष्मी र एपीएफकी सीमाकुमारीले चुनौती पेश गरे । लक्ष्मीले रजत र सीमाले कांस्यमा नाम लेखाए । ज्याभलिनमा आर्मीका रोहित चौधरीले स्वर्ण जित्दा पुलिसका वीरेन्द्र चौधरीले कांस्य पाए ।
पुरुष लङजम्पमा पुलिसका गोपाल चौधरीले कांस्य जितेका थिए । उनैले हाइजम्पमा रजतको प्रदर्शन दिए । महिला हाइजम्पमा पनि चौधरी वर्चस्व देखियो । शिलाले स्वर्ण जित्दा प्रदेश १ की विन्द्रा चौधरी र प्रदेश ५ की अनिता चौधरी संयुक्त कांस्य जित्न सफल भए । ट्रिपलजम्पमा शिलाले स्वर्ण, प्रदेश ५ का पूजा र सीमाले रजत र कांस्य जितेका थिए ।


त्यस्तै पुरुष ११० मिटर हर्डल्सको स्वर्ण आर्मीका नीरकुमार चौधरीले जितेका थिए । ४०० मिटर हर्डल्समा जीवन चौधरीले कांस्य जितेका थिए । जयरानीले महिला १०० मिटर हर्डल्सको रजत पदकमा नाम लेखाइन् । ४ गुणा १०० मिटर रिलेमा आर्मीले स्वर्ण जित्दा चौधरी जोडी आनन्ददेव र अभिषेक टिममा थिए भने रजत जितेको एपीएफमा आशिष चौधरी र कांस्य जितेको पुलिसमा जंगबहादुर र गोपाल चौधरी थिए । सोही दूरीमा महिलातर्फ आर्मीलाई स्वर्ण दिलाउँदा चौधरीत्रय सरस्वती, कृष्णा र रमिता थिए । दोस्रो भएको प्रदेश ५ बाट जयरानी र सीमाले खेलेका थिए । कांस्य जित्दा पुलिसबाट भगिरथी थारू, शिला चौधरी, सीमा थारू प्रतिस्पर्धामा थिए । सटपुटमा पुलिसकी बसन्ती चौधरीले कांस्य जितिन् । धेरैजसो पदक जित्ने चौधरी खेलाडी विभागमा आबद्ध भइसकेकाहरू छन् । प्रदेशबाट खेलेकीमा जयरानी प्रभावशाली देखिएकी थिइन् । उनले चार रजत र एक कांस्यमा नाम लेखाइन् । प्रदेशका चौधरी खेलाडीमा सीमा, विन्द्रा र अनिताले मात्र कांस्य पदक हात पारेका छन् ।


चौधरी खेलाडीहरूले यस्तो सफलता पाउनुमा के छ त ? वैज्ञानिक कारण त होइन । कतिले त भन्छन्, उनीहरूको शरीरको जिंक नै बलियो हुन्छ । अर्ग्यानिक खाना खाएर हुर्केका हुन्छन् । त्यसबाट शरीरलाई चाहिने प्रोटिन र क्यालोरी उनीहरूले बच्चैदेखि पाउँछन् । अनि घरखेतका सबै काममा उनीहरूको संलग्नता हुन्छ । त्यसले सानैदेखि उनीहरूको शरीर अप्रत्यक्ष रूपमा तन्दुरुस्त र बलियो बन्दै विकसित भएको हुन्छ । त्यसलाई सफलता पाउनुको एउटा कारण मान्छन् एथलेटिक्सका प्रशिक्षक चन्द्र गुरुङ । थुप्रै चौधरी खेलाडीलाई प्रशिक्षित गराएका उनी भन्छन्, ‘उनीहरूको आन्तरिक विकास सानैदेखि बलियो रूपमा हुँदै आएको हुन्छ । गाउँघरमा पाइने अर्ग्यानिक खानेकुरा खाएका हुन्छन् । शरीरले प्रशस्त प्रोटिन र क्यालोरी पाएको हुन्छ । काम गरेर त्यसलाई खर्चिरहेका पनि हुन्छन् । त्यो हुनु भनेको सानैदेखि शरीरको मजबुती हो । सही ट्रेनिङ पाउनेबित्तिकै सफलता हासिल गरिहान्छन् ।’


त्योसँगै उनीहरूको इमानदारी सफलताको अर्को कारण देख्छन् प्रशिक्षक गुरुङ । थारू, चौधरी समुदायका मानिस सोझा र इमानदारमा पर्ने उनको बुझाइ छ । उनी भन्छन्, ‘खेलकुदलाई चाहिने पहिलो सर्त नै अनुशासन हो । त्यसमा उनीहरू शतप्रतिशत सफल छन् । त्यत्तिकै मिहिनेती र लगनशील पनि हुन्छन् ।’ उनको भनाइमा विभागीय टोलीमा गएका खेलाडीले प्रदर्शनका कारण पनि त्यसमा सहमत हुन सकिन्छ । आर्मी, पुलिस र सशस्त्र प्रहरी टिममा रहेका चौधरी खेलाडीको प्रदर्शनले पनि त्यो भन्छ । विभागीय अनुशासनको दायराले उनीहरूलाई थप सफलतातिर डोर्‍याइरहेको पाइन्छ । अर्का प्रशिक्षक धनीराम चौधरी पनि शरीरको मजबुती नै सफलताको कारण हो भन्छन् । छोटो दूरीमा सफल हुनुको तर्क उनी यस्तो दिन्छन्, ‘थारू समुदायका खेलाडी तराईको गर्मीमा हुर्केका हुन्छन् । गर्मीमा छिटो काम गर अनि आराम गर । त्यही अवधारणा हुन्छ । शरीरको विकास त्यहीअनुरूप हुँदै जान्छ । मलाई छोटो दूरी र जम्पिङमा सफलता पाउनुको एउटा कारण यो पनि होजस्तो लाग्छ । तर यो कुनै रिसर्च धारणा त होइन ।’


धनीराम आफैं पनि खेलाडी हुन् । अहिले विभागीय टोली एपीएफ क्लबका एथलेटिक्स प्रशिक्षक छन् । धनीराम मध्यम दूरीका धावक हुन् । ८०० मिटरको कीर्तिमान उनकै नाममा छ । लामो दूरीमा थारु खेलाडी छैनन् । धनीराम अनुभव सुनाउँछन्, ‘तराईमा गर्मीका कारण फटाफट काम गर्ने अनि आराम गर्ने बानी विकास भएको हुन्छ । हाम्रो शरीरमा लामो दूरीमा दौडन चाहिने एरोबिक पावर मसल्स तयार भएका हुँदैनन् । त्यसले गर्दा लामो दूरीमा दौडन सकिँदैन । पहाडी भेगका मानिसहरूमा उकाली–ओराली गरिरहन्छन् । हावापानी त्यहीअनुरूप हुन्छ । उनीहरूको शरीरमा एरोबिक पावर ज्यादा हुन्छ । लामो दूरीमा सफल हुनुको एउटा फ्याक्टर त्यो पनि हो ।’


उनले भनेजस्तै ८०० मिटरभन्दा माथि चौधरी खेलाडीले सफलता भेटेका छैनन् । लामो दूरीमा पहाडी भेगकै खेलाडीको वर्चस्व छ । विभागमा आएपछि जति चौधरी खेलाडीले सफलता भेटेका छन्, त्यति बाहिर रहेकाले पाउन नसक्ने प्रशिक्षक चौधरीको बुझाइ छ । किनकि घरबाट खेलाडीको त्यो आवश्यकता पूरा हुन सक्दैन । उनीहरूसँग नियमित आम्दानी स्रोत हुँदैन । किट्स महँगा छन् । दौडनलाई एउटा राम्रो स्पाइक किन्न ९–१० हजार चाहिन्छ । ट्र्याकसुट किन त्यस्तै पर्छ । घरको आर्थिक अवस्था हेर्ने हो यो समुदायका खेलाडीले अत्यावश्यक किटस पनि किन्न सक्दैनन् । त्यसले गर्दा आफ्नो प्रदर्शन जोगाउन पाउँदैनन् ।


अहिले विभागमा राम्रा देखिएका चौधरी खेलाडीतर्फ इंगित गर्दै उनी भन्छन्, ‘उनीहरू एक हिसाबले आर्थिक रूपमा सुरक्षित भएका हुन्छन् । मासिक आम्दानीले खेल्नलाई आवश्यक चीज किन्न पाएका छन् । निश्चिन्त भएर खेल्छन् । लगनशील र मिहिनेती छन् । त्यसमा नियमित प्रशिक्षिण थपिन्छ । त्यसले उनीहरूलाई सफलता दिलाउँछ ।’
Twitter : @tuladhardhrba

प्रकाशित : वैशाख १४, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?