कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काशीरामका तीन चिठी

बीस वर्षअघि बिदेसिएका काशीराम बुढा कहाँ छन्, पत्तो छैन । यसबीचमा उनले पत्नी शारदालाई केवल तीनवटा चिठी लेखे, त्यो पनि ठेगाना नखुलाई ।
होम कार्की

 
२०५६ असार २ गते घाम नझुल्किँदै शारदाका पति काशीराम बुढा घरबाट निस्किसकेका थिए  । बटु गाविस–सुर्खेतमा गाडी पुगिसकेको थिएन  ।

काशीरामका तीन चिठी

तीन घण्टा फटाफट हिँडे मात्रै सदरमुकाममा पुगिन्थ्यो । काशीरामलाई त्यसै दिन भारत छिरिसक्नु थियो । उनको यात्रा कहाँसम्मको थियो ? शारदालाई प्रस्ट भनेकै थिएनन् । यति मात्रै सुनाएका थिए, ‘अब पहिलेजस्तो भारतमा काम गर्दिनँ । त्यहाँबाट अर्को देश जान लागेको । राहदानी पनि बनाइसकेको छु ।’ राहदानी नेपाल या भारत कहाँबाट लिए, त्यो पनि भनेनन् ।


बिहेअघिदेखि नै काशीराम भारतको गोरखपुरस्थित रेलवे स्टेसनमा काम गर्थे रे । यो पनि शारदालाई अरूले नै सुनाएका । काशीरामले न त्यहाँ लगे, न भने । २०५२ सालमा भागी बिहे गरेका थिए, यी दुईले । घरबाट निस्केको चार महिनापछि असोज पहिलो साता हुलाकीले काशीरामको चिठी ल्याइदिए । २०५६ भदौ ६ गते लेखिएको चिठीमा भनिएको थियो, ‘शारदा, अब म पक्कै विदेश जाने भन्दाभन्दै केवल ३ दिनपछि हिँड्दै छु । अब तीन बर्षपछि मुलाकाद होला । पत्रको बाटो नहेर्नु । पठाउने छैन । सकेसम्म लुकीचोरी पठाउने कोसिस गर्नेछु । तर भन्न सक्तिनँ कि पक्कै पत्र पठाउँछु भनेर । पत्रको आशा गर्नू, भरोसा नगर्नू ।’


उनले चिठिमा घर–व्यवहारबारे भनेका थिए, ‘त्यतिन्जेलसम्म सारा गल्ती भुलेर दिमाख ठन्डा राखेर आफ्नो काम लिनू । माइतीघर बाबियाचौर दौडी–दौडी जाने काम नगर्नू । जसरी पहिले दिन बितायौं । त्यसैगरी बिताउनू । घरमा लामो परिवार हुनुको अनेकौं किसिमका कुरा सुन्नुपर्ला । सबै सहनुपर्छ ।’ चिठीमा उनले छोरीलाई सम्झिएका थिए, ‘आजभोलि छोरीको के कस्तो खबर छ । थाहा नपाउँदा अति दुःखी छु । घरपरिवारको खबर नपाए पनि मलाई छोरीको खबर पाए भइहाल्ने थियो । छोरीको तस्बिर आँखाको नानीमा नाचिरहन्छ । सन्तोषको सहारा छैन । कहिलेकाहीँ सपनामा छोरीसँग भेट हुन्छ । केबल आँसु बहिरहन्छ ।’ काशीरामले घर छोड्दा छोरी ५ महिनामा टेक्दै थिइन् ।

शारदा सासू–ससुरासँग बस्थिन् । तीन बर्षसम्म चिठी आएन । उनी मन बलियो बनाएर बसिन् । छोरीको हेरचाहमा समय गुजारिन् ।
तीन बर्षपछि अर्को पत्र आइपुग्यो । २०५८ वैशाख २६ गते लेखिएको उक्त चिठीमा आफू कहाँ छु भनेका थिएनन् । घरमा आइपुगेको चिठी बुटवलको हुलाक मार्फत पोस्ट गरिएको थियो । चिठीमा लेखिएको थियो, ‘यो मैले नेपालमा आइरहेको साथीसँग पठाइदिएको छु, नेपालबाटै हालिदिनू भनेर । यहाँबाट पठाउँदा ठेगानाको आधारमा मलाई गिरफ्तार गर्छ ।’ खामभित्र दुइटा पत्र थिए । एउटा बुवाआमाका नाममा लामो पत्र थियो । अर्को छोटो शारदाका नाममा ।


बुवाआमालाई पठाएको चिठीमा लेखेका थिए, ‘लामो समय पत्र पठाउन असक्षम भए । क्षमादान गर्नुहोला । मैले आफ्नो प्रयास गरेको छु । तर असफल भए । ...यतिका दिनसम्म पत्र नपाउँदा कतिले भनेका छन् होलान्, सबैलाई बिर्सियो । कतिले मरिगयो क्या भन्ने सोचेका होलान् । कसैले सोचेर भनेर केही हुँदैन । भगवान्को साथ मिल्नुपर्छ । न म मरेको छु । नही कसैलाई बिर्सेको छु । म गएको उस्तै ठाउँमा छु । कि यहाँको कानुन ब्यबस्थादेखि बाध्य रहनुपर्छ । म भदौको लास्ट, असोज पहिलो सातासम्म आउँछु । दसैंपछि फेरि तीन सालका लागि निक्लिनेछु । जबसम्म मनले चाहेको पूरा गरी लिन्न । तवसम्म संघर्ष गरी नै रहनेछु । तीन बर्षमा ५० प्रतिशत लक्ष्य हासिल गर्नमा सफल भएँ । ३ वर्ष अरू सही गर्छु ।’


शारदालाई भने छोटो सन्देश लेखेका थिए, ‘शारदा, यो मनमा लागेका सबै कुरा लेखेर सकिँदैन । चिठी लेख्न पनि मन लाग्न छोडेछ भनौली । शारदा तिमीले पनि मरिसक्यो कि भनेर सोच्दै होली । छोरीले पनि मेरो बुवा छैन सोचिरहेकी होलिन् । चिठी पाउँदा पनि रिस उठ्छ होला । अहिले म केही पनि लेख्न असमर्थ छु । चिठी लेख्दै हात काप्न थाल्छ । आँखामा आँसु आउँछ । शारदा, म विदेशमा त्यतिकै हावा खाइरहेको छु । आफ्नो लक्ष्यका लागि संर्घष गरिरहेको छु । म आफ्नो सपना पूरा गरी छोड्नेछु ।’ काशीरामले पूरा गर्नुपर्ने सपना कुन थियो, शारदाले भेउ पाइनन् । दसैंसम्म आउने खबरले भने उनको दुःख एकाएक विलायो । आएपछि एक–एक प्रश्न गर्ने विचार बनाइन् । र कुर्न थालिन्, असोज पहिलो साता ।


शारदालाई थाहो थियो— घरको दैलो नटेकेसम्म परदेशीको भर हुन्न । असोज आयो, गयो । कात्तिक, मंसिर पनि बित्यो । अहँ, काशीराम आएनन् । बरु मंसिरबाट मुलुकमा संकटकाल सुरु भयो । माओवादी विद्रोहको बेला जो थियो । घरमा ठूलो दाइ सेनामा थिए । माओवादीले परिवारलाई जागिर छोडाउन दबाब दिइरहेको थियो । हुर्के–बढेका युवा भटाभट गाउँ छाड्दै थिए । शारदालाई लाग्यो— यस्तो अबस्थामा उनी कसरी गाउँ आउलान् ? अर्को मनले सोचिन् न बा आउँदाखेरि बाटोमा केही भयो कि ?


काशीरामको हरहालत थाहा नभएपछि उनी बेचैन बन्दै गइन् । चिठी ल्याइदिने मान्छे खोज्न बुटवलसम्म पुगिन् । तर चिठी पठाइदिने मान्छेको नाम थिएन । जिल्ला हुलाकमा उसको नाम हुन सक्छ कि भनेर खोज्न थालिन् । हुलाकमा पनि नाम प्रस्ट लेखिएको थिएन, ठेगाना थियो– वेलाई, ६, वुटवल । उनी बेलाई पनि पुगिन् । गाउँ विदेशबाट आउने सबैका घर पत्ता लगाउने कोसिस गरिन् । कसैबाट केही खुलेन । उनी निराश भएर गाउँ फर्किन् ।

दुई बर्षपछि २०६० असारमा तेस्रो चिठी शारदाको हात पर्‍यो, दाइको नाममा लेखिएको । यो पनि काशीरामले सिधै पठाएका थिएनन् । सँगै काम गर्ने साथीमार्फत पठाएको भनेका थिए चिठीमा । ‘हुन त म कात्तिक अन्तिममा पास्फोट (राहदानी) रिनुअल गराउन वम्बै आएको थिएँ । समय थिएन । छिटो–छिटो काम गरेर नोकरीमा फर्किहालेँ । जब म सबै त्यागेर निक्ली त सके, त्यतिकै के फिर्ता हुनु ?


आफ्नो मनले सोचेको पूरा नगरी फिर्ता आउनु पनि धिकारै छ । म आफ्नो मनले चाहेको सपना पूरा गरेरै मात्रै आउँछ । आफ्नो आमाबुवा, दाजुभाइ परिवार बालबच्चा, त्यो घर आफ्नो जन्मभूमिलाई भुल्न सक्दिनँ,’ चिठीमा लेखिएको थियो, ‘म त्यहाँ धेरै नबसुँला । अर्को देशमा अथवा अर्को ठाउँमा घर बनाउँला तर जन्मभूमि भुल्न सक्तिनँ । कसैले यो नसोच्नु कि अब ऊ विदेशमै बस्छ । सहरमै बस्छ । मेरो गाउँघरका खोलानाला ढुंगाले पनि सपनामा बोलाइरहेको छ । हुन त म यहाँको नै नागरिक बन्ने कोसिस गरिरहेको छु । यहाँको नागरिकता बनाउन लागिरहेको छु । हेरौं के हुन्छ । बने पनि ठीकै छ, नबने पनि ठीकै । मेरो लेख्नु र भन्नु केही छैन । मभन्दा ज्यादै जानकार आफैं हुनुहुन्छ ।’

चिठीमा अगाडि लेखिएको थियो, ‘म त उहिले सबैका लागि मरेको बराबरी मान्छु । त्यहाँ मेरो भनेर केही छैन । त्यो भाइको, यो मेरो नसोच्नुहोला । त्यहाँ जे पनि छ । सबै हजुरको हो । आमाबुवा पनि हजुरकै । परिवार पनि हजुरकै । बालबच्चा पनि हजुरकै । घरदुवार सबै हजुरकै । म त मरे सरी छु । कैले आउँछु । कसरी आउँछु । जिउँदै आउँछु या मुर्दा आउँछु । केही ठेगाना छैन । यहाँको नागरिकता पाउनासाथ म यहाँबाटै चिठी पठाउनेछु । त्यहाँबाट पनि मलाई चिठी आरामसँग पठाउन सक्नुहुनेछ । अहिले म घुम्ने पासपोटमा चोरीमा काम गरिरहेको छु । विदेशीले यहाँ काम गर्छ भनेर पुलिसले थाहा पाए जेल हालिदिन्छ । त्यसैले ठेगाना दिएर चिठी मगाउँदैनन् । घरको खबरसम्म लिन सक्तिनँ ।’


काशीरामले यस चिठीका भावहरूमा त्यति संगति देखिन्न । पुच्छारमा ठूलो अक्षरले उनले बुवाआमालाई भनेका थिए, ‘बुवाआमा मेरा लागि एक थोपा आँसु नखसाल्नुहोला । त्यो आँसु मलाई सराप हुन्छ । आशीर्वाद दिनुहोला । छोरो हुनाले विदेश खटी बसेको छु । आफूलाई भाग्यमानी ठान्नुहोला । दुःख नगर्नू । एक दिन यही छोरो कसरी आउँछ, आफ्नो आँखाले देखेपछि खुसी हुनुहुनेछ ।’
उक्त चिठीको खाममा पठाइदिने व्यक्तिको नाम किटेरै लेखिएको थियो– ओमप्रकास ढकाल, सुरुङ्गा–८ झापा । शारदा चिठी ल्याइदिने ओमप्रकाशलाई खोज्न आफ्नो भाइलाई लिएर झापा नै गइन् । सुरुङको ढकाल टोल पुगिन् । वरपर खोजिन् । सबैको एउटै उत्तर आयो, ‘यो नाम गरेको मान्छे नै छैन ।’


चिठी काँकडभित्ताबाट पठाइएको थियो । उनी काँकडभित्ताको हुलाक पुगिन् । त्यहाँ पुग्दा दसैं बिदामा हुलाक बन्द भइसकेको थियो । त्यसपछि उसै फर्किइन् । त्यसपछि काशीरामको चिठी आएन । न मान्छे नै आए ।

काशीराम नआए पनि शारदाले एक्लै घर चलाइरहेकी छन् । ८४ वर्षीया ससुरा र ७२ वर्षीय सासूको हेरविचार गर्छिन् । २० वर्षीया छोरीलाई काठमाडौंमा राखेर पढाइरहेकी छन् । आफू गाउँमै राहत शिक्षिकाको जागिर खान्छिन् । गुजारा यसैबाट चलाइरहेकी छन् ।
शारदा दुई दशकअघि घर छाडेका काशीरामलाई बरोबर सपनामा देख्छिन् । ‘सपनामा कहिले घरमै आएर पनि नभेटी फर्केको देख्छु । कहिले ठूलो खाल्डोमा फसेको देख्छु । कहिले बुवाआमा बितेर सेतै भएर किरिया बसेको देख्छु,’ उनी भन्छिन्, ‘अनुहार पहिलेकै देख्छु । बोलचाल भने कहिले भएको छैन ।’


खोजबिनका लागि शारदा अहिलेसम्म सरकारी निकाय पुगेकी छैनन् । ‘उहाँको कुनै कागजात हामीसँग छैन । कुन देशमा बस्ने हो, त्यो पनि थाहा छैन । फेरि नेपालबाट गएको पनि होइन,’ उनी भन्छिन्, ‘खोज्ने कुनै माध्यम नदेखेकाले चुप लागेर बस्न बाध्य भएका हौं । पर्खेर बस्नुको बिकल्प अरू देख्दिनँ ।’ पति जिउँदै छन् कि छैनन् भनेर जान्न उनी कैयौंपल्ट ज्योतिषी–धामीकहाँ पनि पुगिन् । ‘थाहा भएसम्म नाम चलेका सबै ज्योतिषी–धामीकहाँ देखाउन पुगेको छु । कैलाली, अछाम, सुर्खेत सबैतिर,’ उनी सुनाउँछिन्, ‘प्रायःजसो सबै ज्योतिषको भनाइ मिल्दोजुल्दो छ । फसेर बसेको छ । मरेकै छैन । जेलनेल भएको छैन ।’


ज्योतिषी–धामीहरूले यसो भन्दा शारदालाई आस बढ्छ— एक दिन त लोग्ने अवश्य फर्केलान् । शारदाका अनुसार उनीहरूबीच कहिल्यै मनमुटाव भएको थिएन । ‘मलाई भेट्न मन नभए पनि आमाबुवासँग त मन होला नि, यो पनि देखिएन,’ उनी गुनासो गर्छिन्, ‘उहाँले आफ्नो बाटो समात्नुभयो भनेर म पनि यत्रो बीस वर्षमा केही सोच्न सक्थें होला ? तर एक दिन आउनुहुन्छ भनेर बाटो हेरिरहें ।’ उनी अझै आस गर्छिन्, ‘अब त छोरीको अनुहार सम्झेर पनि फर्किनुपर्ने हो । आफ्नै मुटुको टुक्रालाई टाढा राखेर कसका लागि उहाँले कस्तो सपना देख्नुभयो ? कसका लागि कस्तो देशको नागरिकता खोज्नुभयो ? मैले कहिल्यै बुझ्न सकिनँ ।’


शारदाले काशीरामका लागि भनेर चिठी पनि लेखेकी छन्, ‘विगत जे भयो, अब बित्यो । पछुताउनुपर्ने कारण छैन । तिमी मात्रै फर्किएर आउँदामै हामीलाई लाख हुन्छ । तिमीले ५ महिनामा छोडेर गएको छोरीको अनुहार सम्झ । जन्मदिने बुवाआमालाई सम्झ । तिमीले जुन स्टेसनमा छोडेर गएको थियौं । म त्यही स्टेसनमा हरपल पर्खेर बसिरहेको छु ।’ तर त्यो चिठीको खाममा लेख्न काशीरामको ठेगाना छैन । अनि उनी बाध्य भएर ठेगाना नभएको पतिको बाटो हेरिरहेकी छन्, बीस वर्षदेखि उसैगरी ।
twitter: @homkarki2

प्रकाशित : जेष्ठ ४, २०७६ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?