कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काली छोरी

अनुभूति
सविता विश्वकर्मा

 माइजू तपाईं किन काली हुनुहुन्छ ?’आठवर्षे भान्जाको बालसुलभ प्रश्नले मेरो मुटुको कुनामा चस्स बिझायो  । मनमनै उत्तर दिएँ, ‘साँच्चै भनेको खासमा मलाई पनि थाहा छैन म किन काली ?’



कैले गालामा म्वाई खाँदै, कैले हात समाउँदै, कैले अँगालो हाल्दै दोहोर्‍याई तेहेर्‍राई भान्जाले सोध्ने यही प्रश्नले कैले त रनक्क रिसै उठ्ने । मैले आजसम्म मेरो गोरे भान्जालाई म काली हुनुको कारणसहितको उत्तर दिन सकेकी छैन, त्यसैले भान्जाले बेला न कुबेला यही प्रश्न सोधेर हैरान पारिराख्छन् । न्जालाई मेरो छालाको रङ पनि उनको जस्तै भैदिए हुन्थ्योजस्तो लाग्छ । म गोरी आमाको नगोरी छोरी । प्रायः आमा र मलाई सँगै भेट्नेले आश्चर्य मान्दै सोध्छन्— तपाईंकै छोरी हो र भन्या, काली पो रैछे त !


कसैकसैलाई आमाको ठट्यौली उत्तर हुन्थ्यो, ‘कहाँ मेरी छोरी हुनु ? बाटोमा भेट्टाको नि !’ तर आमाको प्रायः सबैलाई दिने साचो जवाफचाहिँ ‘बाउ गोता गएर’ भन्ने नै हुन्थ्यो । उत्तर सुनेर उनीहरूको मनको खसखस मेटिन्थ्यो, यता मेरो मनमा भने काउसो पस्थ्यो । मेरैजस्तो छाला भएका मेरा बालाई मैलाईजस्तो हेलाहोंचो भएको याद छैन । तर, छोरीमान्छेको भने जाबो छालको रङ उज्यालो नहुँदा प्रश्नै प्रश्न । सत्य, छोरीमान्छेको गोरै छाला हुनुपर्ने मान्यता राख्ने समाजदेखि दिक्दारी भोग्दै हुर्किएँ । दशकअघिको कुरो एउटा गोष्ठीमा सहभागी हुन पुगेकी थिएँ, मेरो आमाको पनि आमा हजुरआमालई राम्ररी चिन्ने एउटी महिलासँग भेट भो ।मेरी आमाको नाम लिँदै उनले भनिन् ः ‘मान्छे मात्रै गोरो भएर पनि नहुने रैछ है, कसैको त कोखै कालो हुने के, त्यस्ती गोरी आमाको यस्ती काली छोरी म त दंगै परें ।’

गोष्ठीमा भेटिएकी ती महिलालाई आमाले चिन्नुहुँदो रहेछ । उनले भनेको कुरा जस्ताको तस्तै सुनाएर आमाको फरियाको फेरो समातेर धरधरी रोएँ । आखिर म काली या गोरी जे भएको भए पनि उनलाई हुनेचाहिँ केही थिएन । बेकारमा मेरो आमाको कोखलाई दोष मात्रै दिइन् । किशोरावस्थाताका म किन आमाजस्तो गोरी छैन भनेर धेरै पटक घोरिएँ । पटकपटक ऐना हेरें । दसौं पटक साबुनले मुख धोएँ तर आमाको जस्तो रङ कहिल्यै भएन । आमाको छाला गोरो त थियो नै अझ त्यसमा पनि खैरा आँखा, त्यसले आमालाई औधी सुहाएको जस्तो लाग्थ्यो । आमालाई देखेका मेरा स्कुले साथीहरूले ‘तेरो आमा त अम्रिकानेजस्ती भन्थे ।’ आमाको तारिफ सुनेर मेरो सान बढ्थ्यो । एक पटक हामी आमाछोरी एक जना नातेदारको घरमा पाहुना लाग्न पुगेका थियौ । हामी पाहुनाको सत्कारमा खटिएका श्रीमान् र श्रीमती साँझलाई हुनेगरी फर्सीको मुन्टा केलाउँदै थिए । उनीहरूको कुरा गोरो कालोको विषयमा नै केन्द्रित थियो ।


स्टिलको बाटामा केलाएको फर्सीको मुन्टा राख्दै श्रीमान्ले श्रीमतीतिर हेर्दै भने, ‘तिमी गोरी नभएको भए मैले बिहे नै गर्ने थिइनँ ।’ श्रीमतीलाई रिस उठ्यो । सँगै केलाउन छोडेर बोलिन्, ‘भनेसि म त्यति नराम्रो हुन्थे काली भाको भए ?’
श्रीमान्ले जवाफ फर्काए, ‘तिमी काली भाको कुरा त म कल्पना पनि गर्न सक्दिनँ, तिम्रो शरीर, अनुहार, कपाल क्यै राम्रो छैन । छाला राम्रो छ, त्यति हो ।’ त्यो दिनदेखि गोरो छालाका लागि मात्रै बिहे गर्ने उनको श्रीमान् देख्यो कि रिस उठ्थ्यो । त्यो त उहिले म सानै हुँदाताकाको कुरो । ‘सर्लक्क परेकी गोरी केटी बिहे गर्ने’ योजना र सपना राख्ने अहिलेको युवा देखेर पो अचम्म लाग्छ । एक जना सहकर्मीले मलाई सुनाएका थिए, ‘मलाई काली केटीहरू खुब मन पर्छ । बिहेचाहिँ गोरी केटीसँग होस्जस्तो लाग्छ ।’ उनका अनुसार मजस्तो गोरो छाला नभएकाहरू बिहेका लागि सिधै आयोग्य ! म गोरी नै हुनुपर्ने त्यस्तो ठूलो कारण त केही थिएन तर अरूले आमासँग दाँजेर काली नराम्री भनेको सुन्दा नमज्जा लाग्थ्यो । त्यो नमिठो भोगाइ मनमा खीलझैं गडिसकेकाले ‘गोरो हुन पाए त’ भन्ने लोभ दिमागबाट हट्न निकै वर्ष लाग्यो । पढाइ र पत्रकारिताको संघर्षले काठमाडौं ल्याइपुर्‍यायो, यताको हावापानी फाप्यो । उमेर र आत्मविश्वासले पनि होला गोरै मात्र राम्रो भन्ने भ्रम फिक्का हुँदै गए ।


तिनताकाका असाध्यै चल्तीका फेअर एन्ड लभ्लीका विज्ञापनले केटी काली हुनुका पीडा जसरी देखाउँथे, त्यो पात्र मै पो हुँ कि जस्तो लाग्थ्यो । तर, मेरो अनुभवमा स्वयं फेअर एन्ड लभ्ली क्रिममा चाहिँ विज्ञापनमा जस्तो गोरो बनाउन सक्ने ताकत एक रत्ति पनि थिएन । सबका सब हावादारी !
रमाइलो लाग्ने कुरा त के भने काठमाडौंतिर ‘तिम्रो छालाको रङ असाध्यै सुन्दर लाग्छ’ भनेर गफ दिनेहरू पनि भेट्न थालें । ‘काली काली हिस्सी परेकी केटी पो राम्री त’ भन्नेहरूले सदैव आत्मसम्मान उचो राख्न हौसला दिए । स्नातकोत्तरको अन्तिम वर्षको तयारी गर्दै थिएँ, आमाले सुनाइन्– ‘तिमी गोरी हुन्थ्यौ भने नि छोरी १२ पढ्न नपाउँदै बिहे गरेर लग्थे, डिग्री त पढ्यापढ्यै हो, एसएलसीपछि नै तिमीलाई माग्नेका ताँती हुन्थे होला ।’ गोरो छाला भएकै कारण छिटो बिहे गर्नुपरेको र अहिले घरबार सम्हालेर बसेका मेरै उमेरका साथीहरूको फेहरिस्त सुनाउँदै आमाले भनिन्, ‘मान्छेहरूलाई देख्नमा राम्रो गोरो छाला भए त पुगिगो । बाआमासँग छोरी मागेर मरिहत्ते गर्छन्, अनि छोरी नदेर सुख्खै पाइन्न । गोरी नहुनुमा घाटा नै छैन बरु फाइदै छ बुझ्यौ,’ भनेर आमाले मलाई हौसला दिइराख्नुहुन्थ्यो । आमाले कहिल्यै ‘तिमी मभन्दा काली, तिम्रो हातगोडा मेरोभन्दा कस्तो कालो’ कहिल्यै भन्नुभएन । कालोहरू हिस्सी परेको राम्रो हुन्छन् नि भन्ने ढाडसिलो कुरा सुन्दै हुर्किएँ । आमा भन्नुहुन्थ्यो, ‘मलाई मेरो छोरीजस्तो राम्री यो संसारमा कोई छैनजस्तो लाग्छ ।’ आमा आज पनि त्यही कुरा दोहोर्‍याउनुहुन्छ । सबै मेरा आमाजस्ता कहाँ पाइनु ?
छाला गोरो नहुनु भनेको भयानक ठूलो कमजोरी जस्तरी आत्मसम्मानमा ठेस पुर्‍याइन्छ । गोरो छाला भएकाहरू उत्कृष्ट, त्योभन्दा फरक भैदिए के केको चिन्ता चिन्ता । छाला जस्तोसुकै होस् तिमी राम्रो या नराम्रो तिम्रो बानी व्यवहार र कामले छुट्याउँछ भन्ने कुरा बुझाउन असाध्यै गाह्रो छ । रूप र सुन्दरताको कुरा जोडियो भने ‘अलि छाला गोरो भैदेको भए’ भन्ने भनाइ सुनिरहेकै छु । बलिउड अभिनेत्री श्वेता तिवारीले एक पटक कतै भनेकी थिइन््, ‘धेरै दर्शकलाई गोरी हिरोइन मन पर्छ, काली युवतीलाई हिरोइनका रूपमा देख्न नरुचाउनेले आफ्नो दृष्टिकोण परिवर्तन गर्नुपर्छ । श्वेताको कुरालाई समर्थन गर्दै भन्छु कुरा हिरोइनको मात्र होइन कालो हुँदैमा नराम्री वा नराम्रो भन्नेहरूले आफ्नो दृष्टिकोणमा परिवर्तन गर्नुपर्छ । सबै प्रकारका छालाका रङ सुन्दर हुन्छन्, छालाको रङ अनुसार व्यवहार गर्ने मान्छे पो कुरूप त !

सविता विश्वकर्मा

प्रकाशित : जेष्ठ ११, २०७६ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?