कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बनारसिया !

पसलहरू बन्द थिए, रिक्सा, कार र टेम्पोको सघन उपस्थितिले सधैंको भीडभाड वाराणसी सहरका सडक त्यस दिन सुनसान देखियो  ।
घनश्याम खड्का

 जेठको पहिलो हप्ता, वाराणसी गर्मीले हप्प थियो । पृथ्वीमा सूर्यदेवको प्रकाश सीधा पर्नाले हुन गएको गृष्मकालीन त्यस उष्णताभन्दा पनि बढ्ता गर्मी उत्पाद गर्ने कामचाहिँ भइरहेको थियो भारतीय चुनावको सरगर्मीले ।

बनारसिया !

जेठ ५ गते हुने लोकसभाको सातौं चरणको अन्तिम चुनावमा वाराणासी किन पनि तातेको थियो भने यहाँ चुनावका उम्मेदवार थिए भारतका प्रधानमन्त्री नरेन्द्र मोदी । चुनावमा के होला भनी संसारभरको ध्यान त्यहाँ गएको थियो र सम्भावित परिणामको अनेकन अड्कलबाजीले आम मानिसलाई उद्वेलित पारिरहेको थियो ।


चियापसलहरूमा मानिसहरू झुरुप्प जम्मा भएर राजनीतिको गफ गर्दै ‘मड्कालाला चाय’ पिइरहेका थिए । अघिल्लो चुनावमा कांग्रेस नेता मणिशंकर ऐअरले मोदीलाई ‘चायवाला’ भनी टिप्पणी गरेपछि उनका समर्थकले ‘हम भी चायवाला’ भनी केटलीका साथ चुनाव प्रचारको रणनीति अख्तियार गरेका थिए । मणिको यही एक क्षुद्र टिप्पणीले मोदीलाई सीमान्त अवस्थाका करोडौं भारतीयका साथ एकै पटक जोडिदिएको र तिनकै मतले उनलाई सजिलो गरी सत्तामा पुर्‍याइदिएको विश्लेषण अहिले पनि धेरैले गरिरहन्छन् ।


यसपटक भने मोदी आफैंले आफूलाई देशको ‘चौकिदार’ भनी नामकरण गरे र उनका समर्थकले चिया पिउँदै ‘मे भी चौकिदार’ को नारा लगाए । यता कंग्रेसका प्रधानमन्त्री पदका उम्मेदवार राहुल गान्धीले ‘चौकिदार चोर है’ भन्दै फ्रान्सबाट लडाकु विमान खरिद गर्दा मोदीले ठूलो परिमाणमा भ्रष्टाचार गरेको अभियोगका साथ विपक्षीको जोडतोडले आलोचना गर्ने चुनावी रणनीति अख्तियार गरे । यसरी चल्दै गरेको आरोप र प्रत्यारोपको लामो शृंखला वाराणसीमा पुगेर मे १९ का दिन सकिनेवाला थियो र मानिसहरू एक अनौठो भावका साथ चुनावको दिनलाई कुरिरहेका थिए ।


उत्तर प्रदेशको चुनावी नतिजाले संसारको ठूलो लोकतान्त्रिक देशको सत्ता कसको हातमा पुग्ने भन्ने तय गर्ने अवस्था भएकाले पनि यहाँको माहोल विश्लेषक र सञ्चारकर्मी सबको नजरमा पर्न गएको तथ्य स्वतः बुझ्न सकिन्थ्यो । देशविदेशका सञ्चारकर्मी र राजनीतिक विश्लेषक भारतको यो अन्तिम चुनावलाई नियाल्न वाराणसी पुगेका थिए जसमा म पनि सामेल भएँ । अघिल्लो चुनावमा पनि मोदीले वाराणसीबाट चुनाव उठी निकटतम प्रतिद्वन्द्वी अरविन्द केजरीवाललाई ३ लाख ७१ हजारको फराकिलो मतले हराइदिएका थिए ।


पाँच वर्ष सत्तामा बस्दा मोदी अलोकप्रिय हुन पुगेकाले यसपालि उनलाई र भारतीय जनता पार्टीलाई मत पाउन सहज नहुने विश्लेषणहरू अन्तर्राष्ट्रिय तहका आम सञ्चारमा ज्यादै आइरहेका थिए । तर, वाराणसीमा देखिएको माहोलले अवस्था त्यस्तो देखाइरहेको थिएन । कासी भनेर चिनिने यो प्राचीन सहरमा बस्ने दर्जनौंसँग मैले संक्षिप्त कुराकानीका दौरान एउटा सोझो प्रश्न गरेँ, ‘भोट कसलाई हाल्ने ?’
आश्चर्य के भने कसैले पनि ‘मोदीलाई’ भन्न छुटाएनन् । युवा, वृद्ध, महिला, व्यापारी, किसान र मजदुर सबका मनमा मोदी छापजस्तो गरी बस्न गएका रहेछन् वाराणसीमा । सत्तामा आउनेबित्तिकै मोदीले सुरु गरेको ‘स्वच्छ भारत’ सफाइ अभियानले वाराणसीमा पारेको प्रभावका कारण उनलाई ज्यादै लोकप्रिय बनाइदिएको रहेछ आम मानिसका माझमा । कुनै समय यो सहर फोहोर र दुर्गन्धले बदनाम थियो । झन्डै १३ वर्षअघि वाराणसीका घाटहरूमा पुग्दा त्यहाँको दुर्गन्धमा टिक्न नसकी फर्कनुपरेको अनुभव छ म आफैंसँग । तर, यस पटक पुग्दा त्यो दोहोरिने मौका कहीँ पनि फेला परेन । बाटाहरू चौडा, सहर सफा र घाट झन् सफा थियो जसले गर्दा वाराणसीको अनुहारै बदलिन पुगेको छ । काशी निवासीहरू यसको सोझो जश मोदीलाई दिन अलमल गर्दैनन् ।


कासी हिन्दूबहुल सहर भएकाले यहाँका मतदाता स्वतः हिन्दू सम्प्रदायका बढी हुने भइहाले । कट्टर हिन्दूपन्थीको आरोप लागेका मोदीलाई वाराणसीले खुलेर रुचाएको देखिन्थ्यो । गंगा किनारमा उभिएको काशी सहरको माहोल हेर्दा सन् १९९३ मा श्यामुएल हटिङ्टनले अमेरिकन जर्नल ‘फरिअन अफेयर्स’ मा लेखेको प्रसिद्ध आलेख ‘द क्ल्यास अफ सिभिलाइजेसन’ को भविष्यवाणी सम्झाउने खालको थियो । राजनीतिमा खास सरोकार नराख्ने आम मतदाताको रोजाइमा मोदी पर्न गएको केही बेरको सानतिनो अनुसन्धानले प्रस्ट देखाइसकेको थियो । पाँच सय र हजार दरका नोटलाई अवैध घोषणा गर्ने गरी मोदीले सन् २०१६ को हिउँदमा ल्याएको नोटबन्दीको अप्रत्याशित कदमले पचासौं लाख युवालाई बेरोजगार बनाएको र आम मानिसको गरिबी बढाएको आरोप विपक्षी दल कंग्रेसले लगाइरहेको थियो । तर, सीमान्त अवस्थाका भारतीयहरू भने मोदीको यही निर्णयलाई ज्यादा सराहना गर्दा रहेछन् । मोदी उनीहरूको मनमा बढी सजिलोसँग बस्न सक्नु यो पनि एउटा कारण रहेछ । भारतमा यस्तो वर्गले नोटबन्दीलाई जायज भनिरहेको छ जसबाट प्रत्यक्ष रूपमा त्यस वर्गले केही गुमाउनुपरेको थिएन । नोटबन्दी भएपछि गंगा र यमुनाको किनारमा पाँच सय र हजारका नोटहरू तैरिरहेको देख्दा यस वर्गका मानिसको मनमा ठूलो तसल्ली पुगेको रहेछ । ‘हामीसँग त थिएन, तिनीहरूसँग पनि अब रहेन’ भन्ने भावले गरिबीको रेखामुनि बसेका करोडौं भारतीयको मनमा राहत पुगेको थियो जसको परिणाम चुनावमा नपर्नै कुरै भएन । अरूले कमाएकामा दुःखी र गुमाएकामा खुसी हुने जात हो आखिर मान्छे ।


‘कालो धन’ घरमा खातका खात राख्नेहरूको थैली भुस भएको र आतंकवादका पक्षमा हुने गरेको लगानीको सञ्जाल ध्वस्त भएकाले नोटबन्दी मोदीको ‘गेम चेन्जर’ कदम भनी उनका समर्थकहरूले त भन्दै आएकै थिए । यसरी समाजको सबभन्दा तल्लो वर्गमा मानिसले ‘काला धनवाला’ को विजोग देखेपछि फेरेको सन्तुष्टिको सासले मोदीलाई फाइदै पुर्‍याएको रहेछ । आर्थिक रूपले विपन्न र समाजमा थिचोमिचोमा पारिएकाहरू अक्सर कम्युनिस्ट विचारधाराबाट प्रभावित हुने राजनीतिक प्रवृत्ति छ । तर, भारतमा भने हिन्दूवादी भनेर आलोचित मोदीको पक्षमा यो वर्ग उभिन आइपुगेको छ । ‘देशको चिन्ता गर्ने उनी एउटै त छन् नि’ किन मोदी मन पर्छन् त भनी गरिएको एक प्रश्नमा एक जना लस्सी पसलेले भनेका थिए, ‘अरू त सब आफ्नै भुँडी भर्न राजनीतिमा छिरेका छन्, अनि उनलाई भोट नदिएर कसलाई दिने ?’


राजनीतिज्ञका छोराछोरी, परिवारजन र आफन्तले राज्यको सुख भोग गर्ने दृश्य आम रूपमा स्थापित भएको र भ्रष्टाचारमा नेतालाई उक्साउने गर्छन् भन्ने बुझाइ पनि व्यापक बन्दै गएको सन्दर्भमा मोदीले आफूलाई ‘एक सन्न्यासी’ का रूपमा सत्तामा उभ्याएका छन् । एकल मोदीका दाजुभाइ र आमा गुजरातको एक गाउँमा सामान्य जीवन बिताइरहेका छन् । आम भारतीयहरूका लागि मात्रै नभएर दक्षिण एसियाकै राजनीतिमा एक शक्तिशाली प्रधानमन्त्रीको परिवार सामान्य ढंगले गाउँमा खेती किसानी गरेर बस्नु असामान्य दृश्य हो । यसले पनि मोदीप्रति मानिसहरूको भरोसा बढेको देखिन्थ्यो । सोसल मिडियामा बरोबर छाइरहने उनको शैलीले नयाँ पुस्ताका मतदातालाई उल्लेख्य प्रभाव पारेको देखिन्थ्यो ।


यी सबमाथि मानिसहरूलाई मख्ख पार्ने गरी बोल्ने उनको कला छँदै थियो मतदातालाई प्रभावित पार्नका लागि । शब्दहरूलाई तौलेर बोल्ने, राम्रोसँग कथा हाल्न सक्ने अनि जुनसुकै विषयलाई पनि आम मानिसले बुझ्न सक्ने गरी भन्न सक्ने उनको जस्तो जादुयी वाककला समकालीन भारतको राजनीतिमा अरूसँग देखिँदैन । यी र यस्ता अवस्थाले मानिसका मनमा मोदी नै भारतीय राजनीतिको एक मात्र विकल्प जसरी प्रस्तुत भइरहेका थिए । यसमाथि उनी चुनावको ठीक अघिल्लिो दिन केदारनाथ पुगेर गुफामा पसे । त्यहाँ आफू रातभर तपस्या गरेर बसेको कुरो उनी आफैंले टेलिभिजनकर्मीहरूसँगको अन्तर्वार्तामा खुलाए ।


विपक्षीहरूले उनको यो चुनावी स्टन्ट भनी विरोध गर्दै आचारसंहिता उल्लंघन भएको प्रचार गरिरहँदा हिन्दू मतावलम्बीहरू भने ‘यस्ता तपस्वी पो नेता त’ भन्दै टेलिभिजनका पर्दामा विस्फारित नजरले हेरिरहेका थिए । निःसन्देह यो मोदीको चुनावी स्टन्ट थियो तर भारतीय संस्कृति र सभ्यतालाई माया गर्नेहरूले यसलाई आलोचनाको दृष्टिकोणले हेरेनन्, कम्तीमा वाराणसीमा मोदीको गुफा तपस्यालाई ज्यादै सराएको मैले देखें । यसरी एउटा लामो तयारी र प्रतिद्वन्द्विता सक्ने दिन आयो । मे १९ का दिन बिहानैदेखि सडकमा मानिसको ताँती लाग्यो । पसलहरू बन्द थिए, रिक्सा, कार र टेम्पोको सघन उपस्थितिले सधैंको भीडभाड वाराणसी सहरका सडक त्यस दिन सुनसान देखियो । चुनावको शैली नेपाल र भारतको उस्तै रहेछझैं लाग्यो मलाई त्यस क्षण ।


‘सारे काम छाड दो, सबसे पहले भोट दो’ भन्दै अघिल्लो दिन संस्कृत पढ्ने मुडुला टाउका भएका बटुकहरूले नगर परिक्रमा गरी मतदातालाई चुनावमा सहभागी हुन उक्साइहेका थिए । नभन्दै ठूलो लस्कर सूर्यको उष्णताको परवाह नगरी मतदान केन्द्रतिर लाग्यो हूलका हूल । वाराणसीमा जस्तै भारतका ७ प्रदेश र १ केन्द्र शासित एक गरी आठ राज्यका १० करोडभन्दा बढी मतदाताले चुनावमा भाग लिए । त्यसलगत्तै मत सर्वेक्षणहरू आउन थाल्यो जसमा भारतीय जनता पार्टी नै सत्तामा आउने र नरेन्द्र मोदी नै प्रधानमन्त्री हुने प्रक्षपण आउन थाल्यो । यो लेखिरहेको बेलासम्म प्रक्षेपण मोदीकै पक्षमा आइरहेका छन् । छापिने समयमा सायद संसारको सबभन्दा ठूलो लोकतन्त्रको चुनावी परिणाम आइसक्नेछ ।
twitter: @bodhighanashyam

प्रकाशित : जेष्ठ ११, २०७६ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?