कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुईखट्टे स्यालको कथा

ट्युसन सिध्याएर एक महिनापछि गाउँ आएँ । बाटोमा बुहारी पर्नेले प्याच्च भनिन्, 'ल काका अबकुखुराको खोर बलियो बनाउने बेला भो । तपाईं पनि आइपुग्नुभएछ ।’
चन्द्रवीर तुम्बापो

त्यो समयको कुरा हो भन्ने टाइपबाट सुरु गरौं यो कथालाई  । अँ यो त्यो समयको कुरा हो  ।

दुईखट्टे स्यालको कथा

केराको पातमा रहेको अन्तिम चोक्टा मासु टिपेर मुखमा हाल्दै सोधें, ‘होइन यो कुखुरा कसको पो हो ?’ तेस्तै रातको नौ बजेको हुँदो हो । म झ्याप निदाइरहेको थिएँ, घरको तल्लोपट्टि सिकुवाको एक कुनामा । अध्याँरो एउटा मानव छाया आएर मलाई हल्लाउँदै कानमा बिस्तारै भन्यो ‘एइ उठ जाऊँ हामीले कुखुरा ल्याएका छौं ।’ निद्राको कसिलो अँगालोमा बेरिएको थिएँ, क्यार उठिनँ । फेरि अर्को मानव छाया आयो र उहीँ कुरा दोहोयार्‍यो । अन्ततः निद्राको अँगालोलाई पन्छाउँदै आँखा मिच्दै हेरें । अँध्यारोमा होचो–अग्लो तीनओटा ससाना पहाडहरू लहरै उभिएका थिए– जने, कुमारे र सुर्जे ।


‘हामीले कुखुरा ल्याएका छौं जाऊँ पकाइखान,’ बिस्तारै उहीँ लयमा सुर्जेले भन्यो । एसो राम्रोसँग हेरें । कुमारेले कुखुरा काखीमा च्यापेको थियो र आफ्नो औंला मुखमा पुयार्‍एर चुपचुप गर्दै ‘जाऊँ’ भन्यो । मेरो पालो निद्रालाई ओछ्यानमै छोडेर आँखा मिच्दै–मिच्दै साथीहरूको पछिपछि सरक्क लागें । घरदेखि अलि परतिर पुगेपछि कुखुरालाई कुमारेले दुई हातले तौलिँदै ‘निक्कै गरुँगो छ यो फुल्न आँटेको होला,’ भन्यो । कुखुराको मुन्टो अघि नै बटारेर निस्प्राण बनाइसकेका रहेछन् । मयुरले प्वाँख फिंजाएजस्तो जूनले धरतीमा किरण फिंजाएको थियो । घाम डुब्ने बेलामा पानी परेकाले होला रात अलि चिसो थियो । रूखको पात पातमा पानीका थोपाहरू जूनको उज्यालोमा टल्किरहेका थिए । थाल, बटुका, भाँडा माझेर सधैं घरको पेटीमै जहिल्यै राख्थें जनेको घरमा । हामीले त्यो पेटीबाट कुकर उठायौं । सुर्जेको घर गयौं । किचन छिरेर सुर्जेले टुकी बाल्यो । घरभित्रबाट उसकी आमा कराइन्, ‘को हो ?’ सुर्जेले सजिलै ढाँट्यो, ‘म पो आमा, भोक लाग्यो भात छ कि भनेर हेरेको ।’


‘अलच्छिना अघि भर्खरै मात्र घिचेको होइन ? रातविरात जाग्छ,’ हप्काउँदै सुर्जेकी आमा फेरि सुतिन् । हामीले तेल, नुन, खोर्सानी र खुकुरी लियौं । र, गाउँदेखि अलि पर हत्तपत्त मान्छेहरू आइनपुग्ने ठाउँ ख्यागेङ जंगलछेउ राजेको गोठमा पुग्यौं । कुखुरा काटकुट पारेर पकाएर केराको पातमा घोप्टाएर स्वाद मानीमानी खान थाल्यौं । केराको पातमा रहेको अन्तिम चोक्टा मासु टिपेर मुखमा हाल्दै सोधेँ, ‘होइन यो कुखुरा कसको पो हो ?’ ‘चित्रेको नि,’ जिब्रो पिलिक्क निकाल्दै फिस्स हाँस्दै चिम्सा आँखा चिम्म पार्दै जनेले भन्यो । एसै त लिम्बूको आँखा चिम्सो । सुर्जे र कुमारेले औंला चाटिरहेका थिए, जिब्रो फड्कारिरहेका थिए । होमा हो थप्दै भने, ‘हो त अनि चित्रेको कुखुरा ।’ मुखमा राखेको मासु चपाऊँ कि नचपाऊँ, निलूँ कि ओकलूँ भएँ । जेन्टल अनुहार, सधैं हाँसिरहेने मुस्कानसहित चित्रे मेरो मानसपटलबाट फुत्त हाम्फाल्दै आँखा अगाडि प्रकट भयो । मासुको चोक्टा चपाउँदै निलेरै छोडें । कारण मासु एकदमै स्वादिलो थियो । त्यो बेलाको चित्रे मेरो साह्रै मिल्ने हितैषी साथी थियो । अघिसम्मको मेरो हराभरा अनुहार अब ओइलिंदै ओइलिंदै गयो । र, अन्त्यमा पूरै बासी सागजस्तो भएर दोब्रियो । खुम्चिएको मलिन स्वरमा भने ‘तिमीरले अघि नै यो कुखुरा चित्रेको भनेको भए म आउने नै थिइनँ ।’


‘मिगिसेन्ने थेस्आङ मेबोङ्नेन्’ (नडरा केई पनि हुँदैन) कुमारेले ढाडस दियो, ‘केई पनि हुँदैन हाउ ।’ सुर्जेले केराको पात सोहोर्दै भन्यो । ‘मैले त झन् आफ्नै घरको जुनमाया दिदीको कुखुरा त चोरेर खाएको हो । केको डर ?’ उठ्दै जनेले भन्यो । आ जे होलाहोला मनमनै भन्दै म पनि उठें । अनि हामीले कठोर वाचा गर्‍यौं, ‘यो कुखुरा चोरेर खाएको कुरा जसले भन्छ, त्यसलाई तीनै जना मिलेर रामधुलाइ गर्ने ।’ एकअर्कामा कसम खाँदै आआफ्नो घर गएर सुत्यौं । भोलिपल्ट बिहानै म एक महिनाका लागि ट्युसन पढ्न सुदरमुकाम गएँ । तर चित्रेको हँसिलो मुहार मात्रै आँखा अगडि आइरह्यो ।


ट्युसन सिध्याएर एक महिनापछि गाउँ आएँ । बाटोमा साइनोले बुहारी पर्नेले प्याच्च भनी, ‘ल काका अब कुखुराको खोर बलियो बनाउने बेला भो । तपाईं पनि आइपुग्न भएछ ।’ मेरो मुटु एक्कासि बुरुक्क उफ्रियो र एक फ्लाइङ किक मेरो देब्रे छातीको भित्तोमा हान्यो । धरमराउँदै नबोली उभिरहें । फेरि भनी, ‘कुखुरा चोरेर खानुभएछ होइन ?’ भास्सिएको डरयुक्त आवाजमा भने ‘कहिले ? कसको कुखुरा ?’


‘जूनमाया फुपूको कुखुरा नि ।’
‘कल्ले भन्यो ?’
‘घाइलेले ।’
‘होइन है’ भन्दै फटाफट घरतिर झरें ।
‘गाउँभरिको कुखुरा किन हराउँछ भनेको त आफ्नै घरभित्र दुईखुट्टे स्याल रछ ।’ घर पुग्नेबित्तिकै आमाले प्रकट गर्नुभो रिस । ‘कसरी जूनमायाको कुखुरा चोरेर खानु ? बेइज्जती । अब भात खान पर्दैन ।’ आमाको रिसले उचाइ छोइरहेको थियो । ‘जसको चाहिँ लभलेटर आउँछ तरुनीहरूको त्यो लभलेटरवालाचाहिं कुखुरा चोर,’ दाइको यो वाणले नमिठो पाराले खुत्रुक्कै भएँ । झोला सिकुवामै फालिराखेर । उधोमुन्टे अनुहार बोकेर चित्रेलाई भेट्न चित्रेको घरतर्फ ओर्लिएँ । आखिर ऊ नै त थियो मेरो सबभन्दा मिल्ने, दुःख सुखको साथी । बोझिलो मन बिसाउने चौतारी ।

जूनमाया दिदीको कुखुराको कथा कोलबोटे बरको फेदनेर ससानो भलिबल ग्राउन्ड छ । दाइहरू भलिबल खेल्थे । हामीले पनि बेलाबेला खेल्ने अवर पाउथ्यौं । भलिबल खेलेर थकाइ मारिरहेका थियौं । ‘हाउ हिजो ख्यागेङ जंगलभरि कालिजको पछिपछि कुदियो मात्र कालिज मार्न सकिएन । आज त मासु पो खाऊँ खाऊँ लाग्यो ।’ आँखा चिम्चिम् गर्दै एक पटक थुक घुटुक्क निल्दै घाइलेले भन्यो । उसको थुक घाँटी ओरालो गाँठो पर्दै स्वात्त झर्‍यो । ‘अब मेरो फिलाको मासु ताछेर खा ।’ यति भनेर सुर्जे हाँस्यो । ‘अनि कहाँदेखि मासु ल्याएर खानु ? मासु त मलाई पनि खाऊँ त लागेकै हो,’ मैले पनि थुक निल्दै घाइलेको पारामा भनें ।


‘ल आज मेरो घरमा कोई छैनन्, जूनमाया दिदीको कुखुरा खान पर्छ,’ जनेले प्रस्ताव ल्यायो । ‘अनि जूनमाया दिदीले चाल पायो भने ?’
‘स्यालले लग्यो भन्ने नि ।’एक छिनको छलफलपछि जूनमाया दिदीको कुखुराले मासुको तलतल मेटाउने भयौं ।जनेको घर पुग्दा जूनमाया दिदीको कुखुरा आँगनमा चरिरहेको थियो । चार जनाले चारतिरबाट घेरा हालेर पक्रन खोज्यौं तर घेरा तोडिहालिथ्यो । निकै बेर कुखुराको पछिपछि कुद्यौं । कुखुरा भागेको भाग्यै । अन्ततः जनेले ढुंगा टिपेर निािना लाउँदै प्रहार गर्‍यो । फट्फट् गरेर कुखरा ठाउँको ठाउँ मर्‍यो । रमाउँदै मैले कुखुरा टिपे । ‘कति सुरो हानेको हो जने ?’ धप्प बलेको अनुहारसहित घाइलेले भन्यो । भर्खरै अबीर, फूलमाला लाएर उभिएको कुनै विजेता वडाध्यक्षभन्दा कम देखिएको थिएन त्यो बेला जने । नुन खोर्सानी र सलाई लिएर, कुखुरालाई झोलामा हालेर बेतेनी बिर्खेको गोठतिर लाग्यौं ।


घाइलेले पालाम गाउन थाल्यो । जनेले लात उचाल्दै नगा’ मान्छेले चाल पाउँछ भनेपछि चुप लाग्यो । घाइलेको खास घरको नाम खुइले थियो । हामीले उसको नामलाई खुइलेबाट खाइले बनाइदियौं । फेरि खाइलेबाट घाइले बनाइदिएका थियौं । तर सोल्टिनीहरूसँग परिचय गर्दा ‘सोल्टिनीज्यू सेवारो मेरो नामचैं घायल तुम्बापो हो’ भन्ने गर्थ्यो । बिर्खेको गोठमा कुखुरालाई पोलपाल गरेर नुन, खोर्सानीमा चोप्दै मासुको तलतल मेटायौं ।
पछिबाट घाइलेलाई तथानाम गाली गर्दै सोधेका थियौं, ‘तैंले किन जूनमाय दिदीको कुखुरा चोरी खाएको कुरा बुहारीलाई भनिस् ?’ हात बाँधेर गज्जक पर्दै भनेको थियो, ‘अनि हामीले जूनमायाको कुखुरा डाइरेक चोरैको हो । मैले पनि डाइरेक भने नि, के भो त ?’ भन्दै पन्छिँदै घर लाग्यो । त्यस दिनयता हामीसँग कमै मात्र भेट्थ्यो । भेट हुँदा ‘हाउ म त डाइरेक पो भन्छु है’ भन्दै पेट मिचीमिची हाँस्थ्यो ।

‘दैलो बन्द थियो । गोठमा गाईबस्तु थिएनन् । सायद चरनमा थिए । सुँगुरखोरमा माउ सुँगुर चुइँकिरहेको थियो । मान्छे कोई थिएनन् । चित्रेको घर पुग्दा । कमेरो माटोको लुगा लाएर चुपचाप उभिएको थियो घर । आँखा चारतिर दौडाएँ पर आहाले खेतमा चित्रेले तोरीको साग टिप्दै रछ । उतै गएँ । मलाई पिलिक्क हेर्‍यो । तोरीको साग खेतको आलिमा राखेर मुसुक्क हाँस्दै सोध्यो, ‘कहिले आइस ?’
‘अहिले भर्खरै ।’
उसले ‘ए’ मात्र भन्यो बोलेन । ऊ कम बोल्ने मनुवा हो । ‘तेरो हालखबर के छ ?’ सोधेँ ।
जवाफ नदिई फिस्स मुस्कुराउन थाल्यो । एकोहोरो मलाई हेर्दै मात्र मुस्कुराउन थाल्यो मानौं उसको मुस्कानहरू अब पुतली बन्न थाले । उसको ओठको डिलबाट एक–एक पुतलीहरू फुत्तफुत्त हाम्फाल्दै क्षितिजतर्फ लगातार उडिरहेका छन् ।
‘हाँस्छस् मात्रै किन बोल्दैनस् ?’ दिक्दार प्रकट गरें । ‘बल्ल बोल्यो चित्रे,’ अस्ति नै हाम्रो घरको कुखुरा चोरेर तिमीर्ले राजेको गोठमा पकाएर खाएछौ नि ?’ भर्खरै मात्र आमा र दाइको वचनले छियाछिया भएको थिएँ । के आइलाग्यो नि फेरि यस्तो ! बोल्न सक्ने कुरै भएन । मेरो मुन्टो लत्रियो । बोटबाट कुहिएर झरेको आँपजस्तै मेरो अनुहार फ्यात्त झर्‍यो, चित्रेको खुट्टानेर । हेर्न सकिनँ चित्रेको हँसिलो अनुहार । तर ऊ त मलाई हेर्दै हाँसिरहेको छ । मुन्टो नउठाइै बलैले सोधेँ, ‘कसले भन्यो ?’ नरम स्वरमा भन्यो, ‘तिमीहरूको ग्रुपको एक जनाले एक ठाउँमा तेस्तै घटना घट्दा भनेछ । अनि थाहा भो ।’


अब सत्य नबकी धरै थिएन बक्दै गएँ । ‘हो त हामीले तिम्रो घरको कुखुरा खा’कै हो ।’ अझ म जोगिने मनसायले पनि भनें, ‘म सुतिरहेको बेला केटाहररूले कुखुरा ल्याएका रछन्, मलाई जाऊँ भने गएँ ।’ फेरि भनें, ‘त्यो कुखुराको दाम तिर्छौं हामी ।’ चित्रेले हाँस्दै भन्यो, ‘पर्दैन तर अब यस्तो नराम्रो काम छोड्नू । मेरो बुबा र आमाले कुखुरा स्यालले लग्यो भन्ठानेका छन् । तिमीर्ले चोरेको चाल पाएका छैनन् । यदि चाल पाइहाले भने म सम्झाउँछु ।’


चित्रेको यो उदारताले हिरिक्क भएँ । र, तुरुक्क रोएँ पनि । फेरि फिस्स हाँस्दै भन्यो, ‘कुखुरा चोरी खाएको हल्ला पटक्कै नगर्नू । यस्तो काम पनि छोड्नू । हल्लाचाहिँ गर्दै नगर्नू ।’ आह ! मेरो साथी चित्रे कति महान् आज्ञाकारी बालकजस्तो ! मैले मुन्टो हल्लाएँ । एक दिन हल्ला खरबारी नै खरबारी दौडिरहेको आगो बनेर आइपुग्यो गाउँमा । ‘कुखुरा चोरहरूलाई माओवादीहरूले भाटे कारबाही गर्ने रे ! यो हल्लापछि हामी कुखुरा चोरहरू सुनसान भयौं । तर हल्लाले व्यापकता पाउँदै गयो । मेरो पालो आफ्नो मावली घरतिर गाउँबाट फरार भएँ ।


समयक्रमसँगै गाउँमा कसैको खोरबाट कुखुरा हराएको कुरा कमै मात्र सुनिन थालियो । कहिलेकाहीँ चारखुट्टे स्यालले कुखुरा लाँदा पनि आरोप दोष र गाली हामी दुईखुट्टे स्यालहरूले नै खेप्न थाल्यौं । एक पटकको चोर सधैंलाई चोर भएका थियौं ।त्यसपछि हामी भूतपूर्व कुखुरा चोरहरू, भूतपूर्व दुईखुट्टे स्यालहरू लाखापाखा लाग्न थाल्यौं । कोही पढ्नलाई इलाम, धरान झरे । कोही साउदी, कतार कोही मलेसिया । कोही क्रान्तिकारी भएर निस्के । माओवादीमा प्रवेश गरे र मुठ्ठी उठाए ।एक दिन जनेले भन्यो, ‘चित्रेको कुखुरा खाएको हल्ला त कुमारेले गरेको रछ नि ।’


‘हो र ?’ भनें, ‘कसरी चाल पाइस् ?’ भन्यो, ‘पुच्छर गाउँका साथीहरूसँग एक रात कुखुरा चोरिखाएछन् । त्यतिबेला कुमारेले भनेछ । त्यसपछि चित्रेको कानमा पुगिगएछ नि ।’ अर्कोचाहिँ मैले पत्याउनै नसक्ने कुरा गर्‍यो, ‘हत्तेरीका चित्रे पनि पो दुईखुट्टे स्याल र’छ त ।’ ट्वाँ परें, एकोहोरो हेरें जनेलाई । ऊ भन्दै गयो, ‘उसको आमाबाउ मधेस झरेको बेला शेरे, कबीरे र चित्रेले कुखुरा चोरेर उसकै घरमा पकाएर खाएछन् ।’पछिल्लो भेटमा चित्रेलाई सोधेँको थिएँ, ‘होइन तैंले पनि कुखुरा चोरेर खाएकै रछस् त ?’ फिस्स हाँस्दै उसले भनेको थियो, ‘त्यही भएर त अस्ति हल्ला नगर् भनेको । भर्खर पो बुझ्दै रछ ।’

मेरो बाल्यकालको बदमासी र चकचक एक दिन समीक्षक गुरुङ सुशान्तलाई सुनाएँ । क्याप अलि मास्तिर सार्दै मेरो अनुहारमा हेरेर हाँस्दै भन्यो, ‘उबेला तैंले कुखुरा चोरेर खाइस् । तर, यतिबेला कुनै कुटुम्बको छोरीलाई चोरेर बिहे गर्न पनि नसक्ने स्थितिमा पुगिस् । मतलब तँ एकदमै कमजोर भइसकिस् ।’यो चाहिँ वर्तमान समयको कुरा ।

प्रकाशित : जेष्ठ ११, २०७६ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?