कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाइखानाको गीत

समस्या
राजुबाबु श्रेष्ठ

‘गोरखामा छोरी नदिनू है दुःख पाउँछ  । ’गोरखा बजारमा पानीको निकै समस्या भएका कारण पानीको दुःख भएका कारण गोरखा वरपर बन्दीपुर, दमौली, बेंसीसहर, पोखरातिरका मान्छेहरू गोरखालीलाई छोरी दिन हिच्किचाउँथे  । वास्तबमा त्यो सही पनि थियो । पानीको सुविधा भएका ठाउँका केटीहरू गोरखामा बिहे गरी आउँदा सुरुसुरुमा उनीहरूलाई निकै समस्या परेको प्रस्टै देखिन्थ्यो ।

पाइखानाको गीत

घरमा पानी भएका मान्छेलाई खुला सार्वजनिक धारामा नुहाउने र कम्मरमा गाग्रीभरि पानी बोकेर ल्याउने काम त्यति सहज हुँदै होइन । तिनै बुहारीहरूले आफ्नो माइतीमा पोखेको दुःखको आधारमा नै बनेको होला गोरखाप्रतिको यस्तो धारणा । त्यतातिरका बूढाबूढीहरूमा अझै पनि यो धारणा जीवितै रहेको पाइन्छ ।


करिब करिब अठ्तीस उनन्चालीस वर्षपहिलेको कुरो हो । गोरखा सदरमुकाममा मोटर आइपुग्नै आँटेको थियो । हामी आठ कक्षामा पढ्थ्यौं । गोरखा बजारमा पानीको निकै दुःख थियो । बराह, पाटेचौर, तीनधारे, ठुलोआँगन, पदेली, छिपिटोल र धारापानी मुख्य टोलहरू थिए । यी सबै टोलका बासिन्दाहरूका लागि बराह धारा, बोक्सीपानी धारा, खोपी धारा, पोखरी धारा, तीन धारा, छहरे धारा, पदेली धारा र धारापानी धारा गरी आठवटा प्रख्यात धाराहरू थिए । यिनै धाराको पानीबाट सम्पूर्ण गोरखावासीको जीविका चल्थ्यो । वर्षामा पानी खेर जान्थ्यो भने हिउँदमा घण्टौंसम्म पँधेरामा पानी भर्नका लागि गाग्रीका लाइन हुन्थ्यो । बिहान अँध्यारैमा दाँत माझ्दै गाग्री बोकेर हरेक घरका महिलाहरू पँधेरातर्फ लाग्थे ।
पानीका यी स्रोतहरूमध्ये सबैभन्दा मुख्य रूपमा तीनधारा रहेको थियो । तीनवटा ढुंगाका छुट्टाछुट्टै धारा रहेकाले गर्दा पनि यसलाई तीनधारा भनिएको हो । यो तीनधारा बजारको बीच भागमा रहेको र यसको नजिकै पोखरीधारा र खोपीधारासमेत रहेका कारण तीनधारामा बढी चाप रहन्थ्यो । पाटेचौरदेखि ठूलो आँगनसम्मका मानिसहरू सबै यसै धारामा पानी भर्न आउँथे ।


तीनधारा महिलाहरूको धारा मानिन्थ्यो भने पोखरीधारा पुरुषहरूको । खोपीधाराचाहिं अलि सानो भएकाले पानी पिउन र हात–मुख धुनका लागि मात्र प्रयोग गरिन्थ्यो । चैत, वैशाख महिनामा दिनभर महिलाहरूले नुहाउने लुगा धुने गर्ने हुनाले दिनको समयमा तीनधारामा पुरुषहरू पस्न मनाहीजस्तै हुन्थ्यो । कोही पसिहाले पनि महिलाहरूको घोचपेचले बस्न सक्दैनथे । अघोषित रूपमा पुरुषहरूलाई प्रतिबन्धजस्तै थियो । तर राति एघार बजेपछि भने धारामा महिलाहरू नहुने हुँदा हामी केटाहरू नुहाउन जान्थ्यौ । गर्मीको समय भएकाले राति नुहाउने केटाहरूको भीड नै हुने गर्थ्यो । धाराको पेटीमा ठूलो स्वरमा रेडियो घन्काएर नुहाउँदाको मज्जा नै अर्कै ।


तीनवटा ठूलाठूला खरीको रूखमुनि रहेको खोपीधाराको पानी विशेष मीठो रहेको कुरो वरपर गाउँसम्म चर्चा चल्थ्यो । ती खरीका बोटहरू आजकल मासिइसकेका छन् । पोखरीधारामा एउटा सानो पोखरी पनि थियो अहिले पोखरी मासिएर पानीटंकी, बाटो र वाल लगाइएको छ । सानो पोखरी भए पनि गोरखा बजारमा पालिएका हाँसहरू बिहानै पोखरीमा आएर दिनभर पौडन्थ्यो । गाई–भैंसीहरूको पानी खाने र आहाल बस्ने ठाउँ पनि यही पोखरी थियो । सायद पैंतालीस सालपछि जन्मिएका पुस्ताले त्यो पोखरी देख्न पाएका छैनन् । कहिलेकाहीं हाँसले पोखरीमा नै फुल पारिदिन्थ्यो । हाँसधनीले नदेखेमा त्यो अण्डा हामी केटाहरूको आहार बन्थ्यो । घरमा लैजाँदा आमाबुबाले गाली गर्ने हुनाले कतै बारीको कुनामा लगेर माटोमुनि गाडेर त्यसमाथि आगो बालेर पकाउँथ्यौं । कति जनाले देखेको छ, सोहीअनुसार दामासाहीले भाग लाग्थ्यो । जसले पाए पनि धर्म छोड्दैनथ्यो । धर्म छाडेमा हाँसधनीलाई कुरो लगाइदिने जोखिम रहन्थ्यो । त्यसैले सबै केटाहरू मिल्नैपर्ने बाध्यता रहन्थ्यो ।


तीनधाराको पानी बगेर खोला बन्थ्यो । त्यो खोलालाई तीनधारे खोला भनिन्थ्यो । वर्षामा हामी केटाकेटीहरूलाई बगाउन सक्ने सामर्थ्य हुन्थ्यो त्यो खोलामा । हामी हात समाएर खोला तर्थ्यौं । अहिले खोला बग्ने ठाउँमा बाटो बनेको छ । खोला अस्तित्वमा छैन । तीनधारे खोला तीनधाराबाट झरेपछि पोखरीधारा र खोपीधाराको बाटो हुँदै अहिलेको मूल सडक शक्ति चोकतर्फ बग्थ्यो । त्यही खोलाको माथि थियो अधिकांश गोरखा बजारवासी पुरुषहरूको पाइखाना । धेरैजसो बजारका घरहरूमा पाइखाना थिएन । पाइखाना भएका घरहरूका मान्छेहरू पनि दिसा–पिसाब गर्न बिहानै तीनधारे खोला पुग्थे । पाइखाना नहुनुको मुख्य कारण नै पानीको अभाव हुनु थियो । खानका लागि लाइन बसेर पानी ल्याउनुपर्ने अवस्थामा पाइखानामा हाल्न पानी ल्याउनु निकै मुस्किल थियो ।


महिलाहरूका लागि भने तीनधाराकै आडमा पर्खालले घेरिएको एउटा ठूलो ढुंगैढुंगा भएको खाल्डो ठाउँ थियो । तिनै ढुंगाढुंगाको टुप्पोमा टेकेर महिलाहरू दिसापिसाब गर्थे । दिसा बगेर जाने ठाउँ नभएकाले यो ठाउँ पुरुषहरूको भन्दा अलि फोहोर हुन्थ्यो । तर भाग्यवश प्रकृतिले नै सो दिसा सफा गर्न कुचीकारहरू पठाइदिन्थ्यो । तीनधारेनजिकै ढाँडको कामीगाउँमा पालेका दर्जनौं सुँगुरहरू बिहानै लाइन लागेर बजारतिर झर्थे र महिला पाइखानालाई सफा पारी उकालो लाग्थे । बजारसंगै कामीगाउँ रहनु बजारवासीहरूका लागि भाग्यको कुरो थियो । तैपनि हामी दलित भनेर बेलाबेलामा हेपाहा व्यवहार देखाउँथ्यौं । सुँगुरले फोहोर गर्‍यो, बाली खाइदियो भनेर कराइरहन्थ्यौं । ती सुँगुरहरूले फोहोर गरेको भन्दा कैयौं गुणा सफा गरेको छ भन्ने हामीलाई हेक्का नै हुँदैनथ्यो । यदि ती सुँगुरहरू नभइदिएका भए गोरखा बजारवासीले आफ्नो फोहोर व्यवस्थापन गर्न ठूलै मूल्य चुकाउनुपर्थ्यो भन्ने कुरा त्यतिबेलाको समाजले महसुस नै गरेको थिएन ।


बिहान साहु–महाजनदेखि गरिबसम्म आफ्नो हैसियतअनुसार सबैले हातमा लोटा, बट्टा, ट्वाँक बोकेर दाँत माझ्दै तीनधारेमा आउँथे । खोपीधारा नजिकै खोलामा काठको खाँबोमा तीनतिर टिन ठोकेर चारवटा सार्वजनिक पाइखाना बनाइएको थियो । पाइखानाको प्वालबाट सिधै खोलाको पानीमा झर्ने हुनाले फोहोर हुन भने पाउँदैनथ्यो । सजिलोका लागि जुटको बोराको ढोका थियो । अँध्यारैमा पुगेमा त्यति चाप हुँदैनथ्यो । उज्यालो भइसकेपछि भने कहिलेकाहीं क्यूमा बस्नुपर्ने अवस्था पनि आइपर्थ्यो । कहिले कहिले त आपतै पनि पर्थ्यो । भित्र पसेका मान्छे चाँडै ननिस्कँदा बाहिर कुरेर बस्ने मान्छेहरू आफ्नो चाप शान्त पार्न खुट्टा हल्लाउने, यताउता छिटोछिटो हिँड्ने, मुख रातो पारी शरीर कुप्रो पारेर बस्ने, दौडने–कुद्ने गरिरहेको पनि देखिन्थ्यो । अरूलाई यसरी आपत् परेको देख्दा हामी भने मरीमरी हाँस्थ्यौं । आफैंलाई पनि यस्तो आपत् कैयौं पटक परेको छ । कति पटक त भित्रको मान्छे निस्कने छाँट नदेखेपछि कुदेर नजिकै अलि कोल्टो परेको बारीको कुनातिर लाग्नुपरेको घटना पनि छ । भोक बरु केही समय खप्न सकिन्छ तर यो दिसा–पिसाब खप्न त जस्तोसुकै मान्छेलाई पनि महाभारतै हुने रहेछ ।


बिहानको समय आरामले दिसा–पिसाब गर्न नपाउनु पनि एउटा टेन्सनको विषय हुन्थ्यो । पाइखानाभित्र पसिसकेपछि पनि तनावमुक्त रूपमा बस्न पाइने अवस्था हुन्थेन । बोराको ढोकामा चुकुल हुने त कुरै भएन । कहिलेकाहीं आफू बसिरहेको अवस्थामा अर्को प्रवेश गर्ने सम्भावना पनि रहन्थ्यो । हामी केही युवाहरू भने यो जोखिमलाई कम गर्न पाइखानाभित्र बसुन्जेल गीत गाउने गर्थ्यौं । ‘घुम्तीमा नआऊ है..., मलाई नसोध..., दुइटा फूल देउरालीमा..., पर लैजाऊ फूलहरू..., जति माया लाए पनि..., ऋतुहरूमा तिमी..., अल्झेछ क्यारे पछ्यौरी..., जति चोट दिन्छौ देऊ मायालु..., तिम्रो सिउँदो सजाइदिने..., चुपचाप बस तिमी..., भन्थिन् मेरी उनी... यी र यस्तै त्यतिबेलाका चर्चित गीतहरू नै पाइखाना बस्दा गाइने गीत हुन्थ्यो । पेट ठीक भएको बेला त एक दुई गीतमै काम सकिन्थ्यो । कहिलेकाहीं पेट गडबड भएको बेलामा भने चारपाँचवटा गीत पूरै गाउनुपर्ने अवस्था पनि आइपर्थ्यो । यसरी गीत गाउँदा गाउँदा कतिपय गीत त कण्ठस्थ हुन्थ्यो । बाहिर बसेर पालो कुर्नेहरूलाई त पक्कै पनि हामीले गीत गाउँदा रिस उठ्दो होला । तर सुन्नेहरूले के सोच्थे, के भन्थे यस विषयमा हामीले कहिल्यै सोचेनौं । हामीलाई त बस सुरक्षित रूपमा आफ्नो पेट खलास गर्नु थियो । यतिखेर सम्झँदा अलिअलि लाज र संकोच दुवै लाग्छ । तर त्यो बेलाको रमाइलोले मन अर्कै दुनियाँमा पुग्छ ।


अहिले सो पाइखाना अस्तित्वमा छैन । सो ठाउँमा सिमेन्ट ढलान गरी तीनधारेबाट शक्तिचोक जाने सिंढी बाटो बनाइएको छ । ढलानको मुनिबाट पानी बगेर जाने ढल बनाइएको छ । यतिखेरका पुस्तालाई हामीले भोगेको पाइखानाको गीत कुनै दन्त्यकथाजस्तो लाग्न सक्छ । तर म जति पटक त्यो बाटो हिँड्छु मेरो मानसपटलमा पाइखानामा बसेर गीतहरू गाएका ती दिन गाढा भएर आउँछ । ती गीतहरू मनमा गुन्जेर फेरि एक पटक बचपनका दिनहरूले मुटुमा च्याप्प समात्छ । खुसीले भित्रभित्रै मातिन्छु ।


पाइखानाको उत्तरतर्फ रहेको ढुंगैढुंगाले बनेको खोपीधाराको माथि सानो चौर र ढुंगा थियो । त्यही चौरको ढुंगामा बसेर रातिराति बाँसुरी बजाउँथे अहिलेका चर्चित संगीतकार सुनील मास्के । उनको र अमीर श्रेष्ठको बाँसुरीको धुन गोरखा बजार क्षेत्रमा लोकप्रिय थियो । गर्मीको समयमा त्यही धारामाथि बसेर राति एघार–बाह्र बजेसम्म गफिन्थ्यौं तीनधारे वरपरका युवाहरू । गीत, संगीत र साहित्यका बारेमा हुन्थे अधिकांश गफहरू । कहिलेकाहीं युवाकालका प्रेम प्रसंगले पनि ठाउँ पाउँथ्यो । तत्कालीन समाजमा प्रेम गर्न अलि जोखिम नै हुन्थ्यो । प्रेम हुनु भनेको बिग्रनु हो भनेर व्याख्या गरिदिन्थे समाजका पण्डितहरू । सामाजिक रूपमा प्रेम बर्जितजस्तै थियो तर गर्नेहरूले सामाजिक बन्धनको के डर मान्थे र । प्रेम विवाह गरी जानेलाई पोइल गएर बाउको नाक काटी भनेर खुबै हल्ला पिटिन्थ्यो । समाजले जति नै कडाइ गरे पनि प्रेमीहरू पोइल जान र पोइल लान तम्तयार हुन्थे नै । एक जोडी गाउँ छाडेर भाग्दा पँधेरामा महिनौं गफ गर्ने बहाना बन्थ्यो । आज त्यस्तो समय छैन । बरु छोरीहरूको केटो छैन भन्दा आत्तिनुपर्ने अवस्था आएको छ । हाम्रो पुस्ताले भोगेको यी दुई भिन्नभिन्न समय र सोचलाई सम्झेर बेलाबेलामा मन निकै आनन्दित हुन्छ । जतिसुकै भुल्न खोजे पनि जबजब गोरखा पुग्छु पुराना यादहरू आँखैअगाडि उभिन आइपुग्छन् । मनले खिचेर राखेको त्यतिबेलाको फोटो मनकै क्यानभासमा प्रस्ट देखिन्छ । टोलका पुराना अनुहारहरू लोटा बोकेर तीनधारे खोलाको त्यही बोरा बेरेको पाइखानामा पसेको झल्को आइरहन्छ । कानमा आफैंले गाएका पाइखानाका गीतहरू गुन्जिरहन्छन् ।

राजुबाबु श्रेष्ठ

प्रकाशित : जेष्ठ ३२, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?