कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

रामेशको बालापन

नोरेम

नेपाली साहित्य र संगीतको क्षेत्रमा एउटा अलग धारको सूत्रपात गर्दै तीसको दशकको आरम्भतिर उदाएको राल्फा आन्दोलनसँग गाँसिएको एक सुपरिचित नाम हो रामेश  । पूर्वेली लेक–बेंसीमा गुन्जिने बेग्लै स्वादको लोकसंगीत बोकेर काठमाडौ छिरेका उनीहरू समयक्रममा राल्फाको नामबाट एउटा अलग सांगीतिक अभियानमा होमिए  ।

रामेशको बालापन

राल्फाली गीत संगीतको लोकप्रियता चुलिँदै जाँदा यसमा अनेक उकाली ओराली, घुम्ती र मोडहरू देखा परे । ती सबै परिघटनाहरू छिचोल्दै मानवीय संवेदना परिष्कार गर्ने सार्थक संगीतमा निरन्तर प्रतिबद्घ भएर डटिरहने स्रष्टाहरूको पंक्तिमा उभिइरहेकै देखिन्छन् रामेश अझै ।


रामेशको नाम सुन्नासाथ धेरैको मनमा उनको सांगीतिक व्यक्तित्वको तस्बिर नै तत्क्षण प्रकट हुने गर्छ । उनले सृजना गरेका गीत–संगीतको व्यापकता र सांगीतिक कार्यक्रहरूमा उनको बाक्लो सहभागिताले यस्तो धारणा बन्नु स्वाभाविकै हो । धेरैलाई थाहा नभएको कुरा, साहित्यमा पनि कलम चलाउनु रामेशको अर्को विशेषता हो । राल्फा आन्दोलनको एक अभियन्ता भएर पनि म आफैं रामेशको लेखन व्यक्तित्वसँग लामो समयसम्म अनभिज्ञ थिएँ । २०३५–३६ सालतिर निस्कने ‘संकल्प’ पत्रिकामा रामेशका सस्मरणहरू छापिन थालेपछि उनको लेखन शिल्पसँग पहिलोपल्ट मेरो साक्षात्कार भएको हो । त्यसभन्दा अघिसम्म रामेश मेरा आँखामा एक कुशल गायक र संगीतकार मात्र थिए ।


यही मेसोमा हालसालै रामेशको एउटा सग्लो कृति ‘बालापन जीवनको’ प्रकाशित भएर जब बाहिर आयो, स्वाभाविक रूपमा त्यसले मेरो ध्यान आकृष्ट गर्‍यो । गीत संगीतमा नै आफ्नो सारा जीवन समर्पित गरेका रामेश कुन पृष्ठभूमिबाट यहाँसम्म आए होलान् ? जिज्ञासा थियो मेरो मनमा । उनको आत्मकथा हातमा परेपछि उत्सुकता र कौतूहलका रमाइला लहरहरू उत्पन्न भए मभित्र । साहित्यमा आत्मकथा एक चुनौतीपूर्ण विधा मानिन्छ ।


आफू हुर्किएको समाज, परिवार र समग्र परिवेशसँग लेखकले कसरी अन्तरक्रिया गरेका छन् र आफ्नो जीवनसँग गाँसिएका अनेक घटनाहरूलाई कति यथार्थपरक ढंगले प्रस्तुत गरिएको छ भन्ने कुराले आत्मकथाप्रति पाठकको रुचि/अरुचि निरुपण गर्दछ । एउटा लेखकका निम्ति आफ्नो सुदूर बाल्यकालतिर फर्केर हेर्ने कुरा र स्मृतिमा ओझेल परिसकेका घटनाहरू खोतलेर निकाल्ने कुरा निश्चय नै सहज हुँदैनन् ।


रामेशको आत्मकथा पढ्न सुरु गर्दा नै थाहा भयो, रामेश एउटा रमाइलो सांगीतिक परिवार र परिवेशका उपज रहेछन् । त्यो जमानामा संगीतप्रति त्यति गहिरो अभिरुचि भएको परिवार, जहाँ रामेश जन्मिए र हुर्किए, मेरा निम्ति एक कल्पनातीत कुरा थियो । तानपुरा, तबला, सितार र हार्मोनियमको सुमधुर ध्वनिबाटै सुरु भएका छन् उनको आत्मकथाका आरम्भिक पृष्ठहरू । ती बाजाहरू र ग्रामोफोनसमेत रहेछ रामेशको घरमा त्यतिबेलै । रामेशको बाल्यकालीन जीवनयात्रालाई पछ्याउँदै जाँदा संगीतसँग गाँसिएका अरू पनि धेरै रोचक सन्दर्भका पर्दा उघ्रिँदै जान्छन् ।


संगीतप्रति गहिरो लगाव भएको पिताको बात्सल्यमा हुर्कन पाउनु र पिताकै प्रेरणा र प्रोत्साहनमा समग्र परिवार संगीतका पारखी हुनु रामेशको आरम्भिक जीवनलाई गहिरोसँग प्रभावित पार्ने एक रमाइलो र सुखद संयोग र≈यो । राणाकालको उत्तरार्द्घको समय, पिताको राम्रै जागिर, विभिन्न ठाउँमा सरुवा भैरहँदा अलग अलग परिवेश, समाज र संस्कृतिसँग साक्षात्कार गर्ने मौका पाए रामेशले । यसले उनको मनमा जिज्ञासाको क्षितिज फराकिलो पार्न सघाउ पुर्‍यायो ।


जता गए पनि हार्मोनियम, तबला र सितारमा रागरागिनीको महफिल जमिर≈यो । त्यसले वरिपरिको परिवेशमा पनि अर्कै रौनक छरिरहने काम गर्‍यो । जागिरकै सिलसिलामा उनको पिता पाल्पा, तानसेनमा सरुवा हुनु र त्यहाँ खड्गशमशेरजस्ता संगीत र नाटकका सोखिन व्यक्ति बडाहाकिम पाउनु पनि एउटा अर्को रमाइलो संयोग थियो । त्यही ठाउँ हो जहाँ रामेशले ४ वर्षको कलिलो उमेरमै तबला बजाएर सबैलाई चकित पारेका थिए ।


उमेर बढ्दै जाँदा पछि आफ्ना पिता, दिदी र दाइहरूबाट सुनेका पाल्पा बसाइताकाका कतिपय प्रसंगहरू पनि पाइन्छन् उनको कृतिमा । राणाहरूको विचित्र स्वभावको झल्को पाइन्छ त्यहाँ । राणाको दरबारमा बेलाबखत आयोजना हुने भोजभतेरको अन्त्यतिर आमन्त्रितलाई थाहा नै नदिई दरबारमा पालेका दाह्रा नंग्राविहीन बाघ–भालु अचानक छाडिदिँदा आत्तिएका मानिसहरूको अवस्था हेरेर राणाहरू मजा लिने गर्थे । त्यसबेलाका राणाहरूको त्यस्तो लहडी र परपीडक अभिजात्य जीवनशैलीका प्रसंगहरू यतिखेर अनौठो लाग्छ हामीलाई । झयाउरे गीत गाएर पाल्पा भेगमा लोकप्रिय भएका मित्रसेनलाई उनका पिताले आफ्नो बासस्थानमा निम्त्याएर सम्मान गरेका सन्दर्भहरू पनि झुल्किएका छन् ठाउँठाउँमा ।


रामेशका ठूल्दाइ मेघबहादुरमा युवावस्थादेखि नै विद्रोही चेत हुर्कंदै थियो । उनको राणाविरोधी गतिविधिको सुइँको पाएर काठमाडौंका राणाहरूले उनका पितालाई तानसेनबाट डोटी सरुवा गरिदिए । तानसेनबाट डोटीसम्म भारतीय भूभाग हुँदै, जीवनमा पहिलोपल्ट रेल र सिनेमाको अनुभव सँगाल्दै, त्यसमाथि तानसेनमा रामेशलाई चिठ्ठा परेको घोडासमेत रेलको बोगीमा राखेर यात्रा गर्दाका घटनाहरू निकै रोमाञ्चपूर्ण लाग्छन् । डोटी क्षेत्रमा त्यसबेला प्रचलित पूर्वी नेपालको भन्दा नितान्त फरक बान्कीका गीतहरू र सांस्कृतिक चाडपर्वहरूको झलक पनि देख्न पाइन्छ उनको कृतिमा । त्यसबेलाको डोटीमा हिन्दी गीत, हिन्दी भाषा, स्कुलको पाठ्यक्रममा हिन्दी पुस्तक र राष्ट्रगानमा ‘जन गण मन हे भारत भाग्य विधाता’ गाउनुपर्ने अनौठो व्यवहार भोगेका थिए रामेशले ।


बढ्दो उमेरसँगै आएका जिज्ञासाहरू । जगत्का सृष्टि–सिर्जनाहरूको बारेमा आमालाई प्रश्न सोधेर हैरान पार्छन् उनी । पृथ्वीका असल मानिस मरेपछि स्वर्गमा पुग्छन् अनि आकाशको तारा भएर चम्किन्छन्, आमाको घतलाग्दो जवाफ । इन्द्रेनीचाहिँ आकाशका देवता पृथ्वीमा ओर्लने बाटो हो, त्यही बाटो भएर देउताले पृथ्वीमा पाइला टेक्नासाथ इन्द्रेनी हराउँछ । अहा, कस्तो रमाइलो परिकल्पना हो आमाको !


रामेशको बाल्यकालीन मनोरचनामा आफ्नी आमाबाट पाएको ज्ञान, तिलस्मी कथाहरू र अपार स्नेहको गहिरो छाप परेको देखिन्छ । त्यति असल र स्नेहशील आमालाई उनका पिताले यदाकदा गर्ने अमानवीय व्यवहारका घटनाहरू पनि उनले भुलेका छैनन् । रामेशको पिताको विरोधाभाषी स्वभाव आश्चर्यलाग्दो देखिन्छ । संगीतजस्तो संवेदनशील कर्ममा डुबेको मानिसमा त्यस्तो स्वभाव कसरी हुर्कियो होला ? प्रश्नहरूले पछ्याइरहन्छन् । एकपटकको त्यस्तै घटनामा रामेशका ठूल्दाइले पिताको जोडदार प्रतिरोध गरेपछि भने आमाले त्यस्तो प्रताडना भोग्नुपरेन ।


रामेशकी आमाको साहस त डोटीमा राणाविरोधी क्रान्तिताकाको एउटा सनसनीपूर्ण घटनामा देख्न पाइन्छ । राणाविरोधी पक्षकै एउटा समूहले मालअड्डाको ढुकुटी लुटेर लगेपछि अर्को समूहले मालका सुब्बा (रामेशका पिता) बडाहाकिम र डिठ्ठालाई दोष लगाउँदै गोली ठोक्ने तयारी गर्छन् । त्यो खबर सुनेर दौडिँदै हतासिँदै रामेशकी आमा त्यस ठाउँमा पुग्छिन् । गोली हान्न लागेको आफ्नो पतिको अगाडि उभिएर छाती तेर्स्याउँदै पति निर्दोष भएको तर्क गर्छिन् । एउटा अकल्पनीय अनिष्ट टर्छ । निर्दोष ठहरिएपछि मुक्ति सेनाले नै रामेशका पितालाई डोटीकै अस्थायी प्रशासनका न्यायमन्त्री बनाउँछ ।


रामेशले आफ्नो आत्मकथामा विभिन्न स्थान, धेरैथरी पात्र र घटनाहरू उभ्याएका छन् । ती ठाउँहरूको प्राकृतिक परिवेशको शब्दचित्र र पात्रहरूको रूप रङ, नाक नश्ल, हाउभाउ र बोल्ने विशेष तरिकालाई पनि अलिकति सम्झने प्रयास गरेको भए आत्मकथा अझ जीवन्त र सशक्त हुने थियो । समग्रमा भन्नुपर्दा, रामेशको बालापन रोमाञ्चले भरिपूर्ण बालमनोरचनाको एक पठनयोग्य पाठ्यसामग्री हो ।


प्रकाशित : जेष्ठ ३२, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?