असल किताबलाई मर्न दिऊँ ?

एउटा छापिएको किताब बजार आउने प्रतीक्षामा रहेकी सुकन्याको धैर्यको बाँध किन टुटिरहेको छ ?
सुकन्या

अपराजिता, अति नै असमञ्जसमा परेकी छु । के गरूँ, कसो गरूँको स्थितिले दुब्लाइसकेकी छु । तिमीलाई जस्तो तर्क गर्न मलाई आउँदैन । झगडा गर्ने मेरो स्वभावै होइन । म त गोर्कीकी हजुरआमालाई आदर्श मान्ने व्यक्ति परेँ । तर हाम्रो बाबुले सिकाउनुभएको एउटा मन्त्रचाहिँ मलाई सम्झना छ, जुन म अति नै आवश्यक परेको खण्डमा प्रयोग गर्ने गर्छु ।

त्यो तिमीलाई पनि थाहा छ तर तिमीलाई त त्यसको प्रयोग गर्नै परेन । तिमी सोझै हान्ने स्वभावको व्यक्ति पर्‍यौ । त्यस मन्त्रको नाम– बाबुले अंग्रेजीमा भन्ने गरेकाले अंग्रेजीमा नै भनौं– ‘इन्डाइरेक्ट हिट’ अथवा ‘प्यासिभ रेजिस्ट्यान्स’ । तर लेखेर विरोध गर्नु त डाइरेक्ट हिटजस्तै भयो होइन र ? के गर्ने खोइ ? होइन, लेखेरै विरोध गर्छु । कम्तीमा साक्षात्कार त गर्नुपरेन नि । यसैलाई ‘इन्डाइरेक्ट हिट’ अथवा ‘प्यासिभ रेजिस्ट्यान्स’ ठान्छु ।


आजभन्दा ६ वर्षअघिको कुरा हो । अति रुचाएर बाल–साहित्यका दुई अंग्रेजी पुस्तक पढेँ । आजका बालबालिकाको पिँढीमा यी पुस्तकमा अन्तरनिहित सन्देश पुर्‍याउनैपर्छ भन्ने लाग्यो । त्यसपछि नेपाली भाषामा अनुवाद गरेँ । सुसंस्कारजस्ता मूल्यमान्यताले भरिपूर्ण ती पुस्तक मलाई ज्यादै उपयोगी लाग्यो । किताबमा परिवारमा सर्वोच्च स्थानको हकदार हाम्रा हजुरआमाहरूको पुस्तौंपुस्ता सर्दै आउने स्पर्शको महत्त्व देखाइएको छ । आफ्ना प्रियजनसँग कर्तव्यवश विछोड हुनुपर्दा अपनाउनुपर्ने संयमलाई उजागर गरिएको छ । यसरी अनासक्तिको पाठ बालापनदेखि नै अभ्यास गर्नुपर्ने सन्देश नेपाली बालबालिकामाझ पुर्‍याउनुपर्ने दायित्व मैले पूरा गर्नैपर्छ भन्ने बोध भयो ।


कस्ता पुस्तक हुन् र पुस्तकका रचयिता को हुन् भन्ने जिज्ञासा भयो होला तिमीलाई । ल सुन, पुस्तकका नाम ‘तेन्जिङको मृग’ र ‘हजुरआमाको गीत’ हो । र, रचयिता हुन् बारबरा सोरोस ।


योगमायाबारे अध्ययन गर्ने बारबरा निम्री अजिजमार्फत परिचित भएकी हुन् बारबरा सोरोस । उनी तिम्रै मित्र बारबरा निम्री जत्तिकै घनिष्ठ थिइन् तिमीसँग । तिमीहरूबीच भएको पत्राचार अझ सुरक्षित छन् मसँग । तथापि म यहाँ उनको विस्तृत परिचय दिन आवश्यक ठान्छु ।मन र शरीरका विज्ञ (प्राक्टिसनर) हुन् बारबरा सोरोस । उनले कथावाचनलाई बीस वर्षभन्दा बढी समयदेखि आफ्नो थेरापी (उपचार विधि) को एक अभिन्न अङ्गको रूपमा प्रयोग गरेकी छन् ।


तिब्बती औषधि विधिकी छात्रा सोरोसले बालनाटक पनि लेखेकी तथा निर्देशन गरेकी छन् । साथै, सिर्जनात्मकता तथा आरोग्यता (हिलिङ) विषयलाई लिएर विश्वव्यापी रूपमा कार्यशाला सञ्चालन गर्न पनि उत्प्रेरित गरेकी छन् । तिमीसँगको उनको गहिरो सम्बन्ध हुँदा साहित्य, महिला मुक्ति तथा संघर्षसँगै अरू धेरै विषयमा पत्राचारद्वारा छलफल हुन्थ्यो । उनले तिमीलाई पठाएका पुस्तकमा एउटाको नामचाहिँ म सम्झिरहन्छु, ‘द कलर पर्पल ।’ विदेशका महिला समूहका पत्रपत्रिका पनि तिमीकहाँ निकै आउँथे, यसमा उनको पनि योगदान छ । तीमध्ये एउटाको नाम सम्झन्छु, ‘द आउट राइट ।’


उनीसित महिलासम्बन्धी धेरै छलफल भइरहन्थ्यो तिम्रो । तिमीले छाडेर गएपछि मसँग उनको घनिष्ठता बढेर गयो । महिला तथा बालबालिकाप्रति अति संवेदनशील उनले धेरै विपन्न मातापिताका बालबच्चालाई प्रायोजन गरेर विद्यालय शुल्कसमेत भरिदिएकी छन् ।


यति मात्र कहाँ हो र, लेखिकाहरूलाई प्रोत्साहित गर्न वर्षभरि उत्कृष्ट ठहरिएका पुस्तकका निम्ति दुई लेखिकालाई १०/१० हजारको पुरस्कारसमेत प्रायोजन गरेकी थिइन् । साहित्यकार सुधा त्रिपाठी अध्यक्ष रहेको अभ्युथान महिला साहित्य प्रतिष्ठानले यस कार्यको अभिभारा लिएको थियो । केही वर्षको सञ्चालन सफल र उत्साहवर्द्धक रह्यो, तर अफसोस यसले निरन्तरता पाउन भने सकेन ।

कारण प्रायोजकको थिएन, प्रतिष्ठानकै सदस्यहरूको अति व्यस्तता हुन सक्छ । लागिपरेर समय जुटाउन नसक्दा समस्या आयो । प्रतिष्ठान बिस्तारै शिथिल हुँदै गयो । यो बिलाइसक्यो अथवा कार्यरत छ, थाहा छैन । जे होस् कार्यक्रमको योगदानको हामीले कदर गर्नैपर्छ । कतिपय महिला साहित्यकार पुरस्कृत मात्र भएनन्, नेपाली साहित्य जगत्ले पनि नूतन कृतिहरूको जगेर्ना गर्न पाए । यी उपलब्धि पनि हाम्रै सम्पत्ति हुन्, सन्तोष गरौं ।


केही थपौं— वास्तवमा तिमी मेरा सल्लाहकार, अझ भनौ गुरु नै थियौ । तिमी नहुँदा, मेरो मुड र हाउभाउबाट मलाई समस्या परेको थाहा पाउने बारबरा निम्री अजिज भन्ने गर्थिन्, ‘बारबरा सोरोसलाई लेख ।’


यस्तै एक पटक सोरोसलाई मदिरा सेवन गरेर स्वास्नी र बालबच्चालाई सताउने र हाँकधाँक गर्ने पुरुषहरू कस्ता मनस्थितिका हुन् भनेर मैले प्रश्न राखेकी थिएँ । उनले त एउटा सुन्दर लेख नै लेखेर पठाइन् । त्यो लेख ‘कायर पुरुष नै आक्रामक हुन्छन्’ भन्ने शीर्षकमा २०६७ सालमा नयाँ पत्रिकामा प्रकाशित भएको थियो ।


अब बारबरा सोरोससँग जोडिएको मूल तथ्यतिर फिरौं । उनका किताबको अनुवादपश्चात् उत्साहित भएर छिमेकी युवा सुमेश न्यौपानेको सहयोगमा प्रकाशनको निम्ति एक निवेदन पठाएँ । मेरो एक पत्रको आधारमा डोलिन्द्रप्रसाद शर्माले उक्त अनुवाद आफ्नै अक्सफोर्ड पब्लिकेसनबाट प्रकाशित गरिदिने वचन दिए । खुसीको पारावार रहेन ।


डोलिन्द्रप्रसाद शर्माको सहृदयता र सौजन्यताको प्रशंसा जति गरे पनि नपुग्नेजस्तो लाग्यो । सम्झौतापत्रमा हस्ताक्षर पनि गरियो । कपिराइट अधिकार अमृत आवासीय विद्यालयको नाममा रहने भयो । लेखक र अनुवादकले समेत प्राप्त गर्ने पारिश्रमिक अमृत विद्यालयकै विपन्न विद्यार्थीको निमित्त समर्पण गर्ने निश्चय भयो ।


बारबरा सोरोसको अनुरोधमा पुस्तकका भाव चित्रकार ड्नुटा मेयर र जेकी मोरिसले सहृदयतापूर्वक आफ्ना भावचित्रहरू नेपाली अनुवादमा पनि प्रयोग गर्ने अनुमति प्रदान गरे । अति उत्साहित प्रकाशक शर्माले लोकार्पण समारोहमा उपस्थित हुन हवाई टिकट शुद्घ पठाउने आश्वासन दिए । बाल साहित्यकारको रूपमा नेपाली बाल साहित्य जगत्मा परिचय बनाउन पाउनु बारबराको निम्ति सीमातीत खुसीको विषय थियो । तदारुकताका साथ काम अघि बढ्यो ।


त्यसपश्चात् उनी मृतप्रायः साझा प्रकाशनको अध्यक्षमा चयन भए । उनको दाबी छ, मैले साझालाई पुनर्जीवन दिएँ । साझालाई बौराएँ । धडाधड नयाँ कृतिको प्रकाशन गरेँ । उनको कार्यव्यस्तता बढ्नु नितान्त स्वाभाविक थियो । उनको जिकिर छ, धेरै बाधा तेर्सिए । उनी अध्यक्ष भएपछि साझामा भएका संघर्षसँग अवगत थिएँ । उनको दाबा सही भए दाद त दिनैपर्छ, अपराजिता ।


अरू भए के हुन्थे कुन्नि, तर उनले त छाती तानेर संघर्ष गरे र उनी ‘बादलभित्रको घाम’ रचेर आफ्नो अडान कायम राख्न समर्थ भए ।
उनी साझामा व्यस्त हुँदा केही समय धैर्य राखेँ । पटक–पटक भेटसमेत गरेँ, उनको उत्साह र आश्वासनमा कत्ति पनि कमी आएको अनुभव मलाई भएन । असीम विश्वासले गहिरोसँग जरा गाडिसकेको थियो । तथापि सम्भव होला नहोला भन्ने आशंकाले मनमा घर गरिरह्यो । किनभने समयावधि ४ वर्ष नाघिसकेको थियो ।


हैरान भएर साहित्यकार प्रदीप नेपाललाई पुकारेँ, जसलाई सानो छँदा तिमीले माया गरेर बुच्चे भनेर सम्बोधन गर्ने गर्थ्यौ । घनिष्ठताले प्रदान गरेको विश्वासको आधारमा नै त पुकारेकी हुँ नि । प्रदीपसँग उनको घनिष्ठ सम्बन्ध छ भन्ने सुन्नमा आएको थियो । नभन्दै काम तदारुकताका साथ अघि बढ्यो । सम्पादकहरू घरमै आए । अति सुन्दर आकृतिका दुई पुस्तक ‘तेन्जिङको मृग’ र ‘हजुरआमाको गीत’ तयार भयो । सुन्छु, प्रकाशनगृहको भण्डारकोठा यिनै तयारी पुस्तकले भरिएका छन् । केही नमुना कपी मकहाँ पनि आइपुगे, बारबराकहाँ पनि दुई चार प्रति पुगे ।


अरू २ वर्ष बिते, तर हरे, ती भण्डारका पुस्तक बाहिर आउन सकेनन् । व्यवधान के हो ? थाहा भएन । कैयौं पटक सम्पर्क गरेँ, जोसिलो आवाजमा आश्वासन प्राप्त हुन्छ, फेरि शून्य काम । अमेरिकावासी बारबरा हतास भइन् । व्यक्तिगत तौरले उनले प्रकाशक शर्मासँग सम्पर्क गरिन् तर … ।


अब त अति नै थाकिसकेँ, अपराजिता, धैर्यको बाँध टुटिसक्यो । डर लाग्छ, उनको उठबस ठूलाबडाको साथमा छ, म बबुरोको आवाज कसले सुनिदेला ? म कहिल्यै आक्रामक हुन सकिनँ, सक्दिनँ पनि । आक्रामक हुनु मेरो स्वभावको विपरीत कुरो । सहृदय हाम्री विदेशी साथीलाई के जवाफ दिने ? कि यसरी नै एक उपयोगी बालकथाको असामयिक अवसान पो हुने हो कि भनेर पिरोलिरहूँ ? के गरूँ ? जवाफ देऊ ।

सुकन्या

प्रकाशित : जेष्ठ ३२, २०७६ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्

३४ दिने बस यात्राको सम्झना

विकास रौनियार

काठमाडौंमा भर्खर एसएलसी सकेर कानुन पढ्न थालेको थिएँ । प्रवीणता प्रमाणपत्र तहको दोस्रो वर्षको विद्यार्थी थिएँ । सेन्ट जेभियर स्कुलको भूतपूर्व विद्यार्थी संगठन गोदावरी अलुम्नाई असोसिएसन (जीएए) का कार्यक्रमहरूमा सक्रिय थिएँ ।

त्यही बेला योङ मेन क्रिस्टियन असोसिअसनले इन्टरनेसनल क्याम्प काउन्सेलर प्रोग्रामका लागि तीन महिना न्युयोर्क राज्यको स्प्रिङ भ्यालीमा भ्याकेसन क्याम्प फर द ब्लाइन्ड (भीसीबी) मा जाने अवसर दियो । रोनाल्ड रेगन अमेरिकाको राष्ट्रपतिको दोस्रो कार्यकालमा थिए । प्रख्यात गायिका म्याडोना र माइकल ज्याक्सन संसारभर हिट थिए । माइकल जे फोकसको ‘ब्याक टु द फ्युचर’ ले बक्स अफिस रेकर्ड तोडेको समय थियो । र, ‘वी आर द वर्ल्ड’ गीतले अफ्रिकाका कुपोषणपीडितहरूका लागि कलाकारहरू एकजुट भएर निकै नै सहयोग जुटाएको बेला थियो ।


सन् १९८६ को जुनदेखि अगस्टसम्म भीसीबीको शिविरमा विदेशी कोउन्सलरको रूपमा कार्य गर्ने मौका मिलेको थियो । सकिएपछि परिश्रमिक पनि ४ सय डलर पाएको थिएँ । शिविरको अवधि सकिएपछि म र मेरो डेनमार्कको साथी ओवाले पूरा अमेरिका ग्रेहाउन्ड बसमा अमेरिकाको पश्चिमी सहरहरूदेखि पूर्वी सहरहरू करिब ८ हजार किलोमिटरभन्दा बढी सडक यात्रा गर्ने योजना बनायौं ।

योजनाअनुसारै हामी पहिले न्युयोर्कबाट लस एन्जलसका लागि एकदमै सस्तो शुल्क ९० डलर तिरेर ‘पिपल्स एक्सप्रेस’ को विमान चढेर पुग्यौं । करिब दुई हप्ता लस एन्जलसमा घुमेपश्चात् हामीले पहिले नै २ सय २० डलर तिरेर किनेको एकमहिने ग्रेहाउन्ड बस पासले एक महिने अमेरिकाको ‘गो इस्ट’ यात्रा सुरु गर्‍यौं । हामी होटलमा नसुतेर पैसा बचाउनका लागि रात्रि बसमात्र चढेर बिहान पूर्वतिरका सहरमा मात्रै लाग्थ्यौं ।


पहिलो रातभरि बस चढेर बिहानीपख झिसमिसेमै क्यासिनोका लागि प्रख्यात सहर लास भेगास पुग्यौं र बिहानै क्यासिनो केही घण्टा क्यासिनोमा जुवा खेलेर बितायौं । त्यसपछि अरिजोनाको ग्रान्ड क्यानोन पार्क गयौं । त्यहाँको अनुपम प्रकृतिमा ट्रेक गरेर रमायौं । रोचक के थियो भने म नेपालको पहाडमा उकालो चढ्नुपर्ने घुमेको मान्छे तर त्यहाँ त ट्रेकको सुरुआतमै ओरालो लाग्नुपर्ने । त्यसपछि हामी मेक्सिकोको सिमाना नजिकको एल पासो, अमरिलो (जुन सहरले संसारकै सबभन्दा बोरिङ सहरको रूपमा आफूलाई चिनाउनमा गर्व गर्थ्यो) हुँदै डल्लास पुग्यौं ।

त्यहाँ हामी एक परिचित नेपाली वकिल साब गिरीशराज पन्तको परिवारसँग दुई दिन बितायौं । त्यहाँ मात्र हामीले खाटमा सुत्न पाएका थियौं नभए अरू रात सबै बसमै । त्यसपछि हामी एल्बिस प्रेस्न्लीको सहर मेम्फिस हुँदै क्यानाडाको सिमाना नजिक लेक मिसिगन नजिकको क्लिब ल्यान्ड पनि गयौं । फिलाडेल्फिया हुँदै न्युयोर्क फर्किंदा करिब ३४ दिनको भुल्नै नसकिने धेरै अनुभवहरूको धनी भइसकेका थियौं ।


त्यसपछि ओव आफ्नो देश डेनमार्क फर्कियो । मचाहिँ बेलायतमा एक महिना बिताएर नेपाल फर्की कानुनको पढाइ जारी राखें तर सायद अमेरिकामा फोटो खिच्दै गरेको भ्रमणले फोटोग्राफीको रुचिमा यति वृद्धि गराइदियो कि कानुन पढेर वकालत गर्न छोडेर फोटो पत्रकारितामा पूर्ण समय दिएर संसारको सबैभन्दा उत्तम पेसा फोटो पत्रकारितामा लाग्न पुगें ।

प्रकाशित : जेष्ठ ३२, २०७६ १२:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्