बर्मुडाको क्रुज

रामजीवी पन्त

मानव सभ्यताको क्रमिक विकास र नवीन आविष्कारले भौतिक जगत्मा ल्याएको परिवर्तन अद्भुत छ  । यसले मानिसको जीवनमा थपेको रोमाञ्चकता पनि अतुलनीय लाग्यो मलाई  ।

जब पहिलो पटक पानीजहाजमा लामो यात्रा गरियो । हाम्रो यात्रा बाल्टिमोरको बन्दरगाहबाट सुरु भयो । सन् १८१४ मा बेलायतसँग भएको युद्ध (ब्याटल अफ बाल्टिमोर) मा अमेरिकीहरूले यो बन्दरगाहलाई प्रयोग गरेका थिए । बाल्टिमोरबाट बर्मुडासम्मको ५ दिनको हाम्रो यात्रा क्यारेबियन क्रुजमा हुने तय भयो । साथमा थिए भाइ कृष्णजीवी र बालसखा भाइ राजन त्रिपाठी ।


पानीजहाजमा लामो यात्रा गर्नुअघि यात्रीहरूलाई केही विशेष ज्ञान र निर्देशनहरू दिइन्छ । हामी पनि पहिलो दिन ती निर्देशनहरू पाएपछि आफ्ना कोठातिर लागियो । सफा र सुन्दर कोठाको सजावट अविस्मरणीय थियो । एटलान्टिक महासागरलाई आफ्नो शयनकक्षबाट नियाल्द मलाई शान्त र विशाल समुद्र साँच्चिकै रोचक लाग्यो । अनन्तसम्म फैलिएको जस्तो लाग्ने नीलो पानी । पानीको सतहमा छाल, अन्तर्यमा हज्जारौं जीव । यी सबैलाई बोकेर कुनै लामो यात्रामा निस्केको यात्रीजस्तो लाग्ने सुन्दर समुद्र ।


समुद्रमाथि चिप्लिइरहेको पानी जहाजभित्र स्पा, साउना, क्यासिनो, जिम, पब, बार, स्विमिङ पुलका अलावा नाटकघर, सांगीतिक प्रस्तुति र पुस्तकालय पनि थिए । यी सबै चीजले गर्दा लामो यात्रा पनि यात्रीलाई लामो लाग्दैन । र, एकोहोरो यात्रा पट्यारलाग्दो हुँदैन । करिब ३ हजार यात्रुको व्यवस्थापान निकै कुशल थियो ।

जहाजका ‘क्रु’ हरूको सीप र दक्षता उत्कृष्ट थियो । स्वादिला परिकार त हुने भई नै हाले । कहिले नाटक त कहिले नृत्य हेर्दै, संगीत सुन्दै, डिस्कोमा नाच्दा–नाच्दै रात बितेको थाहा हुँदैन थियो । बर्मुडा टापुमा सन् १५०५ पहिलो पटक स्पेनको सामुन्द्रिक जहाजका क्याप्टेन जुन दी बेर्मुडेज पुगेको मानिन्छ । उनकै नामबाट यस टापुको नामकरण गरिएको इतिहास छ ।


बर्मुडाको नाम सुन्नेबित्तिकै धेरैको नाममा बर्मुडा ट्र्यांगलको छवि आउँछ । बर्मुडा ट्र्यांगलमा छिरेका ठूलाठूला जहाजहरू गायब भएका त्रासद कथाहरू छन् । यो ट्र्यांगल (त्रिभुज) को एउटा कोणमा फ्लोरिडा छ भने अर्कोमा बर्मुडा र तेस्रो कोणमा पोर्तोरिको छ । बर्मुडा ट्र्यांगल शब्दको पहिलो पटक प्रयोग अमेरिकी लेखक विनसेन्ट गड्डिसले सन् १९६४ मा ‘आरगोसी’ नाम पत्रिकामा ‘द डेड्ली बर्मुडा ट्र्यांगल’ शीर्षकमा लेख लेखेर गरेका थिए ।

यस ट्र्यांगललाई सैतानहरूको समुद्र पनि भन्ने गरिन्छ । यो ट्र्यांगलमा छिरेका अजंगका पानीजहाजहरूको अहिलेसम्म अवशेषसमेत नभेटिएका उदाहरण छन् । असामान्य रूपमा जहाजहरू गायब हुनुको कारण सामुद्रिक ज्वारभाटा र भुमरीहरू भएको वैज्ञानिकहरूको ठम्याइ छ । तैपनि, रहस्यहरू नसुल्झिएका कारण यो ट्र्यांगललाई रहस्यमयी नै मानिन्छ ।


सन् २०१७ को मे महिनामा स्काइलाइट समूहका संस्थापक तथा सीईओ जेनिफर ब्लुमिन ३ र ४ वर्षका छोराहरू जहाजमा गइरहेकी थिइन् । लिएर पाइलट नाथन उर्लिचले पुर्तोरीको नजिकै २४ हजार फिटमाथि जहाज उडाइरहेका थिए ।

फ्लोरिडाको पूर्वी समुद्र तटको सानो गाउँ तितुस भिल्लाका लागि उडेका उनीहरूको यात्रा बर्मुडा ट्र्यांगलमा आएर समाप्त भयो । हामी भने बाल्टिमोरदेखि बर्मुडासम्म ८ हजार १ सय ८५ किलोमिटरको यात्रा करिब ४५ घण्टामा पार गर्दै बिहान ११ बजे बर्मुडा ट्र्यांगललाई धेरै पर राख्दै गन्तव्यमा पुग्यौं ।

सन् १७०७ को स्कट्ल्यान्ड र इङ्ल्यान्ड एकीकरणपश्चात् यो टापु बेलायतको अधीन छ । कुल जनसंख्याको ५४ प्रतिशत काला जातिका रहेको यो टापुको मुख्य आयस्रोत कृषि र पर्यटन हो । ६७ हजार जनसंख्या रहेको यो टापु ट्याक्स हेवनका साथै गल्फरको स्वर्गका रूपमा पनि परिचित छ । ५३.२ वर्गमाइल क्षेत्रफल रहेको यो टापुमा ६ वटा गल्फ कोर्स छन् । बिहानको खाना खाएर बर्मुडाको राजधानी ह्यमिल्टन घुम्नलाई समुद्रको किनारै किनारै निस्कियौं ।

गल्फ कोर्स र समुद्र तटको दृश्य मनमोहक थियो । ह्यमिल्टन जाँदै गर्दा हरिया गल्फ कोर्सहरू देखेर मलाई ह्यम्जाबाट पोखरा जाँदा देखिने हरिया फाँटको याद आयो । हृयमिल्टनका नीला समुद्रले पोखराका नीला ताललाई सम्झाइदिए । यिनको समुद्रमा खाली एकै चीजको कमी थियो, माछापुच्छ्रे छाया ! त्यो त यिनले खोजेर पनि कहाँ पाउन् !


ह्यमिल्टन सहरमा कोट, हाफ प्याइन्ट, टाई, लामा मोजा अनि छालाका जुत्तामा सजिएका युवाहरू देखिन्थे । यिनको पहिरन देखेर मलाई अचम्म लाग्यो । साधारण सामुद्री तटमा मात्र पुगेको अनुभव भएकाले गुलाबी बालुवाको तटको सुन्दरता देख्दा प्रकृतिको सिर्जनालाई मानव कलाले उछिन्न गाह्रै पर्छजस्तो लाग्यो ।

प्रकाशित : असार २१, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्

गमगढी चंखेली

रोशन शेरचन

पट्यारलाग्दो अपराह्नमा आएको त्यो फोन लेकाली बतासजस्तो ताजगीपूर्ण थियो  । वैशाखको एक दिन, मोबाइलमा मित्र रामचन्द्र सेढाईको आवाज सुनिन्छ– ‘रोशन दाइ, समयको अनुकूलता के छ तपाईंको  ।

कर्णाली प्रदेशको पर्यटन गुरुयोजना बनाउने काममा छौं । तपाईंले जैविक विविधताविद्को रूपमा टिममा योगदान गर्नुपर्नेछ । तपाईंको एक्यापको अनुभव पनि काम लाग्छ ।’ सेढाई दुई दशकदेखि पर्यटन क्षेत्रमा समर्पित अनुसन्धानकर्मी । सिजन्ड ट्रेकर । हाल बुद्विज्म् र हिमालयन स्टडिज्मा अध्ययनरत । कर्णाली प्रदेश सुन्नासाथ मन प्रफुल्ल भयो । जवाफमा भने ‘राम्रो प्रस्ताव । कर्णाली प्रदेश घुम्ने मेरो सपना हो । म समय पक्कै मिलाउँछु ।’ भर्जिन ल्यान्डलाई नजिकबाट अनुभव गर्ने अवसर म कसरी गुमाउँथें र !


सधैं घर र अफिस गरिरहँदा म दिक्क भइहाल्छु । कामको आयतनले भन्दा एकैखाले दिनचर्याले हुने हो दिक्दारी । पुनरावृत्तिले मेरो मन अलि चाँडै भर्छ । पसल रुँगेर जिन्दगी बिताउने साहुजीहरूको दिनचर्या सम्झँदा म त्यसै आत्तिन्छु । सेक्युरिटी गार्डहरूको एकै ठाउँ उभिइरहने दिनचर्या देखेर झनै कहालिन्छु । एकै ठाउँमा मान्छेहरू कसरी बस्न सक्छन् ? धेरै युवाहरू फुर्सदको समय वार, पब, क्याफे जान्छन् तर मलाई भित्रैदेखि मज्जा आउँदैन । एकरसताको दैनिकी बिथोल्न र जीवनमा फरक पृष्ठ टाँस्न बरु भ्याउन्जेल हाइकिङ जान्छु । काठमाडौंमा त्यसो नगरे बाँच्न कठिन छ । तर मित्रको प्रस्ताव त कर्णाली प्रदेशको थियो । टौदह खोजेको व्यक्तिले रारै भेट्टाएजस्तो भो । भ्रमण गर्न त्यही एउटा प्रदेश बाँकी थियो । मनमा रारा, से–फोक्सुन्डो, सिंजा उपत्यका, जुम्ली मार्सी, सिमकोट, डोल्पा, डोरबहादुर विष्टको तस्बिरहरू देखिन थाल्यो । हिमाली लेकको यार्चागुम्बा क्याराभान, दुर्लभ हिउँचितुवा, नेपथ्यको सा...कर्णालीको दृश्यांकन, अमृत गुरुङ र थिन्ले पनि आँखा अगाडि उभिन आयो । मानौं आँखा पर्दा हो, प्रोजेक्टर त मस्तिष्कको कुनै गुप्त तहखानाबाट सञ्चालित छ । कल्पनाको सुदूर र अभेद्य अट्टालिका च्यात्दै उत्साहित मनहरू उडान भर्ने तयारीमा पंखहरू गाँस्न थाले ।


२७ जेठ, २०७६ मा अद्वितीय रारा भ्रमण गरेपछि सदरमुकाम गमगढी झर्‍यौं । रारामा समाहित प्रकृतिको सघन निर्जनता र पानीको स्वच्छता त अवर्णनीय छ । सकिएछ भने रारा–अनुभूति कुनै दिन लेखुँला । तर मन हर्ने अर्कै पक्ष पनि थियो । थोरै भिरालो खस्रो भूमिमा बसेको परम्परागत गमगढीको पृथक् ल्यान्डस्केप । साँगुरो बाटाको दुवैतर्फ विकसित दुई लाइनको बजार । भिन्न विशेषताको । मुस्ताङको झारकोटको सम्झना आयो । ठाउँहरू राम्रा नराम्रा भन्ने हुन्नन्, मात्र फरक हुन्छन् भन्ने एक जना चर्चित घुमक्कडको भनाइ सम्झें । विविधतालाई सम्मान गर्ने अभिव्यक्ति हो त्यो ।
गमगढीको गोष्ठी सकी जेठ २८ सबेरै हुम्लाको निम्ति हिँड्यौं । शेरबहादुर रोकाया, सहायक वन अधिकृत अर्जेन्ट कामले सुर्खेत फर्कनुपर्ने भयो । व्यवस्थापन र समन्वयको जिम्मेवारी रोकाया सरले कुशलतापूर्वक निर्वाह गरेका थिए । व्यवस्थापनको जिम्मा अब अधिकृत तुलसीप्रसाद आचार्यमा सरेको थियो । आर्टिटेक्ट दिपिन पन्त र मेरो काम त प्राविधिक सत्र सहजीकरण गर्नु, पर्यटकीय गन्तव्यको अवलोकन र इन्भेन्ट्री गर्नुमा सीमित थियो । मुगुसम्म त गाडीमै गइयो । पदयात्राचाहिँ बल्ल सुरु भयो । पोर्टर नपाएपछि तुलसीजी र गोकुलजी एक्स्ट्रा ब्याग बोक्दै ओरालो लागे । कर्णाली पुल नजिकको बस्तीमा पोर्टर पाइन्छ भन्ने सुनेका थियौं ।


कच्ची सडकबाट चंखेली हिमाल देखियो । चंखेलीको मनमोहक दुईवटा चुलीहरू प्रस्ट देखिन्थ्यो । यो त्यही हिमाल हो जसको तस्बिर एक रुपैयाँको नोटमा राखिएको छ । कर्णालीको यो हिमाललाई चिनाउने त्यो फोटोग्राफर को होला ? खुल्दुली लाग्यो । अहिले त त्यो नोट प्रचलनबाटै हराइसक्यो । सम्झना ठीक साँचो भए, चंखेली हिमालसँगै मृगको तस्बिर पनि त्यो नोटमा भएजस्तो लाग्छ । मोबाइलबाट चंखेलीको केही सटहरू लिए । खच्चडको लस्कर उकालो चढ्दै थियो । माथिबाट झरेका गाईका बथानहरू झोलुंगेपुलको मुखमा अल्मलिएका थिए । दुई चार जना व्यक्ति गाईहरूलाई पुल तार्न खोज्दै थे । तर गाईहरू मरिकाटे मानिरहेका थिएनन् । मुगु–कर्णाली बर्खामासको तीव्र उफानमा बेतोड बगिरहेको थियो । खच्चडको अर्को क्याराभान घण्टी हल्लाउँदै पुलको अर्को मुखबाट छिरेपछि हामी पुलनेरै अडियौं । पारिबाट खच्चड, वारिबाट धकेल्दै लगिएको गाई, तमासै भयो । गाई ज्यान जाला अगि नबढ्ने, खच्चड ठेलेरै बढ्ने । खच्चडको लर्कोले पन्ध्र मिनेटजसो नै पर्खन पर्‍यो । गाईहरू अन्कनाइरहेकै अवसर छोपेर हामी अगि बढ्यौं र पुल मुखैको चियापसलमा बिसायौं । यहाँ कर्णालीको ध्वनि केही मत्थर सुनिन्थ्यो । खाजा खाने सल्लाह भयो । साहुनी आटा गुथ्न थालिन् । हामी पोर्टर खोज्न । थकाइको कारण हाते झोला र ब्याकपाक भुइँमै लडाइदिएका थियौं । झोला उभ्याउने जाँगर पनि चलेन । नसकिने त होइन, तर सबै ठाउँमा त्यसो गर्न सम्भव थिएन । एक्स्ट्रा झोलामा स्टेसनरी र चार्ट पेपरहरू थियो । मेरै पनि दुईवटा ब्याग–प्याक भएकाले एउटा कसैलाई बोकाउनै पर्ने अवस्था थियो । लोड भारी बोकी चंखेलीको उकालोमा हिँड्न असम्भवप्रायः नै थियो ।


सातथाप्लासम्म झोला बोक्ने मान्छे खोजिदिनुपर्‍यो । रोटी बेल्दै गरेको साहुनीलाई आग्रह गर्‍यौं । खै कहाँ पाइएला र यतिखेर ? साहुनीको जवाफ थियो । खै त साहुजी ? सायद दिपिन पन्तले सोधे । उस्तै परे साहुजीलाई नै मनाउने विचार थियो । साहुनीले थपिन्, ‘मेरा बूढा त गाई तार्दै छन् । गाई धनीहरूले तानेरै लगे ।’ झोलुंगेपुलतिर दृष्टि दिएँ । असिनपसिन भई गाई तार्दै गरेका मध्येका एक पक्कै साहुजी हुँदा हुन् । त्यत्तिकैमा सानो डालोमा तात्तातो रोटी आइपुग्यो । रोटी त उही थियो तर चोयाको डालोमा त्यो प्रस्तुति गज्जबको देखिन्थ्यो । भोक शिथिल हुँदै गयो । हामी बलियो बन्दै गयौं ।


अन्य स्थानीयलाई पनि पोर्टर खोजिदिन अनुरोध गर्‍यौं । एक जना स्थानीय चालक रहेछन् । सहयोगी । स्थानीय ठिटो खोजेर ल्याइदिए । मैले भनें, ‘ल भाइ, तीनवटा ठिकैको झोला छ, सातथाप्लासम्म जाने हो । कति रुपैयाँ लिने ?’ तीन झोलाहरू देखाइदिएँ पनि । ‘तिमी कति दिन्छौ भन न ।’ सुक्खा गमगढीझैं ठिटोको भाषा खस्रो थियो । तर अप्रिय लागेन । कतै खराब अभिप्राय थिएन त्यहाँ । बरु अर्गानिक पो लाग्यो ! भाइ नै जाने भएपछि तिमी नै भन, मैले बल गरेपछि उनले बल्ल मुख खोल्यो– छ हजार । अर्जेन्सीमा केही बढी दिने मानसिकता त थियो । तर, उक्त रकम सोचेभन्दा बढी भयो । बढीमा तीन दिनको हिँडाइ थियो ।समूहबाट कसैले भन्यो, चार हजार । खानाबस्न हामी हेरौंला । तर ठिटो डेग चलेन । कहिले अनुहारमा, कहिले झोलालाई एकतमासले हेरेर मुस्किलले निर्णय सुनायो– पाँच हजार दिने हो भने जान्छु नत्र जान्नँ । हामीले तुरुन्त निर्णय लिन सकेनौं । ठिटो हाम्रो निर्णय सुन्न केही बेर अडिएको थियो । अनिर्णीत बितिरहेको समयलाई चिर्दै मैले खुसुक्क साथीलाई भनें, पाँच हजार दिऊँ तर ऊ मानेन । टिम स्प्रिटको कुरो जो थियो । त्यसपछि म पनि चुप लागे । एक हजारमा कुरा नमिल्दा समय घर्कंदै गयो । ठिटो केही समय वरपरै देखिइरह्यो । साथीहरू पोर्टर खोज्न गोरेटो बाटो उक्ले । ठिटो पनि कतै अलप भयो । चियापसलमा मात्र बाँकी रह्यो— कर्णालीको मत्थर ध्वनि, रित्तिएको डालो र थकित हामी ।


कर्णाली किनारमा पोर्टर खोज्दै पर्खेको पनि झन्डै दुई घन्टा भइसकेको थियो । समय कर्णालीको पानीझैं बगेर गइरहेको थियो । गोकुल र म धुम्धुम्ती बसेका थियौं । त्यत्तिकैमा एक जना प्रौढ व्यक्ति हामीतिर आए । कसैले भरिया खोज्दै गरेको खबर सुनाएछ । हामीले सोध्यौं, ‘जाने हो हामीसँग ?’ सकरात्मक जवाफ सुनेपछि सोध्यौं ‘सातथाप्लासम्म हो, कति लिने ज्याला ?’ जवाफ आयो— नौ हजार ।
अघिको ठिटोलाई झन् सम्झन थाल्यौं ।
फालाफाल फुर्सद भएपछि पुलतिर दृष्टि फ्याँके । गाईहरू अझै तारिंदै थिए । पालो गरी एक दुई गाईलाई एक जनाले अगाडिबाट तानेर र अर्कोले पछाडिबाट धकेल्दै थिए । डरले होला धेरै गाई झोलुंगेपुलको स्टिल डेकमा अटेरी बालकझैं ढसमस्स बसिदिन्थे । ज्यान जाला अगाडि बढ्दिन भनेर कसमै खाएजस्तो ! घिच्याउनै पर्ने । मधेसबाट ल्याएको गाईले बडेमाको उर्लंदो खोलामाथिको त्यस्तो पुल जीवनमा सायदै तरेको थियो । पशुवृत्तिले केही संकेत दिंदो हो । तीन चौथाइ दूरीजस्तो घिसारेर पछि भने हिँड्दा रहेछन् । फर्कनुभन्दा अगाडि नै बढ्दा कम जोखिम छ भन्ने थाहा पाएझैं । एक पटक पुलको मुख थोरै के कटेको थियो, गाई फनक्क फर्कियो । अगाडिको व्यक्तिले हतासिएर पुच्छर समातेर तान्न थाल्यो । पुच्छर नै चुँडिएला भन्ने डर ! दुष्कर रहेछ हिमाली जीवन । एउटा बाछो त पुल तारिएपछि कर्णालीमै हाम फाल्यो । त्यत्रो उर्लंदो भेल पारै गरेर पारि पुग्यो । कारण अधिकांश गाईहरू पारि नै थिए । ताज्जुब लाग्यो । अपरम्पार पशुशक्ति । त्यसको कैलो रौं लछप्पै भिजेको थियो र पुन पुल तार्ने लाइनमै राखिएको थियो । बाछो देखेर मायै लाग्यो ।


साहुनीलाई सुनाएँ, ‘भरिया पाउन कति गाह्रो हो यहाँ । हाम्रोतिर यति पैसामा सजिलै पाइन्छ ।’ साहुनी बोलिन्, ‘यहाँ सबैले केही न केही गरेकै हुन्छ । बिहानै ६–७ वटा गाई पुल तारिदेऊ, सात हजार दिन्छु भन्दै घरमै आए बूढालाई खोज्न ।’ त्यस्तैमा एक जना विकासे कार्यकर्ता चियापसलमा छिरे । उनको टिसर्टमा लेखिएको थियो, ‘र्‍याप ३ ।’ रुरल एक्सेस प्रोग्राम ३ का कर्मचारी रहेछन् । हाल कर्णाली करिडोरमा सडक बनाउँदै गरेको परियोजना । यो बाटो हुम्लाको सिमकोट हुँदै यलबाङसम्म पुगेपछि कैलाश मानसरोवर जाने तीर्थालुहरू गाडीमा पनि आउने छन् । हाल पैसा हुनेहरू मात्र जहाज र हेली मार्फत तीर्थाटन गर्छन् । रारा भ्रमणमा आउने पनि सिमकोटसम्म उक्लन सक्छ । मुगु–हुम्ला सडकखण्डको पर्यटकीय लाभ दूरगामी हुनेछ । प्रदेश मन्त्रालयबाट पर्यटन गुरुयोजना बनाउने सिलसिलामा हिँडेको तर भरिया नपाएर अड्किएको बताएपछि उनले सहयोगी भावमा दुईवटा ट्याक्टर स्काभेटरको निम्ति इन्धन लिएर जाँदै छ, दस–पन्ध्र मिनेटमा तयार रहनुहोला भने । गमगढीबाट ओरालो झर्दा कच्ची सडकको धमिलो डोब भीरको अक्करमा देखेको थिए । डरलाग्दो । जोड हिँड्नमै थियो तर ट्याक्टर चढ्न बाध्य भयौं ।


परको घुम्तीबाट ट्याक्टर फुक्त निस्कदा भने खुसी भयौं । जिन्दगीमा पहाडी बाटोमा ट्याक्टरको यात्रा कहिल्यै गरेको थिइनँ । रोमाञ्चले भरिएँ । इन्धन भरिएको नीलो प्लास्टिकको ड्रममाथि बस्यौं । भर्खर ट्र्याक खोलेको कच्ची सडकमा ट्याक्टर धूवाँ पुत्ताउँदै गुड्न थाल्यो । गुड्यो के भन्नु, ढलपल गर्दै अगि बढ्यो । साँगुरो सडक, त्यसमा थप चढाइ । जोखिम थियो । चंखेली हिमाल पुन देखा पर्‍यो । मानौं स्वागत गर्न थुम्कोसम्मै आएको छ । सल्ला, धुपी र खस्रुको घना जंगल र कलकल गर्ने खोलाहरू छेउ हिँड्न थालेपछि त त्यो स्वर्गकै बाटाजस्तो अनुभूति भयो । उकालो चढ्दै जाँदा चिसो बतास सल्लाको खोटोले सुगन्धित बन्दै गयो । कठिनाइको बाबजुद सातथाप्लासम्म पुग्नेमा ढुक्क भयौं । भोलि सर्केगाड पुग्नैपर्थ्यो कारण पर्सि त गोष्ठी थियो । साँगुरो र उकालो घुम्तीमा यात्रा गर्नु बाध्यता भए पनि त्यसले विस्मयकारी अनुभवको अवसर दिएको थियो । यात्रा जति रोमाञ्चक, सम्झना उति प्रगाढ । कर्णालीको यो यात्रा दुर्लभ र रोमाञ्चक हुने पक्कापक्की थियो । आखिर आफ्नो यात्रा हामी स्वयम्ले गरेका थियौं ।


न मैले, न कसैले तिम्रो यात्राको बाटो हिँड्न सक्छ
यात्राको बाटो स्वयम् तिमीले नै हिँड्ने हो
टाढा पनि होइन, स्वयम्को समीपमा छ त्यो
हुन सक्छ जन्मैदेखि तिमी त्यसमा थियौं, मात्र थाहा पाएनौं
हुन सक्छ त्यो सर्वत्र थियो, जल र जमिनमा
–वाल्ट ह्विटमैन

प्रकाशित : असार २१, २०७६ १०:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्