समानताको लडाइँ

महिलाको विश्वकप फुटबलको फाइनल आइतबार फ्रान्सेली सहर लियोनमा हुँदै छ । र, यतिबेला फुटबलमा लैंगिक समानताको पक्षमा चर्को अवाज उठिरहेको छ ।
राजु घिसिङ

 डिफेन्डिङ च्याम्पियन अमेरिका र नेदरल्यान्ड्स महिला विश्वकप फुटबलको फाइनलमा आइतबार प्रतिस्पर्धा गर्दै छन्  । विजेताले ट्रफीसँगै ४० लाख अमेरिकी डलर हात पार्नेछ, जुन सन् २०१५ मा अमेरिकाले प्राप्त गरेको पुरस्कारभन्दा दोब्बर हो  ।

यो पुरस्कार पुरुष फुटबलको विश्वकपसँग तुलना गर्ने हो भने अत्यन्तै न्यून हुन्छ । विश्वकप २०१८ को च्याम्पियन फ्रान्सले ३ करोड ८० लाख डलर हात पारेको थियो ।


दुवै विश्वकप अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले आयोजना गर्छ । तर, यसपालि महिला विश्वकप सुरु हुनुपूर्व नै पुरुष र महिला फुटबलमा रहेको असमान पुरस्कार र व्यावसायिक प्रतिस्पर्धामा तलबको ठूलो भिन्नतालाई लिएर बहस चर्किरहेको छ । फ्रान्समा ७ जुनमा २४ देश सहभागी महिला विश्वकपको आठौं संस्करण सुरु भएको थियो र सेमिफाइनल सकिँदासम्म पनि लैंगिक असमानतालाई लिएर बहस उस्तै चर्किरहेको छ । पुरस्कारमा रहेको भिन्न्ता हेर्दा लाग्छ, महिलाले खेल्ने फुटबल र पुरुषले खेल्ने फुटबल फरक हो । खेल नै फरकजस्तो । त्यसैले लैंगिक समानताको आवाज फुटबलमा पनि नउठोस् पनि कसरी ?


फिफाले यसपालि महिला विश्वकपमा जम्मा ३ करोड छुट्याएको छ, जुन चार वर्षअघिभन्दा दोब्बर हो । उसले रुसमा गत वर्ष भएको पुरुष फुटबलको विश्वकपमा पुरस्कार मात्रै ४० करोड डलर दिएको थियो । फिफाले विश्वकपको तयारीमा टिमलाई दिने तयारी खर्चलाई हेरौं, पुरुष टिमलाई ४ करोड ८० लाख र महिलालाई १ करोड १५ लाख डलर । लगानीमा यति ठूलो अन्तर छ भने हामी कसरी पुरुष र महिला टिमबाट मैदानमा समान स्तरको खेल अपेक्षा गर्न सक्छौं । केही वर्षयता महिला फुटबलको लोकप्रियता ह्वात्तै बढेको छ । महिला फुटबलको क्लबको प्रतियोगितामा पनि ६० हजारसम्म दर्शकले रंगशालामा प्रत्यक्ष खेल हेर्ने भएका छन् । तर, फिफाको पुरस्कार र लगानीको ठूलो खाडल रहेसम्म महिला खेलाडीबाट पुरुष टिम समानको खेलस्तर आशा गर्नु मूर्खता नै हुनेछ ।


अहिले फ्रान्समा भइरहेको महिला विश्वकपको आठौं संस्करण हो । यसको उपाधि सन् १९९५ मा नर्वेले जितेको थियो । उसले दुईपल्ट युरोपियन च्याम्पियनसिप पनि जित्यो । तर, फिफा बेलन डिअर २०१८ (महिला) को विजेता एडा हेजहेजरबर्गले यो विश्वकप नै बहिष्कार गरिन् । उनले नर्वेजियन फुटबल महासंघले महिला टिम र खेलाडीप्रति गरेको व्यवहार र लगानीलाई लिएर विरोध गर्दै उनले विश्वकप नखेल्ने घोषणा गरेकी थिइन् । समानताका लागि लड्दा नारीवादी भनिएको भन्दै उनले गुनासो गरेका छन् ।अमेरिकी म्यागजिन ‘फोर्ब्स’ ले सन् २०१७ मा प्रकाशित गरेको एउटा तथ्यांकले पनि फुटबलमा महिला र पुरुष खेलाडीबीच रहेको तलबको असमानतालाई प्रस्ट पार्छ । ब्राजिली स्टार खेलाडी नेयमरले क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट वार्षिक ४ करोड ३८ लाख डलर लिन्छन् । महिला फुटबलमा फ्रान्स, जर्मनी, स्विडेन, इंग्ल्यान्ड, अमेरिका, अस्ट्रेलिया र मेक्सिकोको लिगलाई विश्वकै उत्कृष्ट मानिन्छ । ती सात लिगका सबै महिला खेलाडीको तलब जोडे पनि नेयमरको भन्दा कम हुन्छ । लैंगिक समानताका लागि अचेल अस्ट्रेलिया, अमेरिका, बेलायतलगायत चर्को आवाज उठाइरहेको छ, करोडौं लगानी पनि गरिरहेको छ । यी देशमा पनि महिला र पुरुष फुटबललाई तुलना गरेर हेरौं ।


अस्ट्रेलियाका पूर्वस्टार टिम काहिलले मेलबर्न सिटीबाट २०१६–१७ मा खेल्दा ३५ लाख अस्ट्रेलियन डलर तलब पाएका थिए, जुन त्यहाँ त्यो सिजन महिला लिगमा सहभागी १ सय ८१ खेलाडीको भन्दा बढी हो ।अमेरिकाको पुरुष फुटबल टिम विश्वकपमा क्वाटरफाइनलमाथि कहिल्यै पुगेको छैन र २०१८ को विश्वकपमा त छनोट नै भएन । अमेरिकी महिला फुटबल टिमले भने निरन्तर सफलता हात पारिरहेको छ । उसको महिला टिमले तीनपल्ट विश्वकप र चारपल्ट ओलम्पिक स्वर्ण जितेको छ । सन् २०१५ मा त्यहाँको फुटबल महासंघलाई पुरुष टिमको तुलनामा महिला टिमले २ करोड डलर बढी आम्दानी दिएको थियो । तर, तलबमा भने पुरुष खेलाडीसँग महिलालाई दाँज्ने अवस्था छैन ।एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट पुरुष खेलाडीले १३ हजार १ सय ६६ डलर पाउँछ भने महिलाले ४ हजार ९ सय ५० डलर । त्यसैले गत मार्चमा कार्ली लोयड, मेगान रोपिनोन, रेबेका साउरब्रन, होप सोलो, एलेक्स मोर्गानजस्ता स्टारसहित २८ खेलाडीले विश्वकपमा छनोट नभएको पुरुष टिमका खेलाडीलाई भन्दा थोरै तलब दिएको भन्दै रोजगारसम्बन्धी आयोगमा उजुरी दिएका थिए । त्यसको सुनुवाइ अहिलेसम्म भएको छैन । असमान तलबकै विरोधमा केही स्टार खेलाडीले यो विश्वकपपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा निमन्त्रणा गरे पनि नजाने घोषणा गरिसकेका छन् ।


बेलायतको महिला सुपरलिगका अधिकांश खेलाडीले वार्षिक १८ हजार पाउन्डभन्दा थोरै पाउँछन् । प्रिमियर लिगका खेलाडीको औसत तलब २६ लाख पाउन्ड छ । युरोपेली क्ल्बमा खेल्ने महिला खेलाडीले मासिक १–२ हजार युरो कमाइरहेका छन् । प्रतिखेल भत्ता १–२ सय डलर दिइन्छ । पुरुष फुटबलको तुलनामा यो दयनीय अवस्था नै हो । अरू देशमा जस्तो इंग्ल्यान्डमा असमान तलबको त्यति चर्को विरोध भएको छैन । अरू देशमा भने खेल नै बहिष्कार गर्नेसम्म भयो ।डेनमार्कको महिला टिमले त थोरै तलब दिएको विरोधमा नेदरल्यान्ड्सविरुद्धको मैत्रीपूर्ण खेल नै बहिष्कार गर्‍यो । स्विडेनविरुद्ध विश्वकपको छनोट पनि खेलेन । पुरुष टिमले ५ लाख डेनिस क्रोनर दिएर समस्या सुल्झाउने प्रयास गर्‍यो । तर, महिला फुटबल विकासमा लगानी गर्ने र ठूला प्रतियोगितामा छनोट हुँदा महिला खेलाडीको ६० प्रतिशत तलब बढाउने सहमतिपछि मात्रै समस्या समाधान भयो ।
अस्ट्रेलिया महिला टिमको भत्ता प्रतिखेल ५ सय थियो भने पुरुषको ७ हजार ५ सय डलर । चर्को विरोधपछि त्यहाँको लिगमा ३३ प्रतिशत तलब बढाइएको एक महिना पनि बितेको छैन । राष्ट्रिय टिमका खेलाडीको पनि पहिलो श्रेणीको ४१ हजार, दोस्रो श्रेणीको ३० हजार अस्ट्रेलियन डलर बनाइएको छ । बेग्लै भत्ता पनि पाउनेछ । पहिलाभन्दा दोब्बर वृद्धि भएको हो ।


अफ्रिकी च्याम्पियन भएलगत्तै नाइजेरियाली महिला टिमले असमान तलबलाई लिएर गत वर्ष होटलमै विरोध जनाएको थियो । न्युजिल्यान्डमा भने पुरुषसमान महिला खेलाडीलाई पनि तलब र पुरस्कार दिइएको छ । नर्वे महिला र पुरुष खेलाडीलाई बराबरी तलब दिने पहिलो देश हो, यसले सन् २०१७ अक्टोबरमा समान तलबको घोषणा गरेको थियो । नेदरल्यान्ड्सले पनि दुईदेखि चार वर्षभित्र समान तलब बनाउने जनाएको छ । ग्लोबल फुटबल इम्प्लोयमेन्ट रिपोर्टका अनुसार ३ हजार ६ सय व्यावसायिक महिला फुटबलरको मासिक तलब औसत ६ सय डलर मात्र रहेको छ । त्यसमध्ये आधा खेलाडीले त तलब नै नपाएको बताएका छन् । महिला फुटबलको लोकप्रियता भने बढिरहेको छ । फ्रान्समा भइरहेको आठौं विश्वकपको ७ लाख २० हजार टिकट तुरुन्तै बिक्री भएको थियो ।नेपालमा राष्ट्रिय टिमका महिला खेलाडीले मासिक १० हजार रुपैयाँ तलब पाउँछन् भने पुरुषले १५ हजार । पुरुषको लिग विजेताले ५० लाखदेखि १ करोडसम्म थाप्दा महिलाको च्याम्पियनले ५ लाख मात्र हात पारेको छ ।


फिफाले सन् २०१५ देखि २०१८ को चक्रमा १ अर्ब ८ करोड ५० लाख डलर कमाएको थियो । उसले गत वर्ष महिला फुटबलको प्रवर्द्धनमा २ करोड ८० लाख डलर मात्र खर्च गर्‍यो । उसले आउने तीन वर्षमा ४० देखि ५० करोड डलर महिला फुटबलमा खर्च गर्ने योजना ल्याएको छ । फिफाका हरेक सदस्याले महिला फुटबलमा आफ्नो बजेटको १५ प्रतिशत लगानी गर्नुपर्ने प्रावधान छ । तर, यसलाई धेरैले लत्याइरहेको अवस्था छ । फिफाले महिला फुटबललाई बेवास्ता गरेको आरोप छ । त्यसैले उसले यसापलि महिला विश्वकपको फाइनललाई कोपा अमेरिका र कन्काकाफ गोल्डकपको अन्तिम खेलसँग जुधाएको बताइन्छ ।

प्रकाशित : असार २१, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्

बर्मुडाको क्रुज

रामजीवी पन्त

मानव सभ्यताको क्रमिक विकास र नवीन आविष्कारले भौतिक जगत्मा ल्याएको परिवर्तन अद्भुत छ  । यसले मानिसको जीवनमा थपेको रोमाञ्चकता पनि अतुलनीय लाग्यो मलाई  ।

जब पहिलो पटक पानीजहाजमा लामो यात्रा गरियो । हाम्रो यात्रा बाल्टिमोरको बन्दरगाहबाट सुरु भयो । सन् १८१४ मा बेलायतसँग भएको युद्ध (ब्याटल अफ बाल्टिमोर) मा अमेरिकीहरूले यो बन्दरगाहलाई प्रयोग गरेका थिए । बाल्टिमोरबाट बर्मुडासम्मको ५ दिनको हाम्रो यात्रा क्यारेबियन क्रुजमा हुने तय भयो । साथमा थिए भाइ कृष्णजीवी र बालसखा भाइ राजन त्रिपाठी ।


पानीजहाजमा लामो यात्रा गर्नुअघि यात्रीहरूलाई केही विशेष ज्ञान र निर्देशनहरू दिइन्छ । हामी पनि पहिलो दिन ती निर्देशनहरू पाएपछि आफ्ना कोठातिर लागियो । सफा र सुन्दर कोठाको सजावट अविस्मरणीय थियो । एटलान्टिक महासागरलाई आफ्नो शयनकक्षबाट नियाल्द मलाई शान्त र विशाल समुद्र साँच्चिकै रोचक लाग्यो । अनन्तसम्म फैलिएको जस्तो लाग्ने नीलो पानी । पानीको सतहमा छाल, अन्तर्यमा हज्जारौं जीव । यी सबैलाई बोकेर कुनै लामो यात्रामा निस्केको यात्रीजस्तो लाग्ने सुन्दर समुद्र ।


समुद्रमाथि चिप्लिइरहेको पानी जहाजभित्र स्पा, साउना, क्यासिनो, जिम, पब, बार, स्विमिङ पुलका अलावा नाटकघर, सांगीतिक प्रस्तुति र पुस्तकालय पनि थिए । यी सबै चीजले गर्दा लामो यात्रा पनि यात्रीलाई लामो लाग्दैन । र, एकोहोरो यात्रा पट्यारलाग्दो हुँदैन । करिब ३ हजार यात्रुको व्यवस्थापान निकै कुशल थियो ।

जहाजका ‘क्रु’ हरूको सीप र दक्षता उत्कृष्ट थियो । स्वादिला परिकार त हुने भई नै हाले । कहिले नाटक त कहिले नृत्य हेर्दै, संगीत सुन्दै, डिस्कोमा नाच्दा–नाच्दै रात बितेको थाहा हुँदैन थियो । बर्मुडा टापुमा सन् १५०५ पहिलो पटक स्पेनको सामुन्द्रिक जहाजका क्याप्टेन जुन दी बेर्मुडेज पुगेको मानिन्छ । उनकै नामबाट यस टापुको नामकरण गरिएको इतिहास छ ।


बर्मुडाको नाम सुन्नेबित्तिकै धेरैको नाममा बर्मुडा ट्र्यांगलको छवि आउँछ । बर्मुडा ट्र्यांगलमा छिरेका ठूलाठूला जहाजहरू गायब भएका त्रासद कथाहरू छन् । यो ट्र्यांगल (त्रिभुज) को एउटा कोणमा फ्लोरिडा छ भने अर्कोमा बर्मुडा र तेस्रो कोणमा पोर्तोरिको छ । बर्मुडा ट्र्यांगल शब्दको पहिलो पटक प्रयोग अमेरिकी लेखक विनसेन्ट गड्डिसले सन् १९६४ मा ‘आरगोसी’ नाम पत्रिकामा ‘द डेड्ली बर्मुडा ट्र्यांगल’ शीर्षकमा लेख लेखेर गरेका थिए ।

यस ट्र्यांगललाई सैतानहरूको समुद्र पनि भन्ने गरिन्छ । यो ट्र्यांगलमा छिरेका अजंगका पानीजहाजहरूको अहिलेसम्म अवशेषसमेत नभेटिएका उदाहरण छन् । असामान्य रूपमा जहाजहरू गायब हुनुको कारण सामुद्रिक ज्वारभाटा र भुमरीहरू भएको वैज्ञानिकहरूको ठम्याइ छ । तैपनि, रहस्यहरू नसुल्झिएका कारण यो ट्र्यांगललाई रहस्यमयी नै मानिन्छ ।


सन् २०१७ को मे महिनामा स्काइलाइट समूहका संस्थापक तथा सीईओ जेनिफर ब्लुमिन ३ र ४ वर्षका छोराहरू जहाजमा गइरहेकी थिइन् । लिएर पाइलट नाथन उर्लिचले पुर्तोरीको नजिकै २४ हजार फिटमाथि जहाज उडाइरहेका थिए ।

फ्लोरिडाको पूर्वी समुद्र तटको सानो गाउँ तितुस भिल्लाका लागि उडेका उनीहरूको यात्रा बर्मुडा ट्र्यांगलमा आएर समाप्त भयो । हामी भने बाल्टिमोरदेखि बर्मुडासम्म ८ हजार १ सय ८५ किलोमिटरको यात्रा करिब ४५ घण्टामा पार गर्दै बिहान ११ बजे बर्मुडा ट्र्यांगललाई धेरै पर राख्दै गन्तव्यमा पुग्यौं ।

सन् १७०७ को स्कट्ल्यान्ड र इङ्ल्यान्ड एकीकरणपश्चात् यो टापु बेलायतको अधीन छ । कुल जनसंख्याको ५४ प्रतिशत काला जातिका रहेको यो टापुको मुख्य आयस्रोत कृषि र पर्यटन हो । ६७ हजार जनसंख्या रहेको यो टापु ट्याक्स हेवनका साथै गल्फरको स्वर्गका रूपमा पनि परिचित छ । ५३.२ वर्गमाइल क्षेत्रफल रहेको यो टापुमा ६ वटा गल्फ कोर्स छन् । बिहानको खाना खाएर बर्मुडाको राजधानी ह्यमिल्टन घुम्नलाई समुद्रको किनारै किनारै निस्कियौं ।

गल्फ कोर्स र समुद्र तटको दृश्य मनमोहक थियो । ह्यमिल्टन जाँदै गर्दा हरिया गल्फ कोर्सहरू देखेर मलाई ह्यम्जाबाट पोखरा जाँदा देखिने हरिया फाँटको याद आयो । हृयमिल्टनका नीला समुद्रले पोखराका नीला ताललाई सम्झाइदिए । यिनको समुद्रमा खाली एकै चीजको कमी थियो, माछापुच्छ्रे छाया ! त्यो त यिनले खोजेर पनि कहाँ पाउन् !


ह्यमिल्टन सहरमा कोट, हाफ प्याइन्ट, टाई, लामा मोजा अनि छालाका जुत्तामा सजिएका युवाहरू देखिन्थे । यिनको पहिरन देखेर मलाई अचम्म लाग्यो । साधारण सामुद्री तटमा मात्र पुगेको अनुभव भएकाले गुलाबी बालुवाको तटको सुन्दरता देख्दा प्रकृतिको सिर्जनालाई मानव कलाले उछिन्न गाह्रै पर्छजस्तो लाग्यो ।

प्रकाशित : असार २१, २०७६ १०:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्