कि जितेर हार्नु मुस्किल छ मुस्किल...

देवेन्द्र भट्टराई

सन् १९५० को दशक  । दार्जिलिङको गीतांगेडाँडा  । म्युनिसिपालिटीको इ–बिल्डिङमा वैरागी काइँलाहरू बस्थे । उनका लोकल गार्जियन थिए— मन्थुलाल क्षेत्री (जो पछि ईश्वरबल्लभका ससुरा बने) । मन्थुलाल आफैं सानोतिनो दुकान गर्थे । स्थानीय लेबरहरू आएर खान्थे, त्यहाँ बस्थे ।

उनै मन्थुलालको गोदामजस्तै कोठामा ‘खुराकीमा बसेका’ (पेइङ गेस्ट) थिए वैरागीहरू । हो, त्यही गीतांगेडाँडामा बार्दलीसँगै जोडिएको थियो— गायिका शान्ति ठटालको कोठा । अम्बर गुरुङ पनि नजिकै पल्टने बाबुको क्वार्टर मेरियम बस्तीमा बस्थे ।


गीतांगेडाँडासामुमा लामो बरन्डा जोडिएका घरहरू थिए, ती घरका बरन्डा बनिबनाउ मञ्चजस्तै थिए । त्यही बरन्डामा उभिएर भाषण दिनेहरू आइरहन्थे, सामु गीतांगेडाँडामा बसेर वा उभिएर भाषण सुन्नेहरू थुप्रै हुन्थे । त्यो बरन्डाजस्तो मञ्चले कस्तो लत बसाइदिएको थियो भने जोकोही पनि, सामुमा श्रोता/दर्शन नभए पनि भाषण दिन रुचाउनेहरू बरन्डामा उभिएर थालिहाल्थे— मन्तव्य राख्न । एक जना टीएस गुरुङ भन्ने स्थानीय पात्र पनि त्यहाँ थिए जो एक्लै भए पनि भाषण गर्थे र जान्थे । सुन्ने कोही नभए पनि नथाकुन्जेल भाषण गरिरहन्थे ।

नेपाली भाषा संरक्षण आन्दोलनको साक्षी पनि त्यही गीतांगेडाँडो छँदै छ । गणेशलाल सुब्बाको संयोजकत्वमा, आईबी राई महासचिव रहेको नेपाली भाषा कार्यान्वयन समिति बनेको थियो । विद्यार्थीका तर्फबाट तिलविक्रम प्रतिनिधि थिए । महिनौंसम्म त्यो आन्दोलन चल्यो । पछि नरबहादुर दाहाल मार्फत भाषा आन्दोलन सिक्किमतिर सल्कियो ।


आईबी राईको ‘आज रमिता छ’ उपन्यासको अन्तिम दृश्यमा त्यही गीतांगेडाँडो उभिएको छ । सन् १९५४ मा सरकारी हाइस्कुलमा कक्षा ८ मा भर्ना भएका थिए, त्यसबेलाका तिलविक्रम नेम्बाङ । सूर्यविक्रम ज्ञवाली रहेछन् हेडसर जो मिजासमा अलिक कडा थिए, भनिरहन्थे— ‘हेर केटा हो, तिमारको खुट्टा भाँचिदिन्छु... ।’ तिलविक्रमसहितका अल्लारे विद्यार्थीहरू सूर्यविक्रम हेडसरलाई कानेखुसीमा ‘भीम बूढा’ भनेर चिन्ने गर्थे । तिलविक्रम भने वादविवाद प्रतियोगिताहरूमा लग्गु थिए । वादविवादका विषय सनातनी थिए— ‘तरबार कि कलम बलियो’ टाइपका । दार्जिलिङमा आदरणीय नाम बनिसकेका इन्द्रबहादुर राई पनि त्यस्ता प्रतियोगितामा ‘जज’ बनेर आउने रहेछन् । कवि गुमानसिंह चाम्लिङ पनि प्रतियोगी रहेछन् । यो सबै विद्यार्थी तिलविक्रमलाई के थाहा ? स्कुले पढाइ सकेपछि तिलविक्रमहरू म्युनिपालिटीकै ‘के’ बिल्डिङमा भाडा बस्न गएका थिए । त्यहाँ सरेपछि कहाँबाट हो, हुत्तिएर आइपुगेछन् ईश्वरबल्लभ । यसअघि तराईको सर्लाही जिल्लामा नेता रामहरि जोशीसँग केही समय बसेर आएको भन्थे रे उनी । बल्लभ साह्रै छुच्चा थिए, मुखको ननिको ।


बल्लभले टर्नबुल स्कुलमा संस्कृत शिक्षकको जागिर पाएका थिए । मुसलमान केटाहरू अल्ताफ र अरूअरू बल्लभका साथी थिए । बल्लभ कथा भने उहिलेको तरिकाले निकै राम्रो लेख्थे, मातृक–छन्दमा कविता पनि लेख्थे । गद्य कवि र कविता भनेपछि सुरुमा नराम्ररी गाली गर्थे । पछि उनै बल्लभ ठूलो गद्य कविका रूपमा नेपाली साहित्यमा चिनिए ।

यसरी ६० वर्ष पुरानो इतिहासको लगालग सम्झना भैरहेको छ । इतिहासको त्यो घडीमा गीतांगेडाँडा, राजबाडी, भक्ते बस्ती, छोटा कागझोडा, मेरियम बस्ती, टिङलिङ चियाकमनातिर आ–आफ्ना ध्याउन्नमा डुलिहिंड्ने दुई ‘हिस्टोरिकल’ पात्रहरू आज सामुमा छन् । कवि वैरागी काइँला र गायिका शान्ति ठटाल अहिले ‘अरू भएजति आफन्तजनले छाडिगएपछि’ फड्के–साक्षी पात्रझैं विशालनगरभित्रको काइँला निवासमा भेला भएका छन् । स्थिति कस्तो छ भने ८० आसपासको उमेरमा एक जना ‘कान कम सुन्ने घडीमा’ उभिएका छन् भने अर्को साक्षी ‘आँखा कम देख्ने’ भएका छन् । तैपनि कुरा नित्यी छ, आलातुल ।


‘शान्तिजी, मैले पहिलो पटक बालकृष्ण समलाई दार्जिलिङमा देखेको थिएँ सन् १९५४ मा । ‘अमरसिंह’ भन्ने नाटक लिएर उनी आएका थिए । जीवनमै पहिलो पटक नाटक हेरेको थिएँ त्यहाँ,’ वैरागी ती दिन सम्झाइरहेका थिए । बीचैमा कुरो काटेर शान्ति दिदी बोलिहालिन् । ‘हो नि, त्यो नाटकमा स्वागत गीत मैले गाएकी थिएँ,’ थप जिज्ञासु बनेर उनी बोलिन्, ‘वसन्तको लहरमा, फूल फुलेको वहारमा, हाम्रो यो मिलनमा, तनमन छ विभोर... बोलको गीत थियो त्यो । गीतमा शब्द देवप्रकाश राई र संगीत शिवप्रसाद सिंहको थियो । सम्झनुहुन्छ, वैरागीज्यू ?’ ‘खोइ त्यो त सम्झिन्न । तर तपाईंले नाम लिनुभो नि, देवप्रकाश राई... । हो, ती भने दार्जिलिङे ‘आइकन’ थिए । दौरा–सुरुवाल, इस्टकोट लगाएर चट्ट परेर हिंड्थे । इस्टकोटको गोजीमा जहिल्यै रातो गुलाबको फूल हुन्थ्यो, नेहरू स्टाइलमा । ती असल र करिश्मा भएका पात्र थिए तर, बेलुका भएपछि जहिल्यै अलिक ज्यादा नै रसपान गर्थे । त्यो भने तिनको एउटै खराब बानी थियो,’ यसरी कुराकानी लहरो तान्दा पहरो बनिरहेको थियो ।

सन् ६० को छेउसम्मै सबैको आ–आफ्नै पारा थियो । बल्लभ, काइँला र आईबीको ‘तेस्रो आयाम’ सुरु भैहालेको थिएन । अम्बर, शान्ति, गोपाल योञ्जन, इन्द्र थपलियाहरूको लोकमनोरञ्जन शाखाको धुन पनि आ–आफ्नै थियो । वैरागीका अनुसार, १९६३ पछि भने आईबी, बल्लभ र आफू मिलेर सुरु गरेको साहित्यको तेस्रो आयामले नसोचेकै ख्याति कमायो । ‘हामी साहित्यमा आउनुअघि अम्बर, शान्तिजीहरू गीत–संगीतमा चिनिनुभएको थियो,’ वैरागीले सम्झिए, ‘हामीले साहित्यमा प्रवाह गरेको विचारको घोर विरोध भयो, त्यही विरोधले हामी पनि चिनिन थाल्यौं ।’


यसरी सिर्जनाको चिनारी बढेपछिको कुरो अर्कै थियो । ‘वैरागीज्यू हजुरले ‘मेरो दुःखी मन’ गीत भने किन, कहाँ र कसरी लेख्नुभयो नि ? कुनै राज छ कि यसमा ?’ कुराकानी चल्दै गर्दा यस पटक गायिका शान्ति आफैं पत्रकार बनेकी थिइन्, निकै हर्षको स्वरमा ।अघिल्लो साता पलेंटीमा पनि वैरागीको यो गीत सुनाउने पालो आएपछि शान्ति दिदीले भनेकी थिइन्, ‘बौद्धिकहरूले खुबै मन पराएको गीत थियो यो । मैले केही जमघटमा सुनें, वैरागी काइँलाको शब्दहरू सोझैहरूले त बुझ्नै सक्दैनन् नि हो... । मैले नि सुरुमा अलिअलि मात्रै बुझें । तर, ‘ट्युन’ मलाई एकदमै राम्रो लाग्यो । अम्बरजीले तिमी गाऊ भन्नुभयो एक दिन । अनि मैले गाएँ ।’यो सन्दर्भमाझ, प्रश्नवाचक अनुहार लिएर शान्तिले वैरागीतिर एकोहोरो हेरिरहिन् । फेरि शान्तिले थपिन्— ‘गाएपिच्छे मलाई सधैं अचम्म लाग्थ्यो, कुन सन्दर्भमा लेखेको होला यो दुःखी मन ?’


अनि हँसिलो बनेर वैरागी बोले— ‘हत्तेरी, यो केटौले हुँदाको कुरा नगरम् न । त्यत्तिकै लहडमा लेखेको । के को दुःखी न सुखी । हाहाहा... उहिलेको कुरा बिर्सिगयो । अहिले भन्नुपर्दा कारण बनाएर भन्नुपर्छ । बनाएको कुरो साँचो हुँदैन क्यारे ।’ फेरि शान्तिको जिज्ञासा थियो— होइन, ‘मेरो दुःखी मन’ को ठाउँमा ‘मेरो सुखी मन’ किन लेख्नुभएन ? ‘किनकिन... हत्तेरी, के सम्झिराखेको ? त्यस्तो केही होइन । फेरि लेख्नेले सबै कुरा आफ्नो जीवनमै घटित कुराहरू मात्रै लेख्दैन नि । कल्पना पनि लेख्छ नि । त्यो त्यस्तै हो क्यार, दुःखी मन । अहिले पनि प्रेमको गीत लेख्छन् नि कतिपय बूढाहरूले । मैंले एक ठाउँमा सोधेको थिएँ— तपाईंहरूमा ‘एथिक्स’ को कुरा छैन ? मोरल छैन ? भो, म भने सक्दिनँ अब,’ वैरागीको जवाफ कूटनीतिक सुनिन्थ्यो ।


अनेक हत्ते गरेपछि भने काइँलाले सन् १९६३ को एक हिउँद सम्झिए । टीबी रोगले थलिएको बेला डाक्टर जीएस गुरुङको देशबन्धु क्लिनिकबाट निस्केर राजबाडीमुनि भक्ते बस्तीमा बसेका रहेछन् उनी । त्यही बेला एकै बसाइमा ‘मेरो दुःखी मन’ लेखेका रहेछन् । अनि एउटा गाडीको ड्राइभरलाई दिएर अम्बरकहाँ पठाएका रहेछन् । धेरैपछि मात्रै संगीत भरेको ‘दुःखी मन’ सुनेका रहेछन् । ‘तर, मेरोभन्दा पनि राम्रो गीत अम्बरकै अर्को आयो नि फेरि । ‘आँधीबतासैमा तिम्रो शुभकामना काम लागेन मलाई... बोलको गीतले मलाई पो हुरुक्कै बनाउँछ,’ काइँलाले विनयी बनेर भने ।


अहँ, चित्त बुझेकै थिएन । ‘औंलाहरू चुमेर गीत भने कहिलेको हो ? निकै अर्थपूर्ण छ त...,’ शान्ति दिदीले फेरि सोधिहालिन् ।


‘त्यो गीतको पृष्ठभूमि, के हुनु र ?’ निकै खुलेको चेहरामा वैरागी जवाफी बनेका थिए—‘हाम्रो लिम्बूमा २/३ वटा शब्द खुबै चल्यो— फारसी र नेपालीकै । प्रभु भन्ने र हजुर भन्ने । मलाई भने लिम्बुनीको बुङबुङ गन्ध आउनुपर्ने खालको लेख्नुपर्‍यो भनेर लेखेको हुँ— औंलाहरू चुमेर... ।’


कवि काइँलाका बुझाइमा, यता काठमाडौंमा भने ‘मेरो हजुर’ को प्रयोग ‘हायर्की’ (सामन्ती) खालको छ । कुलीन घरमा, लवजमा ‘हजुर’ भनिन्छ यता । तर, लिम्बुवानमा एउटा लिम्बूले अर्की लिम्बुनीलाई सम्बोधन गर्‍यो भने ‘हजुर’ नै हुन्छ, ठ्याक्कै लिम्बुनीको गन्ध आउने सम्बोधन हो यो । अनि, एउटा सिनेमा हेरेको थिएँ— औंला चुमेर मेरो माया, मेरो हजुर भनेको पाएँ । त्यही भएर लेखेको हुँ ।
‘औंलाहरू चुमेर
औंलाभरि सलाम
मेरो हजुरलाई
आँखाभरि सलाम’
काइँलाका अनुसार, यही ‘हजुर’ पनि समान आदरार्थीमा चलेको छ कि ‘भर्टिकल’ (?) त्यो पनि अर्थ र उपयोगमा हेर्नुपर्छ । ‘हाम्रोमा एउटा जिम्दारको छोराले पनि भारी बोक्ने लिम्बुनी केटीलाई ‘हजुर सुब्बेनी साहेब’ नै भन्छ । केटीले पनि ‘हजुर सुब्बा साहेब’ नै भन्छन् । यो ‘एटिक्वेट’ को कुरा हो । यही कन्सेप्टमा ‘मेरो हजुर’ लेखेको हुँ । पछि थपथाप भयो, नक्सै अर्कै भयो,’ वैरागी लजाउँदै बोले, ‘अम्बरको संगीतमा मलाई कुरो बुझाएअनुसार, यो गीत ‘यमन कल्याण’ रागमा बनिएको रहेछ ।’

कुरैकुरामा वैरागीले सम्झिए— लेखक पिटर जे. कार्थकलाई । पिटरले कति कुरा सम्झन सकेको ? कस्तो बेजोडको मेमोरी ! सुरुमा वैरागीले पिटरलाई खुबै सह्राए, सम्झनामा । पिटरको हालै निस्केको किताब ‘नेपाली म्युजिकमेकर्स’ बारे वैरागीलाई केही भन्नु रहेछ । ‘यो पिटरले पनि व्यक्तिगत कुरो एकदमै कोट्याउँछ क्या, कस्तो–कस्तो लाग्ने,’ उनले रिभ्यु शैलीमा सुनाए, ‘त्यो पुस्तकमा कोहीकोहीलाई भने रिस उठ्ने कुरो लेखेको छ पिटरले । त्यसले रिसउठ्दोचाहिं नलेखेको भए हुन्थ्यो । तपाईं (शान्ति) लाई घमण्डी र साथीभाइसँग नमिल्ने भनेको रहेछ । आनीबानीमा कमेन्ट नगरेको भए हुन्थ्यो नि । मलाई त पिटरले ‘जुवाडे’ नै बनाएको छ त्यो किताबमा । २०३० सालमा म काठमाडौं आएको थिएँ । केही काम थिएन, सोल्टी क्यासिनो जाने बानी लाग्यो । पिटर पनि त्यहीं क्यासिनो गतिविधि निगरानी गर्ने इनिस्पेक्टर टाइपको केही रहेछ । त्यसले देखेको रहेछ । त्यही भएर मलाई जुवाडे बनाएको रहेछ ।’


यसरी शान्ति ठटाल सामुमा भएर होइन कि आफूलाई लागेको सधैंको कुरो भन्नैपर्छ बोलिरहेका थिए काइला । ‘शान्तिजीहरूले जीवनभर गरेको संगीतको साधना र सिर्जना आफैंमा आर्टजस्तै हो । उहाँहरूको पुस्ताले जीवनै अर्पण गर्‍यो यो साधनामा । साहित्यमा भने म आफूले ‘गरिटोपलेको’ मात्रै हो । मेरा टोटल कविता जोड्दा ३० भन्दा बढी भएका रहेनछन् । कसैकसैले प्रश्न पनि गरेछन्— ३०/४० वटा किताब लेख्नेहरू यहाँ छँदै छन्, ३० वटा कविता लेख्नेलाई एकेडेमीको कुलपति बनाउने ?’ काइँला रसिक पनि देखिए, ‘होइन, म कहीं दरखास्त दिएर कुलपति बनेको हो र ? मलाई के भन्छौ, गएर प्राइममिनिस्टरलाई कुट । दिमाग त प्रधानमन्त्रीको पो ‘सट’ भएको हो त भनेर जवाफ फर्काएँ ।’


कुराकानीका हरफैपिच्छे काइँला अम्बर र आईबी सम्झिरहेका थिए । ‘आईबी दाजु भन्थे— लुभ्र गएर अथवा पेरिस पुगेर मोनालिसा देख्यौ भने त्यो आर्ट हो । त्यही मोनालिसाको फोटो खिचेर बजारमा बाँड्यौ भने त्यो ‘कमोडिटी’ हो । फरक यत्ति हो— भित्ताको आर्टभन्दा खिचेको फोटो राम्रो आयो, तैपनि त्यो उत्पादन मात्रै हो । सिर्जना होइन,’ उनले जोडिहाले—‘शान्ति, अम्बर, अगमसिंहहरू भनेका आर्ट हुन् । यी कहिल्यै उत्पादन बनेनन्, बजारमा गएनन् ।’


काइँलाका भोगाइ र बुझाइमा यसरी नै जिन्दगी बित्यो । जे गर्ने हो, राम्रै गर्ने हो भनेर गरियो । त्यसबाट कुनै प्रकारको प्रतिदान (हातलागी) को आस गरिएन । गरेको काममा भावनाको पनि ‘भ्यालु–एड’ भयो कि जस्तो लाग्छ । यही कारण थोरै लेखेर पनि मूल्य अभिवृद्धि कर बढेको होला कि भन्ने लाग्छ उनलाई । तर अहँ, अझै शान्ति दिदीको जिज्ञासा सकिएको रहेनछ । ‘दार्जिलिङ हुँदा तपाईंले कुनकुन गीत लेख्नुभयो ? त्यसपछि ?’ जिज्ञासा थियो । ‘खासमा म भने एक्ले ढेडुजस्तै थिएँ । कहींकतै धेरै नमिसिने । मैले दार्जिलिङ हुँदै लेखें होला ४/५ गीतहरू । अनि त बन्द भैहाल्यो नि,’ काइँला फेरि हाँसेर जवाफी बने । अस्ति भर्खरै इलामबाट फर्कंदै गर्दा हुरहुरे कमान छेउमा अचानक गायक गणेश रसिकसँग भेट भएको रहेछ । त्यहाँ रसिकले पो सम्झाइदिएछन्, एउटा बिर्सेको गीत । अनि उनैले कपीमा सारेर दिएछन् पनि । गीतको बोल छ— सेउली राखे सुकिजाला, केको छोडौं चिनो भन बिदाइको देउरालीमा... ।


अनि काइँलाले टिपाए सूची— आए सबै यादहरू, खोजिरहेछु निस्तार प्यार आदि । यसबाहेक भने, काइँलाका शब्दमा केही ‘झ्याङ्झुङे’ गीत पनि रहेछन्, अलिक सस्तो खालका । कर्म, मानवीरहरूको करकापमा नाटकका लागि लेखेको । तर, शब्दको उति याद छैन ।

काइँलाका भोगाइमा, उमेरको यो झन्डै बिसौनीमा आएपछि, अझ यो बूढेसकाल भनेपछि एउटै काम हुने रहेछ— बितेका कुरा सम्झने । अब नयाँ कुरा, अगाडि बढ्ने ठाउँ छैन । अनि पुराना कुरा सम्झ्यो, बस्यो । पुराना लेखेका कुरामा अल्मलियो । ‘केही गरौं भने हामी बूढाको मार्केट नै छैन । संसारमा ‘लेखक मर्‍यो’ भनेर त्यसै आएको होइन रहेछ,’ उनले थपे, ‘अहिले एकदमै ‘सेलेक्टेड’ केहीले मात्रै सुन्छन् हामीलाई, पढ्छन् हामीलाई ।’


उनलाई कतिपय अर्थमा, साहित्यको उहिलेको नामले अहिले पेन्सनपट्टा थापेजस्तै लाग्ने रहेछ । यसो बाटोमा हिँड्दा ‘कविज्यू’ भन्छन्, नमस्कार गर्‍यो अनि बाटा लाग्यो । अथवा धेरै भए, लु त एउटा नक्सा खिचिहालम् भन्छन्, अनि नक्सा खिच्यो र बाटा लाग्यो ।


बरु ‘समयवी’ शान्ति ठटाल भने अझै पनि गानाबजानामा लागिरहेकोमा काइँलालाई टीठ लाग्दो रहेछ । ‘त्यो गीत तपाईंले गाएको होइन ? सम्हालेर राख, सँगालेर राख...,’ काइँला शान्तितिर फर्केर प्रश्न गर्दै थिए— ‘यो यत्ति राम्रो गीत छ बाफरे... । शब्द गजबकै छ, संगीत उस्तै छ । अम्बरको यो गीत सुन्दा मलाई लाग्छ— अम्बर म्युजिसियन नभएको भए ‘टप पोएट’ हुने थियो, ठूलो कवि । आईबी दाजु पनि यसै भन्नुहुन्थ्यो ।’


वैरागी र शान्तिको संवादमा एउटा साझा मन्तव्य सुनिन्थ्यो— जीवनलाई अलिक नजिकबाट छामेर हेर्ने खालको शब्द र धुन अहिले पाउनै मुस्किल छ । अहिले हाहाहुहु बढी छ । उहिले आर्ट थियो, अहिले कमोडिटी बढेको छ । केएफसीमा गएर हट–डग खायो, कागजको प्याकेट फ्याँकेर हिँड्यो... सक्किगो भनेजस्तै भएको छ । अहिलेको गीत एकबार सुन्यो, सक्किगो । हटडग खाएजस्तै । लिम्बुवानमा एउटा भनाइ चल्तीमा रहेछ— उफ्रेपछि नाचेकै हो, कराएपछि गाएकै हो । अहिलेको ‘शैली’ भने यस्तै रहेछ ।


‘अब शान्तिजीहरूले गाएको गीत भने एक्लै भए पनि सम्झन, गुनगुनाउन मन लाग्छ । कहीं भएन भने ट्वाइलेटमा भए नि म ‘हमिङ’ गरिरहेको हुन्छु,’ यति भनेर, अनि आफैं अट्टाहास हाँसे काइँला ।


यसरी अनेक कुराको सम्झना भयो । वैरागीको घरमा २ घण्टा लामो बात गरेपछि शान्ति दिदी अटेरी बच्चाझैं सोधिरहेकी थिइन्— सधैं हार किन रोज्नु ? मनले सपना किन नदेख्नु ? खोइ, काइँलाज्यू जवाफ आएन नि ।
काइँला भने मुसुमुसु हाँसिरहेका थिए, नाजवाफ चेहरामा ।
मेरो दुःखी मन सपना नखोज
कि ब्युँझेर बाँच्नु मुस्किल छ मुस्किल

मेरो दुःखी मन सधैं हार रोज
कि जितेर हार्नु मुस्किल छ मुस्किल...।

प्रकाशित : असार २१, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्

अफगान असफलता

हिमेश

 अन्ततः अफगानिस्तान विश्वकप क्रिकेट २०१९ को चुत्थो टिम सावित भयो  । यसपल्टको विश्वकपमा छनोटका लागि दुई स्थान उपलब्ध थियो, त्यसबाट छानिने दुई टिम थिए— अफगानिस्तान र वेस्ट इन्डिज  ।

संयोगले यिनै दुई टिम नै पुछारतिर रहे । अफगानिस्तान त वेस्ट इन्डिजभन्दा पनि पछाडि रह्यो । जस–जसले वान–डे क्रिकेटको विश्वकपमा धेरै टिम हुनु हुन्न भन्छन्, उनीहरूका लागि चिताएजस्तै नतिजा हो ।


नत्र ज–जसले वान–डे विश्वकपमा बढीमा १६ टिम हुनुपर्छ भन्छन्, त्यसका लागि यो खराब नतिजा हो ? विशेषतः जसरी अफगानिस्तानले यो विश्वकप खेल्यो, त्यो वास्तवमै निराशाजनक रह्यो । वेस्ट इन्डिजभन्दा पनि अफगानिस्तानको खेलमा हाम्रो रुचि हुनु स्वाभाविक नै हो । यो त्यही टिम हो, जसले नेपाली क्रिकेटको नाकमुनिबाटै लोभलाग्दो प्रगति गर्‍यो र हामी हेरेको हर्‍यै भयौं । हामीले ईर्ष्या मात्र गर्न सक्यौं । अब त हामीले अफगानिस्तान क्रिकेटलाई छुन पनि गाह्रो हुन सक्छ । यही टिमले विश्वकप खेलिरहेका अरू टिमलाई भने छुन सकेन । यस्तो किन भयो त ?


उत्तर खोज्न प्रयास सुरु भएको छ र यसका केही कारण पनि देखिन्छन् । पहिलो ठोस कारण हो, कम अनुभव । अफगानिस्तानले विश्वकप क्रिकेटको माथिल्लो स्तरमा खेल्न थालेको धेरै भएको छैन, खालि केही वर्ष न हो । यसबीच उसले केही सम्झनयोग्य जित पनि निकाल्यो । यसमध्ये अधिकांश जित आफूभन्दा मुनिकै थिए, आयरल्यान्डजस्ता टिम । अफगानिस्तानले २०१५ को विश्वकप पनि खेलेको थियो, त्यति बेला प्रतियोगिताको ढाँचा नै बेग्लै थियो । यसपल्टको विश्वकपमा सहभागी १० टिममध्ये सबैले सबैसँग खेल्नुपर्छ । यही कारणले अफगानिस्तानी क्रिकेट पनि वास्तविक परीक्षाबाट गुज्रियो, अनि थाहा भयो– अफगान क्रिकेटले सिक्नुपर्ने त अझै धेरै रहेछ, गर्न बाँकी धेरै रहेछ ।


अफगानिस्तानले यति ठूलो प्रतियोगितामा यति धेरै खेल यसअघि कहिल्यै खेलेकै थिएन, त्यो पनि सबै आफूभन्दा माथिका टिमसँग । सीधा सीधा भन्दा अफगानिस्तानको क्रिकेट स्तर अझै कमजोर नै छ । यसले जे जति चर्चामा रहन जित निकालेको थियो, त्यो आफू जत्तिकै टिमविरुद्ध थियो, होइन भने आफूभन्दा कमजोर नै । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का लागि लेख्दै अफगानिस्तानका पूर्वखेलाडी मिर्वाइस असरफले भनेका छन्, टिममा यति ठूलो प्रतियोगिता खेल्ने अनुवभ नै थिएन । उनको ठहर थियो, ‘विश्वकपमा अफगानिस्तानले केही राम्रो गर्छ भन्ने अपेक्षा छ भने त्यसका लागि पर्याप्त अनुभव चाहिन्छ । सबैले के बुझ्नुपर्छ भने विश्वकपमा अफगानिस्तानले गरेका सबै टिम अब्बल दर्जाका हुन् । यी टिमविरुद्ध खेल्नु कहिले पनि सजिलो हुन्न । त्यसैले विश्वकपजस्तो प्रतियोगिताबाट अफगानिस्तानले रातारात केही गर्छ भनेर अपेक्षा धेरै गर्नु हुन्न ।’ हुन पनि बंगलादेशजस्तो टिमलाई अहिलेको स्तरसम्म पुग्न पनि धेरै समय लाग्यो ।


अफगानिस्तानका लागि तीन वर्षअगाडि अन्तिम पटक खेलेका असरफ के पनि मान्छन् भने विश्वकप ठूलो शिक्षाका रूपमा रह्यो । त्यो अर्थमा लगभग सबै हारेर पनि सबैभन्दा ठूलो विजेता रह्यो, अफगानिस्तान नै । एउटै प्रतियोगितामा सबै माथिल्लो वरीयताका टिमसँग खेल्नु पाउनु भनेको अफगानिस्तानका लागि भाग्य पनि हो । असरफकै भाषामा अफगानिस्तानले इंग्लिस भूमिमा जे जत्ति खेल्यो, त्यसमा गर्व गर्दा नै हुन्छ, त्यसले पछि काम गर्नेछ । यी त भए, पर्दाअगाडिका कुरा । पर्दापछाडिका विवाद र कलहले पनि टिमको प्रदर्शनका निकै खराब प्रभाव पार्‍यो । सबैलाई के राम्रोसँग थाहा छ भने अफगानिस्तानको क्रिकेटमा पनि फोहोरी राजनीति चल्छ । यही राजनीतिकै कारण त्यहाँका खेलाडी पनि दुई अलग र विरोधी धारमा विभाजित हुन्छन् । विवाद र कलह नहुँदो त अफगानिस्ताको प्रदर्शन वास्तवमै यति कमजोर हुने थिएन । कम्तीमा सायद केही खेल त जित्थ्यो नै ।


विश्वकप सुरु हुन ठीकअगाडि नै अफगान क्रिकेट एउटा नचाहिंदो विवादमा फस्यो । विश्वकप सुरु हुन दुई महिना मात्र बाँकी थियो, त्यहाँको क्रिकेट बोर्डले नयाँ कप्तान नियुक्त गर्‍यो, गुलबदिन नइबका रूपमा । विश्वकपअगाडि धेरैले अचम्म मानेका पनि हुनुपर्छ, आखिरमा यी नइब हुन् को ? यसअघिका कप्तान थिए, असघर अफगान । यिनी भने सबैले चिनेका खेलाडी हुन् । त्यसैले उनको नाम आउँदा लाग्थ्यो, यी असली कप्तान हुन् ।
हुन पनि अफगानिस्तानले गम्भीर रूपमा क्रिकेटमा प्रगति गरेको यिनकै नेतृत्वमा हो । त्यसै क्रममा अफगानिस्तानले पछिल्लो एसियाकपमा बंगलादेश र श्रीलंकालाई पनि हरायो । अझ भारतविरुद्धको एक खेल टाईसमेत भयो । असगर कति आत्मविश्वासी कप्तान थिए भने उनलाई तीन खेलाडीमा खुबै विश्वास थियो र तीनै जना स्पिनर थिए, रसिद खान, मुजिब उर रहमान र मोहम्मद नाबी । उनी केसम्म भन्थे भने यी तीन खेलाडी छन् भने जस्तै स्कोरको पनि रक्षा गर्न सकिन्छ ।


त्यही बेला रसिद भन्थे, ‘विश्वकपको ठीकअगाडि कप्तान फेरिनु राम्रो होइन । यसले टिमको प्रदर्शनमा फरक पार्छ । असघर नै कप्तान रहनुपर्थ्यो ।’ नाबीले पनि त्यसमा होमाथि हो थपे । सबैको एउटै राय थियो, कप्तान नै फेरिनु थियो भने विश्वकपपछि गरे भइहाल्थ्यो नि । विश्वकप सुरु हुनुअगाडि पुराना प्रशिक्षक कबिर खानले पनि ठोकुवा गरेका थिए, हेर्दै जाऊ, कप्तान परिवर्तन गरेको कारणले टिमको प्रदर्शनमा नकारात्मक असर पर्छ ।
अझ उनले केसम्म भने भने यो सबै परिवर्तन राजनीतिक कारणले हो । विश्वकपको लिग चरणका खेल समाप्त हुने क्रममा यी सबै दाबी सही ठहरिएका छन् । नइब खासमा कच्चा खेलाडी नै हुन्, कच्चा खेलाडी कच्चा कप्तान हुने भए नै । अफगानिस्तान यसपल्ट दुई अवसरमा जितको नजिक पुगेको थियो, एक पल्ट भारतसँग, दोस्रो पल्ट पाकिस्तानसँग । विशेषतः पाकिस्तानविरुद्धको खेल त धेरै लामो समय अफगानिस्तानकै पकडमा थियो ।


खेलको निर्णायक मोड रह्यो ४६ औं ओभरमा । यसअघि नाबी, रहमान र खानले पाकिस्तानलाई संघर्ष गर्न बाध्य पारेका थिए । पाकिस्तानलाई त्यस स्थितिमा सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्न निश्चित जित आवश्यक थियो । खेलको ४५ ओभर सकिंदा चार विकेट हातमा रहेको स्थितिमा पाकिस्तानलाई ३० बलमा ४६ रन चाहिएको थियो । लगत्तै अर्को ओभरमा खेल नाटकीय रूपमा पाकिस्तानको पक्षमा मोडियो ।
इमाद वासिमले त्यस नइबको त्यस ओभरमा तीन चौका प्रहार गरे । अझ नइबले एक बल वाइड पनि फाले । त्यसयता पाकिस्तानलाई २४ बलमा २८ रन चाहिएको स्थिति तयार भयो र टिम थप दबाबमा आएन । नइबले ९.४ ओभरमा कुनै विकेट लिन सकेनन् र उल्टै ७३ रन खर्चे । पछि नइबले आफैंले बलिङ गर्नुपर्ने कारणको बचाउ गर्न नाटक पनि गरे । तर कसैले पत्याएनन् । सबैले माने, अफगानिस्तान हार्‍यो किनभने नइबले राम्रो गर्न सकेनन् ।


केही समय भयो, अफगानिस्तानमा बोर्ड र खेलाडीबीच झगडा सुरु भएको । बोर्डले यही निहुँमा अफगान क्रिकेटलाई सफा गर्नु पर्छ भनेर नयाँ नयाँ नियुक्त गरे, बोर्डको नेतृत्वदेखि खेलाडीको नेतृत्वसम्म । अहिले अफगान क्रिकेटमा ठ्याक्कै दुई समूह छ, त्यही परिवर्तन गर्नु पर्छ भन्ने बोर्ड र त्यसमा फरकमत राख्ने सिनियर खेलाडीको समूह । यसै कारण टिममा चर्को बेमेल छ । अब यस्तो कलह चलिरहेको टिमबाट विश्वकपमा कसरी ठूलो अपेक्षा राख्नु ?
twitter : @himeshratna

प्रकाशित : असार २१, २०७६ १०:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्