कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

११ सय वर्षअघिको कथा

सुरेश किरण

प्रामाणिक स्रोतहरूको अभावका कारण आजभन्दा ११ सय वर्षअघिको यथार्थ नै पनि प्रस्ट वर्णन गर्न कठिन छ  । त्यसमाथि त्यही कालखण्डलाई कल्पनामा उतार्नु झन् कठिन कार्य हो  ।

११ सय वर्षअघिको कथा

किनभने कल्पनाले यथार्थमा नभएका अरू तत्त्वहरूको पनि माग गर्छ जसले यथार्थको चित्रलाई अझ वास्तविक बनाउन सकियोस् । उपन्यासकार मल्ल के. सुन्दरले आफ्नो उपन्यास ‘शंखधर’ मा ११ सय वर्षअघिको त्यो धूमिल यथार्थलाई कल्पनाका माध्यमले प्रस्ट पार्ने जमर्को गरेका छन् ।
नेपाल संवत्का संस्थापकका रूपमा शंखधर साख्वाःको चर्चा भएको धेरै भइसक्यो । उनलाई नेपाल सरकारले राष्ट्रिय विभूतिको उपाधिले समेत विभूषित गरिसकेको छ । उनै राष्ट्रिय विभूतिको व्यक्तित्व उजागर गर्ने प्रयत्नको रूपमा मल्लले यो उपन्यास लेखेका थिए, नेपालभाषामा । हालै त्यसको नेपाली अनुवाद प्रकाशित भएको छ । उपन्यासको नाम ‘शंखधर’ भए पनि यो केवल शंखधरकै बारे मात्र बोल्ने कृति भने होइन । बरु शंखधरलाई माध्यम बनाएर ११ सय वर्षअघिको नेपालको सामाजिक–सांस्कृतिक इतिहास बताउने काम यो कृतिले गरेको छ ।
राष्ट्रिय विभूति शंखधर साख्वाःका बारे अहिलेसम्म हामीले पढ्दै आएको ‘टु लाइन स्टोरी’ भनेको उनी काठमाडौंका एक व्यापारी थिए, सम्भवतः सुनसम्बन्धी काम गर्थे, आफूले व्यापार व्यवसाय गरी कमाएको धन खर्चेर उनले ऋणमा डुबेका सबै जनताको ऋण तिर्ने उपकारी काम गरे र त्यसैको सम्झनामा नयाँ संवत् ‘नेपाल संवत्’ को प्रचलन सुरु गरे, यत्ति हो । यो त इतिहासको एउटा ठूलो घटना मात्रै भयो । इतिहासलाई त्यो घटनासम्म डोर्‍याउने तत्कालीन राजनीतिक–सामाजिक परिवेश, सेरोफेरोका अन्य परिघटनाहरू र तत्कालीन समाजको संरचनाबारे आजसम्म न कसैले लेखेको छ न कल्पना नै गरेको छ । आजसम्म कतै नगरिएको यो ऐतिहासिक परिकल्पना नै ‘शंखधर’ को प्रमुख विशेषता हो ।
शंखधर साख्वाःको निवास काठमाडौंको मरुटोल वरिपरि हो । अतः उपन्यास ११ सय वर्षअघिको मरुटोलदेखि सुरु हुन पुगेको छ । त्यतिबेला मरुटोलबाट प्रस्टै देखिने नागार्जुन र शिवपुरीको डाँडा, विष्णुमती मात्र होइन, त्यसमा मिसिन आउने अरू सहायक नदीहरूमा समेत बग्ने कञ्चन पानी, कंकेश्वरी पछाडिको घना जंगलजस्ता चित्रणले पाठकलाई ११०० वर्षअघिको ‘भर्जिन’ काठमाडौंतिर फर्काउँछ ।
काठमाडौं नगरको प्राचीन बस्ती अहिलेको हाँडीगाउँ–मालीगाउँ क्षेत्रतिर रहेको पुरातत्त्वविद्हरूको दाबी छ । नेपालकै सबैभन्दा पुरानो शिलालेख (राजा जयवर्माको मूर्तिसहित) मालीगाउँमै भेटिएको थियो । तथापि त्यसमा प्रयोग गरिएको संवत्बारे इतिहासकारहरूबीच अझै मतैक्य हुन सकेको छैन । उपन्यासकार मल्ल भने इतिहासको त्यो रौंचिरातिर नगई सिधै मालीगाउँको तत्कालीन समाजतिर प्रवेश गर्न पुग्छन् जहाँ शंखधर साख्वाःको प्रेम बस्न पुगेको थियो तुयुमतीसँग । त्यसलगत्तै हाडीगाउँमा भएको भीषण आगलागी, त्यसमा परी प्रेमिका तुयुमतीको निधन आदि घटनाहरूपश्चात् शंखधरले विष्णुमतीमा स्वर्णकण खोज्ने व्यवसाय सुरु गरेको कल्पना यसमा गरिएको छ ।
यसै क्रममा एक दिन आएको सलहले सम्पूर्ण नगरवासीको वाली सखाप पारेपछि जनतामाथि परेको आर्थिक संकटले शंखधरलाई अधीर बनाउँछ । खडेरी र सुक्खाले पूरा मुलुक पीडित हुन पुगेको हुन्छ । त्यही बेला पशुपतिको मृगस्थलीमा ध्यानस्थ वज्रयानका महासिद्ध गुरु नारोपादसँग शंखधरको भेट हुन पुग्छ । उनैबाट पाएको दान र त्यागको दीक्षाले शंखधरभित्र सांसारिक क्षणभंगुरताको दर्शन प्रज्वलित बन्छ । र, आफूसँग भएको अथाह सम्पत्तिलाई दीनदुःखी तथा ऋणमा डुबेका सर्वसाधारणको हितमा समर्पण गर्ने निर्णयमा उनी पुग्छन् । एक दिन राजासहितको एक समारोहबीच शंखधरले सम्पूर्ण ऋणी जनताको ऋण चुक्ता गरेको घोषणा हुन्छ । त्यसै दिनको सम्झनामा मुलुकमा देशकै नामबाट नयाँ संवत् सुरु भएको आदेश दिइन्छ ।
कथाका हिसाबले ‘शंखधर’ धेरैले सुनिसकेको पुरानै कथाकै पुनर्वाचन मात्रै हो । तर कथा वाचन गर्न शंखधरकालीन नेपाली समाजको रहनसहन, वेशभूषा, जीवन पद्धति, नगर संरचना, वातावरण आदिको जीवन्त चित्रण गर्न भने उपन्यासकारले इतिहास, पुरातत्त्व, समाजशास्त्र र भाषाविज्ञानका धेरै ग्रन्थहरूको अध्ययन र अनुसन्धान गरेका छन् । सय पेजको एउटा सानो उपन्यास लेख्न यति धेरै ग्रन्थहरूमा छिर्नु त्यो आफैंमा अर्को महत्त्वपूर्ण पक्ष हो । तत्कालीन नेपालको प्रशासन, जनजीवन, संस्कृति, घर व्यवहारमा प्रयोग हुने पुरानै शब्दहरूले पनि उपन्यासको धेरै ठाउँमा स्थान पाएका छन् जसले परिवेशको गहिराइ बुझ्न ठूलो सहयोग गरेको छ । यी सबैको संयोजनबाट शंखधर साख्वाःलाई पात्र बनाई आजभन्दा ११ सय वर्षअघिको नेपाल, नेपाली समाज, राजनीतिक परिवेश र सामाजिक जनजीवनको सजीव चित्रण गर्न उपन्यास सफल भएको छ । मूल नेपालभाषामा लेखिएको यो उपन्यासलाई साहित्यकार अगिव बनेपालीले मिहिनेतसाथ नेपालीभाषामा अनुवाद गरेका छन् जसलाई राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले प्रकाशन गरेको हो ।

शंखधर
लेखक : मल्ल के. सुन्दर
प्रकाशक : राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान
मूल्य : रू. ३२५/–

प्रकाशित : असार २८, २०७६ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?