कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्राजाकी सम्झिँदा...

सुनील पुरी

‘दाजु नमस्कार !’२०५० साल असारको सिमसिमे झरीमा अचानक भेटिनुभएका चर्चित कथाकार, गजलगो मनु ब्राजाकीलाई मेरो यो पहिलो नमस्कार थियो  । ब्राजाकी औरही छोडेर भर्खर–भर्खर काठमाडौं आउनुभएको थियो  ।

ब्राजाकी सम्झिँदा...

ब्राजाकी औरही छोडेर भर्खर–भर्खर काठमाडौं आउनुभएको थियो । तिनै दिनमध्येको एक दिन बिहानैदेखि सिमसिमे पानी परिरहेको थियो ।


कलंकी चोकमा अचानक उहाँ मेरो आँखामा पर्नुभयो । मनमौजी किसिमले हिँडिरहेको अवस्थामा । संयोगवश मैले उहाँलाई कलंकीको जेब्राक्रस नजिकै भेट्टाएँ ।
त्यतिखेर मैले उहाँको ‘अवमूल्यन’, ‘तिम्री स्वास्नी र म’ कथासंग्रह पढिसकेको थिएँ । यी कृतिहरू पढेर उहाँप्रति मेरो मनमा एकदमै आदरको भावना पलाएको थियो । प्रारम्भिक चरणमा म जब साहित्यमा लागेको थिएँ, त्यतिखेर नै मनु ब्राजाकीलाई चिनेको थिएँ, अप्रत्यक्ष रूपमा । साक्षात्कार भने त्यही थियो । पत्रपत्रिकामा फोटो देखेको हुनाले त्यही विम्बले उहाँलाई चिनायो ।


तराईमा मेरो गाउँ धनुषाको धनौजी हो, उहाँको छिमेकी जिल्ला महोत्तरीको औरही । उहाँ आफ्नो हरेक रचनाको अन्तमा ‘औरही, महोत्तरी’ लेख्नुहुन्थ्यो । मधेसको परिवेश हाम्रो एउटै भएकाले पनि उहाँप्रति म बढी आकर्षित भएको थिएँ । तर त्योभन्दा पनि म उहाँका कृतिको एउटा असल पाठक थिएँ । कलंकीमा अचानक देखेपछि मैले ‘मनु दाजु’ भनेर सम्बोधन गरें । पछाडिबाट कसले बोलायो भनेर उहाँ छक्क पर्दै फर्कनुभयो । मैले आफ्नो परिचय दिएँ । उहाँले ‘ए हे, सुनील भाइ... तपाईं गजल लेख्ने हो ?’ भन्नुभयो ।


त्यो बेलामा म गजलहरू प्रारम्भिक चरणमा लेखिरहेको थिएँ । पत्रिकामा छापिँदै पनि थिए । त्यही आधारमा उहाँले ‘सुनील पुरी’ नाम सम्झिरहनुभएको रहेछ । थाहा पाएर म एकदम गौरवान्वित भएँ । त्यो दिन सामान्य चिनजानपछि कहाँ बस्ने, के गर्ने भन्ने कुराहरू भयो । मैले ‘पुल्चोकमा बस्छु दाजु, दमकलनेर मेरो पुरानो झिँगटीको घर छ,’ भन्दा उहाँले ‘ए त्यो घर त मैले देख्या छु, म बसेको पनि छु, त्यसमा नारायण दाजुको डेरा थियो,’ भन्नुभयो । हाम्रो घरमा डेरा बस्ने लेखनाथ भण्डारी (नारायण) उहाँको दाजु हुनुहुँदो रहेछ ।मैले ‘दाजु कता हिँड्नुभएको ?,’ भनेर सोधें । उहाँले ‘म कता जान्छु, त्यो मलाई नै थाहा छैन,’ भन्नुभयो । मैले उहाँको यायावर बानीका बारेमा थाहा पाएकाले यो जबाफ त्यति अनौठो लागेन ।


त्यसपछि अलिकति साहित्यिक कुराकानी भए, त्यस्तै तीन–चार मिनेट । अनि ‘ल सुनीलबाबु तपाईंलाई भेट्न म आउँछु,’ भन्दै उहाँ आफ्नै तालमा हिँड्नुभयो, म पनि आफ्नो बाटो लागें । तीन–चार दिनपछि उहाँ सोधीखोजी गर्दै एक्कासि मेरो घर आउनुभो । त्यसपछि हाम्रो घनिष्ठता बाक्लिन थाल्यो । उहाँले मलाई सुनीलबाबु भन्नुहुन्थ्यो । आफूभन्दा सानालाई पनि तपाईं नै भन्ने उहाँको राम्रो बानी थियो । त्यो घरेलु भेटमा उहाँले ‘ल, सुनीलबाबु हामी उतैका पर्‍यौं, भाइ पनि गजल लेख्ने, म पनि लेख्ने, म यहींँ भैंसेपाटीतिरै बस्छु, भाइ मकहाँ पनि आउनुपर्छ है,’ भन्नुभयो ।


उहाँले मलाई आफ्नो डेरामा पनि लानुभो । मेरै घरमा आउने–बस्ने पनि गर्न थाल्नुभो । दाजुभाइको जस्तो सम्बन्ध गाँसियो । उहाँसँग नियमित कुराकानी, अन्तर्क्रिया हुन थाल्यो । उहाँ गजल सुनाउनुहुन्थ्यो, म प्रतिक्रिया दिन्थें । म गजल सुनाउँथें, उहाँ प्रतिक्रिया दिनुहुन्थ्यो ।


‘ल सुनीलबाबु तपाईंको गजलमा यसो गर्नुपर्छ है,’ भनेर सल्लाह–सुझाव पनि दिनुहुन्थ्यो । आफ्नो गजलमा पनि सल्लाह–सुझाव माग्नुहुन्थ्यो । नेपालीमा गजल त धेरै लेखिएका छन्, केही गाइएका पनि छन् तर गजल सुहाउँदो आवाज अझै भेट्न सकिएको छैन भनेर चर्चा गर्नुहुन्थ्यो ।


त्यही क्रममा एक दिन गायक बसन्त खड्कासँग भेट भयो ।


खड्कालाई मनु दाजुका बारेमा थाहा रहेछ । मनु दाजुले गजल गायनका क्षेत्रमा अघि बढ्न उहाँलाई प्रेरित गर्नुभयो । त्यही प्रेरणाले पछि खड्काले मनु दाजु र मसहित १० जना गजलगोहरू समेटेर ‘मृगतृष्णा’ गजल एल्बम पनि निकाल्नुभो । २०५७ सालको कुरो हो यो । मनु दाजुसँग जोडिएको रोचक सन्दर्भको सम्झना गर्दा मेरो बिहेको बेलाको कुरा सम्झन्छु । मेरो बिहे २०५२ मंसिरमा भएको हो ।


त्यसको केही दिनपछि एक दिन अचानक उहाँ मकहाँ आउनुभो । केही बेर घरमा बसेपछि उहाँ र म ‘चेतन गल्ली’ तिर लाग्यौं । उहाँले अलिअलि पिएकै हुनुहुन्थ्यो, चेतन गल्लीमा पुगेपछि फेरि थप्नुभयो, मैले चिया खाएँ । गजलका बारेमा कुराकानी हुँदै थियो, एक्कासि उहाँले ‘ल सुनीलबाबु आज म तपाईंकहाँ नै बस्छु,’ भन्नुभयो ।


उहाँको ‘जहाँ साम त्यहीं सबेरा’ हुन्थ्यो ।


मनु दाजुले मकहाँ बस्छु भनेपछि म एकदमै खुसी भएँ । उहाँजस्तो आदरणीय, अग्रज साहित्यकारसँगको लामो संगत पाउनु मेरालागि एउटा विशेष अवसर थियो । माइला दाजुको मधुशाला र चेतन गल्लीमा केही समय बिताएपछि त्यो रात उहाँ मकहाँ नै बस्नुभयो ।

मनु दाजुले एकदमै आदर गर्ने गीतकार, निर्देशक चेतन कार्कीको एक जना आत्मीय साथी (गुरुङ अंकल) को पसल थियो, दमकलअगाडिको गल्लीमा । चेतन अंकल घरमा भन्दा बढी त्यही गल्लीमा भेटिने हुँदा मनु दाजुले त्यो गल्लीको नाम नै चेतन गल्ली राख्नुभएको थियो । चेतन गल्लीमा भएको माइला दाजुको हरियो पर्दा पसल मनु दाजुको नियमित गन्तव्यमध्ये पर्थ्यो । त्यही सन्दर्भमा म प्रश्न उठाउँथें, ‘दाजु तपाईं किन यति पिउनुहुन्छ ?’ उहाँ भन्नुहुन्थ्यो– ‘सुनील भाइ, म मूलतः कथाकार भएको हुँदा नयाँ–नयाँ कथाको प्लट खोजिरहनुपर्ने हुन्छ । कथा खोज्नका लागि म यी पसलहरू चहार्ने गर्छु किनभने यहाँ विविध किसिमका पृष्ठभूमि र प्रकृतिका मान्छेहरू आउँछन् । कथाका सामग्री र पात्रहरू पाइने भएका कारण यहाँ आउँछु र पात्रहरूसितै घुलमिल भएर कथा बुन्छु ।’


उहाँ जीवन–जगत्को अध्ययन गर्न आफू यायावर बनेको प्रसंग सुनाउनुहुन्थ्यो । ‘मेरा पात्रहरू मस्तिष्कमा आइसकेपछि जब छर्लंग हुन्छ, तब मात्रै कथा लेख्छु,’ उहाँले मसँग मात्र होइन, धेरै जनासँग भन्नुभएको छ, ‘पिएका बेलामा म लेख्न सक्दिनँ, नशाले छोडेपछि मात्र लेख्छु । तर गजल चाहिँ जुनसुकै बखत पनि लेख्न सक्छु ।’


उहाँ कथा र गजलमा अब्बल हुनुहुन्थ्यो । म कथा नलेख्ने भए पनि गजल लेखन हाम्रो साझा विधा थियो । मेरो जिन्दगीमा मात्र होइन मेरा गजलहरूमा पनि उहाँको सन्निकटताको प्रभाव छ । मेरा केही गजलहरूको सम्पादनमा उहाँको सहयोग मिसिएको छ । मनु दाजुका प्रायः सबै गजल मैले पढेको/सुनेको छु । कतिपय गजलको त म नै पहिलो श्रोता र पाठक पनि हुँ । उहाँको र मेरो कतिपय गजलको सन्दर्भ उस्तै–उस्तै पनि लाग्छ । यो उहाँसँगको संगतको असर हो ।उहाँ पत्रपत्रिकामा छापिएका रचनाको पारिश्रमिक लिन जाने बेलामा प्रायः हामी सँगै हुन्थ्यौं । पारिश्रमिक पाइसकेपछि, पैसा भयो कि खाने–पिउने मामलामा उदार भइहाल्ने उहाँको बानी थियो । पिउन बसेपछि समय हेर्ने कुरा छैन । सँगैको साथीलाई ढिलो होस्, चाहे जे होस् । त्यही क्रममा उहाँका कतिपय अन्तरंग क्षणको साक्षी पनि बनेको छु म ।


एक प्रकारले उहाँको म भाइ/साथीजस्तो मात्र होइन उहाँको सम्पर्क–सूत्र पनि थिएँ । उहाँसँग भेट्न चाहने मान्छेहरूका लागि समय, वातावरण मिलाइदिनु वा उहाँका बारेमा आवश्यक सूचनाहरू दिनु मेरो नियमित कर्मजस्तै हुन्थ्यो । मनु ब्राजाकीमा रुचि राख्ने प्रायःलाई उहाँ मेरो घरमा आइरहनुहुन्छ भन्ने थाहा थियो । उहाँ आफैँले पनि ‘फ्रेस’ मा भेट्न चाहने पत्रकार वा लेखकलाई ‘सुनीलबाबुलाई फोन गर्नु, उहाँले मकहाँ ल्याइदिनुहुन्छ,’ भन्नुहुन्थ्यो ।


मनु दाजु नेपाली कथा र देशको अवस्था उही प्रकारले खस्किँदो छ भन्दै तुलना र चिन्ता गर्नुहुन्थ्यो । जनजीवनको अध्ययनबिना स्वैरकल्पनामा कथा लेखन भइरहेको भन्ने उहाँको गुनासो हुन्थ्यो । गजलमा पनि ‘बाढी त आयो तर शालिग्राम आएन,’ भन्नुहुन्थ्यो । नीतिबिनाको राजनीति र अध्ययनबिनाको अभिव्यक्तिकै बाहुल्य देखेर उहाँ ज्यादै क्षुब्ध हुनुहुन्थ्यो । उहाँमा देशप्रति माया र राजनीतिक लठैतहरूप्रति वितृष्णा थियो ।


अन्तर्वार्ता लिने क्रममा मैले सोधेको थिएँ– ‘सामन्ती परिवारमा जन्मिएर पनि किन निम्न आर्थिकस्तर भएका मान्छेहरूसँग संगत गर्न, कलम चलाउन मन पराउनुहुन्छ ?’


‘सामन्ती, आर्थिक हैसियत राम्रो भएकाहरूले बिस्तारी बोले पनि सबैले सुन्ने वा सुन्नुपर्ने तर गरिब–निमुखाले चिच्याउँदा पनि कसैले नसुन्ने, उल्टै प्रताडित हुनुपर्ने प्रचलन मलाई मन परेन,’ जवाफमा उहाँले भन्नुभयो, ‘मान्छेले मान्छेलाई गर्ने यस्तो हेपाहा प्रवृत्ति, दुर्व्यवहार र शोषण मलाई सानैदेखि मन पर्दैनथ्यो ।’


आफ्नो समयको विशिष्ट साहित्य–साधक उहाँको मनमा घर–परिवार र समीक्षकहरूले राम्ररी चिन्न नसकेको गुनासो थियो । ‘अहिले मलाई चिन्दैनन्, मरेपछि चिन्छन् । अहिले जँड्याहा देख्ने आँखाहरूले मरेपछि ब्राजाकी देख्न थाल्नेछन्,’ भन्नुहुन्थ्यो । नभन्दै भयो पनि त्यस्तै । अन्तिम अवस्थामा मात्र उहाँको चर्चा उत्कर्षमा थियो, शेषपछि खोजी हुँदै छ ।


२०६३ सालमा उहाँको जेठो छोरा अपूर्वको असामयिक निधन भयो । त्यो अनपेक्षित घटनाको प्रभाव उहाँको जीवनमा डिप्रेसनको कारक बनिदियो । ‘म मर्नुपर्थ्यो, ऊ किन मर्‍यो,’ भन्दै बेलाबेलामा छोरो सम्झेर उहाँ निकै उदास बन्नुहुन्थ्यो । ‘अप्पु (अपूर्व) आफू एक्लै गएन मेरो आँखाको ज्योति पनि लिएर गयो,’ भन्नुहुन्थ्यो । त्यसयता उहाँले व्यक्तिगत रूपमा आफूलाई जीवनप्रति आशावादी बनाउनै सक्नुभएन, बिरामी भएको भयै हुनुभो ।नेपाली साहित्यमा मनु ब्राजाकी एउटा फरक धारको मानक हुनुहुन्थ्यो । उहाँ एकातिर व्यावसायिक लेखनको कुरा गर्ने र अर्कोतिर सकेसम्म पारिश्रमिक दिन नपरे हुन्थ्यो भनी सोच्ने सम्पादक/प्रकाशकका निम्ति चुनौती पनि हुनुहुन्थ्यो । पहिले हरिभक्त कटुवालको पनि यही रूपमा चर्चा हुने गर्थ्यो । नेपाली साहित्यमा यसरी आफ्नो रचनाको अग्रिम पारिश्रमिक माग्ने, नदिए रचना नै नदिने हिम्मतिलो लेखक अर्को होला/नहोला भन्न सकिन्न ।


उहाँ आफूलाई नास्तिक मान्नुहुन्थ्यो । उहाँ धेरै पटक मसँग पशुपतिनाथ जानुभएको छ । त्यहाँ मसँगै शिवलिंगतिर फर्केर ढोग्नु पनि भएको छ । ढोग्ने तरिका उहाँको आफ्नै पाराको हुन्थ्यो । दुवै हातका औंलाहरू अर्धचक्रजस्तो आकारमा जोडेर, दुवै बूढीऔंलाले निधार छुवाउनुहुन्थ्यो । उहाँ स्वयंले पनि संस्मरणहरूमा आफू धार्मिक/धर्मभीरु परिवारमा हुर्केको, बालककाल बनारसको विश्वनाथ मन्दिर परिसरमा बिताएको चर्चा गर्नुभएको छ । अरू देवी–देवता माने पनि नमाने पनि उहाँले शिवलाई चाहिँ मान्नुहुन्थ्यो, जसको म प्रत्यक्ष साक्षी छु । उहाँले किन ‘नास्तिक हुँ’ भन्नुभयो त्यो म भन्न सक्तिनँ । हो, उहाँ धर्म तथा आस्थाका नाममा प्रदर्शन गरिने पाखण्ड र देखावटीपनको चाहिँ घोरविरोधी हुनुहुनुथ्यो । ‘म मरेपछि मेरो लास नदीमा बगाइदिए हुन्छ, मेरो किरिया पनि गर्नुपर्दैन,’ भन्नुहुन्थ्यो ।
१९९९ साउन १९ गते जन्मिनुभएका मनु दाइ बाँचिरहेको भए यो साता ७७ वर्ष पुग्नुहुने थियो ।
[email protected]

प्रकाशित : श्रावण १८, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?