यात्रा : जोखिम उठाएर अमरनाथ

कृष्ण खनाल

गत असारको अन्तिम र साउनका पहिलो साता गरी मेरो १८ दिन भारतको जम्मु–कश्मीर राज्यमा पर्ने अमरनाथ र वैष्णोदेवी यात्रामा बित्यो  । मुस्लिम समुदायको बाहुल्य भएको कश्मीर खण्डमा पर्ने अमरनाथ गृष्मकालीन राजधानी श्रीनगरबाट करिब १ सय ४१ किलोमिटर उत्तर–पूर्वमा अवस्थित छ ।

यो हिन्दुहरूको एक प्रसिद्ध तीर्थस्थल मानिन्छ । काराकोरम पर्वत शृंखलामा हिमाली चुचुराले घेरिएको ३० मिटर अग्लो चट्टानी गुफामा महादेवको प्रतीकस्वरूप हिउँको शिवलिंग यो तीर्थको प्रमुख आकर्षण हो । गुफाको छतबाट भुइँसम्म लिंगाकार ठडिएको हिउँको एउटा विशाल खम्बा आफैंमा अलौकिक देखिन्छ । चन्द्रमाको गति (औंसी/पूर्णिमा) सँगै साउन महिनामा लिंगको आकार प्रत्येक वर्ष परिर्वतन हुन्छ भन्ने विश्वास छ । यही गुफामा शिवले पार्वतीलाई जीवन र जगत्को शाश्वत गुह्य बताएको विश्वास गरिन्छ ।

गुफाको बायाँ कुनामा गणेश र पार्वती भनेर केही सानो आकारको हिउँको ढिस्को पनि छ । हिन्दु विश्वासअनुसार सतीदेवीको अंग पतन भएको एउटा प्रमुख महाशक्ति पीठका रूपमा अमरनाथलाई लिइन्छ । भृगु मुनिले यसलाई पत्ता लगाएको विश्वास गरिन्छ । स्थानीय भनाइमा त्यहींको भेडा गोठ राख्ने समुदायका मानिसले यो गुफा पत्ता लगाएका हुन् । स्थानीयहरू यसलाई ‘बाबा बर्फानी’ भन्छन् । धार्मिक विश्वास आफ्नो ठाउँमा छ, तथापि गुफाको सिलिङमा रहेका छिद्रहरू जहाँबाट पानी चुहिएर हिउँले लिंगाकार रूप लिएर सिंगमर्मरजस्तो टल्किने गरी आश्चर्यचकित हिमलिंग बनेको हुन सक्छ । अमरनाथ यात्रा करिब चार सय वर्षदेखि निरन्तर चलेको पाइन्छ । यात्राको मुख्य मौसम जुलाई–अगस्ट हो । हरेक वर्ष १ जुलाईदेखि सामान्यतः अगस्टको आधाआधी रक्षा बन्धन (जनै पूर्णिमा) सम्म करिब ४५–४६ दिन चल्ने यो यात्रालाई श्रावणी मेला पनि भन्ने गरिन्छ ।


अमरनाथ गुफा भारतको एउटा चुनौतीपूर्ण तीर्थयात्रा स्थलमा पर्छ । करिब १२,७५० (३८८८ मिटर) उचाइमा अवस्थित यो गुफासम्मको यात्रा कठिन र जोखिमपूर्ण पनि छ । हिमाली लेकको उकालो, साँघुरो र चिप्लो बाटो, भीर र पैरोका कारण हिँड्न कठिन छ । तर हिँड्न सक्नेका लागि उत्तिकै मनोरम पनि छ । कश्मीरी पृथकतावादीे आक्रमणको भय अर्को जोखिम हो । गुफामा नपुगेसम्म प्राकृतिक विपद् वा अतिवादी आक्रमणका कारण कुनै पनि बेला यात्रामा विराम लाग्न सक्छ । भारत सरकारले बन्द गर्न सक्छ । पटक–पटक यात्रा रोकिएका रोकिएका छन् । यात्राकै क्रममा पनि गन्तव्यसम्म पुग्न नपाउने, नसक्ने सम्भावना छ । यसै पटक पनि अतिवादी आक्रमणको सम्भावना देखाउँदै त्यहाँको प्रशासनले निर्धारित समयभन्दा १५ दिन पहिले नै यात्रा रोकिदियो । मन्दिर नपुग्दै कैयौं तीर्थयात्रीलाई फिर्ता हुन बाध्य भए । तर यो पटक अतिवादी आक्रमण भयले नभई प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीको सरकारले जम्मु–कश्मीर राज्यले भारतको संविधानको धारा ३७० लाई खारेज गर्ने तयारी गर्दै रहेछ । त्यसबाट तीर्थयात्री प्रभावित नहुन् भनेर यात्रा बन्द गरिएको कुरा पछिका घटनाले पुष्टि गर्छ ।


गत २० साउनमा भारत सरकारले ७० वर्षदेखि कायम रहँदै आएको जम्मु–कश्मीर राज्यको संवैधानिक हैसियत अन्त्य गरेको छ । जम्मु–कश्मीरको विशेष संवैधानिक व्यवस्था अन्त्य गर्ने भाजपाको सुरुदेखिको अडान हो । दोस्रो चुनावी सफलताले उसको आत्मविश्वास बढायो । अब जम्मु–कश्मीर र लद्दाख दुई राजनीतिक प्रशासनिक एकाइमा विभाजन गरिएका छन् । यद्यपि यो भारतको आन्तरिक कुरा हो । तर विवादमुक्त छैन । यो निर्णयले भारतको संघीय र धर्मनिरपेक्ष स्वरूपमाथि शंका गर्ने ठाउँ दिएको छ । कश्मीर विवाद भारत र पाकिस्तान दुई देशबीच मात्र सीमित छैन । सीमावर्ती क्षेत्रमा चीन पनि मिसिएको छ । लद्दाख चीनसँग जोडिएको र सीमा विवाद भएको ठाउँ पनि हो । यो कदमको बाह्यभन्दा पनि आन्तरिक राजनीतिक प्रभाव महत्त्वपूर्ण छ । कश्मीरी जनतामा बढ्दो अलगाव र पृथकतावादलाई यसले कसरी सम्बोधन गर्छ हेर्न बाँकी नै छ । यो छुट्टै विवेचनाको विषय हो । सन्दर्भ मिलेकाले मात्र यहाँ उल्लेखसम्म गरेको हुँ ।


अहिले तीर्थयात्राका लागि काठमाडौंलगायत नेपालका विभिन्न ठाउँबाट बसयात्राको प्याकेज पाइन्छ । तीन धाम, बद्री, केदारलगायतका ठाउँमा पहिले यात्रा गरिसकेकाले मलाई यस्तो यात्राको राम्रै अनुभव थियो । इन्टनेटबाट गन्तव्यस्थल खासगरी अमरनाथको बारेमा न्यूनतम जानकारी बटुलेपछि म आफ्नो परिचित तीर्थयात्रा व्यवसायीसँग सम्पर्क गरें । यस पटक उनले नलैजाने भएछन् । मित्र कृष्ण हाछेथू पनि जान लागेको थाहा भएपछि त्यही टोलीमा म पनि सम्मिलित भएँ । त्रिमूर्ति तीर्थयात्रा, कलंकीको व्यवस्थापन प्याकेजमा हाछेथू दम्पतीसहित आसर २६ गते हामी २० सहयात्रीको काठमाडौंबाट साँघुरो मिनी बसमा यात्रा सुरु भयो ।


उत्तर प्रदेशका अयोध्या, मथुरा बृन्दावन, कुरुक्षेत्र हुँदै पन्जाबको अमृतसर भएर जम्मु छिरियो । पन्जाबको प्रसिद्ध सिख तीर्थस्थल स्वर्ण मन्दिरदेखि अगाडिको यात्रा मेरा लागि नयाँ थियो । बसभित्र सहयात्रीहरू आआफ्ना तालसुरमा यात्राको कौतूहलसँग रमाइरहेका थिए, गफिइरहेका थिए । कोही आफूले यात्राका लागि लगेका तितौरा, पाउँ, दलमोठजस्ता कट्याककुटुक बीचबीचमा बाँड्दै पनि थिए । म भने धर्म, संस्कृतिका साथै सभ्यता र इतिहासका पानालाई स्थलगत रूपमा पछ्याउन खोज्दै थिएँ । तीर्थयात्रा त एक माध्यम थियो । मेरो रुचि समाज, सभ्यता, इतिहास र राजनीतिलाई नजिकबाट यथावत् नियाल्नु थियो । म एउटा जिज्ञासु यात्रु थिएँ । पापमोचन वा धर्मार्जन मेरो अभीष्ट थिएन । न कुनै मानोकामना पूर्ति वा भाकल नै । बसभित्रै पनि एउटा समाज थियो । एक्लै पनि हिँड्न मिल्ने सजिलो र मितव्ययी यात्रा थियो यो । प्याकेजभित्रको सादा र ताजा दालभात बिहान, बेलुकी खान पाइने, बस्न र संगतका हिसाबले यो पूरै समाजवादी यात्राजस्तो लाग्थ्यो ।


अमृतसर पुगेपछि मलाई जलियानावाला वागको सम्झना भयो । भारतको स्वतन्त्र संग्रामसँग जोडिएको यो ठाउँमा सय वर्ष पहिले सिख चाड बैसाखी पर्वमा जम्मा भएका हजारौं निहत्था जनताको भेलामा आन्दोलनकारी प्रदर्शन हुँदै छ भन्ने आशंकामा जनरल डायरको कमाण्डमा सेनाले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । बालबालिकासहित ३६५ जनाको घटनास्थलमै मृत्यु भयो, हजारौं घाइते भए । पछि त्यही घटनाले भगत सिंह, उधमसिंहलगायत सयौं युवालाई स्वतन्त्रताका लागि शहादत वरण गर्न प्रेरित गर्‍यो । अमृतसर पुगेपछि मैले जलियानावाला वाग कति टाढा पर्छ भनेर यात्रा आयोजकसँग जिज्ञासा राखें । तर, स्वर्णमन्दिरको गेटकै बायाँ बगलमा रहेको त्यो वाग त्यहीं बाटोबाट दर्जनौं पटक स्वर्ण मन्दिर हुँदै अमरनाथको यात्रा गराएको दाबी गर्ने आयोजक भने इतिहासको त्यो घटनाप्रति अनभिज्ञ रहेछन् । उनलाई जलियानावाला वाग के हो कुनै अत्तोपत्तो थिएन ।


जलियानावाला वाग, स्वर्ण मन्दिरको ढोकैमा छ ।’ त्यहाँ पुग्दा मलाई २०६२/६३ को आन्दोलनको सम्झना भयो । म आफैं अग्रपंक्तिमा उभिएको कलंकीमा त्यसैगरी अन्धाधुन्द गोली प्रहार भएको थियो । अलि होचो खाल्डोजस्तो भागमा आन्दोलनकारी थिए, अग्लो ठाउँमा सुरक्षा अधिकारी थिए । आन्दोलन दबाउने आदेश पाएका सशस्त्र प्रहरी अधिकृतले गोली चलाए । आन्दोलनकारी तितरबितर हुने र जोगिने ठाउँ थिएन । मानिसहरू ढल्न थाले, केहीको ज्यान गयो । कैयौं घाइते भए । रगतको खोलो बग्यो । कर्फ्यु लागेको थियो, एम्बुलेन्स पनि उपलब्ध थिएन । घाइते आन्दोलनकारीलाई तन्नामा बेरेर कीर्तिपुरस्थित मोडेल अस्पताल पुर्‍याउनुको हामीसँग विकल्प थिएन । कलंकीको त्यो घटनालाई मैले त्यसै बेलादेखि जलियानावाला वागको नरसंहारसँग तुलना गर्दै आएको छु । आन्दोलन सफल भयो तर दमनका नाममा भएको त्यो नरसंहारकारी घटनाप्रति आन्दोलनको आह्वान गर्नेलाई कुनै चासो भएन । उल्टै दण्डहीनता पुरस्कृत भयो ।


हामी अमृतसरमा संक्षिप्त घुमफिर र एक रातको बसाइपछि भोलिपल्ट बिहानै जम्मुतर्फ लाग्यौं । जम्मुको सिमाना टेक्नेबित्तिकै अमरनाथका लागि यात्रु सबैले स्वास्थ्य परीक्षण गर्नुपर्ने रहेछ । परीक्षण त केही थिएन । आफैंले भरेको कागजमा तोकिएका स्वास्थ्य अधिकृतले सही गरिंदिँदा रहेछन् । तर यो कागज जम्मुमा यात्रा अनुमति लिँदा अनिवार्य रहेछ । जम्मुमा पुगेपछि कुनै पूर्वजानकारीको पछि नलाग्ने मस्तराम हाम्रा यात्रा व्यवस्थापक एवं बस मालिक कता सम्पर्क गर्ने भन्दै भौंतारिन थाले । बिनाखानपिन दिनभरको यताउतापछि रजिस्ट्रेसन र बिमाका लागि पैसा बुझाउने र कागज बनाउने ठाउँको पत्तो लाग्यो । यो जिम्मेवारी लिएको पन्जाब बैंकका अधिकृत सहयोगी र मिजासिला रहेछन् । खासै कठिनाइबिना काम भयो । तर प्रतिव्यक्ति रु. १५०० लाग्यो ।


पहिले भारतीय यात्रुसरह नेपालीले पनि १५० तिर्दा रहेछन् । यो वर्ष नेपालीलाई पनि अरू विदेशीसरह यो रकम तोकिएको रहेछ । हामीले केही प्रश्न गर्‍यौं, सन् १९५० को सन्धिले व्यवस्था गरेको बराबरी व्यवहारको कुरा उठायौं । तर ती अधिकृतिले त आदेशअनुसार काम गर्ने भए । उनले चाहँदैमा त्यो परिवर्तन गर्न सक्तैनथे । सवालजवाफमा अलमलिएर बस्ने कुरा पनि थिएन । हामीलाई आफ्नो गन्तव्य छिटो तय गर्नु थियो । तोकिएको रकम तिरेर यात्रा अनुमति एवं बिमा बनायौं । दुई देशबीच गरिने सन्धिको कागज र नागरिक भोगाइको प्रत्यक्ष अनुभव भयो ।


अब हाम्रो यात्रा कडा सैन्य पहरा र सुरक्षा घेरामा हुन थाल्यो । त्यो रात हामी बससहित सेनाले पहरा दिएको क्याम्प बस्न गयौं । यात्रुहरूको भीड खचाखच थियो । बस्ने कुनै ठाउँ मिलिरहेको थिएन । क्याम्पभित्र यौन दुराचार अभियोगमा कारावासको सजाय काटिरहेका विवादास्पद आशाराम बापुको गौशाला रहेछ । हाम्रो बास त्यहीं भयो, लंगर अर्थात् भण्डारामा भोजन । निर्धारित सेडुलमा सुरक्षा घेराभित्र बस लैजान पर्ने भएकाले बिहान नहुँदै ३ बजेदेखि हामी बसमा बस्यौं । ५ बजे बस गुड्यो । बाटोभरि सैन्य गस्ती, अगाडि पछाडि सेनाका गाडीको स्कर्टिङले अरू सर्वसाधारण नागरिकको आवतजावत नै रोकिएको प्रस्ट देखिन्थ्यो । आफ्नो देशमा हिजो राजारानी र आज राष्ट्रपतिको सवारीका बेला कायल भएका हामीलाई त्यहाँ आफ्नै कारण सर्वसाधारण यात्रु नागरिकले दुःख भोगेको देखेर खल्लो अनुभव भइरहेथ्यो ।


अमरनाथ यात्रामा यात्रुको सुरक्षा निकै संवेदनशील विषय हो । खासगरी सुरक्षित रूपमा अमरनाथको यात्रा गराउनु भाजपा सरकारका लागि प्रतिष्ठाको विषय पनि हो । अयोध्यामा बाबरी मस्जिद भत्काएदेखि नै कश्मीरी पृथकतावादीले यो यात्रालाई अवरुद्ध गर्ने प्रयास र चेतावनी दिंदै आएका छन् । पटक–पटक आक्रमण पनि गरेका छन्, तीर्थयात्रीहरू अतिवादी आक्रमणको सिकार भएका छन्, मारिएका छन् । तीर्थयात्रा नै बन्द भएको पनि छ । अयोध्यामा बाबरी मस्जिद भत्काएपछि भारतभर हिन्दु मन्दिर सुरक्षाको चुनौती बढेको छ । रामजन्मस्थल दाबी गरिएको ठाउँमा सबैभन्दा बढी र कडा सुरक्षा प्रबन्ध गरिएको छ । तर अमरनाथमा मन्दिर अर्थात् अमरनाथ गुफाभन्दा तीर्थयात्रुको सुरक्षा नै सबैभन्दा चुनौती बनेको देखिन्छ ।


मनोरम पहाडी घाँटी र सुरुङ हुँदै जब हामी कश्मीर उपत्यकामा प्रवेश गर्‍यौं । यसको उत्पत्तिका बारेमा पनि काठमाडौं उपत्यकाको जस्तै किंवदन्ती पाइन्छ । पहिले यो उपत्यका पनि जलमग्न थियो भनिन्छ । कश्यप मुनिले विभिन्न नदीनाला खोलेर यहाँको जल निकालेपछि बस्नयोग्य भयो । हरिया र चौडा फाँट, विशाल तलाउ (डल लेक) ले हाम्रो ध्यान खिच्थ्यो । बाटोबाटै गृष्मकालीन राजधानीका रूपमा परिचित श्रीनगरको केही झल्को देख्न सकिन्थ्यो । कविले कल्पना गरेको भूस्वर्गमा प्रवेश गरेजस्तो लाग्थ्यो । तर कडा सुरक्षा घेराका कारण मानव गतिविधि शून्य देखिन्थ्यो । भय र तनावका अदृश्य रेखाले मानव जीवन कैदी भएको प्रतीत हुन्थ्यो । राज्यसत्ताले खिचेको कथित राष्ट्रिय विभाजनका कारण कसरी मानिस आफ्नो सभ्यता, समाज र प्रकृतिजन्य सुख सुविधाबाट वञ्चित भएका छन् कश्मीर एउटा उदाहरण हो । कश्मीर मात्र होइन, यस्ता दृष्टान्त जति पनि छन् विश्व राजनीतिमा ।


कश्मीर उपत्यका र घाँटी भएर यात्रा गरिरहँदा हामीले धेरै नदी पार गर्‍यौं जहाँ विद्युत् उत्पादन र सिँचाइ नहरका ठूलठूला ड्याम देखिन्थ्यो । हिन्दकुश, काराकोरम पहाडी शृंखलामा पर्ने कश्मीरको घाँटी समुद्री मार्ग चल्तीमा आउनुपूर्व युरोपलगायत पश्चिमबाट मध्यएसिया, उत्तरी भारत हुँदै म्यानमार (बर्मा) सम्मको आप्रवासन द्वार मानिन्छ । आर्यहरूको पहिचान बोकेको सभ्यताको उद्भव मानिने सिन्धु नदी यसै क्षेत्रबाट प्रवाह हुन्छ । तिब्बतको कैलाश पर्वतबाट सुरु हुने यो नदीको मुख्य स्रोत मानिएका सतलज, चेनव, झेलम, रवि, व्यास कश्मीर र हिमाञ्चल राज्यबाट बग्छन् र पन्जाब हुँदै पाकिस्तान छिर्छन् । अफगानिस्तानको काबुल नदीसमेत यसमा मिसिन्छ । यसले यो क्षेत्रको भौगोलिक एवं नदी प्रवाहको महत्तालाई बुझ्न सकिन्छ । पाकिस्तानको अन्न भण्डार सिञ्चित गर्ने यो नदीको जलउपयोग सम्बन्धमा सन् १९६० मा भारत–पाकिस्तानबीच सन्धिसमेत
भएको छ ।


यात्राको यी विभिन्न पहलु छिचोल्दै हामी साउन ३ गते साँझ बलटाल बेस क्याम्प पुग्यौं जहाँसम्म बसबाट पुग्न सकिन्छ । अगाडिको यात्राका लागि पैदल वा घोडा, पाल्कीको सहारा लिनुपर्छ । पैदल यात्राका लागि अर्को बाटो पनि छ— पहलगाउँ । ४३ किलोमिटर लामो यो मार्ग धार्मिक आस्थाका हिसाबले महत्त्वपूर्ण मानिन्छ । शिवजीले पार्वतीसहित गुफा प्रवेश गर्नुपहिले यहाँ बसेको, ताण्डव नृत्य गरेको धार्मिक विश्वास छ । यो बाटो लामो भए पनि यात्रुका लागि सहज छ भनिन्छ । बलटालबाट १६ किलोमिटर हिँड्नुपर्छ । छोटो भएको र मन्दिर दर्शन गरेर साँझ बस्न आइपुगिने भएकाले यो बाटो धेरैको रोजाइमा पर्दो रहेछ । हाम्रो यात्रा पनि यही बाटोबाट भयो । केही सहयात्रीका साथ मैले भने पैदलयात्रा सोझ्याएँ । पैदल यात्रा मेरो रुचि हो, स्वास्थ्य पनि साथ दिएको छ ।


वर्षात र प्रतिकूल मौसमका कारण दुई दिनदेखि यात्रा रोकिएको थियो । भोलिपल्ट साउन ४ गते मौसमले साथ दियो । हामीले बिहान ७ बजे पैदलयात्रा सुरु गर्‍यौं । पैदलयात्राका लागि तयार भएका पनि कतिले बीचमै घोडा लिनुपर्ने भयो । कोही पछि परे । अन्ततः म एक्लै परें । तथापि त्यो निकै मनमोहक र आनन्ददायी रह्यो । बीचबीचमा भण्डारा लगाइएका थिए । चिया, नास्ता निःशुल्क उपलब्ध थियो । पानी, चिसो पेय, फलफूल, काँक्रो, बिस्कुटका लागि खुद्रा पसल पनि थिए । बाटो अलि साँघुरो, त्यसमाथि घोडा र पाल्कीको भीडले पैदलयात्रालाई अरू कठिन बनाउँथ्यो, जोगिनै मुस्किल । तल ग्लेसियरबाट बगेका हिम नदीका कतै हिउँले छोपिएको त कतै खुला बहाव देखिन्थ्यो । माथि पहराबाट छहराहरू छन्छन् बगेका थिए । युवा यात्रीहरू सेल्फी र सामूहिक फोटो खिच्न व्यस्त थिए । गस्ती गरिरहेका सुरक्षाकर्मीे बाटोमा अलमल नगर्न इसारा गरिरहेका हुन्थे । यिनै दृश्यावलोकन गर्दै म करिब पाँच घण्टाको हिँडाइमा गुफा पुगें । गुफा तल अमरनाथ ग्लेसियरबाट सुरु हुने अमरावती नदी जुन चेनवमा मिल्छ, बगिरहेको थियो । त्यहाँ पञ्चस्नानपछि थकित शरीर निकै फुर्तिलो र ताजा भयो ।


यात्रीहरूको नियन्त्रित व्यवस्थापनले अमरनाथ गुफामा खासै ठूलो भीड थिएन । तीर्थयात्रीका लागि खुलेको बीसौं दिनमा हामी पुगेका थियौं । त्यस दिनसम्म २ लाख ५८ हजार ८८९ यात्रुले दर्शन गरिसकेका थिए । यो वर्ष ८ लाखले यात्रा गर्ने अनुमान गरिएको थियो । तर बीचमै बन्द गरिएकाले दर्शनार्थीको संख्या अनुमान गरेभन्दा आधाआधीमै सीमित भयो । करिब १०–१२ फुटको दूरीबाट हिउँको शिवलिंग नजिकै ठडिएको जस्तो लाग्थ्यो । यसको उचाइ र आकारमा खासै कमी आएको थिएन । पानी परिरहेको हुनाले हिउँ पग्लिन पाएको थिएन । हिउँ पग्लिएर लिंगको आकार घट्ने वा कहिलेकाहीं त लिंगै बाँकी नरहने पनि हुँदो रहेछ । बायाँ कुनामा पार्वती र गणेश मनेर पुजिएका दुई हिम ढिस्का पनि यथावत् थिए । पूर्णकारको लिंग देख्न पाएको कतिपय तीर्थालु आफूलाई धन्य ठान्दै थिए । गुफाको छतमाथि दुइटा सेता परेवा निरन्तर उडिरहेको दृश्य त्यहाँको अर्को आकर्षण थियो । त्यसलाई कुनै देव जोडी वावा अमरनाथ र माता पार्वतीको दर्शनका लागि पन्छी रूप लिएर आएको भन्ने विश्वास गरिंदो रहेछ ।
कश्मीरमा पृथकतावादी तनावका बाबजुद यो यात्रामा सामाजिक सद्भाव राम्रो देखिन्थ्यो । तीर्थयात्रीका लागि प्रायःजासो हिन्दु धार्मिक संघ संस्था, व्यापारी समुदायले चलाएका छन् । केही मुस्लिम समुदाय पनि संलग्न छन् । बाबरी मस्जिद भत्काएपछि अतिवादी समूहले यो यात्रामा अवरोध र बन्देज गर्न खोजे पनि स्थानीय समुदाय यसलाई रोक्न नहुने पक्षमा देखिन्छन् । गुफा आफूले पत्ता लगाएको भनेर उनीहरू यसमा गौरव गर्छन् । तीर्थयात्रा त्यसैको निरन्तरता भएकाले रोक्न हुँदेन भन्ने उनीहरूको विचार छ ।


साथै करिब ४५ दिनको यो मेला स्थानीयका लागि मौसमी व्यापारको अवसर पनि हो । स्थानीय तहमा उत्पादित ओखर, बदम, स्याउलगायत अनेक जडीबुटी जन्य वस्तु र स्थानीय उत्पादनले यो मेलामा राम्रै बजार पाउँछ ।

अमरनाथपछि हाम्रो गन्तव्य जम्मु खण्डमा पर्ने माँ वैष्णोदेवी थियो । हिन्दु बाहुल्य भएको जम्मु खण्डमा पर्ने वैष्णोदेवी कट्रा सहरनिकट त्रिकूट पर्वतमा पर्छ । वाणगंगा अर्थात् फेदीदेखि विष्णोदेवी मन्दिर र भैरव मन्दिरसम्मको दूरी करिब १२ किलोमिटर छ । सधैं खुला रहने यो मन्दिर वर्षमा ७०–८० लाख मानिसले यात्रा गर्छन् । यो एउटा नमुना धार्मिक पर्यटकीय गन्तव्य हो भन्न सकिन्छ । व्यवस्थापनका लागि मन्दिरसम्मै यातायात साधन पुग्ने भए पनि यात्रुका लागि त्यो सुविधा उपलब्ध छैन । फकिंँदा हामी हिमाञ्चल प्रदेश भएर आयौं । बाटोमा सतलज नदीमा बनेका भाख्रा ड्यामको केही भाग देख्न सकिँदो रहेछ । पन्जाब, हरियाणामा हरित क्रान्ति ल्याउने यो ड्याम भारत–पाक युद्धका बेला सुरक्षाका हिसाबले निकै संवेदनशील मानिन्थ्यो । साथै दलाई लामाको शिविर रहेको धर्मशाला नजिकै पर्दो रहेछ । हामीलाई त्यहाँ जाने मेसो मिलेन । हिमाञ्चल र उत्तराखण्डको बाटो पनि निकै रमणीय र मनमोहक थियो । १६औं दिन हामी महाकालीको वनवासा गड्डा चौकीबाट नेपाल छिर्‍यौं । घर आइपुगेको साता नबित्दै अमरनाथ यात्रा रोकिएको समाचारले पहिले त स्तब्ध गरायो । संयोगवस हाम्रो यात्रा पूरा भएछ आश्वस्त भइयो ।

प्रकाशित : श्रावण २५, २०७६ ११:२६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सम्झना : मौनमा मोरिसन

ईश्वर बुढाथोकी

बाटो बिराएर सबभन्दा धेरै गल्ती सायद मृत्युले नै गर्छ  । नत्र त अगस्ट ५ को रात विश्वको साहित्यिक अकाशबाट टोनी मोरिसन नामको एउटा प्रकाशपुञ्ज सधैँका लागि अस्ताउने नै थिएन  ।

मोरिसनको मृत्यु ‘मृत्यु’ स्वयम्ले पनि सच्याउन नसक्ने गरी गरेको ‘गल्ती’ थियो । बाराक ओबामाको कार्यकालमा उनलाई स्वतन्त्रताको राष्ट्रपतीय मेडलद्वारा सम्मान गरिएको थियो । उनको मृत्युलगत्तै ओबामाले त्यही २०१२ को सम्मान कार्यक्रममा सँगै खिचिएको तस्बिर राख्दै गहिरो श्रद्धाञ्जली दिए । उनले ट्विटरमा लेखे, ‘मोरिसन एक राष्ट्रिय गहना थिइन् । उनी पृष्ठहरूमा जतिकै व्यक्तिगत रूपमा पनि मनमुग्ध पार्ने उत्तम कथाकार थिइन् । उनका लेखहरू सुन्दर र अर्थपूर्ण चुनौती थिए । हाम्रो विवेक तथा नैतिक कल्पनाका लागि एक छिन भए पनि उनले र मैले एउटै हावामा श्वास लिन पाउनु मेरो लागि ठूलो उपहार थियो ।’


अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पको विषयमा भने अनलाइन सामाचारहरूमा व्यंग्यवाण सुरु भइसकेको छ— के ट्रम्पलाई टोनी मोरिसनको बारेमा थाहा छैन ? हुन पनि ट्रम्पको निर्वाचनको लगतै २०१६ मा ‘न्युयोर्कर’ मा प्रकाशित मोरिसनको एक निबन्धमा उनले धेरैले जस्तै राष्ट्रपति ट्रम्पले पनि हिंसात्मक तथा जातीय धारणाहरूलाई सुरक्षित किनारा लगाउने भविष्यवाणी गरेकी थिइन् । यो लेख तयार पार्दासम्म ट्रम्पको कुनै आधिकारिक धारणा सार्वजनिक भैसकेको छैन ।भावनालाई पनि आफ्नो भाषाको नियन्त्रणमा राख्न सक्ने बेग्लै शक्ति र सामर्थ भएकी मोरिसनले उज्यालोको मसीमा आफ्नो कलमलाई चोपेर अँध्यारोमा यसरी पोखेकी थिइन् मानौँ उनले पोखेको मसी तेलका ती चम्किला थोपाहरूजस्तै हुन् जो संसारलाई डुबाउने समुद्रमाथि पनि तैरिरहेका छन् । तिनलाई डुबाउने तागत समुद्रसँग त के कुनै सुनामीसित पनि छैन ।


आफ्नो अभिव्यक्तिलाई कलात्मक रूप दिने मामिलामा धेरै नै कहलिएकी यी अश्वेत लेखिकाको जन्म सन् १९१८ को फेब्रुअरी १८ मा अमेरिकाको ओहायो राज्यमा भएको थियो । यिनको वास्तविक नाम कोल अर्डेलिया उफर्ड थियो । आफ्नो समयकी अत्यत्तै प्रभावशाली लेखिका मोरिसनको प्रभाव पछिल्लो समयमा पनि उत्तिकै थियो । पुरस्कारको सन्दर्भमा पनि मोरिसन निकै भाग्यमानी लेखिका मानिन्थिन् । त्यो किनभने सन् १९९३ मा उनलाई नोबेल पुरस्कार दिँदा पुरस्कारका लागि मनोनीत हुनेको सूचीमा उनको नाम अटाएकै थिएन । तैपनि उनलाई अश्वेतहरूका जीवानुभवमाथि लेखेको भन्दै नोबेल पुरस्कार दिइएको थियो । त्यतिबेला उनको लेखनस्तरलाई ‘आश्चर्यजनक रूपमा श्रेष्ठ’ भनिएको थियो । तत्कालीन पुरस्कार समितिका सचिव स्टिभ एलनले भनेका थिए, ‘विश्वास नै हुँदैन एउटा लेखकका ६ वटा उपन्यास के कारणले समान रूपमा श्रेष्ठ हुन सक्छ ?’


उनको साहित्यिक हैसियतको उचाइको अघिल्तिर पुरस्कारको कद होचो थियो । त्यसैले पनि कसैले उनको विरोध गरेनन् । स्विडिस एकेडेमीको यो निर्णयलाई साहित्यिक दुनियाले पनि अनुमोदन गर्‍यो । सन् १९७७ मा प्रकाशित ‘सङ्ग अफ सोलोमन’ को प्रकाशन पछि उनी अत्यधिक पाठकको आँखामा परेकी थिइन् । श्वेत र अश्वेत दुवैथरीका पाठकले उनलाई खुब रुचाउन थालेका थिए । त्यसको एक दशकपछि उनको अर्को उपन्यास ‘बिलोभेड’ प्रकाशित भएको थियो । यो उपन्यास कतिसम्म लोकप्रिय भयो भने यस किताबलाई कुनै राष्ट्रिय पुरस्कार नदिएको भनेर खेद व्यक्त गर्दै ‘न्युयोर्क टाइम्स बुक रिभ्यु’ मा हज्जारौँ पाठकका पत्रको लस्कर नै लाग्यो । एउटा इमानदार लेखकका लागि योभन्दा ठूलो पुरस्कार अरू के हुन सक्ला ? यसपछि उनले पुलित्जर पुरस्कार पनि पाइन् । पाठकीय दबाब त थियो नै तर पुरस्कार समितिले सफाइ दिँदै भनेको थियो ‘उनलाई प्रचारको दबाबले होइन, रचनात्मक श्रेष्ठताको कारणले पुरस्कार दिइएको हो।’


कुनै बेला मोरिसनलाई पनि गरिबी र कष्टले खलपात्रले झैँ खेद्नुसम्म खेदेको थियो । तर उनले दृढता, मिहिनेत र इच्छा शक्तिले तिनलाई पराजित गरेकी थिइन् । जीवन निर्वाहका लागि भेटेसम्मका काम गर्दै लेखनमा होमिएकी थिइन् । वासिङ्टनको हावर्ड विश्वविद्यालय हुँदै कोर्नेल विश्वविद्यालयबाट उनले आफ्नो औपचारिक अध्ययन पूरा गरिन् । स्नातकोत्तर अध्ययनका क्रममा उनले बिलियम फाक्नर र भर्जिनिया उल्फका सिर्जनामा आत्महत्या गर्ने पात्रहरूमाथि शोधपत्र लेखेकी थिइन् । त्यसपछि टेक्सास र हावर्ड विश्वविद्यालयमा नै अंग्रेजी पढाउन थालेकी उनले हावर्डमै पढाउने क्रममा हेराल्ड मोरिसन नाम गरेका एक आर्किटेक इन्जिनियरसित विवाह गरिन् । दुई छोरा जन्मिएपछि उनीहरूको दाम्पत्य जीवन टुङ्गियो । उनले हावर्ड छोडिन् र न्युयोर्क आएर एक प्रकाशन गृहमा पाठ्यपुस्तकको सम्पादनको कार्य गर्न थालिन् । एकातिर जागिर अर्कोतिर लेखन र बालबच्चा । उनको व्यस्तता बढ्यो । उनी बिहान सबेरै उठ्थिन् र छोराहरू उठ्नुअघि नै लेख्न बस्थिन् । उनी आफ्नो सिर्जनालाई सकुन्जेल परिमार्जन गर्थिन् । सुन्दा अचम्म लाग्न सक्छ आफ्ना सिर्जनालाई ६ देखि १३ पटकसम्म परिमार्जन गर्न पनि उनी अल्छी मान्थिनन् ।


मोरिसनले आफ्ना कुनै पनि उपन्यासमा निजी जीवनकथालाई प्रतिविम्बित गरेकी छैनन् । बरु अश्वेत नारीहरूका सामाजिक स्थिति र तिनका अनुभव, अनुभूतिलाई उपन्यासमा उतारी रहिन् । उनले आफ्ना लेखनमा समाजका यथार्थ, संघर्ष तथा इच्छा आकांक्षालाई शक्तिशाली रूपमा प्रस्तुत गर्केी छन् । मोरिसनलाई नोबेल पुरस्कार दिने घोषणा भइरहँदा जर्मनीको फ्र्यांकफर्टमा विश्व पुस्तक मेला चलिरहेको थियो । मेलाका कुनै पनि स्टलमा उनका पुस्तकहरू राखिएका थिएनन् । पुरस्कारको घोषणा लगत्तै गोदामतिरै थन्किएका उनका पुस्तकलाई मेलामा लगिएको थियो । त्यसपछि प्रकाशकले थेग्नै नसक्ने गरी उनका किताबहरू बेचका थिए । बजारमा पनि उनका किताबको माग धेरै हुन थाल्यो । उनको तेस्रो पुस्तक ‘सङ्ग अफ सोलोमन’ लेख्नुअघिसम्म लेखन उनको प्राथमिकतामा परेकै थिएन । एउटी महिला त्यसमाथि अश्वेत वर्णको कारण उनी आफूलाई आत्मविश्वासका साथ लेखक हुँ भन्न पनि सक्दिनथिन् । सुरुआतका उनका पुस्तकहरू उनको रङकै कारण छापिएका थिए । किनभने श्वेत पाठकहरूको अलिअलि रुचि अश्वेत लेखकहरूप्रति देखिन थालेको थियो ।


सुरुसुरुमा त प्रकाशकहरूले उनलाई नाम मात्रको पारिश्रमिक दिएका थिए । त्यति बेला निस्किएका उनका किताबहरूमाथि ‘न्युयोर्क टाइम्स’ ले गरेका समीक्षा निरुत्साहित गर्ने खालका मात्र थिए । तर पनि उनले कहिल्यै हिम्मत हारिनन् । उनी प्रायःजसो सानो विचारबाटै अन्तर्मन्थन गर्थिन् र लेखनको पृष्ठभूमि तयार पार्थिन् । त्यो रोचक पनि हुन सक्थ्यो र पट्यारलाग्दो पनि । उनी त्यसको पनि हेक्का राख्थिन् । आफ्ना काल्पनिक पात्रलाई पूर्ण नियन्त्रणमा राख्न रुचाउने यी लेखिकाले एक अन्तर्वार्तामा ‘यौन र यौन सम्बन्धबारे लेख्नु कठिन हुने र यसलाई विस्तारमा लेख्न नहुने’ भन्ने भनाइ राखेकी थिइन् । ‘यौन भनेको यस्तो कुरा जसबारे थोरै मात्र लेखेर पाठकलाई आफैं उत्तेजनामा आउन दिनुपर्छ । कुनै महिलाको शारीरिक अंग वर्णन गर्नका लागि त्यसबारे विस्तारमा लेख्नेबित्तिकै लेखक, लेखक नभएर स्त्री रोग विशेषज्ञजस्तो हुन पुग्छ । कति लेखक अपशब्दको प्रयोग गरेर निकै रमाउँछन् । त्यस्ता लेखनको प्रभाव क्षणिक हुन्छ’ भन्ने उनको मान्यता थियो । आफ्नो लेखाइ त्यस्तो हुँदैन होस् भन्नेमा उनी प्रतिबद्ध थिइन् ।


यसरी अश्वेत नारीहरूको पीडा र मर्मलाई शब्दमा उतार्ने मोरिसन सन् १९८९ देखि प्रिन्सटन विश्वविद्यालयमा प्रोफेसर अफ हुम्यानेटिजका रूपमा कार्यरत थिइन् । पछिल्लो समय आफ्ना परिवारसित न्युयोर्कमा आफ्नो बुढेसकाल बिताइरहेकी उनी मृत्यु हुँदा ८८ वर्षकी थिइन् । खासगरी अश्वेत जिन्दगीका अनेकन विषम भोगाइहरूका जीवन्त अनुभूतिलाई आकार दिएर असंगतिबाट उत्पन्न स्थितिसँगै आफ्ना मौलिक संस्कृतिसँग सम्बन्धित विषयको उठानमा उनको कलम विश्व साहित्यिक फाँटमा दरिलो स्तम्भ भएर उभिरहनेछ ।
–एजेन्सीको सहयोगमा

प्रकाशित : श्रावण २५, २०७६ ११:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT