कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दर्शनको दर्शन

कान्तिपुर संवाददाता

तपाईंलाई पछिल्लो समय पढेर निकै मन परेको पुस्तक कुन हो ?

दर्शनको दर्शन



मीनेन्द्र रिजाल (कांग्रेस केन्द्रीय सदस्य)


तीन वर्षयता पढेका पुस्तकमध्ये सबैभन्दा उपयोगी र मन परेको विल डुरान्टको ‘द स्टोरी अफ सिबिलाइजेसन’ हो । १४ हजार बढी पृष्ठको यो पुस्तक ०७३ साल जेठदेखि २०७४ वैशाखसम्म एक वर्ष लगाएर पढेको हुँ ।

पुस्तक के विषयमा छ ?
पुस्तक एघार भागमा विभक्त गरी लेखिएको छ । पुस्तकको पहिलो भाग पूर्वीय सभ्यताबाट सुरु भएर एघारौं भागमा नेपोलियनको समयको विश्व, मुख्यतः फ्रान्स, बाँकी युरोप र अमेरिकाबारे लेखेर टुंगाइएको छ । पहिलो भाग ‘आवर ओरियान्टल सिभिलाइजेसन’ सन् १९३५ मा प्रकाशित भयो । एघारौं भाग ‘द एज अफ नेपोलियन’ सन् १९७५ मा प्रकाशित भयो । ‘द स्टोरी अफ सिभिलाइजेसन’ मा एघारवटै भाग एकीकृत रूपमा छ । पुस्तकका पछिल्ला भाग विल र उनकी श्रीमती एरियल डुरान्टले सयुक्त रूपमा लेखेका हुन् । पहिलो भागमा दुनियाका आदि सभ्यता, इजिप्ट, भारत, चीन, जापान र छेउछाउका मुलकबारे लेखिएको छ । दोस्रो भागमा संसारको सभ्यताको केन्द्र ग्रिस, रोम बनेपछिको समकालीन युगबारे लेखिएको छ । मध्यकालीन युरोपको विकासको क्रममा क्रिस्चियन धर्मको विकास, त्यसपछि क्रिस्चियन धर्मका क्याथोलिक र प्रोटेस्टेट समूहबीचको वैचारिक र क्रूर सांघातिक लडाइँको चित्रण गरिएको छ । मध्यकालीन युरोप र टर्की, इजिप्ट वरिपरिका देशहरूमा क्रिस्चियन र इस्लाम धर्म, क्रिस्चियन र यहुदी धर्म सम्प्रदायबीचको वैचारिक, मानवीय र भौतिक सघर्षको वर्णन छ । रोमन सभ्यताको विकासको क्रममा सिजर र अन्य शासकको जीवनबारे पनि बृहत् चर्चा छ । आस्थाको युग भाग चारको विषय हो । रोमन पुनर्जागरण, चर्चको सुधारका वैचारिक र भौतिक आन्दोलन, त्यसपछि विवेकको युगको थालनी पाँचौं, छैटौं र सातौं भागका मूल विषय छन् । योसगै ठूला–ठूला संग्रामहरू, शासक र शासितको सम्वन्ध, आर्थिक, राजनीतिक र सांस्कृतिक संस्था, वस्तुकला, चित्रकला, साहित्य, संगीत, नाट्यकलाको विकासको ऐतिहासिक क्रमलाई शृंखलाबद्ध रूपमा प्रस्तुत गरिएको छ । त्यसपछिका भागमा बेलायतको उदयसम्म रुस, स्पेन, फ्रान्स र वरिपरिका मुलुकबीचको संग्राम, त्यससँगै जोडिएको राजनीतिक र कूटनीतिक चातुर्यको विस्तारित वर्णन छ । आधुनिक युग प्रवेशको क्रममा भोल्टेयर, रुसो, कान्ट, डिकार्ट, नित्से आदिको दर्शन, ग्यालिलियो, न्युटन, पास्क्याल, दाभिन्चीको वैज्ञानिक खोज, सेक्सपियर, मिगल सर्भान्टिसलगायतको साहित्यबारे चर्चा छ । पुस्तकका पछिल्ला तीन भाग क्रमशः भोल्टेयर, रुसो, क्रान्ति तथा नेपोलियनको युगका रूपमा चित्रित छ । मैले यति लामो ऐतिहासिक कालखण्डमा मानव जीवनका सबै आयामबारे एकीकृत रूपमा लेखिएको अर्को कुनै पुस्तक फेला पार्न सकेको छैन ।

तपाईंलाई यसमा सबभन्दा मन परेको कुरा के हो ?
यो पुस्तक पढ्दापढ्दै म डुरान्टकै यस पुस्तकको सारंशका रूपमा लेखिएको ‘हिरोज अफ हिस्ट्री’, ‘द लेसन्स अफ हिस्ट्री’ र ‘ग्रिटेस्ट माइन्ड्स एन्ड आइडियाज अफ अल टाइम’ पढ्न अभिप्रेरित भएँ । मूल पुस्तक पढ्दापढ्दैको अवधिकै ती पुस्तकहरू पनि पढेर सिध्याए । साथै यिनै विषयसँग सम्बद्ध र विल डुरान्टकै पुस्तकमा आधारित विभिन्न अडियो टेपहरू घण्टौं घण्टासम्म धैयै पूर्व सुनें ।

केही मन नपरेको वा सुधार गरेको भए हुन्ने भन्ने केही छ ?
विल र एरियल डुरान्टले जीवनभर लगाएर लेखेको यी पुस्तकमा मैले मन नपाउने केही कुरा त भएन । तथापि विविध विषय, लामो ऐतिहासिक कालखण्डबारे लेखिएको पुस्तकको शृंखला भएकाले जतिजति पढ्यो त्यति त्यति धेरै बिर्सिएजस्तो लाग्छ । भविष्यमा पनि यो पुस्तक शृंखलाको विभिन्न भाग र विषयहरूमा छानेर फुर्सदिलो समय मिलाएर अझ गहिरो अध्ययन गर्ने इच्छा छ । रुसो, उनको जीवनको दारुण कथा र अविचलित आस्थाको संघर्षले अत्यन्त प्रभावित छु ।

प्रकाशित : श्रावण ३२, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?