कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

नीलो जाकामान्डु

दरबारका मालीहरूले ‘चखुँचा स्वाँ’ अर्थात् ‘भँगेरी फूल’ नाम दिएको जाकाराण्डालाई लेखक पारिजातले ‘शिरीषको फूल’ नामान्तरण गरिदिएकी छन् । रंगीचंगी वसन्त छिप्पिँदै छ । 

काठमाडौँ — फुलाई फूल फुलन धर्ती आकाश ओर्ली आउला
मोहनी लाउला हिमालीले पन्छीले गीत गाउला
– ईश्वरवल्लभ

नीलो जाकामान्डु

गायिका तारादेवीको सुरिलो आवाज आकाशबाट ओर्लेर धर्तीलाई फेरि झुलाउन थालेको छ । ‘चैत जाँदो, वैशाख लाग्दो सुन हजुर सालको पात पलायो’ भन्ने लोक लयहरू कानमा गुन्जिन थालेको छ । ‘हाँगाहाँगा वनभरि चैत फुलेछ, थाहा नपाई मनभित्र बैंस फुलेछ’ भन्दै हरिभक्त कटवाललाई टिपेर युवायुवतीका चहलपहल बढ्न थालेका छन् । ‘वनभरि फुलिदिन्छु, मनभरि झुलिदिन्छु’ भन्दै लालीगुराँसले पहाडै छोप्न थालेको छ ।

अग्नि ज्वालासरि धपक्कै बलेर तराई–मधेसका वनमा पलाँस फुल्न थालेको छ । नयाँ वर्षको स्वागतार्थ लहानको सहलेश फूलबारीमा हारम वृक्षको काँधमा चढेर एक विशिष्ट सुनाखरी (डेन्ड्रोवियम एफाइलम) लटरम्म फुल्न थालेको छ । राजा सहलेशलाई पर्खिबसेको एक प्रेमिकाको कथा–व्यथा बोकेर प्रत्येक वर्ष वैशाख १ मा फुलिदिने उक्त सुनाखरी हेर्न आएका हजारौं दर्शनार्थीका घुइँचोलाई सहलेश फूलबारीले स्वागत गरेको छ । यही बेला नानीहरूलाई फूल र जीवनको महत्त्व बुझाउने महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झिन मन लाग्छ–

नटिप्नु हेर कोपिला

नचुँड्नु पाप लाग्दछ ।

नच्यात्नु फूल नानी हो

दया र धर्म भाग्दछ ।।

नयाँ वर्षलाई फूलमा टिप्न अर्को जनसमुदाय काठमाडौं उपत्यकाको फूलचोकी माई पुग्छन् र त्यहाँ काठमाडौं उपत्यकाका डाँडाहरू लालीगुराँसमा रंगीन थालेको हुन्छ । त्यसो त मेची–महाकाली नै गुराँसको लालीमा रंगिने बेला हो यो चैत–वैशाख । लालीगुराँसको सर्वोत्तम छटा भने तीनजुरे– मिल्के– जलजलेको वनमा नजर हुन्छ । त्यो क्षेत्र लालीगुराँसको राजधानी मानिन्छ । त्यस्तो वन अन्यत्र भेटिँदैन ।

लालीगुराँसको अर्को अलौकिक दर्शन पोखरा–जोमसोमको बाटोमा पर्ने घोडेपानी–पुनहिलको यात्रामा साकार हुन्छ । क्षितिजभरि धवलागिरिमा लालीगुराँस फुलेको दृश्य बयान गरेर साध्य हुँदैन । लालीगुराँसको लोकप्रियतालाई मध्यनजरमा राखेर २०१९ सालदेखि नै यस पुष्पलाई ‘राष्ट्रिय फूल’ मानिएको हो । यस वनस्पतिको वैज्ञानिक नाम ‘रोडोडेन्ड्रन आर्बोरियम’ स्थापित छ । विश्वमा गुराँस जाति ‘रोडोडेन्ड्रन’ भित्र ७०० भन्दा बढी प्रजाति हुन्छन् । तीमध्ये सबभन्दा अग्लो कदमा हुर्कने वृक्ष लालीगुराँस हो । यो ८ वा १० मिटरसम्म अग्लो हुन्छ । तर, सबै वृक्षमा एकनासले रातो फूल फुल्दैन । प्रकृतिका लीला अचम्मको हुन्छ । पहाडको उच्च भूभागतिर उकालो लाग्दा यसको रंगमा फिकापन आउन थाल्छ र उच्च भूभागमा पूरै सेतो रंगमा पनि फुलिदिन्छ । काठमाडौंको शिवपुरी–वाग्द्वार क्षेत्र होस् वा उँधो र उँभोतिर रातो फूलका वृक्षहरू पनि हल्का गुलाबी हुन्छन् । र, उच्च क्षेत्रमा सेतो फूल फुल्ने गुराँस भेटिन्छ ।

विज्ञानको आँखामा ती सबै एउटै प्रजातिभित्र पर्छ । नेपालभरिका पहाडी र हिमाली क्षेत्रमा अरू विभिन्न थरीका ३२ गुराँस प्रजातिहरू पाइन्छन्– कुनै मात्र एक बित्ता अग्लो, कुनै ससाना झाडीमा झाँगिने, कुनै बिरुवा अरू वृक्षको काँधमा चढेर हुर्कने र कुनै वृक्षको रूपमा वनभरि फैलिने ! गुराँसका प्रजातिहरूको उपस्थिति कोशी क्षेत्रमा २८ वटा, गण्डकी क्षेत्रमा १० वटा र कर्णाली तथा महाकाली क्षेत्रमा मात्र पाँच वटामा सीमित हुन्छ । हाम्रा ती ३२ प्रजातिका गुराँसमध्ये २३ प्रजातिका गुराँसहरू यही चैत–वैशाखतिर फुल्छन् । सेतो, पहेँलो सुन्तले, लाली र सिम्रिक रंगमा फुल्छन् नेपाली गुराँसहरू । तीमध्ये अधिकांश प्रजाति युरोपेली वनस्पति उद्यानहरूमा फुल्न सफल भएका छन् । नेपाली उद्यान र बगैंचामा तिनको उपस्थिति प्राय: शून्य छ । वनस्पति विकासमा सम्बन्धित विज्ञान–प्रविधितिर राष्ट्रको लगानी र लगनशीलता पर्याप्त नहुनुको एउटा संकेतका रूपमा त्यसलाई स्वीकार्नुपर्छ ।

काठमाडौंको बागबगैंचा र उद्यान एवं पार्कहरूमा लालीगुराँसको सट्टा ‘एजेलीमा’ फुल्छ । गुराँस परिवारको यो सदस्य चीनको मध्य क्षेत्र एवं युनानको रैथाने भए पनि युरोप, अमेरिका, एसिया सबैतिर लोकप्रिय छ । सानो कदको बुट्यान भए पनि चैत–वैशाखको सुक्खायाममा बोटैभरि रातो गुलाबी वा वैजनी फूल ढकमक्क हुन्छ । यिनका सौन्दर्य अल्प आयुको हुन्छ । दीर्घायु फूलको रूपमा आजभोलि अति लोकप्रिय बन्न पुगेको छ ब्राजिलका रैथाने बोगेन मिलिया ।

तस्बिर : रासस

विशेषत: रातो एवं प्याजी वा वैजनी रंगमा सजिने भए पनि सेतो वा पहेँलो रंगमा पनि उपलब्ध हुन्छ यो बिरुवा । तीनवटा ससाना फूलको रक्षार्थ तीनवटा पातहरू रंगीन रूपमा तैनाथ हुन्छन् । ती सुक्दैनन्, ओइलाउँदैनन् । कागजको फूलसरी हुन्छन् ती रंगीन पत्रहरू । नेवारी मालीले ती फूललाई ‘भोंस्वाँ’ अर्थात् कागजे फूल भने र नेपाली भाषाका बगैंचेहरूले ‘वैगन बेली’ भने । किनभने यो बिरुवा बेलीजस्तै लहरामा हुर्किन्छ ।

काठमाडौं उपत्यकाभित्रका दरबार, होटल, रिसोर्ट, रेस्टुराँ एवं विभिन्न संस्थाहरूमा पनि फूल–बिरुवा रोप्ने एवं बगैंचा सजाउने प्रचलन अरू बढ्न थालेको छ । बाटोघाटो र सडकमा पनि बिरुवा रोप्ने चलन बढेको छ । ती फूल, ती बिरुवा र ती वृक्षहरूको वंशावली पल्टायौं भने ९८ प्रतिशत विदेशी आगन्तुक ठहरिन पुग्छ । वसन्तको प्रस्फुटनमा पूलहरू काठमाडौं, मेक्सिको र ब्राजिलमा फुल्छ । हाम्रो बाटोघाटोमा अहिले अस्ट्रेलियाको वृक्ष सिल्भर ओके सुनौलो पहेँलो काँगियो फूल बनेर फुल्दो छ । तिनका बहिनी बनेर ब्राजिलको जाकारान्डा नीलो नीरमा फुल्न थालेको छ । केही दिनभित्र ‘काठमान्डु’ ले ‘जाकामान्डु’ को नीलो रूप लिनेछ । दरबारका मालीहरूले ‘चखुँचा स्वाँ’ अर्थात् ‘भँगेरी फूल’ नाम दिएको यस वनस्पति जाकाराण्डालाई लेखक पारिजातले ‘शिरीषको फूल’ मा नामान्तरण गरिदिएकी छिन् ।

केही वर्षयता काठमाडौंका सडकपेटीमा क्यारेबियन सागर वरपरका टापुहरूमा फस्टाउने गरेको ‘यलो ट्रम्पेट’ नामक पहेँलो बिगुले फूलको बिगबिगी बढ्दो छ । दसैं–तिहार ताकाबाटै फुल्न थालेपछि यो वृक्ष चैत–वैशाखसम्म पनि थाक्दैन । यसकै प्रतिस्पर्धामा धेरै महिना लामो फुल्ने अर्को ब्राजिली वनस्पतिलाई हामी स्वस्थानी फूल भन्न थालेका छौं । किनभने माघ महिनाको स्वस्थानी व्रतको समय अरू फूल दुर्लभ हुन्छ, तर यसको प्रचुरता छेलोखेलो हुन्छ । ससाना खोर्सानीको आकारमा पहेँलो वा रातो रंगमा झुप्पाका झुप्पा फूलहरू लहरा भरिभरि लटरम्म हुन्छ । पर्खाल, बगैंचा र बार्दलीहरू पुस–माघ मात्र होइन, फागुन–चैतमा पनि यो फूलको शृंगारमा सजिएको हुन्छ । हाम्रो तिहारलाई पुष्पमय बनाउने परम्परागत सयपत्री आजभोलि बाह्रै महिना बजारमा र बगैंचामा पनि उपलब्ध छ । मेक्सिकोको रैथाने यो पुष्प विश्वव्यापी भइसकेको छ । सयपत्री हाम्रोमा पूजाआजा, मानसम्मान, चाडपर्व एवं स्वागतमा मात्र होइन, अन्तिम बिदाइमा समेत अधिक प्रयोग हुने गरेको छ । धन्य सयपत्री !

हाम्रा घर, आँगन र बगैंचामा अधिक भेटिने वासन्ती फूलमध्ये ससाना बिगुल आकृतिमा फुल्ने पेटुनिया, भ्यागुताको मुख बाउने भ्यागुते ‘स्नाप ड्रागन’, भँगेरी पुच्छर आकृतिका ‘एन्टिराइनम’ तथा ‘लार्क स्पर’, भुइँमा टाँसिएर फैलन गलैंचे फूल ‘भाइ वर्नम’ तथा झुरभुरे पुष्प पत्रमा सजिने ‘कार्नेसन’ आदि फूलहरूका विकसित रंग र रूप शब्दमा वर्णन गर्न सकिँदैन । फूलका यस्ता विकसित रूप र रंग उत्पादन गर्ने प्राविधिक क्षमता बढाउन नेपाली पुष्प व्यवसायीहरूले विशेष पलह गर्नुपरेको छ, नत्र प्रत्येक वर्ष विदेशी बीउ र बेर्नामा हाम्रो द्रव्य खर्च हुने क्रम कम हुँदैन ।

अहिलेको मौसममा कडा घामको प्रतिउत्तरमा उनेर सूर्यसँगै उदाउने र सूर्यसँगै अस्ताउने ‘मेसेम्ब्रयम्थेमम्’ का दुई प्रकारका फूल लोकप्रिय हुँदै छन् । जमिनमा टाँसिएझैं जमिन ढाकेर फुल्ने ‘लिमिङ स्टोन डेजी’ तथा ससाना डाँठमा ठडिएर बडो फूर्तिले फुल्ने ‘ट्रेलिङ इन आइस’ भनिने फूलको चहक अति लोभलाग्दो हुन्छ । सूर्यमुखी आकृतिमा ससाना चक्का असर्फी बनेर फुल्ने रातो, पहेँलो, सुन्तले, गुलाबी र प्याजी फूलका बिरुवा दक्षिण अफ्रिकादेखि आइपुगेका हुन् । नेपाल तिनको पनि स्वागत गर्दछ । युरोपेली देशबाट आएका हाम्रा पुराना अतिथि फूलहरूमध्ये ‘प्यान्जी’ ज्यादै आकर्षक हुन्छ । पुष्पपत्रहरू पुतलीका पखेँटा जस्तै देखिन्छन् र तिनका सौन्दर्यको प्रतिस्पर्धा पनि पुतलीले मात्रै गर्न सक्छ । पहिलेका मालीहरू यो फूललाई ‘भौचा स्वाँ’ अर्थात् बिरालो फूल भन्दथे । टुलटुले आँखा उघारेर हेरिबस्ने बिरालोका अनुहार स्मरण गराउने प्यान्जीको कमाल हो । आजभोलि धेरैको बगैंचामा ढ्वाङ फूलको बाहुल्य छ । ठूलठूला प्याजजस्तो डल्लो गानोबाट सलक्क उठेको डाँठमा चारपाँचवटा फूलहरू सजिएका हुन्छन् । टुँडिखेल खुल्ला मञ्चमा भाषण सुन्न जाँदा खम्बामा जडिएका ढ्वाङको आकृतिमा यो फूल फुल्दछ । अधिकतम् फूल गाढा रातो रंगमा फुल्दछ । सेतो खालको पनि नहुने होइन, तर रातोको चाह स्वभावत: बढी हुन्छ । यो फूल भने दक्षिण अमेरिकी राज्य पेरुको रैथाने हो, जहाँबाट संसारलाई आलुको बाली नसिब भयो ।

गुलाबबिनाको बगैंचा हामी कल्पना गर्दैनौं । विश्व बजारमा हजारौं थरीका गुलाब पाइन्छन् । अरब भाषामा ‘गुल’ भनेको फूल र ‘आव’ भनेको पानी हुन्छ । हामी गुलाब जल पनि प्रयोग गर्छौं, सुवासका लागि । सुवासिलो मात्र होइन, विभिन्न मनमोहक रूप र रंगमा गुलाबले हाम्रो बगैंचा सिँघार्छ । हाम्रो रैथाने गुलाब भने वनमा मात्र फुल्छ । गाउँघरमा भैंसी काँडा नामले प्रख्यात काँडे लहरामा सुवासिलो सेतो खालको फूल फुल्छ । त्यसको कस्तूरी वासना अति मधुर हुन्छ । अंग्रेजीमा तिलाई ‘मस्क रोज’ भनिन्छ । वैज्ञानिक शब्दावलीमा ‘रोजा मस्केटा’ हो । शिवपुरीलगायत उपत्यकाका विभिन्न वन क्षेत्रमा यो कस्तूरी कसैले भेट्टाएर बगैंचामा फुलाउला कि भन्ने पर्खाइमा छु । लिली प्रजातिका अनेकौं बगैंचा घुम्दा युरोप र अमेरिकाभरिका लिली देख्न पाइन्छ । हाम्रो नेपाली लिली, जसलाई वैज्ञानिकहरू ‘लिलियम नेपालेन्स’ भन्दछन्, त्यो देख्न पाइन्न । मुन्टो भुइँ फर्काएर घोप्टो भएर फक्रिने यस फूलका ६ वटा तरेली हल्का पहेँलो हुन्छ र भित्री भागमा यो फूलको चक्लेटी रंग ज्यादै आकर्षित देखिन्छ ।

काठमाडौंको सिंहदरबारलगायत विभिन्न राणाकालीन दरबारहरूमा रुख कमलको वृक्ष भेटिन्छ । चिल्लो र बाक्लो चौडा पातहरूले रंगिएको हाँगा हाँगामा ठूलो, सेता कमल थपक्क बसेको देखिन्छ । अमेरिकाको दक्षिण पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको यो ‘म्याग्नोलिया’ हाम्रा बगैंचाहरूमा ज्यादै शोभायमान छ । हाम्रो रैथाने नेपाली म्याग्नोलिया घोगे चाँपको नाममा कोशी प्रदेशका वन जंगलमा भेटिन्छ । रूखका पातहरू सबै झरेको अवस्थामा सेता फूलहरू शंख आकारमा हाँगाभरि फुलिदिन्छ । हाम्रा वनमा ८ प्रकारका म्याग्नेलियाहरू फुल्दछन् । तिनलाई चाँप, सुनचाँप, वन कमल, भालुकाठ आदि विभिन्न स्थानीय नामले चिनिन्छ, तर हाम्रा बगैंचाभित्र भित्र्याउने चेष्टा कहीं भएको देखिँदैन ।

तस्बिर : रासस

नेपालको वानस्पतिक वैभवमा ६ हजार पाँच सयभन्दा बढि फूल फुल्ने वनस्पतिको अभिलेख छ । तीमध्येबाट ६५ वटा शोभनीय नेपाली बिरुवाहरूको विवरण ‘फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल’ ले वनस्पति विभागसँग मिलेर २०७४ सालमा प्रकाशित गरेको छ । वनस्पति विज्ञहरू कुवेरजंग मल्ल, दीपक लामिछाने, द्रोणराज काफ्ले, डा. उमेद पुन तथा दिलीप वादेको यो प्रयासलाई बाग–बगैंचा र उद्यानहरूमा फुलाउन सक्नुपर्छ, अन्यथा नेपालका वनभित्र मात्रै फुल्छ ।

रंगीचंगी वसन्त छिप्पिन थालेको छ । हाम्रो सहरी क्षेत्रका बारी, बगैंचा, पार्क, उद्यान, ठूलठूला भवन तथा दरबार क्षेत्रहरूमा फुलेका फूलहरूमा विश्व नजर हुन्छ, तर नेपाल देखा पर्दैन । पुष्प सम्पदामा विश्वको २.२ प्रतिशत फूल फुल्ने वनस्पतिले सम्पन्न यो राष्ट्रको पुष्प दरिद्रताप्रति नेपालीले चासो र चिन्ता लिन विलम्ब गर्नु हुँदैन ।

राष्ट्रिय वनस्पति उद्यानको स्थापना इतिहास पनि ६० वर्षभन्दा पुरानो भइसक्यो । स्थापना अनुरूप लगानी र लगनशीलता भयो वा भएन ? गम्ने बेला आएको छ । पुष्प एवं नर्सरीहरूको घुइँचो लाग्छ । हजारौं फूल त्यहाँ फुल्छन्, तर वनमा फुलेको देखिन्न । देखिन्छ त प्रत्येक वर्ष नेपालमा चैतमा फुल्छ तर वनमा मात्रै फूलेको । बजारमा र बगैंचामा भने ब्राजिलमा फुल्छ, मेक्सिकोमा फुल्छ । अमेरिका, युरोप, अस्ट्रेलिया अनि चीन र जापानमा पनि फुल्छन्, तर नेपालमा फुल्दैन, हिमालय फक्रँदैन । अब बगैंचामा पनि नेपाल फुलाउन सकौं भन्ने शुभकामना छ– २०८१–०९० को दशकलाई ।

(लेखक वनस्पतिविद् हुन्)

प्रकाशित : वैशाख १५, २०८१ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?