कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

सिरानीलाई माइतमानको पीर 

 ‘राज्य त हामीजस्ता जनताको अभिभावक पो हो त । देश छ र पो हामी नेपाली छम् । हामी जनता छौं र पो नेता–प्रधानमन्त्री छन् । हाम्रो मुद्दालाई कसैले गम्भीर रूपमा हेरेन ।’
रुसी सेनामा भर्ती भई सम्पर्कविहीन श्रीमान् खोजिदिन मन्त्रालयदेखि दूतावास धाइरहेकी सिरानी अहिले राज्यसँग लडिरहेकी छन्– अनसन बसेर
होम कार्की

सिरानी घर्ती मगरलाई माइतमानले पैसा खोज्ने छोटो समय दिए । नेपाली सेनामा १८ वर्ष अवधि कटाएपछि राजीनामा दिई कामविहीन बनेका माइतमान ८ महिनादेखि काठमाडौंमा वैदेशिक रोजगारीको बाटो खोजिरहेका थिए । ‘कात्तिक ६ गते मेरो उडान छ । भिसा आइसक्यो । १२ लाख रुपैयाँ लाग्ने भयो । ५ गतेभित्र पैसा बुझाइसक्नुपर्छ,’ सिरानीलाई माइतमानले फोनमा भने, ‘तुरुन्तै पैसा खोजेर पठाइदिनु ।’ यो थियो २०८० कात्तिकको कुरा । 

सिरानीलाई माइतमानको पीर 

त्यो दसैंको समय थियो । तुलसीपुर–१७ बिझौरी दाङमा एउटा सानो टहरो बसाएकी सिरानीलाई तुरुन्तै १२ लाख रुपैयाँ झिक्नु पहाड फोर्नु बराबर थियो । आफन्त–नातागोता सबै पूर्वी रुकुम पुठा गाँउपालिका–२ माइकोट बस्छन् । तुरुन्तै माइकोट जानु पनि सम्भव थिएन । डोल्पाको सिमानामा पर्ने यो गाँउमा गाडी पुग्दैन । हिउँदमा टक्सिरासम्म मात्रै गाडी पुग्छ । माइकोट पुग्न टक्सिराबाट तीन–चार घण्टा उकाली–ओराली हिँड्नुपर्छ ।

फोनमा हारगुहार गर्दा पूर्वी रुकुमबाट आफन्तले ५ लाख ७३ हजार रुपैयाँ पठाइदिए । बिझौरीमा ५ लाख रुपैयाँ जुटाइन् । आफूसँग भएको एक लाख थपेर ११ लाख ७३ हजार रुपैयाँ काठमाडौंमा पठाइदिइन् सिरानीले ।

कात्तिक ६ गते बिहान उडान हुनेबेला सम्म पनि श्रीमान् कुन देश जाँदै छन्, सिरानीलाई पत्तो थिएन । ‘हामीलाई फरक बाटोबाट लाँदै छ । अरु मान्छेलाई अर्कै बाटो लैजान्छ । अहिले फोन गर्न मिल्दैन । चेकिङमा छौं । पछि भनौँला,’ माइतमानले भने ।

दुवईमा तीन घण्टाको ट्रान्जिट थियो । दुबई पुगेपछि सिरानीले उनलाई फेरी सोधे, ‘होइन, तपाईं कुन ठाउँ जान लागेको ?’

दुबई पुगेपछि भने माइतमानले बल्ल देश खुलाए, ‘हामी भिजिट भिसामा रुस जान लागेको हौं । १५ जनाको समूहमा छौं । सबैको अलगअलग एजेन्ट छन् । हाम्रो एजेन्टका हामी चार जना छौं ।’

कात्तिक ७ को बिहान ८ बजे माइतमान रुस पुगे । उनीहरूलाई विमानस्थलमा लिन एक नेपाली पुगेका थिए । खाने–बस्ने व्यवस्था उनैले मिलाइदिए । त्यही दिन बैंक–खाता खोलिदिए । अन्य कागजात पूरा गरिदिए । सेना भर्ती गर्ने ब्यारेकभित्र छिराइदिए । माइतमान रुसी सेनामा भर्ती भए । उनलाई एक हप्तापछि तालिममा लगियो । ‘अब तालिमतिर लाँदै छ । यो तालिम तीन महिनासम्म चल्छ । त्यसपछि ठाउँअनुसार तलब दिन्छ रे । कुनै ठाउँमा कम तलब दिन्छ, कुनै ठाउँमा धेरै,’ फोनमा सिरानीलाई माइतमानले भने, ‘अहिले हामीलाई ल्याइएको ठाउँ युक्रेन हो । यहाँ कोही मान्छे छैन । सबै भवन खाली खाली देखिन्छन् । परपर एक/दुई जना मात्रै मान्छे देखिन्छन् ।’

युक्रेन पुगेको सूचना पाएपछि मात्रै सिरानीले श्रीमान् युद्धमा जाने तयारीमा रहेछन् भन्ने मेसो पाइन् । त्यस अघिसम्म श्रीमान् गएको रुस र युद्ध भइरहेको रसिया अलग–अलग देश भन्ने लागिरहेको थियो । तीन महिना भनिएको तालिम एक महिनामै सकियो । ‘म अब रेडजोनमा १५–२० दिनका लागि जाँदै छु । मोबाइल साथमा हुँदैन,’ माइतमानले मंसिर १२ गते भ्वाइस सन्देश पठाए ।

त्यो दिनदेखि माइतमान सिरानीको सर्म्पकमा छैनन् ।

माओवादी ‘जनमुक्ति सेना’ मा प्रवेश गरेकै वर्ष (२०६१) माइतमानसँग सिरानीको विवाह भएको थियो । रुकुमको विकट गाउँ माइकोटलाई द्वन्द्वले नछुने कुरै थिएन । घरमा पाँच बहिनी थिए, सिरानी कान्छी । उनकी एकल आमालाई ‘माओवादीले छोरीहरू लैजाला’ भन्ने सधैं डर हुन्थ्यो । छोरीहरूलाई द्वन्द्वबाट जोगाउन आमा आफैं माओवादीमा लागिन् । माओवादीको हरेक कार्यक्रममा सहभागी हुन्थिन् । प्रहरी–माओवादी गाउँ छिरेको खबर आउनासाथ ५ जना दिदीबहिनी लुक्न जंगल छिर्थे ।

सेना समायोजनको कुरा चलेपछि माइतमान अवकास रोज्ने कि समायोजनामा जाने भन्ने द्विविधामा थिए । ‘तपाईं आफैंले रोजेको बाटो हो । मैले पठाएको होइन । तपाईं आफैं निर्णय गर्नुस्,’ सिरानीले भनिन्,

‘छोराछोरी पढाउने जिम्मा तपाईंको हो । अरू म के भनम् ।’

२०६९ सालमा माइतमान नेपाली सेनामा समायोजन भए । त्यसपछि उनी काठमाडौं सुन्दरीजलमा पोस्टिङ भए । सेवा अवधिभर सुन्दरीजलमै खटिए । २०७१ मा सिरानी पनि छोराछोरी लिएर रुकुमबाट दाङ झरिन् । जेठी छोरी १२, छोरा ६ र कान्छी छोरी एक कक्षा पढ्छन् ।

२०७९ जेठमा माइतमानले सेनाबाट राजीनामा दिएको खबर पाइन् । उनी जागिर छोड्ने विषयको विपक्षमा उभिइन् । ‘जहाँ गए पनि कामै गर्ने हो । नजिक भए पो दु:ख–सुखमा सहभागी हुन पाइन्छ । बा–आमालाई हेर्न सकिन्छ । भइराखेको जागिर छोड्नुहुन्न,’ सिरानीले सेनाको मुख्यालयमा फोन गरेर भनिन्, ‘मेरो सहमतिबिना राजीनामा लेख्नुभएको रहेछ । त्यो फिर्ता गराइदिनुपर्‍यो ।’

नेपाली सेनाले माइतमानको राजीनामा रद्द गरिदिए । त्यसपछि माइतमानले सिरानीलाई नियमित फकाउन थाले । ‘यहाँको तलबले केही हुन्न । बच्चाहरू ठूला हुँदै गए । अब यहाँबाट निस्कन्छु । दुई वर्षपछि पेन्सन आइहाल्छ,’ माइतमानको आशा देखाए, ‘म कतै युरोप वा कुनै राम्रो देश जान्छु । मलाई निस्कन देऊ ।’

असोजमा उनी सेनाबाट निस्किए । सिरानीले फेरि रोक्न चाहिनन् ।

उनी चार महिना परिवारसँगै बसे, दाङमा । तलब आउँदैनथ्यो । सेना छोड्दा पाएको उपदानबाट घरखर्च चलिरहेको थियो । ‘घरमा बसेर त केही हुन्न । म काठमाडौं नै जान्छु । सुरक्षा गार्डको भए पनि काम गर्छु । बाहिर जाने प्रोसेस पनि गर्छु,’ सिरानीलाई यति भनेर माइतमान काठमाडौं गए । उनले क्रोएसिया जाने प्रक्रिया पनि अगाडि बढाए । दलालले आज–आज, भोलि–भोलि भन्दै गयो । ७ महिना खेर गइसकेको थियो । क्रोएसियाको पहिलो प्रयास सफल भएन । त्यही दलालले फेरि ‘ट्राई’ गर्ने भए ८ महिना समय लाग्ने बताए ।

भिजिट भिसाबाटै कतै जाने तरखर गरिरहेका माइतमानले रुस लैजाने दलाल भेट्टाए । तर, रुस पुगेको महिना दिनमै माइतमान हराए । श्रीमान् हराएपछि सिरानी बेचैन छिन् । बच्चाहरू सानै छन् । श्रीमान्को पेन्सन छैन । ऋणको भारी छ । घर बैंकमा राखेर लिएको ७ लाख ऋण छ । त्योभन्दा बाहिर पाँच लाख छ । बैंकमा महिना महिनामा १८ हजार रुपैयाँ किस्ता बुझाउनुपर्छ । त्यो पनि यता ऋण काढ्यो, उता लगेर तिर्‍यो । ब्याज बढिराख्छ । घर खर्च टार्न दुई–चार बोतल रक्सी होटलमा रक्सी लैजाने ठेक्का पाएकी छन् । त्यसबाट बच्चाहरूको खाना खर्च चलेको छ । किस्ताका लागि कुवेत गएकी काइँली दिदीले पैसा पठाइदिन्छिन् ।

रुसमा कोहीसँग उनको सर्म्पक छैन । उनी मान्छेपिच्छे अलगअलग कुरा सुन्छिन् । कोही भन्छन्, ‘दुई–तीन महिनापछि कन्ट्याक्टमा आँउछन् ।’ कसैले भन्छन्, ‘५ महिनासम्म पनि नआउँदा त मान्छे नै हुँदैन । मरिसक्यो । लास पनि उठाउँदैन ।’ बाहिरबाट मोबाइलमा पनि त्यस्तै डरलाग्दो भिडियोहरू आइराख्छ ।

चार महिनासम्म आज आउँछन् कि भोलि भनेर फोनको पर्खाइमा बसिरहिन् सिरानी । यत्रो महिना बितेपछि चैतको पहिलो साता श्रीमान्को खोजीमा जिल्ला प्रशासन कार्यालय दाङ पुगिन् उनी । ‘तपाईंको बुढाहरू त इलिगल गएको हो । कहाँ राज्यले जिम्मा लिन्छ त ?,’ जिल्लाको जवाफ थियो ।

‘हाम्रो बुढाहरू मुसा भए पो छिरेर जान्छन् । चिल पनि होइन उडेर जान । सरकारले स्वीकृति दियो अनि मात्रै गए । नेपालकै विमानस्थलबाट गएका हुन्,’ सिरानीले जिल्लालाई जवाफ फर्काइन, ‘ठीकै छ, हाम्रा बुढाहरू इलिगल गाका हुन् । श्रम स्वीकृति नलिई गएका हुन् । त्यो मान्य हुम् । तर, राज्यले अनुमति दिने व्यवस्था नै नभएको भए त जाने नै थिएनन् ।’

जिल्लामा निवदेन पेस गरेको १५ दिनसम्म केही जवाफ आएन । उनी फेरि जिल्ला गइन् । ‘हामीले यहाँदेखि उता काठमाडौंमा पेस गर्ने हो । माथिबाट जवाफ आएदेखि मात्रै तपाईंलाई पेस गर्ने हो,’ जिल्लाको जवाफ थियो ।

माइतमानका साथी मिलन ओलीले सिरानीलाई रुसी सेनामा गएकाको उद्धारका लागि काठमाडौंमा आन्दोलन भइरहेको खबर दिए । उनले कृतु भण्डारीको नम्बर उपलब्ध गराइदिए । भण्डारीले रुसमा बेपत्ता नागरिकको खोजी, मारिएकाको शव फिर्ता, क्षतिपूर्ति र बाँचेकाहरूलाई उद्धार गर्न परिवारको साथ लिई अभियान चलाइरहेकी छन् । भण्डारीसँग सर्म्पक गरी सिरानी चैत १७ गते छोराछोरी कसैलाई जिम्मा लगाएर काठमाडौं आइन् । यसअघि उनी तीनपटक मात्रै उपचारका लागि आएकी थिइन् काठमाडौं । कान्छी छोरीलाई ‘बुबा विदेश गएको’ मात्रै भनिएको छ । ६ कक्षा पढ्ने छोरालाई बुबा हराएको कुरा लुकाइएको छ । काठमाडौं आउने बेला छोरासँग ‘औषधी उपचार गर्न जान्छु’ भनेर आइन् ।

लगत्तै श्रीमान् खोजीका लागि कन्सुलर विभागमा उजुरी दिइन् । अर्को निवदेन बोकेर रुसी दूतावास गइन् । रुसी दूतावासले निवदेन लिएन ।

सरकारले उद्धार र बेपत्ता खोजीका लागि ‘बलियो कूटनीति’ नगरेको भन्दै चैत १९ मा निषेधित क्षेत्र सिंहदरबारको दक्षिण गेटमा पीडित परिवारहरूले प्रदर्शन गर्ने कार्यक्रम थियो । सरकारलाई दबाब नदिई दाल गल्दैन भन्ने निचोडमा सिरानी पुगिसकेकी थिइन् । काठमाडौंमा रहेकी आफ्नी भान्जी, नन्द, भतिजा र उनीहरूका साथीहरू लिएर सिंहदरबार गेटअघि धर्ना दिन गइन् सिरानी । उनीहरू त्यहाँ नपुग्दै एक हुललाई प्रहरीले पक्राउ गरिसकेको थियो । उनीहरू जता जान्थे, प्रहरी भ्यान त्यतै आउँथ्यो । सिरानीले मोबाइलको डाटा खोलेर हेर्दा थाहा पाइन्, प्रदर्शन गर्न आएका साथीहरूलाई प्रहरीले पक्राउ गरी अनामनगर प्रहरी बिटमा लगेर राखिसकेको रहेछ । उनीहरूलाई छुटाउन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आफैं पुगे र त्यसपछि चीनतिर उडे । परराष्ट्रमन्त्रीसँग कुरा गर्ने मेसो मिलेन ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग समय मिलाएर भेट्न गृह मन्त्रालय पुगिन् उनी । साथमा अरु परिवार पनि थिए । गृह मन्त्रालयभित्र छिर्न धेरैलाई पास दिइएन । दुई–चार जनालाई मात्रै अनुमति थियो । ‘जबर्जस्ती केही भित्र गयौं । गृहमन्त्रीलाई भ्ट्न दुई घण्टा कुर्नुपर्‍यो,’ सिरानीले भनिन् । उनीहरूले ध्यानकर्षण पढेर सुनाउँछौं भने । गृहमन्त्रीले भने, ‘होइन, आफैं अध्ययन गर्छु । मैले सबैको पीडाहरू जानिसकेको छु । बुझिसकेको छु ।’

गृहमन्त्रीसँग खुलस्त रूपमा दिलको बह पोख्न पाइएन । तीन–चार जनाले मात्रै आफूले भोगेको, सहेको, व्यहोरेको पीडा थोरै–थोरै भन्न पाए । मृतकका परिवारले ‘क्षतिपूर्ति दिलाइदिनुपर्छ’ भने । बेपत्ताका परिवारले ‘खोजिदिन’ भने । युद्धमा रहेकाको ‘उद्धार गरिदिन’ भने । ‘म रुकुमबाट तपाईंलाई अभिभावक ठानेर आएको छु । मसँग फोन नम्बर छ ।

नागरिकताको प्रमाणपत्र छ । त्यो भएपछि जहाँबाट पनि मान्छे निकाल्न सक्छ नि राज्यले’, सिरानीले गृहमन्त्रीसमक्ष भनिन्, ‘यतै रोजगारको व्यवस्था नभएको कारण सानो बच्चा छोडेरै पनि खाडी मुलुक जानुपर्‍या छ । त्यस्तो युद्धमा भएको देशमा जानुपर्‍या छ । यस्तो अवस्थामा उद्धार गरौं, जसरी हुन्छ आफ्नो नागरिकको खोजी गरौं । फर्काऔं ।’

अन्तिममा गृहमन्त्रीले उता जानेको पनि दोष देखाए ।

सिरानीलाई आफ्नो ‘सुप्रिमो कमान्डर’ सँग भेट्न मन थियो । ‘प्रचण्ड अहिले प्रधानमन्त्री हुनुभएको छ । उहाँले धनी–गरिब बराबर, महिला–पुरुष बराबर, दलितको अन्त्य, छुवाछूत हटाउँछौं, सबैको सम्पत्ति राष्ट्रियकरण गर्छु भनेर हामी उहाँको पछाडि लागेका थियौं । हामीलाई जनयुद्ध लडाएको हो । हाम्रो टाउकोमा टेकेर गएको मान्छे हो,’ सिरानीको आशा थियो, ‘हामीलाई नहेर्ने हुन्छ ?’

उनले प्रधानमन्त्रीसँग ‘जनमुक्ति सेना’ को खोजी गरिदिन भेट्न चाहिन् । तर, कतैबाट पनि प्रधानमन्त्रीसम्म पहुँॅच पुगेन । उनीहरूले फेरि वैशाख ६ गते सिंहदरबार अगाडि प्रदर्शन गरे । त्यो दिन पनि उनी पक्राउ परिन् । आशा बोकेर कामाडौं आएका उनीहरूलाई राज्यले पीडामाथि पीडा थपिदिएको कुरा मनमा गहिरोसँग बिझेको छ । ‘राज्य त हामीजस्ता जनताको अभिभावक पो हो त । देश छ र पो हामी नेपाली छम् । हामी जनता छौं र पो नेता, प्रधानमन्त्री जो पनि छन्,’ उनी भन्छिन्, ‘हाम्रो मुद्दालाई कसैले गम्भीर रूपमा हेरेन ।’

सिरानीले राज्यसँग लड्न निधो गरिन् । वैशाख ७ गतेदेखि रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षा अभियानकी संयोजक भण्डारी, सिरानी र किसन थापा आमरण अनसनमा बसिरहेका छन् ।

प्रकाशित : वैशाख १५, २०८१ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?