सभ्यता खोज्दै स्रष्टा

कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक — तीन दशकअघि सेलो गायक चन्दकुमार मोक्तानले सिन्धुपाल्चोकको पुरानो सभ्यता बोकेको एउटा गुम्बाको बयान गर्दै गाएका थिए, ‘ह्रिस्याङ्गोला गोन्बो...।’ तीसको दशकमा रेडियो नेपालमा पहिलो पटक तामाङ सेलो गाएका यी पाका गायकको यो गीत अहिले पनि चर्चित छ ।

पुरानो संस्कृति खोज्दै सिन्धुपाल्चोकको ह्रिस्याङ्गो गाउँ पुगेका तामाङ स्रष्टाहरू नाचगानमा रमाउँदै ।तस्बिर : फूलमान वल/कान्तिपुर

शुक्रबार उनै गायक मोक्तान लिसंखुको त्यही गुम्बा अघिल्तिर उभिएर आफ्नो पुरानो गीत गाउँदै गर्दा भावुक बने । ‘तामाङ सभ्यताको इतिहासमा पटक पटक नाम आउने यो गुम्बाबारे सुनेकै भरमा गीत गाएको थिएँ’, परेला थप्थपाउँदै उनी बोले, ‘बल्ल यहाँ टेक्ने मौका मिल्यो ।’

उनी मात्रै हैन, यही गाउँ पुख्र्यौली रहेको जापानका लागि पूर्व नेपाली राजदूत गणेश योञ्जन, यहीँ जन्मी हुर्केर १७ वर्षकै उमेरमा सगरमाथा कान्छा आरोहीको कीर्तिमान बनाएका शम्भु तामाङ, कुनै समय रेडियो नेपालका लोक गायक सुब्बा योञ्जन लगायत भावुक बने । काठमाडौंबाट गएका तीन दर्जन कवि तथा लेखकहरू यही थलोको प्रशंसा गर्दै कविता, गजल र गीत सुनाउँदै थिए । लिसंखुपाखर गाउँपालिका–२ को निम्तोमा तामाङ डाजाङले गरेको दुई दिने साहित्यिक यात्राको अन्तिम दिन गाउँ घुमेर स्रष्टाहरूले पुरातात्त्विक महत्त्वको ‘छ्योइफेल कुन्दलिङ गुम्बा’ मा सिर्जना प्रस्तुत गरेका हुन् ।

योञ्जनहरूको सभ्यता आरम्भसित जोडिने यो गुम्बा लामो समय गाउँमाथिको डाँडामा थियो ।
सगरमाथा आरोही शम्भु तामाङका अनुसार ७३ वर्षअघि यो तल भञ्ज्याङमा सारियो र पछिल्लो समय यसैलाई आधुनिक स्वरूप दिइयो । स्रष्टाहरूले यही गुम्बासँगै बाटामा भेटिने सयौं वर्ष पुरानो छयोर्तेन (स्तुप), सम्भोटा र रञ्जना लिपिमा कोरिएका हिगी–ओम (स्मारक), पुरानो काष्ठकला कुँदिएका घरहरू, मोक्तानहरूको आदि थलो मानिने आन्दरबुङ गाउँ लगायतका थलोलाई विम्ब र प्रतीक बनाएर सिर्जना गरे ।

केहीले तामाङ सभ्यतामा प्रचलित गाउँ ‘ह्रिस्याङ्गो’ को नाम बदलेर अर्थ नै नलाग्ने लिसंखु राखेकोप्रति गुनासो गरे । पूर्व राजदूत गणेश योञ्जनले स्थानीय मौलिकता र पहिचान राष्ट्रि्रय सम्पत्ति भएकोले त्यसलाई जोगाउन स्थानीय सरकार लाग्नुपर्ने सुझाए । ‘नामसित स्थानीय ज्ञान परम्परा, संस्कृति र पहिचान जोडिएको हुन्छ,’ उनले भने, ‘यसलाई त प्रवद्र्धन पो गर्नुपर्छ । ग्रामीण पर्यटनसित पनि जोड्न सकिन्छ ।’

काभ्रे र भक्तपुरबाट ‘फापरे व्हाई’ (लोकगीत) गाउन पुगेका धनकुमारी घिसिङ, रञ्जना मोक्तान, संगीता थिङलगायतले पनि गीतबाट यस्तै सुझाव दिए । दोहोरी खेल्न तम्सिए स्थानीय सेलो गायिका फुरुडोल्मो रुम्बा र फुर्मो लामा । राम गोम्जाले धादिङमा प्रचलित लोकभाका
सुनाए ।

राजु स्याङ्तान, राबत, मुक्तान थेवा, नेत्र तामाङ, तेज योञ्जन, हीरामाया घिसिङ, कविराज काल्तान, पदमबहादुर ग्याबा, चन्द्री मोक्तान, ईश्वर थोकर, इकमान तामाङ, अटुट दोङ, रचना मोक्तान ‘यात्री’, हीरामाया घिसिङ ‘कुसुम’, साम्देन दोङ, रोज मोक्तान, पारस लामा लगायतले सिर्जना सुनाए । गाउँपालिका अध्यक्ष कलमप्रसाद नेपालले गाउँको मौलिकता र संस्कृति खोज्दै सहरबाट स्रष्टाहरू आएकोप्रति खुसी साटे । उपाध्यक्ष हेमगंगा मोक्तान, वडाध्यक्षहरू हस्त मोक्तान, कुमार लामा, गुम्बाका प्रमुख नार्बु लामा लगायतले स्थलगत सिर्जनाको प्रशंसा गरे ।

डाजाङकी अध्यक्ष सञ्चु ब्लोनले साहित्यमा स्थानीयपनको खोजी गर्न आफूहरूले ८ वर्षअघिदेखि ‘तामाङ ग्योइकाइ ल्हाम’ (साहित्यिक यात्रा) थालेको बताउँदै पाँचौं शृंखलाको रूपमा लिसंखु छानिएको बताइन् । डाजाङका पूर्व अध्यक्ष एवं यात्रा संयोजक बुद्ध योञ्जनका अनुसार यसअघि ललितपुर भारदेउ, चौघरे, काभ्रेको तेमाल, ललितपुरकै प्युटार, कोन्ज्योसोम र मकवानपुर लगायतका थलोमा यात्रा सम्पन्न भइसकेको छ ।

प्रकाशित : माघ १३, २०७५ ०९:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भिन्न आँखामा महेश्वर

कान्तिपुर संवाददाता

काठमाडौँ — उमेरको खास चासो छैन उनलाई । नौ दशक पुग्नै लाग्दा पनि जोस उस्तै छ । ८८ वर्षीय साहित्यकार एवं विश्लेषक महेश्वर शर्मा हप्तैपिच्छे पत्रपत्रिकामा लागि नियमित स्तम्भ लेख्छन्, बर्सेनि पुस्तक निकाल्छन् ।

तीन दर्जन कृति प्रकाशित भइसकेका छन् भने केही उपन्यास, कथा, निबन्ध, लेख र कविता संग्रह प्रकाशनको पर्खाइमा । उनै महेश्वरको व्यक्तित्व र कृतित्वमाथि विश्लेषणात्मक एवं संस्मरणात्मक कृति तयार भएको छ । राजधानीको महाराजगन्जस्थित चुनदेवी गणेशबस्तीमा आख्यानकार धु्रवचन्द्र गौतम र साहित्यकार रोचक घिमिरेले ‘भिन्न भिन्न आँखामा महेश्वर शर्मा’ पुस्तक सार्वजनिक गरे ।

समारोहमा कलमले आफूलाई निष्क्रिय हुन नदिएको महेश्वरलेबताए । ‘लेख्नबाहेक अन्य केही गर्न आउँदैन,’ उनले भने, ‘तास खेल्न आउँदैन, रक्सी खान जानेको छैन । यही लेख्न आउँछ, लेखिरहन्छु ।’ उनी विभिन्न पत्रपत्रिकाकालाई स्तम्भ पनि लेख्छन् । कहिलेकाहीँ स्तम्भ रोक्न सम्पादकलाई आग्रह गर्छन् । पाठक प्रतिक्रियाले उर्जा दिइहाल्छ । भन्छन्, ‘यस्तो मायाले लेखिरहन उर्जा मिल्छ ।’

कृति सार्वजनिक गरिसकेपछि धुव्रचन्द्रले महेश्वरलाई ‘अथक साधक’ को उपमा दिए । ‘उमेर ढल्कँदै गएपछि कतिपय स्रष्टालाई अरूले लेख भनेर झक्झकाउनुपर्छ,’ उनले भने, ‘उहाँलाई कसैले भनिरहनै पर्दैन ।’ महेश्वरको लेखनमा युवा उर्जा रहेको उनले थपे । वृद्ध उमेरमा साधनारत र सिर्जनात्मक जीवन बाँचिरहने स्रष्टा कमै रहेको रोचक घिमिरेले बताए ।

कृतिमा महेश्वरबारे ३६ स्रष्टाको संस्मरणसँगै उनका कृतित्व र व्यक्तित्वको विश्लेषणात्मक लेख समावेश रहेको रमेश शुभेच्छुकले जनाए । महेश्वर लामो समय नेपाल सरकारको निजामती सेवा र केही समय चिकित्सा सेवा र राजनीतिमा समेत लागेका थिए । रमेशले भने, ‘नेपालको प्रशासकीय र राजनीतिक समस्याका विश्लेषणसँगै उनका लेखमा कलात्मक पाटो पनि निकै मिठासयुक्त हुन्छन् ।’ पूर्व सांसद एवं महेश्वरका साथी सुबसेन ओलीले महेश्वर सच्चा देशभक्त रहेको दाबी गरे । महेश्वर लोभ, लालच, मोह र भावनामा बगेर लेख्न लेखक नभएको समेत उनले बताए ।

कार्यक्रममा राजनीतिज्ञ नरहरि आचार्यले पञ्चायती व्यवस्थामा पत्रकारिता गर्दा महेश्वरले साथ दिएको क्षण सम्झिए । त्यति बेला उनीहरू पत्रिका निकाल्थे । पत्रिकामा छापिएका खबरहरू हेर्दा पत्रिकै प्रतिबन्धित होला भन्ने डर पनि उनीहरूलाई लाग्थ्यो । ‘उहाँ त्यस बेला जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो । सरकारको कर्मचारी भएर पनि अप्रत्यक्ष रूपमा हाम्रो पत्रिकाको संरक्षक उहाँ नै हुनुहुन्थ्यो,’ नरहरिले महेश्वरतर्फ हेर्दै भने, ‘त्यति बेलै मैले उहाँको जीवनबाट गम्भीर ज्ञान पाएको थिएँ ।’ महेश्वरका ‘पञ्चायती राजकाज’, ‘रन्थमोल’, ‘कालखण्ड’, ‘उन्माद’ लगायत कृतिहरू चर्चित छन् । ‘भिन्न भिन्न आँखामा महेश्वर शर्मा’ कृति गण्डकी साहित्य परिषद् स्याङ्जाले छापेको हो ।

प्रकाशित : माघ १३, २०७५ ०९:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT