कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘अठोट’ ले दिएको उत्प्रेरणा

काठमाडौँ — बिदाको समय पढेर सदुपयोग गर्न सुझाउँदै योगेन यादवलाई शिक्षकले ‘अठोट’ पुस्तक दिए । बाह्य पुस्तक खासै नपढ्ने नेपाल प्रहरी आवासीय विद्यालयका योगेनले जब श्रीश भण्डारी लिखित उक्त पुस्तक पढ्न थाले, चाख लाग्दै गयो ।

‘अठोट’ ले दिएको उत्प्रेरणा

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भण्डारीको सोही पुस्तकबारे गरिएको अन्तक्र्रियामा योगेन पुस्तकप्रतिका आफ्ना धारणा साझा गर्दै थिए । उनले पुस्तकमा रहेको ‘खुशी’ खण्डले निकै उत्प्रेरणा दिएको दावी गरे ।


‘पहिले साथीहरूको प्रगति देख्दा आफू दु:खी हुन्थें’ योगेनले भने, ‘तर पुस्तकले आफ्नो खुसी आफैंमा खोज्नुपर्ने रहेछ भन्ने ज्ञान दियो । पहिले अरूको सुख देखेर त्यत्तिकै दु:खी पो हुँदो रै’छु ।’ कान्जिरोवा विद्यालयमा कक्षा ९ मा अध्ययनरत प्रेक्षा अधिकारीले चाहिँ ‘अठोट’ ले समयको महत्त्व बुझाउन मद्दत गरेको सुनाइन् ।


पुस्तकको ‘नभनौँ भोलि’ खण्डले आफ्नो र आफ्नो कामको महत्त्व बुझाएको उनले बताइन् । त्यसैगरी, अर्का विद्यार्थी पवन शर्माले मानिसमा आत्मविश्वास भयो भने, सफलताको शिखरमा पुग्न सकिने बताए । शर्माले कवाडीखानामा काम गर्ने गरिब बालक पछि गएर कसरी संसारकै प्रसिद्ध लेखक म्याक्सिम गोर्की बन्न पुगे भन्ने प्रसंगले उत्प्रेरणा दिएको बताए । उनले भने, ‘किताबै किन्न नसक्नेले किताब मागेर पढ्न सक्छ भने हामीसँग त किताब छन् । त्यसलाई उपयोग गर्न सक्नुपर्दाे रहेछ ।’


कार्यक्रममा विभिन्न विद्यालयका दर्जन बढी विद्यार्थीले उक्त पुस्तकबारे आफ्ना अनुभव साटेका थिए । पुस्तकबारे शिक्षाविद्, मनोविद्बीच अन्तरक्रिया पनि चलेको थियो । शिक्षाविद् प्रा. विद्यानाथ कोइरालाले अहिले बालबालिकालाई कुनै कुरा जबरजस्ती लाद्ने गर्दा सन्की हुने खतरा भएकोले हस्तक्षेप नगरी उनीहरूलाई नै सोचेर काम गर्न दिनुपर्छ भन्ने पक्ष पुस्तकले उठाएको बताए ।


बालबालिकाका लागि लेखिएको भए पनि ‘अठोट’ जुनसुकै उमेर समूहका पाठकका लागि उपयुक्त रहेको मनोवैज्ञानिक परामर्शदाता सनम पौडेलले बताइन् । पुस्तकमा रहेका सामाग्री मन छुने खालका भएको उनले दाबी गरिन् । बालसाहित्यकार कार्तिकेय घिमिरेले ‘अठोट’ मा विद्यार्थीलाई केन्द्रित गरेर सुहाउँदो विषयवस्तु समायोजन गरेको बताए ।


‘विदेशी राम्रा पुस्तक पढदा पनि विद्यार्थीहरूले त्यहाँको पात्र र परिवेश नबुझ्न सक्छन्,’ उनले भने, ‘तर लेखकले यहीँको पात्र र परिवेशमा रहेर पुस्तक लेखेकाले पाठकले विषयगत निकटता महसुस गर्न सक्छ ।’ पुस्तकलाई इन्टर्नल पब्लिकेसनले बजारमा ल्याएको हो ।

प्रकाशित : माघ २०, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?