कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कफीगफ स्वादमा “कोरियाना”

कान्तिपुर संवाददाता

काठमाडौँ — पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ बजारमा आएको छ । दुइटा उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैरआख्यान कृति हो ।

कफीगफ स्वादमा “कोरियाना”

पब्लिकेसन्स नेपालयले आफ्नो सुरुआत नै वाग्लेको पहिलो उपन्यास ‘पल्पसा क्याफे’ बाट गरेको थियो । नेपाली साहित्यिक कृतिहरूमाझ ‘पल्पसा क्याफे’ ले नयाँ पाठक घेरा जन्माउनुका साथै थुप्रै मानकहरू तयार पारेको थियो ।


नेपाली साहित्यलाई नयाँ युग सुहाउँदो हुने गरी त्यस पुस्तकको प्रवद्र्धनले पनि आधुनिक बाटो अख्तियार गरेको थियो, जसले पछिल्लो समयमा आमप्रवृत्तिकै रूप लिएको मानिन्छ ।


यस पटक उनै वाग्लेको पछिल्लो कृतिलाई पब्लिकेसन्स नेपालयले औपचारिक लोकार्पण समारोहबिना नै बजारमा ल्याएको हो । वाग्लेले समाचार कक्षभन्दा बाहिर गरेका साहित्यिक सिर्जनाका प्रतिफल अघिल्ला दुई पुस्तक भए पनि यो पुस्तक भने उनले समाचार कक्षभित्रै सुरु गरेको चर्चित स्तम्भ ‘कफीगफ’ मा आधारित छ ।


यो पूर्वप्रकाशित कफीगफहरूको संग्रह नभई केही समयअघि कोरियामा आयोजित लेखन कार्यशालामा उनले तयार पारेको बेग्लै कृति हो । त्यसैले पाठकहरूले यसलाई वाग्लेका अघिल्ला दुई उपन्यासभन्दा बेग्लै ‘सिर्जनशील गैरआख्यान’ पुस्तकका रूपमा पाउनेछन् । गैरआख्यान भए पनि यसमा उपन्यासका पाठकहरूले आख्यानको आनन्द पनि पाउन सक्ने वाग्ले बताउँछन् ।


अढाई दशकभन्दा लामो समय पत्रकारिताको व्यस्त घेरामा बिताएका वाग्लेले समाचार कक्षसम्म आइपुग्ने नेपाली समाजका विभिन्न चित्र र चरित्रलाई सूक्ष्म विश्लेषण गरिसकेपछि त्यसैको ‘बाई प्रोडक्ट’ का रूपमा लेखकीय शिल्प अनि कल्पनाशीलता प्रस्तुत गर्दै आएका छन् ।


पुस्तकलाई पब्लिकेसन्स नेपालयले नियमित बिक्री–वितरण प्रणालीमार्फतै मुलुकभर फिँजाउने योजना बनाएको छ । त्यसका निम्ति शुक्रबारदेखि देशभरका सबैजसो महत्त्वपूर्ण पुस्तक पसलहरूमा यो उपलब्ध हुनेछ । मोटो गातामा उपलब्ध पुस्तकको मूल्य भने ४ सय ९५ रुपैयाँ राखिएको छ ।


यो परम्परागत बिक्री प्रणालीबाहेक यस पटक पब्लिकेसन्स नेपालयले इच्छुक पाठकहरूका निम्ति घरैमा पुस्तक लगिदिने चाँजोपाँजो पनि मिलाएको छ । त्यसका निम्ति कुनै पनि पाठकले कम्प्युटर वा मोबाइलको एक क्लिकबाटै यो सेवाको आनन्द लिन सक्नेछन् ।


इन्टरनेटमार्फत ‘थुप्रै डट कम’, ‘किताब यात्रा डट कम’ र ‘सस्तो बुक डट कम’ जुनसुकैमा गएर यसको अर्डर गर्ने हो भने पाठकले दिएको ठेगानामै पुस्तक उपलब्ध हुने बताइएको छ । यस्तो सेवा मुलुकका सबैजसो प्रमुख सहरहरूमा उपलब्ध हुने र त्यसबाहेक यसलाई संसारभरि अमेजनमार्फत पनि उपलब्ध गराइसकिएको नेपालयले विज्ञप्तिमा जनाएको छ ।

प्रकाशित : फाल्गुन २, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?