कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साहित्य–कला उत्सवले तरंग

श्यामसुन्दर शशि

जनकपुर — छदिने जनकपुर साहित्यकला एवं अन्तर्राष्ट्रिय नाटक उत्सव बिहीबार सम्पन्न भएको छ । समापन समारोहलार्ई सम्बोधन गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उत्सवले समाजमा नयाँ तरंग ल्याएको बताए । उत्सवले मैथिली भाषा, साहित्य, कला, संस्कृतिसँगै सिंगै मधेसको संस्कृतिलाई विश्वव्यापी बनाएको उनको कथन थियो ।

साहित्य–कला उत्सवले तरंग

प्रदेश सरकार मैथिली भाषाको संरक्षण संवर्द्धन गर्न हरसम्भव लाग्ने उनले बताए । उनले प्रदेशमा सर्वाधिक बोल्ने मैथिली भाषा प्रदेशको कामकाजको भाषा बन्ने ठोकुवा गरे । तर मैथिली, भोजपुरी, बज्जिका लगायतका भाषासमेत रहेको यस प्रदेशमा सम्पर्क भाषाका रूपमा हिन्दीलाई राखिनुपर्ने उनको तर्क थियो ।


‘म भोजपुरी क्षेत्रको हुँ तर अहिले मिथिला क्षेत्रमा सम्बोधन गर्नुपर्दा हिन्दीमा सम्बोधन गर्नुपरेको छ । प्रदेशभरि संवाद गर्न हिन्दीलाई सम्पर्क भाषा बनाउनुपर्छ,’ उनले भने ।


पूर्वाञ्चल विश्वविद्यालयका संस्थापक उपकुलपति एवं भाषावैज्ञानिक प्रा. रामावतार यादव उत्सवले मिथिला र मैथिलीलाई विश्वव्यापी बनाउन सफल भएको बताए । उनले भने, ‘उत्सवमा देशविदेशका साहित्यकार, पत्रकार, नाटककार निर्देशकको सहभागिता भयो । उनीहरूले यहाँको समाज बुझ्ने मौका पाए ।’


उत्सवमा कर्णाली, भारतको असम र पटना तथा अफगानिस्तानका समूहले नाटक प्रदर्शन गरेका थिए । यसअघि अन्तर्राष्ट्रिय मैथिली नाटक महोत्सवका क्रममा नेपाल र भारतका मैथिली नाटकहरू मात्र मञ्चन हुने गरेका थिए । यस महोत्सवमा पहिलो पटक मैथिलीका ४, हिन्दी, नेपाली र फारसी भाषाका १–१ गरी कुल सात नाटक प्रदर्शन भए ।


महोत्सवमा मिथिला पेन्टिङ, पेन्टिङ गरिएका टिसर्ट, भेस्ट, कुर्ता–पैजामा, झोला, सिकीको कलात्मक डाली–मौनी, मैथिली भाषाका लोकप्रिय पुस्तक एवं मुरही, कचरी, झिल्ली, बडी, बगिया, कोदोको रोटी–माछा, तिलकोरको तरुवाको स्वाद, मैथिली भाषा, साहित्य, कला, संस्कृतिका विभिन्न पक्षमाथि विचारोत्तेजक विमर्श अनि अपराह्न देशविदेशका नाटक र राति रंगारंग मैथिली सांस्कृतिक कार्यक्रम आयोजन गरिएको थियो ।


६ दिवसीय उत्सवमा मैथिली भाषा साहित्य संरक्षणमा चुनौती र निदान, प्रदेशको नामकरण र भाषा, मैथिली भाषामाथि जातीय विभाजनको प्रभाव, मैथिली फिल्मको सम्भावना, स्थानीय तहमा मातृभाषा शिक्षण, प्रदेशको सांस्कृतिक परिचय र मिथिला, केन्द्रीकृत मिडिया र मिथिला, महिला, युवा सशक्तीकरणलगायतका विषयमा बहस छलफल भएको थियो ।

प्रकाशित : फाल्गुन २५, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?