कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेन्टिङमा तीन दशक

पर्वत पोर्तेल

काँकडभिट्टा — पेन्टिङलाई पेसाकै रूपमै अँगाल्नेहरू पूर्वमा धेरै छैनन् । त्यसमा पनि चित्रकार महिला त सिलो नै खोज्नुपर्छ । तर, केही महिला भने दशकौंदेखि पेन्टिङमा रमाइरहेका छन् । त्यसमध्येकी एक हुन् ६० वर्षीया अनुराधा थापा ।

पेन्टिङमा तीन दशक

मोरङको विराटनगरकी अनुराधा तीन दशक बढी समयदेखि पेन्टिङमा सक्रिय छिन् । ढल्कँदो उमेरमा पनि उनको सक्रियता युवावयको झैं छ ।


पूर्वका विभिन्न सहरहरूमा आयोजना हुने चित्रकला प्रदर्शनीमा उनी प्रायः पुगेकी हुन्छिन् । किन बनाउनुहुन्छ पेन्टिङ ? उनको जवाफ छ, ‘पेन्टिङले आत्मसन्तुष्टि दिन्छ ।’ चित्रकलासँगै मूर्तिकलामा उनी विशेष दखल राख्छिन् । राजधानी, पोखराजस्ता स्थानमा जस्तो पूर्वमा कलाको बजार खास छैन । धेरै कलाकार कला नबिक्ने चिन्ताले बेचैन छन् । पेन्टिङ बेचेरै जीविका चलाउन सक्ने अवस्था अझै छैन । यद्यपि विगतको तुलनामा अवस्था सहज बन्दै गएको छ । यिनलाई के विश्वास छ भने एक दिन पेन्टिङ बेचेरै पूर्वेली कलाकारले घरबार जोड्न सक्छन् । मनग्य आम्दानी गर्न सक्छन् ।


‘घर परिवारको सहयोगकै कारण अहिले यहाँसम्म आइपुगें,’ अहिलेसम्म सयौं पेन्टिङ र मूर्ति बनाइसकेकी उनले भनिन्, ‘अहिले झन् स्वतन्त्र पक्षीजस्तै भएकी छु, चिक्रकलाका कुनै कार्यत्रम छुटाउदिनँ ।’ नेपाली ललितकलाका क्षेत्रमा अहिले रागिनी उपाध्याय, अस्मिना रञ्जित, सुष्मा राजभण्डारी, चन्दा श्रेष्ठ सरोजा खडगी, अरुणा हिङमाङ आदि चित्रकार महिलाको नाम अग्रस्थानमा छ । यिनै अगुवा कलाकारहरूकै समकालीन हुन् अनुराधा । पूर्वमा कलाको बजार छैन, कला बुझ्ने पारखी पनि छैनन् भन्ने आरोप लागिरहँदा झन्डै झन्डै बुढ्यौली वय टेक्न लागेकी अनुराधा भने निरन्तर चित्रकला र मूर्तिकलामै तल्लीन छिन् । ‘चित्र बिस्तारै बिक्छ, मान्छेले बिस्तारै बुझ्न थाल्छन् भनेको पनि धेरै वर्ष बितिसक्यो,’ अनुराधाले गुनासो गरिन्, ‘तर, खै अहिलेसम्म न कला बिक्छ, न कला बुझ्ने मान्छे नै भेटिन्छन् ।’


अनुराधाले पेन्टिङप्रति नयाँ पुस्ताको चासो पटक्कै नभएको बताइन् । त्यसमा पनि महिला त कुरै नगरौं । उनका अनुसार चित्र कोरेर अनि बेचेर पैसा कमाउने धैर्य पनि युवापुस्तामा छैन । अभिभावकहरू भनिदिन्छन्– चित्र कोरेर के हुन्छ ? अनि कसरी नयाँ पुस्ताले यो क्षेत्र रोज्ने आँट गर्ला त ? अनुराधाले भारतको काशी हिन्दु विश्वविद्यालयवाट मूर्तिकलामा स्नातक गरेकी छन् । ‘मूर्तिकला पढेर त आइयो तर कुनै स्कोप नदेख्दा खल्लो लाग्यो,’ अनुराधाले सुनाइन्, ‘अनि मूर्तिकला छाडेर चित्रकलातिर लागें ।’ तर, अहिले भने यिनी चिक्रकला र मूर्तिकलामा बराबर सत्रिय छिन् । थप्छिन्, ‘आनन्दका लागि पेन्टिङ बनाउँछु । गर्जो टार्ने बाध्यता मलाई छैन ।’

प्रकाशित : चैत्र ६, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?