कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सांस्कृतिक नीति खोइ ?’

दीपक परियार

लेखनाथ — प्रदेश प्रज्ञा प्रतिष्ठान गठन गर्ने गण्डकी प्रदेशको तयारी उहिल्यै हो । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गत वर्ष तयारी थाल्न सार्वजनिक आव्हान नै गरे । राज्य पुनर्संरचनाअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालिसकेका उनमा पोखराका प्राज्ञिक व्यक्तित्वको भरोसा थियो । तर हालसम्म प्रदेश प्रज्ञा प्रतिष्ठान गठन भएको छैन ।

सर्वप्रथम गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको आफ्नै सांस्कृतिक नीति हुनुपर्ने धारणा राख्छन्, कवि तीर्थ श्रेष्ठ । विश्व रंगमञ्च दिवसका अवसरमा बुधबार पोखरामा आयोजित कार्यक्रममा उनले पोखरेली नाटकका अन्तरकुन्तर खोले । पोखरा थियटरले गरेको ‘नाटक हेर्छ पोखरा’ विषयक कार्यक्रममा उनले प्रमुख वक्ताका रूपमा आफ्ना विचार राखेका थिए ।


नाट्य क्षेत्रलाई राज्यको सहयोग नहुँदा पनि व्यक्तिगत तथा संस्थागत रूपमा रंगमञ्चको यात्रा अगाडि बढेको उनको बुझाइ छ । ‘कर्मचारी पाल्न नसक्ने एकेडेमीबाट हामीले के आशा गर्ने ?’ उनले भने, ‘यति हुँदाहुँदै पनि नाटक देखाउनुपर्छ, नाटक हेरिनुपर्छ भन्ने प्रयत्नले नाट्य क्षेत्र अगाडि बढ्नु सुखद् हो ।’ सांस्कृतिक नीति बनाएर नाटक विधा राज्यबाटै आरक्षित हुनुपर्नेमा उनी जोड दिन्छन् । पोखरा थिएटर सञ्चालनमा आएपछि एक वर्षको अवधिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय नाटक महोत्सव हुनु पोखरेली रंग क्षेत्रको लागि सौभाग्य भएको उनले बताए । उनले धनशमशेरको पालादेखि सुरु भएको पोखराको रंगमञ्चका विभिन्न उतारचढावका बारेमा बेलिविस्तार लगाए ।


साहित्यकार सरुभक्त रंगमञ्चको यात्रालाई अगाडि बढाउन अध्ययन आवश्यक पर्ने बताए । पछिल्लो क्रममा अध्ययन नगरी यो क्षेत्रमा प्रवेश गर्नेहरूप्रति उनको चिन्ता थियो । ‘नाटक हेर्छ पोखरा भनेजस्तै, नाटक पढ्छ पोखरा हुनुपर्छ,’ उनले भने । नाटक लेखनदेखि मञ्चनसम्म थुप्रै चुनौती रहेको बताउँदै उनले नाटकको भविष्यप्रति सचेत बन्नुपर्ने आवश्यकता औंल्याए ।

प्रकाशित : चैत्र १५, २०७५ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?