कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुर्काभित्रै छोपिएको सौन्दर्य

मधु शाही

बाँके — कालो बुर्काभित्र चन्द्रमा जस्तै उज्यालो अनुहार । उनी त्यसलाई अझै चम्किलो पार्न चाहन्छिन् । त्यसैले नियमित रूपमा पार्लर धाउने गर्छिन् । नेपालगन्जस्थित एक ब्युटिपार्लरमा मुस्लिम समुदायकी महिलाले फेसियल गर्न आएको देख्दा पहिलो पटक देख्नेहरू अचम्मै परे ।

तर, उनका लागि पार्लर नौलो थिएन । ब्युटिसियनले उनलाई चार वर्षदेखि निरन्तर बुर्काभित्रको सुन्दरता निखार्न मद्दत गर्दै आएकी छन् । 'हरेक महिना फेसियल गर्छु,' रजिया बेगमले भनिन्, 'तर, कस्ती देखिएकी छु । कसैलाई थाहा हँुदैन ।' उनी घरबाहिर निस्केर काम गर्न त परै जाओस् पार्लरसम्म आउन पनि परिवारभित्रकै सदस्यको साहरा लिनुपर्छ । प्रायः उनका श्रीमान्ले पार्लरमा पुर्‍याउँछन् । फेसियल सकिएपछि फेरि उनै लिन आइपुग्छन् ।


आधुनिक युवतीले सौन्दर्यलाई आत्मविश्वास बढाउने सूत्र मानेका छन् । तर, बुर्कामा सजिएका केही मुस्लिम समुदायका महिलाले आफ्नै सुन्दरताको परिभाषा अरूकै मुखबाट सुन्न लालायित छन् । खजुरा घर भएकी २५ वषर्ीया आना खानले विवाह गरेको तीन वर्ष भयो । विवाह हुनुभन्दा अघि उनी कालो बुर्कामा थिइनन् । जुन दिन उनले जीवनसाथी पाइन्, त्यस दिनदेखि मुहारमा पर्दा छायो । यो उनको वैवाहिक सम्बन्धको चिनो हो । उनलाई सुन्दर बन्नुपर्ने अर्को चुनौती पनि थपियो ।


घरमा बस्ने, खाना पकाउने अनि चिटिक्क रहिरहनु आफ्नो दैनिकी रहेको उनले सुनाइन् । मुस्लिम समुदायका महिला निकै राम्री हुन्छन् भन्ने गाइँगुइँ उनले बेलाबखत सुन्ने गर्छिन् । यसको राज के होला ? आना व्यंग्य गर्दै भन्छिन्, 'कहिल्यै नदेखिने अनुहार जसका लागि पनि राम्रै लाग्नु स्वाभाविक हो ।' विडम्बना पार्लर धाउँदा पनि उनको सौन्दर्यको वर्णन गरिदिनुपर्ने मान्छेले बेवास्ता गरिदिँदा दुःख लाग्छ । कर्ली कपाल स्ट्रेट गरेर सिल्की बनाएको दिन सासुको कुटाइ खानुपरेको क्षण उनको मस्तिष्कमा अझै ताजा छ । सुन्दर कसका लागि देखिने ? आनाजस्तै थुप्रै मुस्लिम महिलाको एउटै जवाफ हुन्छ, 'सोहरके लिए ।' अर्थात् श्रीमाना लागि ।


रूपको तारिफ ऐनाले भन्दा पनि श्रीमान्ले गर्दा खुसी लाग्ने अमिना खानले बताइन् । राझाँ घर भएकी ३६ वर्षीया उनको दैनिकीमध्ये शृंगारिनु पहिलो प्राथमिकतामा पर्छ । पार्लरकै लागि भनेर उनी मासिक ३ हजार रुपैयाँ बजेट नै छुट्याउने गरेको बताउँछिन् । आफूसँग एक रुपैयाँ आम्दानी नभए पनि पार्लर खर्च भनेपछि श्रीमान्ले खुरुक्क पैसा दिने गरेको उनले सुनाइन् । 'सुन्दरतामा लगानी जति पनि पाइन्छ,' उनी भन्छिन्, 'कहिलेकाहीँ बचेको पैसा जम्मा गर्छु ।' उनले हरेक महिना पार्लरबाट बचाएर ५ सयदेखि हजार रुपैयाँ संकलन गर्ने गरेको बताइन् । सौन्दर्यको बजेट कटाएर अर्थ संकलन गर्ने आफूजस्तै अरू पनि थुप्रै संगिनी रहेको उनी दाबी गर्छिन् । मात्रै यति फरक छ । धेरैले मनको कुरा मन मै लुकाएर राख्छन् ।


नेचुरल ब्युटिपार्लर नेपालगन्जकी ब्युटिसियन सरिता बोहराले दुई दशकदेखि पार्लर चलाउँदै आएकी छन् । उनको अनुभवमा मुस्लिम समुदायका महिला बुर्काभित्रै भए पनि सौन्दर्यमा विशेष रुचि दिने गरेका छन् । 'खास गरी आँखाको मेकअपमा उनीहरू बढी जोड दिन्छन्,' सरिताले भनिन्, 'देखिने अंग भनेकै यही हो, सायद त्यसैले सजाउन चाहन्छन् ।'


गाजल उनीहरूको विशेष सौन्र्दय सामग्री हो । अरूका लागि सुन्दर हुनुमा उनीहरू बढी केन्दि्रत भएको उनले बताइन् । बुर्का फालेर मुहार देखाउने चाहना भए पनि ती महिला यसमा खासै आवश्यक ठान्दैनन् । ब्युटिसियन सरिताले बेलाबखत पार्लरमा आएका यस्ता महिलालाई सम्झाउने गर्छिन् । बिहे भोजका लागि अधिकांश ब्राइडल मेकअप गर्न पार्लर आउन थालेका छन् । १५ वर्ष पहिले यस्तो पटक्कै थिएन । अहिले मुस्लिम समुदायका महिला नै धेरै ग्राहक बन्न थालेको उनले खुलाइन् । 'मलाई सम्झना छ, मुस्लिम महिला पार्लर धाउनु निकै गलत मानिन्थ्यो,' उनले भनिन्, 'अहिले पार्लरसम्म त आउँछन् तर बुर्कामै सौन्दर्य लुकाएर जान्छन् ।'

प्रकाशित : वैशाख १८, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?