कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रहेनन् भोजपुरी साहित्यकार मिश्र

पर्सा — भोजपुरी भाषा तथा साहित्यका मूर्धन्य साहित्यकार पण्डित दीपनारायण मिश्रको निधन भएको छ । ८४ वर्षीय मिश्रको बिहीबार राति वीरगन्ज रेशमकोठीस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको अन्त्येष्टि शुक्रबार अशोक वाटिकामा गरिएको छ । मिश्रको निधनबाट नेपालको भोजपुरी भाषा र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको साहित्यकारहरूले बताएका छन् ।


साहित्यकार अरुणविक्रम शाहले भोजपुरी साहित्यको 'भीष्मपितामह' को रूपमा अत्यन्त सम्मान र श्रद्धा गरिँदै आएका मिश्रको निधनले भोजपुरी भाषा र साहित्यको क्षेत्रमा ठूलो क्षति भएको बताए ।


अनवरत भोजपुरी भाषा साहित्यको साधनामा तल्लीन रहेका मिश्र पछिल्लो केही वर्ष शारीरिक रूपमा अशक्त थिए । उनलाई उच्च रक्तचाप, मधुमेह र मुटु रोगको समस्या थियो ।


उनले चार दशक लामो शिक्षण पेसाबाट ०४९ मा उनले अवकाश पाएका थिए । उनको कलम नेपाली, हिन्दी भाषामा पनि चलेको थियो । नेवारी संस्कृतिको बारेमा पनि उनले लेखेका थिए । कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालयबाट उनले संस्कृतमा आचार्य गरेका थिए । उनको ९ वटा कृति प्रकाशित छन् । १० वटा कृति अप्रकाशित छन् ।


प्रकाशित कृतिहरूमा 'अजामिल' (भोजपुरी खण्डकाव्य), 'अजुरीके फुल' (राष्ट्रिय भोजपुरी कविता संग्रह), 'फूलझरी' -भोजपुरी सामाजिक कविता संग्रह), 'उत्सर्ग' -हिन्दी कविता संग्रह), 'दोहा नीति सार' (नीति सम्बन्धित दोहा संग्रह), 'असली नेता हम कहाई' -व्यंग्य कविता संग्रह), 'एघरीके धरनी' -व्यंग्य कविता संग्रह), 'ससुराली' (व्यंग्य कविता संग्रह) र 'करनी भरनी' (भोजपुरी कहानी संग्रह) रहेका छन् ।

प्रकाशित : वैशाख २१, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?