कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

मौलिक पौवामा युवा कम

पूर्णबहादुर लावड

काठमाडौँ — दक्ष कलाकारको अभावमा परम्परागत पौवा चित्र हराउँदै जान थालेकोमा यस कला सम्बद्ध जानकारहरूले दु:ख व्यक्त गरेका छन् । ललितपुरमा नेवारी संस्कृति जगेर्ना गर्दै आएको परम्परागत पौवा चित्र बनाउने दक्ष कलाकार आजभोलि पाउनै मुस्किल हुन थालेपछि नेपालको मौलिक कला संकटमा परेको हो ।

मौलिक पौवामा युवा कम

पौवा कलाकार केशव कर्माचार्यका अनुसार बुद्धकालीन समयदेखि नै नेपालमा पौवा कलाको विकास भएको हो । यो कला सिर्जनाका लागि मिहिनेत र साधना मात्र नभई परम्परागत शास्त्रीय ज्ञानको पनि उत्तिकै आवश्यकता पर्छ । झट्ट हेर्दा तिब्बती थाङ्का जस्तै देखिए पनि पौवाले प्राचीन मौलिकता बोकेको हुन्छ ।


नेपाली पौवा कला सृजनाका लागि कला मात्रै भएर नपुग्ने र शास्त्रीय ज्ञान पनि जरुरी पर्ने हुँदा जोकोहीले बनाउन हम्मेसी तम्सिँदैन । जसले गर्दा कलाकारको संकट पर्दै गएपछि प्राचीन पौवा कला सृजनामा ह्रास आएको छ । ‘पौवा चित्र बनाउँदा शास्त्रीय ज्ञान महत्त्वपूर्ण सर्त हो,’ कर्माचार्यले भने, ‘यो समयमा दक्ष जनशक्तिको कमी आएकोले पौवा चित्र उत्पादनमा ह्रास आउँदै गएको छ ।’


बुबासँग १५ वर्षको उमेरमै पौवा चित्र कोर्न सिकेका कर्माचार्यले त्यसपछि उमेरले ५३ वर्ष टेक्दा पनि निरन्तर बनाउँदै आएका छन् । कमाचार्य त्यो समयदेखि नेपाली संस्कृतिलाई भल्काउने खालका पौवा चित्र बनाउँदै आएको बताउँछन् । अहिले नयाँ पिँढीको यस कलाप्रति आकर्षण नदेख्दा उनी निराश हुँदै भन्छन्, ‘पहिला पौवा चित्र सिक्नलाई हानाथाप हुन्थ्योे,’ कर्माचार्यले भने, ‘आजको पिँढीले यसप्रति ध्यान नदिएको देख्दा मन नै खिन्न भएर आउँछ ।’


यो कलाले आफ्नो मौलिक सिर्जनात्मक कलाकारिताको माध्यमबाट अन्तर्राष्ट्रिय आकर्षण र चासो बटुल्दै आएको देखिन्छ । विश्वका कलाप्रेमीमाझ नेपाली पौवा कलाको ख्याति मात्र नभई, यसैमार्फत विदेशमा नेपाली कला परिचित हुँदै आएको छ । यो कला सिर्जनाका लागि निकै मिहिनेत, साधना, तान्त्रिक शक्तिको समेत आवश्यकता रहने बताइन्छ । पौवा चित्रको मुख्य विशेषता भनेकै शान्ति, करुणा र आध्यात्मिक भावना जागृत गर्नु हो ।


प्रत्येक पौवा कलालाई त्यसमा व्यक्त भाव, बाहन, रङ आदिले यसको शास्त्रीय एवं दार्शनिक अर्थबोध गराउने कर्माचार्य बताउँछन् । शास्त्रीय परम्परागत प्रविधिअनुसार बनाइने यस कलामा प्राकृतिक रङको मात्र प्रयोग गरिन्छ । कर्माचार्यलाई एउटा पौवा बनाउन एक महिनादेखि ६ वर्षसम्म पनि लागेको अनुभव छ ।


तर अहिलेको द्रूत समाजमा धैर्य र दक्षता भएका कलाकार भेटिनै मुस्किल परेको उनको कथन छ । भन्छन्, ‘परम्परागत चित्रकलाको विकासमा कलाकारको भूमिका अतुलनीय रहेको थियो । तर, आजको अवस्थामा कलाकारहरू नै हराउँदै जान थालेपछि हाम्रो मौलिक र परम्परागत कलालाई विकसित गर्दै निरन्तरता दिन कठिनाइ भएको छ ।’


नेपाली कलाप्रति विदेशी चासो र रुचि राम्रो भएकोले नेपाली परम्परागत कलामार्फत वैदेशिक मुद्रा आर्जन गर्ने अवसर रहे पनि नयाँ पुस्ताका कलाकारमा यसप्रति चासो नहुनु दु:खद रहेको कर्माचार्य बताउँछन् । परम्परागत नेपाली पौवा कलाको उचित प्रवद्र्धनका लागि हस्तकला महासंघले पनि विभिन्न प्रदर्शनी गरेर प्रचारप्रसार गर्दै आएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?