काँठ घुम्दै कविता भन्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वबाट आए जसराज किराती, मनु मञ्जिल, हेमन यात्री र सविता गौतम दाहाल । हेटौंडाबाट निमेष निखिल र चितवनबाट भूपीन खड्का ।

राजधानीको बूढानीलकण्ठमा शनिबार आयोजित वाग्द्वार काव्य गोष्ठीमा कवि दुर्गालाल श्रेष्ठलाई सम्मान गर्दै वैरागी काइँला । तस्बिर सौजन्य : श्याम योञ्जन

पोखराबाट तीर्थ गुरुङले दिएको साथलाई राजधानीबाट मोमिला जोशी, विप्लव प्रतीक, रमेश क्षितिज, विप्लव ढकालदेखि भूपाल राईलगायतले निभाए । यी स्रष्टाले सधैं गतिविधि भइरहने राजधानीको केन्द्रमा हैन, काँठ क्षेत्रमा गएर जनजीवन बुझे, हाइकिङ गरे अनि कविता सुनाए ।

बूढानीलकण्ठमा सक्रिय वाग्द्वार साहित्य समाजको निम्तो मान्न शुक्रबारै शिवपुरी जंगलमुनिको बस्ती डाँडागाउँ पुगेका उनीहरूले शनिबार भव्य कवि गोष्ठी गरे । डाँडागाउँस्थित पेन्देल आमा समूहद्वारा सञ्चालित होमस्टेमा शुक्रबार साँझ तामाङ संस्कारअनुसार निधारमा टोटलाको फूल लाउँदै गर्दा कवि विप्लव ढकाल भावुक बने ।

डम्फु बजाउँदै र तामाङ शैलीको डोली चढाउँदै स्रष्टालाई होमस्टेमा भित्र्याइएको थियो । स्थानीय खानपानको स्वादसहित रात बिताएपछि शनिबार बिहानै स्रष्टा जंगलको नागबेली बाटो हुँदै विष्णुद्वार उक्ले । विष्णुमती नदीको शिरतर्फबाटको यो बाटोमा ऐतिहासिक र सांस्कृतिक मिथहरूको वर्णन गर्दै बाटो डोहोर्‍याए स्थानीय कवि बिना थिङ र श्याम संकल्पले । तीन घण्टाको हाइकिङमा स्रष्टाहरूले बौद्ध स्तूप, गुम्बादेखि मन्दिरसम्मको दर्शन गरे ।

हाइकिङपछि बूढानीलकण्ठमै आयोजित कवि गोष्ठीमा मुलुकको राजनीति, जनजीवन, सांस्कृतिक पहिचानदेखि समकालीन कविताको अनुहारसम्मको बहस चल्यो । कवि राजेन्द्र पराजुलीले ‘म एक सम्पादक दैनिक अखबारको’ शीर्षकको कवितामा सञ्चारकर्मसँग जोडिएका अनेक विसंगत पक्ष कवितामासमेट्दा सुलोचना मानन्धरले रातलाई पनि नडराईकन आफ्नो बनाउनुपर्ने सकारात्मक चिन्तनको कविता सुनाइन् । भूपाल राईले ‘मेरो कविता कसैले मन पराउँदैन’ भन्दै एकल जातीय र अखण्ड विचारले मुलुकलाई समावेशी र सहिष्णुताको दिशातिर नलैजाने अभिव्यक्ति दिए ।

उनले पछिल्लोपटक कविता वाचन ‘सन्दुरीहरूको क्याटवाक’ जस्तै बनिरहेको भन्दै व्यंग्य पनि कसे । लगत्तै विप्लव ढकालले नेपालीमा मौलाउँदै गएको गाली संस्कृतिमाथि कटाक्ष गर्दै कविता सुनाए । मोमिलाले आँखाबाट बग्ने आँसुले मस्तिष्क र मुटु दुवै भिजाउनुपर्ने भन्दै मानवीयताको वकालत गरिन् ।

पाका कवि वैरागी काइँलाले ‘माया मेरो मफलर भए...’ कविताको टुक्रा वाचन गर्दै उद्घाटन गरेको गोष्ठीमा अर्का पाका कवि दुर्गालाल श्रेष्ठलगायतका साधक पुरस्कृत भए । दुर्गाले सहर कंक्रिटको जंगल बनिसकेको भावको सिर्जना सुनाएपछि जसराज किराती, मनु मञ्जिल, बिन्दु शर्मा, राजन मुकारुङ, विप्लप प्रतीक, गीता त्रिपाठी, हेमन यात्री, विमल तुम्खेबा, रमेश क्षितिज, तीर्थ गुरुङ, भूपीन खड्का, स्वप्निल स्मृति, गिरीश शिरीष मगर, दीपक सापकोटा, सविता गौतम, हेमन्त विवश, काशीराम विरश, लक्ष्मी रुम्बा, भूपेन्द्र खड्का, आरके अदिप्प गिरीलगायतले कविता सुनाए । सुन्ने पंक्तिमा थिए, लेखक सञ्जीव उप्रेती, अर्चना थापा, कुमारी लामालगायत पनि ।

कवि अनिता लामाले सहजीकरण गरेको गोष्ठीमा समालोचक महेश पौडेलले ‘समकालीन नेपाली कविता ः प्रवृत्ति र परिलक्षण’ विषयक कार्यपत्र प्रस्तुत गरे भने लक्ष्मण श्रेष्ठले टिप्पणी गरे । वाग्द्वार साहित्य समाजका अध्यक्ष श्याम संकल्पको मुक्तक संग्रह ‘फाटेको मन’ लोकार्पण पनि गरियो । संग्रहमाथि स्रष्टा रामबहादुर पहाडीले टिप्पणी गरे ।

बूढानीलकण्ठ नगरपालिका ३ सँगको सहकार्यमा स्रष्टाले काँठ यात्रा गरेका हुन् । देशभरका स्रष्टा आफ्नो थलोमा पाउँदा खुसी लागेको बताए वडाध्यक्ष बालकृष्ण श्रेष्ठले । यही खुसियालीमै स्थानीय जेष्ठ नागरिक साइली तामाङले सेलो गाइन् ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्

सहरमा आदिवासी फिल्म

कान्तिपुर संवाददाता

काठमाडौँ — राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृह यति बेला आदिवासी संस्कृतिमय बनेको छ । मुलुकका विभिन्न आदिवासी जनजाति समुदाय आधारित नृत्य, भेषभूषासँगै फिल्मको स्वाद एकसाथ चाख्न पाइन्छ ।

आदिवासी जनजाति चलचित्र महोत्सवमा प्रदर्शन गरिएको गुरुङ भाषाको फिल्म 'म्ले क्यु’ का कलाकार ।तस्बिर : कान्तिपुर

शुक्रबारदेखि सुरु तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सव सुरु भएको हो । पहिलो दिन देखाइएको गुरुङ भाषाको फिल्म ‘म्ले क्यु’ र नेवार भाषाको फिल्म ‘कृषा गौतमी’ हेर्न दर्शकको भीड लागेको थियो ।

जसु गुरुङको निर्देशन रहेको ‘म्ले क्यु’ गुरुङ समुदायमा प्रचलित मिथक ‘बिर्साउने पानी’ मा आधारित थियो । मानिस मरिसकेपछि स्वर्ग जाने बाटोमा उसको आत्माले बिर्साउने पानी पिउनुपर्ने र उक्त पानी पिएपछि आफन्तसितको उसको लोभ, मोह, राग र सबै खालका लगाव मत्थर हुने विश्वासलाई फिल्मले उतारेको थियो । नेपाली फिल्ममा समेत राम्रो स्पेस बनाएका माओत्से गुरुङले यो फिल्ममा राम्रो अभिनय गरेका छन् । शुक्रबारै देखाइएको रामकृष्ण खड्गीको निर्देशन रहेको फिल्म ‘कृषा गौतमी’ मा पुरानी नायिका मेलिना मानन्धरको अभिनय मनछुने थियो । यो फिल्म बुद्धकालीन जातक कथामा आधारित थियो ।

त्यस्तै, पहिलो दिन नै प्रवलदीप विश्वासको निर्देशन रहेको राजवंशी फिल्म ‘पुल्टी’, नेवार समुदायबाटै रामकृष्ण श्रेष्ठको निर्देशन रहेको ‘नौलिन भद्रकाली जात्रा’, लोकेन सावाँ निर्देशित लिम्बू भाषाको फिल्म ‘केसाङला’ पनि देखाइए । शनिबार बिहान कृष्णजित राईको निर्देशन रहेको ‘वाम्बुले राई संस्कार’ बाट सुरु भएको फिल्म सो दीपक तामाङ लामाको निर्देशन रहेको तामाङ फिल्म ‘साङ्गेल घ्रान’, अमृतबहादुर सुनुवारको निर्देशन रहेको तामाङ फिल्म ‘आङा थेवा’, सुन्जीत माझीको ‘मोङो डोङो’, विश्वास मगरको ‘खुर्पेटो’, युकी आलेको ‘तीनपाने’, सागर केरुङको लिम्बू फिल्म ‘के च्याब्रुङ’ हुँदै कमल भुजेलको फिल्म ‘निप्हुगाल’ मा टुंगिएको थियो ।

आदिवासी मातृभाषी फिल्म प्रवर्द्धन गर्न महोत्सव गरिएको आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले बताए । महोत्सवमा आदिवासी जनजाति समुदायमा आधारित फिचर, डकुमेन्ट्री र छोटा गरी २० वटा फिल्म देखाइने महासंघका उपाध्यक्ष बिकु थोकरले जनाए ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT