बेलायतको वित्तीय अवस्था पुस्तकमा 

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व अर्थतन्त्रको शक्तिशाली केन्द्र बेलायत खासगरी विभिन्न समयमा ठूल्ठूला उतारचढाबको साक्षी बनेको छ । सन् २००८ को विश्वव्यापी आर्थिक मन्दी होस् वा पछिल्लो समयको ब्रेक्जिट गतिरोध नै किन नहोस् बेलायती अर्थतन्त्रले विभिन्न चुनौतीको सामना गर्दै आइरहेको छ ।

१९ औं शताब्दीको औद्योगिक क्रान्तियता निरन्तर विकासको गति समातेको अर्थतन्त्र दोस्रो विश्वयुद्धका कारण केही शिथिल भयो । तर सन् १९७० को दशकमा प्रधानमन्त्री मार्गरेट थ्याचरको निजीकरण नीतिसँगै पुन: जुर्मुराएको बेलायत त्यसयता विभिन्न सामग्री उत्पादन, कृषि, प्राकृतिक स्रोत, वित्त व्यवस्थापन लगायत विषयमा केन्द्रित छ ।

बेलायतले कसरी आफ्नो अर्थतन्त्रलाई स्थिर राख्न सफल रह्यो भन्ने कुरा पक्कै पनि नेपालले पनि सिक्न सक्छ । यही सेरोफेरोमा बेलायतमा लामो समयदेखि बसोबासरत अर्थ व्यवस्थापनका जानकार विकलचन्द्र आचार्यको पुस्तक ‘बेलायतको वित्तीय अवलोकन’ शुक्रबार सार्वजनिक गरिएको छ । पुस्तकमा बेलायतको वित्तीय सामर्थ, बैंकिङ इतिहास, बैंकको संरचना तथा कार्यविधि, पाउन्ड स्टर्लिङको अवस्था, सम्पत्ति शुद्धिकरण, बिमा, ब्रेक्जिट, औद्योगिक क्रान्तिको शिक्षा, लन्डन स्टक मार्केट लगायत वित्तीय क्षेत्रका विविध विषय समाबेश छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष एवं पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले पुस्तकको बिमोचन गरे । बेलायतको वित्तीय अवधारणा समेटेर लेखिए पनि नेपाली सन्दर्भ जोडिएकाले पुस्तक निकै उपयोगी रहेको क्षेत्रीले बताए । ‘पुस्तक धेरै नै उपयोगी र सूचनामूलक छ,’ उनले भने, ‘देश बाहिर बसेर पनि मातृभूमिलाई यत्तिको योगदान दिन सक्नु ठूलो कुरा हो ।’

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पुस्तकमाथि टिप्पणी गरेका थिए । बेलायतको वित्तीय परिवेशबाट नेपालले नीतिगत रुपमा धैरै कुरा सिक्न सक्ने देखिन्छ । विश्वको एक शक्तिशाली वित्तीय केन्द्र बारेको वास्तविक परिवेश बुझ्न पुस्तकले सहयोग पुर्‍याउँछ । बेलायतको वित्तीय क्षेत्रले संसारभरि प्रभाव पार्ने गरेकोले राजधानी लन्डन आर्थिक केन्द्र रहिआएको छ । बेलायतमा मात्रै दिनमा औसत करिब २ दशमलब ७३ ट्रिलियन (२०७३ अर्ब) डलर बराबरको विदेशी विनिमयको कारोबार हुने गर्छ, जुन कुल विश्व कारोबारको ४० दशमलब ९ प्रतिशत हो । अमेरिकाको डाओ जोन्स र नस्डाक पछि लन्डन स्टक मार्केट आउँछ ।
बेलायतको प्रतिष्ठित प्राइभेट स्कुल आर्डिङलाए कलेजमा छात्र वृत्ति पाएर वि.सं. २०५० मा बेलायत पुगेका लेखक शिक्षा, साहित्य तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै आएका छन् । यसअघि आचार्यका लन्डनमा मुटु दुख्दा, कोरोनरी मुटुरोग, बेलायती आँगनमा गोर्खाली सुवास र मोह गरी चार कृति प्रकाशित भइसकेका छन् । व्यवस्थापन विषयबारे लामो अनुभव संगालेका लेखक ब्रिटिस मेडिकल जर्नालिष्ट एशोसिएसनका सदस्यसमेत हुन् ।

प्रकाशित : जेष्ठ ३२, २०७६ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्

निजी स्कुल सञ्चालकको निधनमा अनुमतिबिनै जिल्लाभरका विद्यालय बन्द, सरोकारवालाकै असन्तुष्टि

सुदीप कैनी

काठमाडौँ — एक निजी स्कुल सञ्चालकको निधनमा काठमाडौं निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल  (प्याब्सन) र राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल (एनप्याब्सन) ले आइतबार जिल्लाभरका निजी विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । उक्त निर्णयप्रति शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाकर्मी र स्वयं प्याब्सन/एनव्याब्सनका पदाधिकारीले समेत असन्तुष्टि जनाएका छन् ।

जिल्लाभरका १ हजार निजी विद्यालय बन्द हुँदा साढे दुई लाख भन्दा बढी विद्यार्थी पठनपाठनबाट बञ्चित हुन्छन्। प्याब्सन र एनव्याब्सन जिल्ला समितिले स्थानीय सरकारको अनुमतिबिनै विद्यालय बन्द गराउने निर्णय लिएका हुन्।

संविधानले विद्यालय शिक्षाको अधिकार स्थानीय सरकारलाई दिएको छ। विद्यालयमा बिदा दिने निर्णय स्थानीय सरकार वा विशेष अवस्थामा गृहमन्त्रालयले मात्र गर्नसक्छ। विद्यालय बन्द गर्ने निर्णयबारे शिक्षा विकास तथा समन्वय इकाइ र शिक्षा मन्त्रालय समेत बेखबर छन्।

निजी विद्यालय सञ्चालकहरुको संस्थाले भने मनोमानी रुपमा अनुमतिबिनै विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। उक्त निर्णयको स्वयं प्याब्सन र एनप्यासब्सनका केन्द्रीय पदाधिकारीले समेत विरोध गरेका छन्। ‘विद्यालय बन्द गर्ने निर्णय सरकारले मात्र गर्नसक्छ,’ प्याब्सनका एक पदाधिकारीले कान्तिपुरसँग भने, ‘विद्यालय सञ्चालक/प्रिन्सिपलको निधनमा विद्यालय बन्द गर्दै जाने हो भने निजी विद्यालयको शैक्षिक स्तरनै खस्कन पुग्छ।’ देशभर ८ हजार निजी विद्यालय छन्।

गोकर्णेश्वर नगरपालिकास्थित कान्तिपुर एकेडेमीका सञ्चालक/प्रिन्सिपल बालकुमार गुरुङको निधनमा जिल्लाभरका विद्यालय बन्द गरेर श्रद्धाञ्जिली अर्पण गर्न प्याब्सन र एनप्याव्सनले जारी गरेको संयुक्त विशेष विज्ञप्तिमा अपिल गरिएको छ।

गुरुङ एनप्याब्सन काठमाडौंका सह-सचिव र उक्त नगरका अध्यक्ष समेत हुन्। ४० वर्षीय उनको बिहीबार निधन भएको हो। शुक्रबार प्याब्सन/एनप्याब्सनले बैठक बसेर आइतबार बिदा दिने घोषणा गरेका हुन्। ‘विद्यालय बन्द गराउनेबारे कुनै स्वीकृति दिइएको छैन,’ गोकर्णेश्वरका मेयर सन्तोष चालिसेले भने, ‘मौखिक रुपमा नगरभरिका विद्यालय बन्द गराउन आग्रह गर्नुभएको थियो, लिखित रुपमा केही आएको छैन, बन्द गर्ने निर्णयबारे थाहा छैन।’ प्याब्सन/एनप्याब्सनले जिल्लाभरका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी आफूले अनौपचारिक रुपमा मात्रै थाहा पाएको उनले जनाए।

‘सञ्चालक, प्रिन्सिपल, शिक्षकको निधनमा बिदा दिने हो भने कहिले पढाउने?,’ प्रश्न गर्दै उनले भने, ‘शिक्षकमात्रै १ लाख २५ हजार छन्, एक जनाको मा बिदा दिइयो भन्दा पनि हामी कस्तो सिष्टम बनाउँदै छौं भन्ने मुख्य कुरा हो।’ काठमाडौं प्याब्सन र एनप्याब्सनले हचुवामा निर्णय गरेको समेत उनले बताए। दुईवर्ष अघि केन्द्रीय पूर्वअध्यक्ष बाबुराम पोखरेलको निधनमा देशभरका निजी विद्यालय बन्द गराउन प्याब्सन आलोचित भएको थियो। उच्चमाध्यमिक विद्यालय सञ्चालकहरुको संस्था हिसानका अध्यक्ष बुद्धिप्रसाद पुडासैनीको निधनमा विद्यालय बन्द गर्दा पनि शिक्षाकर्मीहरुले यसअघि विरोध गरेका थिए।

एनप्याब्सनका केन्द्रीय पदाधिकारीले पनि श्रद्धाञ्जिली, समवेदना दिने नाममा विद्यालय नै बन्द गर्ने निर्णय उचित नभएको प्रतिक्रिया दिए। प्याब्सन/एनप्याब्सन दुवैले संगठन भित्रका कुरा भएकाले औपचारिक रुपमा प्रतिक्रिया दिन नमानेपनि उक्त विषयमा संस्थाको आन्तरिक बैठकमा कुरा उठाउने जनाए। ‘दुःखको घडिमा श्रद्धाञ्जिली र समवेदना दिने थुप्रै तौरतरिका छन्, बालबालिकालाई पढाइबाट वञ्चित गरेर मात्रै शोक हुन्छ भन्ने बुझाई गलत हो,’ ती पदाधिकारीहरुले कान्तिपुरसँग भने। बिदाको सट्टा देशभरका विद्यालयमा मौनधारण कार्यक्रम गरेर, श्रद्धाञ्जिली सभा राखेर मृतकप्रति सम्मान गर्न सकिने उनीहरुको सुझाव छ।

प्याब्सनको निर्णयपछि काठमाडौं महानगरपालिका सहित जिल्लाभित्रका ११ स्थानीय तहमा पठनपाठन बन्द हुन्छ। काठमाडौंमा ८० प्रतिशत विद्यार्थी निजी र २० प्रतिशत सामुदायिकमा अध्ययन गर्ने तथ्यांक छ। संघसंस्थाले बन्दको घोषणा गर्नु खेदजनक रहेको शिक्षाविद्हरुको भनाइ छ। ‘विद्यालय बन्द गराउने निर्णय स्थानीय तहले मात्र गर्नसक्छन,’ ती शिक्षाविद्ले भने, ‘संघसंस्थाले यसरी बिदा दिनु स्वभाविक होइन।’

नेपाल शिक्षक महासंघले शिक्षकको निधन हुँदा यसअघि विद्यालयहरु बन्द गराउने गरेको थियो। तत्कालीन जिल्ला शिक्षा कार्यालयको निर्देशनपछि सामुदायिक विद्यालयहरु शिक्षकको निधनमा बन्द हुन छाडेका छन्। ‘जुन विद्यालयको शिक्षकको निधन भएको हो, त्यो स्कुलसम्म बिदा गरिनु ठिकै होला,’ इकाइका प्रमुख नन्दलाल पौडेलले भने, ‘शिक्षक महासंघले हामीले सबै विद्यालय बन्द गराएर गल्ती गर्‍यौं भन्दै बन्द गराउन छाडेका छन्।’ अनुमतिबिनै विद्यालय बन्द गराउनु लापरवाहीपूर्ण कार्य भएको इकाइले जनाएको छ।

यसैगरी नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले बिदा दिनु नाजायज भएकोप्रतिक्रिया दिए। उनले भने, 'मृतक शिक्षकबारेमा एक पिरियड विद्यार्थीलाई जानकारी गराउन सकिन्थ्यो, तर प्याब्सन/एनप्याब्सनको हवाला दिँदै जिल्लाभरका स्कुल बन्द गराउनु उचित भएन।'

प्याब्सन/एनप्याब्सन काठमाडौंले भने शोकको घडीमा विद्यालय बन्द गराउने निर्णय स्वभाविक भएको दाबी गरे। ‘शोकको बेला अनुमति लिँदै हिडने कुरा भएन,’ प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठले भने, ‘हाम्रो छाता संगठनले बिदा गर्ने निर्णय लिएको हो।’ शिक्षा क्षेत्रमा समर्पित व्यक्तिको निधनमा बिदा दिनु उचित हुने एनप्याब्सनका अध्यक्ष विष्णुप्रसाद पराजुलीको प्रतिक्रिया दिए।

प्रकाशित : जेष्ठ ३२, २०७६ १८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्