इस्पातका टुक्राबाट आकृति

विपिन श्रीस

काठमाडौँ — मूर्तिकार राजु पिठाकोठे बुधबार राजधानीको नक्साल सीताभवनस्थित ललितकला प्रज्ञा प्रतिष्ठानको परिसरमा इस्पातका टुक्राटाक्री बटुल्दै थिए । उनका लागि ती फगत इस्पातका टुक्रा थिएनन् ।

विविधता थिए, रंगीचंगी फूल जस्तै । यिनै टुक्रा जोडिएपछि मात्र पूर्ण आकृति बन्छ भन्ने सत्य मूर्तिकार पिठाकोठेलाई राम्रोसँग थाहा छ ।

‘एउटै पाताबाट पनि आकृति निर्माण गर्न सक्थें,’ आफूले बनाइरहेको मूर्तिको अवधारणा प्रस्ट पार्दै उनले भने, ‘संसार विविधतापूर्ण छ, भौगोलिक सांस्कृतिक विविधता छन्, राजनीतिक विविधता छ, देशहरू छन्, देशभित्र पनि विभिन्न जातजाति छन् । मूर्तिका विभिन्न पातामार्फत तिनै विविधता जनाउन खोजेको हुँ । ती सबैको संयोजनबाट नै सुन्दर संसार बन्न सक्छ ।’

यद्यपि यो उनको आफ्नो निजी धारणा हो । कलाकृति बनिसकेपछि दर्शकले जसरी व्याख्या गरे पनि हुन्छ, जसरी बुझे पनि हुन्छ । ‘कला बुझ्न दर्शकसँग स्वतन्त्रता हुन्छ,’ उनले भने ।

पाँच दिनदेखि प्रतिष्ठान परिसरमै जारी ‘इस्पात मूर्तिकला कार्याशाला’ मा उनी मात्रै हैन, काठमाडौंकै अगम श्रेष्ठ पनि टुक्राटाक्री जोडजाड गरिरहेको अवस्थामा भेटिए । उनीचाहिँ ‘आध्यात्मिक खुत्रुके’ बनाउँदै छन् । यो उनको आफ्नै परिभाषा हो । थिमलाई पुष्टि गर्न उनले हरेक पाताहरू ‘राम राम’ लेखेका छन् । उनले कलामार्फत सकारात्मक भावना प्रकट गर्न मात्रै खोजेका छैनन्, चारैतिर विसंगति र भ्रष्टता मौलाउँदै गइरहेको बेला उनको मूर्तिकला नैतिक हिसाबले प्रतीकात्मक बन्न सक्छ ।

बाराका दीपक लामा आफ्नो भावनालाई इस्पातको माध्यममार्फत अभिव्यक्त गरिरहेका छन् । उनले आफ्नो बन्दै गरेको मूर्तिकलाको अवधारणा ‘इन्डलेस इन्टरप्रिटेसन’ राखेका छन् । प्रतिष्ठानको मूर्तिकला विभागले मुलुकमै पहिलो पटक गरेको इस्पात मूर्तिकला कार्यशालामा देशका विभिन्न स्थानका दस मूर्तिकार भिडेर लागिरहेका छन् । परम्परागत रूपमा ढुंगा, माटो, काठ, तामा, पित्तललगायत सामग्रीको प्रयोगबाट मूर्ति निर्माण हुँदै आएकै छन् ।

इस्पातका माध्यमबाट भने नेपालमा खासै काम भएको देखिँदैन । काठमाडौं विश्वविद्यालयमा मूर्तिकला अध्यापन गर्दै आएका भुवन थापाका अनुसार पछिल्लो समय विकसित मुलुकमा इस्पातका मूर्तिदेखि पार्कसम्म बनाउने क्रम बढदो छ । आरम्भ समसामयिक मूर्तिकार समूहका अध्यक्षसमेत रहेका थापाले माध्यम आफैंमा राम्रो र नराम्रो नहुने बताउँदै इस्पातको चाहिँ केही थप विशेषता रहेको औंल्याए ।

‘खिया नलाग्ने र लामो समय टिक्ने भएकाले इस्पातको मूर्ति बाहिरी (आउटडोर) प्रयोजनको लागि बढी उपयुक्त हुन्छ,’ इस्पातको मूर्तिको फाइदाबारे उनले थपे, ‘अन्य धातुको तुलनामा इस्पात सस्तो र हलुका हुन्छ, धेरै टिक्छ ।’ सहरी सजावटका लागि चोकचोकमा इस्पातका मूर्ति राख्न सकिने उनले सुझाए ।

इस्पातमा छिटो हुने भए पनि काम गर्न भने जोखिमपूर्ण रहेको मूर्तिकार पिठाकोठेले बताए । ‘इस्पात कडा हुन्छ, काट्ने, जोड्ने काम ध्यान दिएर गर्नुपर्छ, संवेनदशील हुनुपर्छ, सुरक्षामा ध्यान दिनुपर्छ,’ उनले भने ।

मूर्तिकला विभागका प्रमुख एवं प्राज्ञ लालकाजी लामाले इस्पात मूर्तिकला कार्यशाला नेपालमा पहिलोपटक गरिएको दाबी गरे । ‘व्यक्तिगत रूपमा केही मूर्तिकारले स्टेनलेस स्टिल (इस्पात) को काम गर्दै आएका छन्, संस्थागत रूपमा कार्यशाला गरिएको चाहिँ यो नै पहिलो हो,’ उनले भने । कार्यशालामा निर्माण भएका मूर्ति प्रतिष्ठानकै मूर्तिकला विभागले संरक्षण गर्ने प्राज्ञ लामाले बताए ।

‘यो कार्यशालामा इन्डोरका लागि नमुना मूर्तिहरू मात्रै बन्ने छन्,’ उनले भने, ‘बगैंचा, पार्क या बाटो आसपास राख्न मिल्ने आउटडोर मूर्तिकलाका लागि पनि पहल गर्दै छौं ।’ कार्यशालामा विष्णुप्रसाद श्रेष्ठ, भीमबहादुर श्रेष्ठ, कुमार थापा, विशाल सारु, चन्द्रमणि डंगोल र भूषण दुवालले पनि भाग लिइरहेका छन् ।

प्रकाशित : असार २६, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्

प्रज्ञा प्रतिष्ठानलाई असारे चटारो

विपिन श्रीस

काठमाडौँ — ‘नेपालका केही प्रमुख भाषाहरूको लेखन : स्थित, समस्या र सम्भावना’ विषयक दुईदिने राष्ट्रिय अक्षर गोष्ठी हालै राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न भयो । गोष्ठी नेपाल प्रज्ञा प्रतिष्ठान भाषा (नेपाली भाषा, कोश र व्याकरण) विभाग एवं भाषा (मातृभाषा, कोश र व्याकरण) विभाग, भाषा आयोग तथा अक्षर सदनले गरेको थियो ।

त्यसको केही दिन नबित्तै सोमबार सोही थलोमा दर्शन विभागले ‘विश्व मानवतावादी अभियानमा नेपालको भूमिका विषयक संगोष्ठी’ गर्‍यो । असार पहिलो साताको सुरुवातमै मातृभाषा साहित्य विभागले ‘वान्तवा साहित्य वर्तमान अवस्था, चुनौती र सम्भावना’ विषयक गोष्ठी गरेको थियो ।

प्रज्ञा प्रतिष्ठानका विभिन्न विभागले चालू आर्थिक वर्षमा यी र यस्तै गरी झन्डै पाँच दर्जन गोष्ठी, संगोष्ठी, प्रवचन सांस्कृतिक कार्यक्रम गरे । ‘नेपाली संस्कृति र राष्ट्रियता’ विषयक प्रवचन, बृहत् वाङ्मय संगोष्ठी, दलित साहित्य लेखनको चर्चा, नेपाल–चीन अनुवाद प्रकाशन सम्मेलन केही उदाहरण हुन् । यतिबेला भने कार्यक्रमहरू बाग्लै हुन थालेका छन् । आर्थिक वर्षको अन्तिमतिर हतारोको कार्यक्रम गर्ने संस्कृतिले प्रज्ञा प्रतिष्ठानहरूलाई पनि छोएको छ ।

जेठमा राष्ट्रिय ललितकला प्रदर्शनी गरेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पनि त्यसयता दर्जनौं कार्यक्रम गरेको छ । प्रतिष्ठानको लोककला विभागले शुक्रबारदेखि पाँच दिने लोककला प्रदर्शनी थालको छ । उता मूर्तिकला विभागको टोली पूर्वाञ्चलको अध्ययन अनुसन्धान भ्रमणमा छ । वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागले ‘सुखी नेपाली, समृद्ध नेपाल’ शीर्षकमा खुला पोस्टर प्रतिस्पर्धा गर्दै छ । चित्रकला विभाग नेपाली समसामयिक चित्रकलाको विकास तथा सम्वर्द्धनसम्बन्धी पुस्तक प्रकाशनको तयारीमा रहेको विभागका प्रमुख सुषमा राजभण्डारीले बताइन् । चित्रकार शशि शाह, कुलमानसिंह भण्डारी, चन्द्रमान मास्के, सूर्यबहादुर चित्रकारको योगदानलाई कदर गर्दै प्रतिष्ठानले पुस्तक प्रकाशन गर्ने अन्तिम तयारी पनि गरिरहेको प्रतिष्ठानले जनाएको छ ।

उता नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले पनि असारमै कार्यक्रमहरू ओइरिएका छन् । केही दिनअघि सर्वनाम थिएटरमा हतारको राष्ट्रिय नाटक महोत्सव चलिरहको बेला कमलपोखरीस्थित रूसी सांस्कृतिक केन्द्रमा प्रतिष्ठानले नै समानान्तर रूपमा शास्त्रीय संगीत महोत्सव गरिरहेको थियो । धनगढीमा पनि यही महिनामै राष्ट्रिय संगीत महोत्सव गर्‍यो । सोमबार मात्रै राष्ट्रिय नृत्य महोत्सव गरेको संगीत नाट्यले मंगलबार ‘नेपाली संगीत(दशा र दिशा’ विषयक विचार गोष्ठी गर्दै छ । श्रव्यदृश्य विभागले कलाकार हरिप्रसाद रिमाल र भैरवबहादुर थापाको वृत्तचित्र असारमै सकिने गरी काम गरिरहेको छ । असार अन्तिम साता नै प्रज्ञा पुरस्कार दिने तयारी भइरहेको संगीत नाट्यका सदस्यसचिव श्याम तमोटले जनाए । धनगढीमा राष्ट्रिय संगीत महोत्सव सम्पन्न गरिसकेको छ ।

यसरी असार महिनाभर तीनवटै प्रज्ञा प्रतिष्ठानहरू धमाधम चालू आर्थिक वर्षको कार्यक्रम सिध्याउनेतिर लागिरहेका छन् । पुस महिनामा नियुक्ति भए पनि विवादका कारण चैतदेखि मात्र कार्यभार सम्हालेका कारण यति बेला कामको चटारो परेको संगीत नाट्यका सदस्यसचिव तमोटले बताए । ‘त्यही भएर अध्ययन अनुसन्धानका कार्यक्रम यो वर्ष गर्न सकेनौं,’ उनले भने ।

त्यसो त क्यालेन्डर नै बनाएर कार्यक्रम गर्ने हुनाले अन्य विकास निर्माणका कामजस्तो असारमा मात्र केन्द्रित नभएको तीनवटै प्रज्ञा प्रतिष्ठानको दाबी छ । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव उपाध्यायले वर्षैभरि विभिन्न कार्यक्रम गर्दै आएको र असारमा पनि त्यसकै निरन्तरता भएको बताए । तर, बजेट सकाउनकै लागि हतारहतार आफू नजिककालाई प्रस्तावना माग्ने र कार्यक्रम गराउने गरेको स्रोतको दाबी छ । ललितकलाका कुलपति कान्छाकुमार कर्माचार्यले भने सीमित स्रोत र साधनका बावजुद पनि ललितकलाले सदावहार काम गरिरहेको दाबी गरे । ‘भवन र ग्यालरी छैन, ललितकला अध्ययनका लागि पुस्तकालय छैन, संग्रहालय छैन,’ कुलपति कर्माचार्यले भने, ‘पर्याप्त काम भएको छैन । हामीले त बिउ छर्ने काम मात्रै गरेका छौं ।’

वर्षभरि के भए ?
प्रज्ञा प्रतिष्ठानसँग सम्बन्धित भाषा, संस्कृति, दर्शन, साहित्य, अनुवादलगायतका ११ विभागले चालू आर्थिक वर्षमा झन्डै ४ दर्जन विषयमा अनुसन्धान, अनुवाद र सम्पादन कार्य गरेको देखिन्छ । राष्ट्रिय कविता महोत्सव, एकता दिवसलगायतका कार्यक्रम पनि प्रतिष्ठानले गर्‍यो । यो आर्थिक वर्षभित्र पाकिस्तान महिला लेखन, समालोचक कोष, अनुवादक कोषलगायतका पुस्तक प्रकाशन गरेको प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जगत् उपाध्यायले बताए ।

ललितकला प्रज्ञा प्रतिष्ठानअन्तर्गत मूर्तिकला विभागले चैतमा काठमाडौंमा सिर्जनात्मक काष्ठकला कार्यशाला, वैशाखमा कीर्ति प्रस्तर मूर्तिकला कार्यशाला, जेठमा देवदह बुटवलमा प्रस्तर मूर्तिकला कार्यशाला गर्‍यो । चित्रकला विभागले ‘नेपाली समसामयिक चित्रकलाको विकास तथा प्रवर्द्धन’ विषयक गोष्ठी, फागुनमा ‘सिजन’ नामक महिला चित्रकला प्रदर्शनी गर्नुका साथै मकवानपुर, पालुङ, टिस्टुङ, चित्लाङ क्षेत्रमा अध्ययन भ्रमण, वीरगन्जमा कला महोत्सव गरेको चित्रकला विभागकी प्रमुख सुषमा राजभण्डारीले बताइन् । मूर्तिकला र परम्परागत शिल्पकला विभागले मिलेर काठमाडौंमै केही अघि ‘थाङका र मूर्तिकला प्रदर्शनी’ समेत गरे । वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागले पनि सिर्जनात्मक कला महोत्सव, सिर्जनात्मक कला गोष्ठीलगायतका कार्यक्रम गर्‍यो । लोककला विभागले सप्तरी, दाङ र काठमाडौंमा लोककला कार्यशाला, हस्तकला विभागले विभिन्न स्थानमा हस्तकला अन्तरक्रिया गोष्ठी, कार्यशाला, अनुसन्धान, प्रदर्शनी गर्‍यो ।

परम्परागत शिल्पकला विभागले पोखरा घान्द्रुकमा परम्परागत चित्रकला कार्यशाला, राजधानीमा अन्तरक्रियात्मक कार्यक्रम, परम्परागत थाङका प्रदर्शनी लगायतका कार्यक्रम गरेको देखिन्छ । संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले वैशाखमा नाटक लेखन प्रशिक्षण र अभिनय प्रशिक्षण, इटहरीमा बहुभाषिक संगीत कार्यक्रम, जेठमा बाराको निजगढमा बहुभाषिक लोकनृत्य, चितवनको रत्ननगरमा बहुभाषिक लोकगीत उत्सव, इटहरीमा स्टाफ नोटेसन प्रशिक्षण कार्यक्रम गरेको देखिन्छ । यो वर्ष भएका कामहरू हेर्दा प्रतिष्ठानहरू गुणात्मक र दुरगामी कार्यक्रमतिर भन्दा पनि गोष्ठी र कार्यशालामा बढी केन्द्रित भएको देखिन्छ । यस्ता कार्यक्रमहरूको प्रभावकारिता मूल्यांकन विधि नहुँदा प्राय: कार्यक्रमहरू औपचारिकता निभाउन मात्रै हुने गरेको एक पूर्व प्राज्ञले बताए ।


प्रकाशित : असार १८, २०७६ ०८:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्