कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युवामा चित्र कोर्ने हुटहुटी

मधु शाही

(बाँके) — पानी रङमा चोबेर ब्रसलाई क्यानभासमा हल्का चलाउँदै थिए, कमल खत्री । क्यानभासमा चलिरहेको ब्रस उनको हातबाट फुत्त झर्‍यो । खत्रीले ब्रस टिपे । ब्रसमा लागेको फोहोर पखाल्दै पुनः क्यानभास रंगाउन थाले । क्यानभासमा अपुरो घरले पूर्णता पाउँदै थियो ।

युवामा चित्र कोर्ने हुटहुटी

‘१२ कक्षा मात्रै पूरा गर्न पाएको हुन्थे भने चित्रकलामा हात बसिक्थ्यो,’ भर्खर चित्र बनाउन सिक्दै गरेका खत्रीले भने ।


फुर्सदको समयलाई सदुपयोग गर्दै कोहलपुरका केही युवाहरू खुला क्षेत्रमा चित्र कोर्ने, कलासम्बन्धी विचार राख्ने, कार्यशाला गर्नेजस्ता गतिविधिमा सक्रिय देखिन थालेका छन् । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको कला विभागले यस्तो गतिविधिको परिपाटी मिलाएको हो । उनीहरू स्वअध्ययनबाटै क्यानभासमा कला पोख्ने गर्छन् ।


कलाप्रतिको मोह र गतिविधि एकआपसमा साट्ने गर्छन् । १८ वर्षे खत्री शनिबार कोहलपुरको चप्परगौडीमा भइरहेको छैटौं चित्रकला शृंखलामा सहभागी थिए । यसैबेला खत्रीले आफू काठमाडौंमा सिर्जना फाइन आर्ट्स कलेज पढ्न गएका दिन सम्झन थाले । उक्त कलेजमा कक्षा ११ मा भर्ना भएका खत्रीले आर्थिक अभावकै कारण कला अध्ययनलाई निरन्तरता दिन सकेनन् ।


अपुरो सपना बोकेर आफ्नै जन्म थलो फर्किएका उनी यतिबेला भने आफूलाई छ महिनादेखि चित्रकलाको स्वअध्ययनमा ल्यान्डस्केप तयार पार्नमा व्यस्त छन् । ‘कला पढ्ने रहर थियो, यहाँ त्यस्तो कलेज नै छैन । काठमाडौंमा टिक्न महँगीले दिएन,’ उनले भने, ‘सायद यहीं आर्ट कलेज हुन्थ्यो भने पढ्न पाउँथें कि ।’ खत्रीजस्ता यहाँका थुप्रै कलामा रुचि राख्ने युवा कलासम्बन्धी शैक्षिक अभावले भौंतारिएका छन् ।


कोहलपुर ५ का अश्विन कोइरालाको चाहना ललित कला पढ्ने थियो । भर्खरै एसईई पास उनले प्राविधिक विषय रोज्न बाध्य भए । ललितकला पढ्ने चाहना हुँदाहुँदै पनि परिवारले काठमाडौंमा नपठाएपछि कोहलपुरमै खुम्चिनुपरेको बताए । कोइरालाको सानैदेखि आर्टमा लगाव थियो ।


पोखरामा एनएस क्लबले गरेको देशव्यापी स्कुलस्तरीय चित्रकला प्रतियोगितामा उनी प्रथम भएका थिए । कलेजस्तरीयमा नेपालगन्जका सागर क्षत्री प्रथम भएका थिए । औपचारिक शिक्षाको अभावमा कलामा आत्मबल हराउँदै जाने अश्विनको ठम्याइ छ । उनले इन्टरनेटका माध्यमबाट कलाको औपचारिक ज्ञान लिंदै आएका रहेछन् । विश्व प्रसिद्ध कलाकारको संघर्षपूर्ण जीवनी पढेर प्रेरित हुन्छन् । पत्रपत्रिकामा पाका कलाकार किरण मानन्धरको जीवनी पढ्दा उनी निकै भावुक भएको सुनाउँछन् ।


‘उहाँलाई मैले भेट्न पाएको छैन,’ अश्विनले भने, ‘चित्रचाहिँ पोखरामा देखेको थिएँ । चित्र सिक्न उहाँले घरमा गरेको संघर्ष अहिले त हामीले सोच्न पनि सकिन्नँ ।’ पाका कलाकारको जीवनीबाट पाठ सिक्दै उनी कलामा झन् दत्तचित्त भएर लागिपरेका छन् । नेपालगन्ज बस्ने सागर क्षत्रीको चित्रमा तलाउ र वरिपरिको हरियाली झल्किन्छ ।


ल्यान्डस्केपमा आँखाले देखेका दृश्यमा परिकल्पना गरेर क्यानभासमा उतार्न उनलाई मन पर्दो रहेछ । असारे झरीले हरियाली भएको बन र तलाउको परिदृश्य क्यानभासमा उतार्दै उनले भने, ‘हरियो रङले अहिलेको मौसम संकेत गर्छ । त्यसैले आकृतिभन्दा रङमा बढी ब्रस चलाएको छु ।’


कला सिक्ने तीव्र चाहना र घर छोडेर काठमाडौं बस्नुपर्ने बाध्यतालाई सुरज सुवेदीले गहिरोसँग भोगेका छन् । कला सिकेर जागिर पाइँदैन भन्ने सामाजिक मान्यता चिर्दै काठमाडौं गएका उनी ललितकला फाइन आर्ट कलेजमा दुःख–सुख गरेर पढे । स्नातकोत्तर पूरा गरेपछि उनी घर फर्किए । काठमाडौं छोड्नु उनको रहर थिएन । आफ्नै थलोमा कला शिक्षाको अभावले भौंतारिएका युवा पुस्तालाई शिक्षा दिन उनी घर फर्किएका हुन् ।


प्रकाशित : असार २९, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?