कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रकविको रथारोहण

काठमाडौं — राष्ट्रकवि माधवप्रसाद घिमिरे र उनकी पत्नी महाकाली घिमिरे आइतबार बिहान बेहुला–बेहुलीझैं सिँगारिएका थिए  । सय वर्षका राष्ट्रकवि दौरा, सुरुवाल र खैरो कोटसँगै बिर्खे टोपी चिटिक्क सजिएका थिए भने पत्नी महाकाली रातो साडीमा देखिएकी थिइन्  ।

राष्ट्रकविको रथारोहण

नेपाली सेना र प्रहरीको ब्यान्ड बाजाले पछ्याउँदा माला पहिरिएर बग्गीमा विराजमान दुवै जनाको मुहार उज्यालो देखिन्थ्यो ।


२०६ औं भानुजयन्तीको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठान र भानु प्रतिष्ठानले राष्ट्रकवि घिमिरेको रथारोहणसँगै प्रभातफेरी गरेका हुन् । विभिन्न स्कुलका विद्यार्थीको सांस्कृतिक झाँकीसहितको रथारोहण र प्रभातफेरी सहरका विभिन्न थलो परिक्रमा गर्दै कमलादीस्थित प्रज्ञा भवन पुगेपछि राष्ट्रकवि घिमिरेलाई उनकै कद बराबरको ताम्रपत्रसहित अभिनन्दन गरियो ।


अभिनन्दनपछि घिमिरेले भानुलाई सम्झे । उनले भानुजयन्ती मनाउने परम्परा भारतको दार्जिलिङबाट सुरुवात भएको रोचक तथ्य स्मरण गर्दै संसारभर फैलिएका नेपालीको मनमुटु जोड्ने प्रतीकका रूपमा भानुलाई लिन सकिने बताए ।


म्यान्मारबाट आएका स्रष्टा ओम बगाले थापाले नेपाली भाषा नरहे नेपाली जाति, संस्कृति र संस्कार नरहने, आफूहरूले विदेशमा बसेर पनि भाषा जगेर्नाका लागि काम गरिरहेको जनाए ।

प्रकाशित : असार ३०, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?