कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बसाइँ’ लेखकलाई अनेसास

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली भाषा–साहित्यका क्षेत्रमा आधा शताब्दी लामो योगदानका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले भारतको असमवासी साहित्यकार लीलबहादुर क्षत्रीलाई ‘अनेसास वासुदेव–मालती साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ । 

‘बसाइँ’ लेखकलाई अनेसास

पुरस्कारमा २ हजार १ सय ११ डलर रहेको छ । क्षत्रीका ‘बसाइँ,’ ‘ब्रह्मपुत्रका छेउछाउ’ लगायत उपन्याससँगै कथा, निबन्ध, समालोचना, कवितासहित एक दर्जन कृति प्रकाशित छन् ।


८६ वर्षीय लेखक क्षत्रीको ‘बसाइँ’ लाई पहिलो पटक मदन पुरस्कार पुस्तकालयले विसं २०१४ सालमा प्रकाशन गरेको थियो ।

नेपाली पहाडी समाजको चित्र र बसाइँसराइको कथामा बुनिएको यो कृति नेपाली साहित्यमा सबैभन्दा बढी बिक्री हुनेमध्ये एक लोकप्रिय सामाजिक यथार्थवादी उपन्यास हो ।


यही उपन्यासमाथि चलचित्रकर्मी सुभाष गजुरेलले फिल्मसमेत बनाएका छन् । भाषा–साहित्यको प्रवर्द्धनमा जगदम्बाश्री, भानु पुरस्कार, अगम स्मृति अवार्डलगायत सम्मान पाइसकेका स्रष्टा क्षत्रीको योगदानको कदर गर्न अमेरिकावासी दुर्गा दाहालले प्रायोजन गरेको विशेष नगद पुरस्कारसहितको सम्मान प्रदान गर्न लागिएको अनेसासले जनाएको छ ।


अनेसासका महासचिव गणेश घिमिरेले जारी गरेको विज्ञप्तिअनुसार आउँदो अगस्ट पहिलो साता लन्डनमा हुने छैटौं अन्तर्राष्ट्रिय साहित्य सम्मेलनका अवसरमा यो पुरस्कार प्रदान गरिनेछ । ‘मैले गरेको नेपाली भाषा–साहित्यको कर्मलाई योगदान सम्झेर पुरस्कृत गरिएकामा आनन्द लागेको छ,’ क्षत्रीले भारत असमबाटै कान्तिपुरसँग फोनमा भने, ‘यस्तो खबरले यो उमेरमा पनि सिर्जनशील बनिरहन प्रेरणा दिएको छ ।’

प्रकाशित : श्रावण १३, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?