कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुहिने फोहोर महानगरले खरिद गर्ने

ललितपुर — पुल्चोक लाछी टोलमा बस्ने काभ्रेका काइला तामाङको होटलबाट दैनिक दुई केजी फोहोर निस्कन्छ । महानगरको फोहोर संकलन गर्ने गाडी चोकचोकमा नआउने गरेकाले उनलाई फोहोर व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको छ ।

ललितपुर महानगरपालिकाले घरमा उत्पादन हुने कुहिने फोहोर खरिद गर्ने घोषणा गरेपछि अहिले उनी मख्ख छन् । भन्छन्, ‘यसले वडा सफासुग्घर हुने मात्र नभई ५/६ रुपैयाँ भए पनि दैनिक आम्दानी हुनेछ ।’


उनले अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । ‘घोषणा भाषणमा सीमित नहोस्,’ उनले भने । ललितपुर महानगर–३ वडाले यसबारे वडावासीलाई सुसूचित गराउन घरदैलो अभियान थालेको छ । पुल्चोकमा किराना पसल गर्ने रामेछापका धनबहादुर जिम्बा भन्छन्, ‘अभियान राम्रोसँग सञ्चालन भएमा अरूको फोहोरसमेत बटुल्न जाने हुन्छन् ।’


उनले जनप्रतिनिधिले फोहोरमैला व्यवस्थापनसम्बन्धी नीतिगत निर्णय गरेरै अगाडि बढ्नुपर्ने बताए । पुल्चोकका रैथाने पद्मबहादुर शाक्यले कुहिने फोहोर घरमै व्यवस्थापन गर्दै आइरहेका छन् । उनको घरबाट सातामा २ केजी फोहोर उत्पादन हुन्छ । उनले समस्याको जड फोहोर नभई चेतनाको विकासमा कमी भएको बताए ।


‘नकुहिने बट्टा, चाउचाउको खोल, कागज, सिसी बिक्री गर्ने गरेको छु,’ उनले भने, ‘कुहिने फोहोर तरकारीखेती र बगैँचामा काम गर्नेलाई वितरण गर्ने गरेको छु ।’ फोहोर न्यूनीकरण गर्न डस्टबिनको प्रभावकारी भूमिका हुन्छ ।

प्रकाशित : पुस २७, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?