कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पशुपति क्षेत्र : सुझाव एकातिर, काम अर्कैतिर

५ हजार वर्षसम्मका पुस्ताले देख्ने गरी हामीले जोगाउनु पर्छ – सदस्यसचिव प्रदिपकुमार ढकाल  
दामोदर न्यौपाने

काठमाडौँ — पशुपति क्षेत्र विकास कोषले गुरुयोजनाबारे छलफल थाल्दै सदस्य सचिव प्रदीपकुमार ढकालले मौलिकता जोगाएर आउँदो पुस्तालाई हस्तान्तरण गर्ने धारणा राखेको ठाउँको केही मिटर पर डोजर चल्दै थियो । 

‘पशुपति क्षेत्र ५ हजार वर्ष पुरानो हो । यहाँ पाँच वर्ष पहिलादेखिको सभ्यता छ,’ उनले भने, ‘यसलाई जस्ताको तस्तै आउँदो ५ हजार वर्षसम्मका पुस्ताले देख्ने गरी हामीले जोगाइदिनुपर्छ ।’


ढकालले ५ हजार वर्ष जोगाउनुपर्छ भनी बोलिरहँदा व्यवहारले भने सम्पदालाई चुनौती दिएको देखिन्छ । तिलगंगा आँखा अस्पताल छेउको धर्मशालामा छलफल थियो । त्यही छेउमा धमाधम डोजर चलिरहेको थियो । विद्युतीय शवदाह गृहबाट पशुपति मन्दिरतिर जाने बाटोमा डोजर लगाएर बाटो भत्काइरहेको छ । ढलान गरेर बाटो बनाएको ६ महिना पनि पुगेको छैन । ६ महिना नपुग्दै फेरि त्यसलाई भत्काएर ढुंगा छाप्न लागेको हो । ‘ढुगो झिकेरै ढुंगै छाप्दै छ । ठुल्ठूला डोजर चलाइएको छ,’ पशुपतिका भण्डारी केदारमान भण्डारी भन्छन्, ‘भाषणचाहिँ पुस्तौंसम्म जोगाउनुपर्छ भनेर गर्छन् । कामचाहिँ अहिले नै मासिने गरिरहेका छन् । के गर्न खोजेको होला ?’


पशुपति क्षेत्रको कसरी विकास गर्ने भनेर दोस्रो गुरुयोजना लागू हुने चरणमा छ । गुरुयोजनाले यो क्षेत्रमा केकस्ता काम गर्ने भनेर योजना बनाउने हो । तर क्षेत्र विकास समितिले गुरुयोजना नबन्दै धमाधम नयाँ काम गरिरहेको छ । श्लेष्मान्तकमा परिपथ बनाउने भन्दै कंक्रिट राखेको छ । तीन करोड खर्च गरेर परिपथ बनाउन लागेपछि तीव्र विरोध भयो । विरोधका बीच पनि कंक्रिट राखेरै छाड्यो कोषले । २०५२ सालमा पहिलो गुरुयोजना लागू भएको थियो ।


‘त्यो गुरुयोजनाअनुसार यहाँको प्राचीन बस्ती भत्काइयो,’ भण्डारी भन्छन्, ‘बस्ती भत्काएपछि यहाँका परम्परा हराए । वरपरका मूर्ति हराए । मान्छेले हो परम्परा जोगाउने ।


मान्छे नै नभएपछि मूर्ति कसले जोगाउने ? परम्परा कसले जोगाउने ?’ गुरुयोजना तयार गर्न यहाँका मूर्त र अमूर्त सम्पदाको अध्ययन भएको ढकालले जानकारी दिए । अध्ययन गर्न संस्कृतिविद्लाई जिम्मा दिइएको थियो । उनीहरूले प्रतिवेदनसमेत दिएका छन् । डा. सन्ध्या खनालले पाशुपात क्षेत्रका अमूर्त संस्कृतिको अध्ययन विषयमा प्रतिवेदन दिएकी छन् ।


त्रिभुवन विश्वविद्यालयका संस्कृति विभागका उप्राध्यापक पशुपति न्यौपानेले ‘पशुपति क्षेत्रको धार्मिक, सांस्कृति पर्यटन विकासको प्रारम्भिक योजना’ विषयमा अनुसन्धान प्रतिवेदन बुझाएका छन् । न्यौपानेले पशुपति क्षेत्रमा अवस्थित पर्यटकीय आकर्षणको पहिचान, पर्यटकीय आकर्षण, सुविधा, सेवा र पहुँच तथा धार्मिक तथा सांस्कृतिक सम्पदाका आधारमा पर्यटकीय क्रियाकलापको अध्ययन गरेका छन् ।


त्यसैगरी परम्परागत धार्मिक, सांस्कृतिक सम्पदा परिक्रमा पथको वर्तमान अवस्थाको अध्ययन गरी सुधारका लागि सुझाव, पर्यटन विकाससँग सम्बन्धित क्रियाकलापको संरक्षण, सम्बद्र्धन, नियमन र विकासलाई मध्यनजर गरी भौतिक पूर्वाधार विकासका लागि के गर्ने भनेर अध्ययन प्रतिवेदन दिएका छन् ।


पर्यटक पुलिसको व्यवस्था गर्न, तीर्थयात्रीको निवास तथा शाकाहारी भोजनका लागि धर्मशाला र पाकशालाको व्यवस्था गर्न, भक्तजन तथा तीर्थयात्री तथा पर्यटकको लागि परिक्रम तथा यात्रालाई सहज, सुविधायुक्त तथा लाभदायी बनाउन विभिन्न स्थानमा नक्सा, सूचना–पाटीको व्यवस्था गर्न, अशक्त, अपांगले ह्वीलचेयरमा बस्ने, वृद्धवृद्धाका लागि सहज रूपमा दर्शन गराउने व्यवस्था गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन् ।


त्यसैगरी तीर्थयात्रीको सुविधाका लागि हात धुने, पिउने पानीको व्यवस्था गर्न, मन्दिर बिहान चार बजेदेखि राति ९ बजेसम्म खोल्ने व्यवस्था गर्नुपर्नेलगायत सुझाव दिएका छन् । संस्कृति केन्द्रीय विभागकै निर्मला पोख्रेलले पशुपति क्षेत्रको मूर्त कलाकृतिको अध्ययन गरेर गुरुयोजनामा समेट्नुपर्ने विषयको सुझाव दिएकी छन् ।


उनले यो क्षेत्रका मूर्तिकलाकाबारे विस्तृत विवरण तयार पारेकी छन् । उनले यहाँ मासिएका कलाकृति पनि उल्लेख गरेकी छन् । ‘कोही नासिएका छन् । कोही हराएका छन् । कोही जीर्ण छन्,’ पोख्रेलले भनिन्, ‘पशुपतिमा भएका मूर्त संस्कृतिका विषयवस्तु नै यहाँका कला हुन् । इतिहास, संस्कृति र पुरातात्त्विक दृष्टिले अति संवेदनशील कलावस्तु विधिध कारणले जीर्ण हुने क्रम बढ्दै गएको छ ।’


बाटाघाटा, घाट र गुफा र अन्य वस्तुको विकास परम्परागत रूपमा गर्न उनले सुझाव दिएकी छन् । पशुपति क्षेत्रमा हुने विकास निर्माण काम गर्दा सम्पदालाई संरक्षण गर्ने तिरकाले गर्नु पर्ने, मठमन्दिरमा परेवा, बाँदर र अन्य जीवजन्तुले गर्ने क्षति कम गर्न विशेष कदम चाल्नुपर्ने, यहाँका पुराना गुफालाई प्राकृतिक रूपमा नै संरक्षण गनुपर्नेलगायत सुझाव दिइएको छ ।

प्रकाशित : पुस २७, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?