कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देशभरि कुचो लिएर हिँड्ने कीर्तिपुरे

उनीहरूले ६२ वटा नगरपालिका सरसफाइ गरिसकेका छन् । भन्छन्– ‘फोहोर बढार्नेभन्दा पनि हामी सामाजिक अभियानको नेतृत्व गर्न चाहन्छौं ।’
शिल्पा कर्ण

काठमाडौँ — केही महिना अघिसम्म ४३ वर्षीया सुशीला महर्जनलाई घर छोडेर जान समस्या थिएन । कीर्तिपुर नगरपालिकाको बाघभैरव टोलमा जन्मेर विवाहपछि ठां बहा: आइपुगेकी सुशीलालाई श्रीमान् र छोरीको भरमा घर छोडेर उपत्यका, उपत्यका बाहिरका विभिन्न ठाउँ र देशबाहिरै सरसफाइ गर्न पुग्थिन् ।

देशभरि कुचो लिएर हिँड्ने कीर्तिपुरे

घर सम्हाल्न श्रीमान् विकास महर्जन थिए नै, उनले केही चिन्ता लिनुपर्थेन । तर विकासको स्वास्थ्यमा भने निकै पहिलेदेखि समस्या थियो । गएको साउन २२ गते विकास बिते ।


२०७० असोजतिर पहिलोपल्ट सरसफाइ अभियानका लागि घरबाट बाहिर बस्ने गरी हिँडदा गाली गर्ने र असहमत हुनेमा उनकी छोरी श्वेतासँगै श्रीमान् विकास पनि थिए । तर समयक्रमसँगै सुशीलाको चर्चा पत्रपत्रिका र स्थानीयबीच देखेपछि उनले आफ्नो गल्ती महसुस गरे । विकासको मृत्युले सुशीलालाई निकै दु:खी बनायो । तर अभियानमा निरन्तर लागिरहेकी छन् । भर्खरै मात्र सुशीला र अर्का अभियन्ता राजमान मानव वीरगन्ज, जनकपुर लगायतका सहर सफा गरेर कीर्तिपुर फर्किएका छन् ।


उनीहरू छिमेकी हुन् । हालसम्म उनीहरूले विभिन्न जिल्लाका ६२ वटा नगरपालिका सरसफाइ गरिसकेका छन् । बुटवल, पोखरा, वीरगन्ज, नेपालगन्ज, कञ्चनपुर जस्ता स्थानमा पुगेर सरसफाइ गरिसकेका छन् । उनीहरू केही स्थानमा दुई/तीन पल्टै पनि पुगेका छन् । ‘गर्मीमा हामी उपत्यकाकै विभिन्न स्थानमा सरसफाइ गर्न निस्किन्छौं । जाडो याममा यहाँ बाहिरका विभिन्न स्थानमा सफा गर्छौं,’ राजमानले थपे, ‘पहिले त पालमा बस्ने गथ्र्यौं । अहिले सबैले चिन्ने भएकाले खाने बस्ने व्यवस्था प्राय: हामी गएकै स्थानका संस्था वा व्यक्तिले गरिदिन्छन् ।’ उनीहरूको ड्रेस नै सेतो भेस्ट, क्वार्टर पाइन्ट र खुट्टामा स्पोट्र्स सुज भइसकेको छ । सँगै हुन्छ गुलाफी रंगको सडक बढार्ने कुची ।


कीर्तिपुरमा ५ दिने महोत्सव हुनुअघि नगर सरसफाइका क्रममा पहिलोपल्ट २०६७ साल माघमा राजमान र सुशीलाले कीर्तिपुरका विभिन्न स्थान सफा गरे । त्यसबेला २९ महिला समूहले सरसफाइको नेतृत्व गरेका थिए । ‘सुरुमा पुरुषहरूले घरका महिलालाई गाली गरे । तर पछि ४० वर्षदेखिको डम्पिङ साइट एक घण्टामा सफा गरेपछि पत्याए,’ राजमानले भने, ‘त्यसबेला ५५ सय महिला सफा गर्न जुटेका थिए । त्यसपछि त गाउँका भद्र भलाद्मी, पाका मान्छे सबै खुसी भए ।’


त्यही खुसीले आफूहरूको हौसला बढाएको उनीहरू बताउँछन् । टोलका ज्येष्ठ नागरिकले उनीहरूलाई भनेको ‘क्याबात’ नै आफूहरूको प्रेरणा रहेको महर्जनले बताए ।


नगरको रिंगरोडभित्रको फोहोर उठाउन भनी राजमानले ट्रयाटर किनेका थिए । भित्री बस्तीबाट पनि फोहोर उठाउँथे र सुन्दरीघाटमा फाल्थे । त्यसबापत ५० रुपैयाँ लिन्थे । जसमा महिला समूह र ट्रयाक्टर चालकलाई भाग लाउँथे । ‘त्यो घरअगाडि फोहोर गर्नुभन्दा पनि फोहोर जम्मा गरेर फाल्नुपर्छ भनेर चेतना जगाउन र बानी बसाउन थियो,’ राजमानले भने । ५ वर्षपछि नदी किनारमा फोहोर गर्न नपाइने भनेपछि उनले ट्रयाक्टर बेचे ।


उनीहरू दुई जना मात्र होइन, कीर्तिपुरका महिलाले सरसफाइमा उनीहरूलाई साथ दिइरहेका छन् । २०६८ सालमा तीन जनाको टोली लोमान्थाङ पुग्यो । एक जना ललिता महर्जन पनि सरसफाइका लागि पुगेकी थिइन्, जो राजमानकी श्रीमती हुन् । त्यहाँको दरबार क्षेत्र, मुक्तिनाथ मन्दिरवरपर उनीहरूले सरसफाइ गरे । दोलखाको जिरी पुग्दा ४ जनाको समूह थियो । नानी र कमला महर्जन पनि साथै पुगेका थिए । २०७० वैशाखमा गोसाइँकुण्ड पुगे ।


उनीहरू ६ जनाको सरसफाइ टोली त्यहीँ टेन्टमा सुतेर सरसफाइ गरी फर्किए । राजमानले सोही वर्ष ‘वनवास’ लिएका थिए । दुई छोराका बाबु उनले नेवारी परम्पराका अनुसार टोललाई भोज खुवाएर वनवास लिएका हुन् । उनी भन्छन्, ‘असोज १९ गतेबाट औपचारिक वनवास लिएँ । सरसफाइका लागि बाहिरै बस्नुपर्ने भएकाले आफ्नो सम्पूर्ण जीवन यसैमा समर्पित गर्ने चाहना छ । अन्तिम साससम्म पनि फोहोर सफा गरिरहन पाउँ जस्तो लाग्छ,’ राजमानले भने ।


यतिका वर्ष परिवारले पनि साथ दिएकोमा सुशीलालाई गर्व थियो । तर आज जुन समाजले साथ दिन्थ्यो त्यसैले कुरा काट्छ । श्रीमान् गुमाउँदाको मानसिक पीडा उनलाई त छँदै छ, झन् समाज र आफ्नै परिवारको कटाक्षले उनको चित्त दुखाउँछ । ‘वहाँलाई केही दिनदेखि सन्चो थिएन । त्यसैले म वहाँसँगै बस्छु भनेँ,’ भावुक हुँदै सुशीलाले भनिन्, ‘वहाँले नै म ठिकै छु, तिमी आफ्नो काममा जाऊ भन्नुभयो । तर म बनेपामा सफाइसम्बन्धी कार्यक्रममा भएका बेला वहाँ बित्नुभयो ।’


घर छोडेर परपुरुषसँग हिँडेको भन्दै उनका छिमेकी र साथीहरूले नै कुरा काट्छन् । श्रीमान् बितेपछि सधैं सरसफाइ अभियानमा साथ दिएका घरका सदस्य अहिले बिरानो बनेका छन् । र परिवार साथ नभएपछि छरछिमेकले पनि नराम्रो दृष्टिले हेर्ने गरेको उनको अनुभव छ । ‘सबैले रिस गर्ने, पुरुषसँग हिँडेको भन्दै कुरा काट्ने गर्दा रहेछन्,’ उनले भनिन् । यद्यपि यस्ता घटनाका बाबजुद सरसफाइ अभियानलाई निरन्तरता दिने दृढ संकल्प गरेकी छन् । उनी र उनका अर्का अभियानी साथी राजमान मानव ।


गतवर्ष मंसिर १४ देखि माघ १४ सम्म उनीहरू बंगलादेशको राजधानी ढाकामा थिए । त्यहाँ पनि पालमै बसेर सरसफाइ गरे । बिहान ७ देखि ५ बजेसम्म सडकका फोहोर बढारेर छेउ लाइदिने गरेका थिए । केहीले सुशीलालाई बुर्का लगाउन भने केहीले अचम्म मानेर हेरिरहे । बिस्तारै त्यहाँका सञ्चारमाध्यम र सर्वसाधारणले पनि उनीहरूको उद्देश्य बुझेपछि उनीहरूलाई साथ दिन थाले । त्यसपछि श्रीलंका जान चाहे पनि कानुनी कारणबाट उनीहरू जान सकेनन् ।


‘ढाका सबैभन्दा फोहोर ठाउँ हो । देश मात्र होइन, विश्व सरसफाइ गर्न हिँडेका हौं । कसैले आफ्नो वरपर फोहोर नगरोस् भन्ने हाम्रो चाहना हो,’ सुशीला भन्छिन् । वि.सं. ०७८ सम्ममा कसैले जथाभावी फोहोर नगरून् भन्ने आफूहरूको उद्देश्य भएको उनले बताइन् । सन् २०२८ बाट विश्वका मानवले जथाभावी फोहोर नगरून् भन्ने अभियानमा उनीहरू लागेका छन् ।


राजमानले भने, ‘अब निकै कम देश मात्र फोहोर छन् । बाहिरका मान्छेले उनीहरूको ठाउँ सफा गरिदियो भने उनीहरू पनि उत्प्रेरित हुन्छन् र आफ्नो ठाउँ सफा राख्छन् ।’ आफूले लगाएको फोहोर मान्छेले सडक वा सार्वजनिक ठाउँमा फाल्नुको साटो आफैंले व्यवस्थापन गर्ने वा सम्बन्धित संस्थाको जिम्मा लगाउने गर्नुपर्ने उनी बताउँछन् । यसरी उपत्यकाबाहिर वा देशबाहिरै गए पनि खर्च राजमान आफैं व्यहोर्छन् । समुदायले लगानी गरेको रेस्टुरेन्ट व्यवसायबाट आएको मुनाफा नै उनीहरूको खर्चको स्रोत हो ।


अहिले राजमानकी श्रीमती र छोरा पनि उक्त रेस्टुरेन्टमा काम गर्छन् । राजमानकी श्रीमती ललिता भन्छिन्, ‘एकता भएकाले सरसफाइमा कठिनाइ हुन्न । हामी यहीँ बस्छौं र कीर्तिपुरभित्रै सरसफाइ गर्छौं । वहाँ बाहिरै बस्ने भनेपछि हाम्रो परिवारको एउटा हात नै गुमेको जस्तो लागिरहेको छ ।’ उनी पनि उक्त रेस्टुरेन्टमा काम गर्छिन् । खर्चको जिम्मेवारी उनकै हो । यता सुशीला पनि जीवनमा जे–जस्तो परे पनि आफू सरसफाइमा लागिरहने बताउँछिन् । उनीहरूको अब एउटै सपना छ, सफा नेपाल र विश्व बनाउने ।


आफूलाई सरकारी संघ–संस्थाको समन्वयको खाँचो भएको उनीहरू बताउँछन् । ‘सरकारी निकायबाट सहयोग पाउने हो भने हामी सरसफाइको नेतृत्व लिन तयार छौं,’ राजमानले भने, ‘समन्वयको मात्र खाँचो छ । फोहोर बढार्ने भन्दा पनि हामी सामाजिक अभियानको नेतृत्व गर्न चाहन्छौं ।’

प्रकाशित : माघ ४, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?