कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मापदण्ड मिचिएका संरचना हटाइँदै

भक्तपुर — भक्तपुर नगरपालिकाले सडक, सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ । पहिलो चरणमा न:पली सिर्जनानगर प्रवेश मार्गदेखि न:पली पुल, पीपलबोट, इशानेश्वर महादेव मन्दिर क्षेत्र हुँदै अरनिको राजमार्गको मापदण्डमा परेका संरचना हटाउन थालिएको नगरपालिकाले जनाएको छ । 

भक्तपुर नगरपालिका १, न:पली क्षेत्रमा सडक मिचेर निर्माण गरिएका टहरा, पर्खाल र अन्य भौतिक संरचना हटाउन नगरपालिकाले पुस मसान्तसम्म समय दिइएको र अटेर गरी आफैं नहटाइएका संरचना हटाउन सुरु गरेको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।


मापदण्ड मिचेर निर्माण गरेको संरचना हटाउँदा नगरपालिकाले हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्तिलाई असुलउपर गराउने गरी कारबाही थालेको प्रजापतिले बताए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार परिच्छेद ३ को ११ को दफा २ क २ को क र छ अनुसार पर्ती/सार्वजनिक जग्गा संरक्षण गर्न नगरपालिकाले कारबाही थालेको जनाएको छ ।


अव्यवस्थित ढंगले सडकको मापदण्डभित्र बनेका संरचनाले सवारी साधन आवागमनमा अवरोध, सडक दुर्घटना न्यूनीकरणका लागि अव्यवस्थित संरचना हटाउने अभियान थालनी गरेको नगरपालिकाले जनाएको छ ।


सडक सुरक्षाका लागि सचेत गराउँदासमेत अटेर गर्ने र जानाजान गर्नेलाई कानुनी कारबाही गर्ने भक्तपुर नगरप्रमुख सुनील प्रजापति बताउँछन् ।


भक्तपुर नगरको भौतिक पूर्वाधार तथा निर्माण मापदण्डसम्बन्धी विनियम ०६० संशोधित ०७२ को परिच्छेड ५ अनुसार सडकको केन्द्रबाट ५ दशमलव ५ मिटर छोडी निर्माण गर्नुपर्नेमा सम्बन्धित धनी र नगरपालिकाले भत्काएको जनाएको छ ।


नगपालिकाले सडक र सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना हटाउन थाले पनि पहुँच भएका व्यक्तिले बताएका संरचना हटाउन आलटाल गरेको स्थानीयको गुनासो छ । नगरपालिकाले सल्लाघारी, ब्यासी, महालक्ष्मी, कमलविनायकलगायत स्थानहरूमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन सकेको छैन ।

प्रकाशित : माघ ७, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?