कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरक्षित भएनन् ग्यास सिलिन्डर

काठमाडौँ — राजधानीको बालाजुस्थित किस्ट नेपाल ह्यान्डिग्राफ सिसा कारखानामा माघ ४ मा ग्यास सिलिन्डर पड्किँदा ७ जना घाइते भए । सख्त घाइते काजी तामाङको तत्काल मृत्यु भयो ।

सुरक्षित भएनन् ग्यास सिलिन्डर

सख्त घाइते राजकुमार बीसी अहिले कीर्तिपुर अस्पतालको आईसीयू कक्षमा उपचाररत छन् । अर्का घाइते अनिल पोखरेल पनि कीर्तिपुर अस्पतालमै भर्ना भई उपचार गराइरहेका छन् । घटनाको प्रत्यक्षदर्शी एवं घाइते उनको हात, टाउको, र अनुहारमा गहिलो जलन भएको छ ।

४ गतेको घटना सम्झिँदै उनी भन्छन्, ‘साथीले ग्यास बालेर सिसा पगालिरहेको थियो, म पर बसेर अर्को काम गर्दै थिएँ, एक्कासि मलाई तातो वस्तुले निकै पर हुत्याइदियो ।’ हुत्तिएकै कारण ज्यान बचेको उनी सुनाउँछन् । हुत्तिएको स्थानबाट हेर्दा उनले पूरै कोठा दनदनी बलेको देखे, कोठासँगै सहकर्मी पनि जलेर टुक्राटुक्रा भएको देखे । उनी भन्छन्, ‘ग्याससँग नजिक भएर धेरै वर्ष काम गरेको थिएँ, यस्तो घटना कहिल्यै भएको थिएन ।’

उनीजस्तै सिलिन्डर पड्किएर घाइते भएर अहिले कीर्तिपुर अस्पतालमा ८ बिरामी भर्ना भएका छन् । अस्पतालको तथ्यांकअनुसार सन् २०१९ भित्र मात्रै सिलिन्डर पड्किएर १३ घाइतेले उपचार गराएका थिए । अस्पतालका विशेषज्ञ बर्न सर्जन डा. सुरेन्द्र बस्नेत भन्छन्, ‘धेरैजसो घरमा खाना पकाउने क्रममा ग्यास पड्केर घाइते हुँदा रहेछन्, ग्यास पड्किएर घाइते हुँदा मृत्युदर उच्च हुन्छ ।’

उनका अनुसार ग्यास पड्किँदा यसले बाहिरी रूपमा मात्रै असर गर्दैन, फोक्सो नलीमा असर परी श्वासप्रश्वास रोकिएर घाइतेको घटनास्थलमै मृत्यु हुने सम्भावना बढी हुन्छ । उनका अनुसार कीर्तिपुर अस्पतालमा जाडो महिना अवधिभर ग्यास सिलिन्डर पड्किएर आउने घाइते कुनै दिन खाली हुँदैनन् ।

अस्पतालमा भर्ना भएका बिरामीको अध्ययनअनुसार विशेषगरी घर र होटलको भान्सामा खाना पकाउँदा, ग्यास हिटर ताप्दा, ग्यास गिजरको प्रयोग गरी बाथरुममा नुहाउँदा र कारखानामा काम गर्दाको समयमा सिलिन्डर पड्केर घाइते हुने गरेका छन् । डा. बस्नेत भन्छन्, ‘ग्यास सिलिन्डर पड्किनु मात्रै जोखिम छैन, ग्यास फैलिएकै कारण निस्सासिएर बेहोस हुने बिरामी पनि आइरहेका छन् ।’

सुरक्षित गरिकाले ग्यासजन्य उपकरणको प्रयोग नगर्दा उनीहरू यस्ता घटनामा पर्ने गरेको उनले बताए । उनका अनुसार एउटै कोठामा खाना पकाउने, सुत्ने अभ्यास पनि सुरक्षित छैन ।

ट्रमा सेन्टरको बर्न वार्ड प्रमुख तथा विशेषज्ञ सर्जन डा. पियूष दाहालका अनुसार नेपालमा प्रयोग हुने ग्यास सिलिन्डर, चुलो, रेगुलेटर र पाइप लगायत अन्य सामानको सुरक्षित छैनन् । उनी भन्छन्, ‘ग्यासजन्य सामान सुरक्षित ढंगले कसरी चलाउने भन्नेबारे कुनै जनचेतना छैन, सरकारले यससम्बन्धी निर्देशिका या ऐननियम केही बनाएको छैन ।’

ग्यास कम्पनीहरूले सामानका साथै सुरक्षित प्रयोगबारे पनि जनचेतना फैलाउनुपर्ने उनको धारण छ । ग्यास सिलिन्डर पड्किनुमा नमिल्दो भौतिक संरचना र प्रयोगकर्ताको लापरबाही पनि उत्तिकै जिम्मेवार भएको बताउँदै उनी थप्छन्, ‘ग्यास सिलिन्डर नै सही छैन, घरबाहिर सिलिन्डर र भित्र चुलो हुनुपर्नेमा एकै ठाउँमा राखिन्छ ।’ उनका अनुसार सिलिन्डर र चुलो एकै ठाउँमा राख्दा आगोको तापले सिलिन्डरलाई बिस्तारै तताएर विस्फोट हुने अवस्थासम्म पुर्‍याउन सक्छ ।

ट्रमा सेन्टरको तथ्यांअनुसार सन् २०१८ भरि ग्यास सिलिन्डर पड्केर सख्त घाइते भएका १० जना अस्पताल भर्ना भएका थिए । यस्ता बिरामीलाई आईसीयूको आवश्यकता पर्ने हुँदा आएका बिरामी जति कीर्तिपुर अस्पताल रिफर गर्ने गरिएको छ । डा. दाहालका अनुसार सिलिन्डर गुडाएर डेलिभर गर्ने तरिका सही छैन ।

सिलिन्डर गुडाएर लैजाँदा खिइन्छ र चाँडो ग्यास चुहावट भई विस्फोटन हुर्ने जोखिम बढ्छ । उनी भन्छन्, ‘जाडोमा झ्यालढोका पूरै बन्द गरेर ग्यास हिटर तापिन्छ, यसले कोठामा अक्सिजनको कमी गराइदिन्छ र मान्छे बेहोस हुने, सिलिन्डर पड्किने हुन्छ ।’

भवन संरचना बनाउँदा सिलिन्डर राख्ने सुरक्षित ठाउँ बनाउनुपर्ने उनी बताउँछन् । असुरक्षित सिलिन्डर बनाउने उद्योगलाई कारबाही हुनुपर्ने खालका कानुन बनाएर विस्फोटनका घटना नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित : माघ ७, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?