कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१०९ वर्षीयाको महादिव्य रथारोहण

प्रशान्त माली

काठमाडौँ — महादिव्य रथारोहण अथवा देवत्व प्राप्त गरेको मानि बोसल (उड्ने घोडा) वाहन चढेर गरिने यात्रा हो । नेवारी समुदायमा यो संस्कार १०८ वर्ष, ८ महिना, ८ दिन, ८ घडी, ८ पला उमेरमा गरिन्छ ।

१०९ वर्षीयाको महादिव्य रथारोहण

अति दुर्लभ मानिने यो पाँचौं जंक्व (महादिव्य रथारोहण) को सौभाग्य स्वयम्भूस्थित छाउनी गल्लीकी एक महिलाले पाइन् भन्दा प्रायलाई पत्याउन गाह्रो पर्ला । काठमाडौं महानगरपालिका–१५ बस्ने भाग्यमानी थकाली नंकी (ज्येष्ठ महिला) हुन् मय्जु महर्जन ।


शिरमा मयूरको प्वाँख, चाँदीको दाफा र अजु स्वाँ (गणेशलाई मनपर्ने फूल), शरीरमा तासको चोलो, दुपट्टाको सारीले सजिएकी महर्जनको मुस्कान आकर्षक थियो । पुरोहित बज्राचार्यले यज्ञ गरेर विधिवत् मन्त्र उच्चारण गरी महर्जनलाई दिव्य दृष्टि (तेस्रो आँखा) प्रतिस्थापन गरे । महर्जनबाट मंगलबार दिनभर आशीर्वाद लिन आउनेको भीडभाड थियो । सबैले भेटीसहित ढोग्दै आशिष मागे र दीर्घायुको कामना गरे । यो संस्कार गरेकालाई नेवारी परम्परामा साक्षात् भगवान् मानिन्छ ।


चार छोरा तीन छोरीकी आमा उनका एक सय ८० भन्दा बढी नाति, पनाति, खनाति र बुहारी छन् । उनका ४३ वर्षीय नाति रवीन्द्र महर्जन भन्छन्, ‘हजुरआमालाई अहिलेसम्म नियमित औषधि खुवाउनु परेको छैन । महादिव्यरथारोहण गर्ने योजना १०० वर्ष उमेर पुगेकै बेलादेखि थियो । भगवानले साथ दिएर सफल भयौं ।’ उनले थपे, ‘हजुरआमाको दोस्रो पटक गरिने चन्द्ररथारोहण विधिवत् रूपमा सम्पन्न भएको थिएन । यसमा चन्द्ररथारोहणमा गरिने कर्म पनि गरियो ।’


नेवारी परम्पराअनुसार पहिलो जंक्व (भीमरथारोहण) ७७ वर्ष, ७ महिना, ७ दिन, ७ घडी, ७ पला उमेर पुगेपछि गरिन्छ । दोस्रो चन्द्ररथारोहण जन्म भएर एक हजार पटक पूर्णिमा दर्शन हुने बेलाको साइतमा ८२ वर्षको उमेरमा लाख बत्ती बालेर गरिन्छ । यसबेला बसुन्धरा मण्डल दर्शन गराएर अष्टसिद्धिको कामना गर्ने प्रचलन छ । तेस्रो (देवरथारोहण) ८८ वर्ष, ८ महिना, ८ दिन, ८ घडी, ८ पला मा गरिन्छ । यस बेला रथलाई झ्यालबाट भित्र्याइन्छ । यसलाई महारथारोहण अथवा सूर्य रथारोहण पनि भनिन्छ ।


९९ साल, ९ महिना, ९ दिन, ९ घडी, ९ पलामा चौथो दिव्य रथारोहण गरिन्छ । यस बेलासम्म बाँचिरहने बुढाबुढीलाई नयाँ घ्याम्पोमा राखिन्छ । जसलाई गर्भमा बसेको मानिन्छ । गुरुजुद्वारा तान्त्रिक विधिपूर्वक घ्याम्पो पूजा गरिन्छ । बच्चा जन्मेको भावले घ्याम्पो फुटालेर अगाडिपट्टिबाट निकालिन्छ । यसलाई पुनर्जन्मको रूपमा लिइन्छ ।


महर्जनकी ६ वर्षीय एलेक्स महर्जन र २ वर्षीय निष्मा महर्जन पाँच पुस्ताको नाति (खनाति) हुन् । एलेक्ससँगै उनका नाति पताति, छोरा छोरी ज्वाइँले लावा, अबिर छर्केर स्वागत गरी रथ तानेर स्वयम्भू परिक्रमा गराएका थिए । यात्राको पहिलो पंक्तिमा इन्द्र र नाय् खिं बाजा थियो । पुरोहित राजु बज्राचार्य भन्छन्, ‘इन्द्र बाजा बजाएपछि स्वर्गका राजा इन्द्र अनिवार्य आउनुपर्छ । र इन्द्र उपस्थित भएमा काम सफल हुने विश्वास छ ।’ उनले महादिव्य रथमा चढेर नगर परिक्रमा गरेमा ३३ कोटी देवता दर्शन गर्नुसरह मानिने बताए ।


पुरोहितद्वारा जंक्वमा अग्नि साक्षी राखेर होम–जप गरेर सूर्यको किरणमार्फत ग्रहदशा शान्त गरेका थिए । जंक्व अवघिभर इन्द्र, बाय खिं र धिमे बाजा बजाइएको थियो । महादिव्य रथारोहण गर्नुअघि सुरुमा पञ्चामृतले अष्टनाग–कलशबाट स्नान गराई नङ काट्न लगाई खुट्टामा अल: (एकप्रकारको रङ) लगाएका थिए । पछि यमरी र चटामरीले अभिषेक गराइएको थियो ।


आरोग्यको कामना गरेर दुबोलाई तेल र पीठोमा डुबाएर टाउको, हात र खुट्टामा छुवाएर पूजा गरिएको थियो । यसपछि देवताको रूपमा लिइने पुरोहित बज्राचार्यको भनाइ छ । अन्त्यमा सप्तपथ भनेर सात पाइला हिँडाइ सगुन दिइएको थियो ।

प्रकाशित : माघ ८, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?