कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिँगारिँदै मत्स्येन्द्रनाथ

काठमाडौँ — सेतो मत्स्येन्द्रनाथको मूर्तिमा जीवन्यास गरिएको छ । यसअघि नवमीमा मत्स्येन्द्रनाथ मूर्तिको रंगरोगन गर्न उनको आत्मा कलशमा सारिएको थियो । मत्स्येन्द्रनाथका पुजारी नवीन शाक्य र अविन शाक्यले घरमा बास नबसेको र खाना नखाएको साता दिन बित्यो ।

सिँगारिँदै मत्स्येन्द्रनाथ

दुवै जनाले रंगरोगन सम्पन्न नभएसम्म माछा, मासु, लसुन, गेलभेंडा, खोर्सानी बार्नुपर्छ । दैनिक स्नान गरी धोती लगाई आफूले पकाएको मात्र खानुपर्ने चलन छ ।


सेतो मत्स्येन्द्रनाथका पुजारी स्वयम्भू बज्राचार्य भन्छन्, ‘यो मत्स्येन्द्रनाथको ‘लंपु छाय्गु’ बेला हो । यतिबेला मत्स्येन्द्रनाथको दायाँबायाँ बस्ने आर्य तारा र सप्तलोचन ताराको पनि सिँगारपटार गरिन्छ ।’ नेपाल भाषाको लंपु छाय्गुको अर्थ रंगरोगन गर्ने अथवा देवताको जन्मोत्सव मनाउँदा सिँगारपटार गरी आँखा खोल्ने बुझिन्छ ।


बज्राचार्य भन्छन्, ‘मत्यमंगलमा हेरेर बसेका मत्स्येन्द्रनाथ ‘अद्वय’ प्रकृतिका हुन् । जसमा नारी र पुरुष छुट्टिँदैन । अद्वय भनेको ज्ञान पनि हो । मानव जाति भने ‘द्वय’ प्रकृतिका हुन् । द्वयमा नारी–पुरुष छुट्टिन्छ ।’ उनका अनुसार मत्स्येन्द्रनाथ अद्वय प्रकृतिको भएकाले जीवन्यास गर्नुअघि नारी र पुरुष दुवैलाई गरिने दशकर्म गर्नुपर्छ । ‘पौष पूर्णिमा सोमबार मत्स्येन्द्रनाथलाई धार्मिक परम्पराअनुसार नामकर्म, अन्नप्राशन, उपनयन, चूडाकर्म, इही (बेलविवाह) गुफामा राख्ने जस्ता दशकर्म गराइयो ।’


मत्स्येन्द्रनाथमा गरिने रंगरोगनले मानव जातिमा काय (शरीर), वाक् (वचन) र चित्त (आत्मा) शुद्ध गर्नुपर्ने सन्देश दिन खोजेको हो,’ उनले भने । मानव शरीर पञ्चमहाभूतका तत्त्व आगो, जल, पृथ्वी, आकाश र वायु मिलेर बनेको हुन्छ । पुजारीका अनुसार यो मत्स्येन्द्रनाथको पञ्चतत्त्व शुद्धीकरण पनि हो ।


रंगरोगनअघि पौष शुक्ल अष्टमीमा त्यसै बहालको महास्नान डबली (न्हवा डबली) मा राखेर मत्स्येन्द्रनाथ, आर्यतारा र सप्तलोचनको महास्नान गराइएको थियो । मूर्तिमा सेतो, पहेंलो, नीलो, हरियो, कालो र सुन्तला रङ प्रयोग गर्नुका साथै सुनले समेत सिँगार्ने गरिन्छ ।

पुजारीका अनुसार रङरोगनको काम गरिरहेका दिनहरूमा श्रद्धालु भक्तजनले मत्स्येन्द्रनाथलाई चढाएका दक्षिणा नै रङरोगन लाउनेहरूको पारिश्रमिक हो । रङरोगन र सिँगारपटार सोमबारसम्म गरिनेछ ।


महास्नानका बेलामा (पैंता) नामको परम्परागत बाजा अनिवार्य बजाउनुपर्ने मान्यता छ । महास्नान गराउनुअघि मत्स्येन्द्रनाथको मूल पुरोहितले दसै दिशामा बौद्ध परम्पराअनुसार चर्या नृत्य गर्दै दशदिक्पालको पूजा गरिन्छ । महास्नान गराउन बौद्ध तान्त्रिक विधिअनुसार नवनाग साधनाका साथ कलशाचार्य पूजा गरी शोभा भगवतीसँगैको निर्मल तीर्थ (भचाखुसी) र विष्णुमतीको दोभानबाट छवटा तामाको र तीनवटा चाँदीका घडामा पवित्र जल राखी ल्याइएको थियो ।


त्यसरी ल्याइएका घडाहरूमध्ये महास्नान गराई बाँकी रहेका जलले भरिएका तीनवटा घडालाई मत्स्येन्द्रनाथ, करुणमय र आर्यताराको साधना गरेर मत्स्येन्द्रनाथ मन्दिरभित्रै राखेका थिए । महास्नानपछि मत्स्येन्द्रनाथको मूर्तिलाई तासको कपडाले बेरेर बाजागाजासहित मन्दिर परिक्रमा गराएर मन्दिरभित्र आफ्नो आसनमा नराखी अलग्गै विराजमान गराइएको थियो । महास्नान अवलोकन गराउन देशमा जीवितदेवीको रूपमा रहेकी कुमारीलाई कुमारीघरबाट स्नानस्थलमा पुर्‍याइएको थियो ।


मत्स्येन्द्रनाथको मूर्तिलाई प्रत्येक वर्ष चैत शुक्ल अष्टमीका दिन जनबहालबाट खटमा राखेर जमलमा पुर्‍याई रथारोहणपछि जात्रा गर्दै असन, हनुमानढोका दरबार क्षेत्र र लगनटोल पुर्‍याई त्यहाँ एक/एक दिन राखी जनबहालमै फर्काउने चलन छ ।


नेपालमा लोकप्रिय प्रमुख चार लोकेश्वरमा ललितपुरको बुँग द्य (रक्तावलोकेश्वर), काठमाडौंको सेतो मत्स्येन्द्रनाथ (आर्यावलोकेश्वर), नालाका सृष्टिकान्तलोकेश्वर र कच्छपाल पर्वत (चोभार) का आनन्दिलोकेश्वर (आदिनाथ) हुन् । सेतो मत्स्येन्द्रनाथको एकचित्त भई ध्यान गरेमा अष्टभयबाट मुक्ति मिल्ने विश्वास छ । मत्स्येन्द्रनाथको रंगरोगन अवधिभर केलटोल जनबहालस्थित मन्दिरको आसनमा भेटिँदैन ।

प्रकाशित : माघ ८, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?